21st September 2018, Friday

E-budhabar

रोपाइँ कि सस्तो ग्ल्यामर्स ?



रोपाइँ कि सस्तो ग्ल्यामर्स ?

मनसुन भित्रिएपछि नेपाली समाजभित्र उल्लासको एउटा बेग्लै माहोल भित्रिन्छ । उल्लासमय त्यो माहोलसँगै नेपाली समाज र जनजीवनभित्र श्रम, सीप, पसिना र उत्पादनशीलताको रंगीचंगी इन्द्रेनी पनि टाँगिन्छन् । हरेक वर्ष भित्रिने असारले केवल मनसुनलाई मात्र स्वागत गर्दैन, श्रमशील हातहरूले पहाडदेखि मैदानका मनोरम फाँट र खेतबारीहरूमा पोखेका श्रम र पसिनाको मूल्यलाई समेत स्वागत गर्दछन् । असार यस्तो समय हो, जुन समय हिलोको महिमासँगै श्रमका गीत गाउन हरेक नेपालीहरू तम्तयार रहन्छन् र नेपाली अर्थतन्त्रलाई गति दिने आधारशिला पनि यही महिनामा नै जन्मिन्छन् । विदितै छ, नेपालको अर्थतन्त्र धानको उत्पादनसँगै गाँसिएको छ । धानको उत्पादनमा हुने घटीबढीले अर्थतन्त्रलाई नै प्रभाव पार्दछ ।
असारको गरिमा सदैव उच्च रहँदै आएको छ । हिमाली भेगलाई छाडेर नेपालका अरू भूभागमा भने असारले बेग्लै रौनक ल्याउँछ । मनसुनले सक्रिय भएको संकेत जनाएसँगै पहाडको तहतह परेका गह्राहरूदेखि तराईका समथर फाँटहरूमा असारले एकैपटक आफ्नो कला देखाउँछ । युवादेखि वृद्ध वयका मानिसहरूसमेत असारको मोहकतामा लट्ठिन पुग्छन् । नेपालीहरूले मान्दै आएको सांस्कृतिक, धार्मिक पर्व र उत्सवहरूजस्तो त होइन असार । तर पनि यो मौसमले श्रममा विश्वास राख्ने र श्रमलाई नै जीवनको आधार मान्ने नेपालीहरूको हृदयमा अमिट छाप राख्न भने सफल हुँदै आएको छ । श्रमजीवी अनुहारहरूलाई विश्वासमा लिन सफल भएको छ, यो मौसम, यो असार । किनकि, श्रममा रुचि र भरोसा राख्नेहरू यो मौसमको रसिलो ‘ग्ल्यामर्स’ मा आकण्ठ रूपमा डुब्न पुग्छन् ।
असार र रोपाइँ । अब यी दुवै चिजले आफ्नो अस्तित्व गुमाउँदै गइरहेको प्रतीत हुँदै छ । असारको मौसममा रोपाइँमा रमाउने अनुहारहरू विशुद्ध रूपमा श्रममा विश्वास राख्नेहरू नै हुन्छन् । असारमा बगाएको पसिनाको मूल्य कात्तिक–मंसिरतिर उठाउने ध्याउन्नमा अधिकांश नेपाली जुटेका हुन्छन् । अधिकांश नेपालीको मुख्य पेसा नै कृषि भएको र असारमा पसिना नबगाएर वर्ष दिनभरि ‘मुखमा माड’ नलाग्ने यथार्थसँग हरेक नेपाली परिचित रहेको हुँदा पनि असारमा पसिना बगाउन उपयुक्त ठान्छन् । तसर्थ, रोपाइँले श्रम–संस्कृतिको प्रतिनिधित्व गर्दै आएको हुँदा त्यसको गरिमा र महŒव अद्यापि कायम नै छ ।
तर, केही दशकयता भने असार र रोपाइँको गरिमालाई भ्रष्टीकरण गर्ने प्रयत्न तीव्र रूपमा हुँदै गइरहेको छ । श्रमको गरिमा र महŒव नबुझेका एवं श्रमसँग सम्बन्धविच्छेद गरिसकेका पंक्तिहरूले समेत रहर वा लहलहैमा लागेर हिलोमा खुट्टा चोपल्ने र रोपाइँमा सहभागिता जनाउने कार्य गरिरहेका छन् र यस्तो क्रम यो वर्षको असारमा पनि देखिन पुग्यो । खासगरी, नेपाली राजनीतिमा जमेका केही अनुहारले असार १५ को दिन रोजेर हिलोमा खुट्टा चोपले र बाउसे र रोपाहारको भूमिकामा आफूलाई उभ्याए । त्यस्ता नेताहरूले किन रोपाइँ गर्न चाहे ? देशका लाखौं किसानको ‘सेन्टिमेन्ट’ तान्न वा मात्र रमाइलोका निम्ति, नेताहरूले हिलोयुक्त खेतहरूमा खुट्टा गाडेका हुन् ? तर, यसपटकको असार १५ को दिन माथिल्लोदेखि तल्लो तहसम्मका नेताहरूले धान रोप्ने कार्यमा आफूलाई जसरी सक्रिय तुल्याए, त्यो विगत वर्षहरूको तुलनामा धेरै नै थियो र विगतका वर्षहरूमा राजनीतिक दलका किसान संघ÷संगठनका नेताहरूले मात्र धान रोपेर मनाउँदै आएको ‘असार १५’लाई यस पटक शीर्षस्थ नेताहरूले नै मनाउन उपयुक्त ठाने । यसपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, शशांक कोइराला र नेकपाका ईश्वर पोखरेल र रामबहादुर थापा, नयाँ शक्तिका डा. बाबुराम भट्टराईजस्ता नेताहरूले समेत धान रोपेर असारको महिमालाई सम्झिए । नेताहरूको ‘रोपाइँ–मोह’लाई स्वागतयोग्य मान्नुपर्ने हुन्छ ।
राजनीतिक दलका नेताहरूले धान रोप्ने कार्यमा सहभागिता दर्साउनुलाई गलत ठह¥याउन सकिँदैन । नेताहरूले धान रोप्ने कार्यक्रममा आफूलाई सहभागी तुल्याउँदा श्रमजीवी नेपाली किसानहरूको सम्मान गरेको नै ठहर्दछ । तर, धानको उत्पादकत्व बढाउन र किसानहरूलाई सहुलियत दरमा मल र बीउबिजन उपलब्ध गराउन सरकारले देखाउँदै आएको उदासीनतालाई हेर्दा नेताहरूले हिलाम्मे खेतमा पसेर धान रोप्ने कार्य गरेको दृश्यले उनीहरूलाई नै गिज्याइरहेको महसुस हुन्छ । धान उत्पादन हुने खेतहरू धमाधम प्लटिङको जोखिममा पर्दै छन् र त्यसलाई नियन्त्रण गर्नेतिर सरकारको ध्यान जान सकिरहेको छैन । समयमै उन्नत बीउ र मल नपाउँदा धानको उत्पादकत्व घट्दै छ र सिँचाइको अभावले देशका हजारौं बिघा खेत बाझै हुन्छन् । र, हरेक वर्ष विदेशबाट अर्बौंको चामल आयात गर्नुपर्ने परिस्थिति गहिरिँदै गइरहेको छ । यस्तो विकराल परिस्थिति विगतदेखि नै तेर्सिएको हुँदा धान रोप्ने कार्यमा रमाउने नेताहरूले रोपाइँलाई विशुद्ध ‘ग्ल्यामर्स’का रूपमा नलिई उत्पादकत्व बढाउने आधार खोज्नु जरुरी देखिइसकेको छ । तब मात्र नेताहरूले असार १५ मा हिलाम्मे खेतमा खुट्टा चोपलेको सार्थकता झल्किन पुग्छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा