18th October 2018, Thursday

E-budhabar

पल्टनघरका नारी स्रष्टाहरू



पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा पार गरिसकेको ब्रिटिस गोर्खा सैनिकको आफ्नो गौरवशाली इतिहास छ, चुनौती नै चुनौतीले भरिएका कथाहरू छन् र छन् बेलिबिस्तार लगाइनसकिने व्यथाहरूको असस्य भण्डार ।
त्यति मात्रै होइन, उनीहरूसित विकास र आधुनिकताको पाटो पनि छ । दुःख, कष्ट, अभाव, अवहेलना आदिबीच अनुभव र अनुभूतिको उज्यालो ज्ञान (सीप) पनि छ । समाज विकासका निमित्त खेलेको भूमिकाको आफ्नै महत्व छ । गीतसंगीतको क्षेत्रमा उनीहरूको योगदानको छुट्टै इतिहास छ । तथापि, आज यस लेखको मूल उद्देश्य भनेको ब्रिटिस गोर्खा सैनिकबारे नभई तिनै गोर्खा सैनिकका जीवनसँगी अर्थात् श्रीमतीहरूका सिर्जनात्मक पक्षबारे उठान गर्ने जमर्को गरिएको छ । पल्टनघरमा रही नेपाली गीतसंगीत र साहित्यमा कलम चलाएका र चलाइरहेका सिर्जनशील नारी स्रष्टाहरूबारे चर्चा गर्ने संक्षिप्त प्रयत्न हो ।
पल्टनबाट प्रकाशित पर्वते मासिक पत्रिकाको उदयसँगै जसरी गोर्खा सैनिकले साहित्य कर्मको आरम्भ गरे उसैगरी नारी स्रष्टाहरूले पनि पर्वतेकै माध्यमद्वारा साहित्यिक यात्राको थालनी गरेको इतिहास पाइन्छ । सिंगापुरबाट प्रकाशन आरम्भ गरेको पर्वतेले सुरुआती दिनमा मलायामा उति सारो नारी हस्ताक्षर पाउन सकेन । तथापि, हङकङ स्थानान्तरणपछि भने पर्वतेमा सैनिकका श्रीमती अथवा नारीद्वारा रचित साहित्यिक खुराक विशेष कविता फाटफुट प्रकाशन गर्न थालेको इतिहास भेटिन्छ ।
प्रारम्भिक अवस्थामा नारी सहभागिता पातलो रहे पनि समयको कालक्रमसितै उनीहरूको उपस्थिति बाक्लिँदै गरेको देखिन्छ । तीसको अन्त्य र चालीसको सुरुको दशकमा पर्वतेको प्रायः प्रत्येक अंकमा अनवरत आइरहने नाम थियो, श्रीमती वीरेन्द्र राना । उनी कविता लेख्थिन् । भानु सुब्बा, सरिता राई, सावित्रा गुरुङहरू पनि यही समय पढिएका सिर्जनात्मक नाउँ (कवि) हरू थिए । यसपछि पनि कविता नै कोसेली लिई आएकी अर्की नारी सर्जक थिइन्, तुलसी सुब्बा । ब्रिटिस गोर्खा श्रीमान्ले फ्यामिली पर्मिसन पाई करिब तीन वर्ष बालबच्चासहित फ्यामिली क्वार्टरमा रहँदा रचिएका मायापिरतीका कविता धेरै रचिन्थे । त्यस समय भने शिक्षामूलक र सन्देशनात्मक रचनाहरू पनि केही मात्रामा रचिएको पाइन्छ ।
परिवर्तित समयको परिवर्तनले आज सिंगापुर, हङकङ अनि ब्रुनाईमा मात्र सीमित गोर्खा सैनिकका श्रीमतीहरूलाई बेलायत, जर्मनी र साइप्रसतिर पनि सघन रूपमा पु¥याएको छ । शैक्षिक विकास, प्रकाशन सहजता र सुुविधा, चेतनाको व्यापकता, सैनिक नियमकानुन सिर्जना÷प्रकाशनमैत्री रहनु आदिजस्ता अनुकूल वातावरणका कारण भूगोलको जुनै कुनामा रहन परे पनि जीवनको गतिशीलतालाई सिर्जनाको माध्यमबाट आफूलाई सिर्जनामा समर्पित गरेका र गरिरहेका नारी स्रष्टाहरूका लर्को निकै लाम बन्नु सफल भएको छ । जो उत्साहजनक र प्रेरणादायी त हो नै, यसका अलावा अनुुकरणीयसमेत हो ।
सिर्जनाकर्मी नारीहरूबीच नाट्यकर्मी शशी थापा सुब्बा गीत लेखनमा समेत परिचित नाउँ हो । प्राध्यापन पेसामा आबद्ध प्राध्यापक सुमाया राईका गीत र कविताका कृति छापिएका छन् । त्यस्तै, दीपा लिम्बू राई, लीला सेलिङ माबो, निर्मला परिवेश राई, जानुका राई, अञ्जु अञ्जली, भावना सुनुवार ‘परिष्कृत’ आदिका एकल कृति प्रकाशित छन् । निलम आङ्बुहाङ राई गीत लेखनको क्षेत्रमा चिनिएको नाम हो ।
उसो त सरिता नाना चाम्लिङ, दुर्गा घले, संगीता बायुङ राई, रञ्जना राई आदिका आफूद्वारा रचित गीतका एल्बम सीडी उपल्ब्ध छन् । विमला शालीन, आशा सुब्बा, बबी बाङ्देल, सुमित्रा गुुरुङ, रत्न चोङबाङ, कमला लिम्बू, रोजी लाबुङ, अञ्जु पिठाकोटे मगर, अमृता मादेन, लक्ष्मी याक्सो, सुष्मा रूपाबुङ राई, करिश्मा घाम, चन्द्रा राई, विमला सुच्चा राई, कला राई, सीता शेरचन आदि पनि साहित्य सिर्जनामा लागिपरेका नाउँहरू हुन् ।
भनिन्छ, नारी वात्सल्य प्रेम, स्नेह, समर्पण, करुण आदिको सागर हो । नारीमा यी गुणहरू अन्तरनिहित भएकै कारण उनीहरूको स्वाभावमा संवेदनशीलताले व्यापकता पाएको हो । त्यही सूक्ष्म सौन्दर्यलाई आत्मसात् गरेर पल्टनघरका नारी स्रष्टाहरू नेपाली गीतसंगीतका अतिरिक्त साहित्यको विविध पाटोमा सक्रिय रहँदै साहित्याकाशमा नयाँ आयाम थप्न प्रयासरत छन् । आशा गरौ, यो क्रमले भविष्यमा अझ मौलिन सफल बन्नेछ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा