11th December 2018, Tuesday

E-budhabar

सपनाहरूको कोमल दस्तावेज



सपनाहरूको कोमल दस्तावेज

सरल, बोधगम्य र शालीन शब्दहरू बिछ्याउँदै कविता लेख्नेमा पर्दछन्, बोधराज पौडेल । काठमाडौं वा अरू सहर–बजारमा बस्ने कविहरू कविताको खेतीभन्दा धेरै ‘पब्लिसिटी’ को धन्दामा निर्लिप्त रहेका बेला खोटाङमा रहेर कविता सिर्जना गरिरहेका पौडेलले आफ्ना भावनालाई समेट्दै काव्यकृति प्रकाशित गरेका छन्, ‘बगर र काँसहरू’ । पूर्वको ग्रामीण इलाकामा रहेर काव्य–सिर्जना गरिरहेका उनले सामान्य भाषामा नै कविता लेख्ने जाँगर चलाएको प्रतित हुन्छ । प्रयोग वा अरू कुनै वादको नाममा कवितालाई जटिल र दुर्बोध्य बनाउने लालसामा उनमा पलाएको रत्तिभर अनुभूति हुँदैन ।
‘बगर र काँसहरू’ मा उनले प्रकृतिका यी दुई रचनाप्रतिको निकटतालाई सामान्य तरिकाले उद्घाटन गर्न चाहेका छन् । काँसहरू बगरकै छेउछाउमा उम्रिन्छन्, हुर्किन्छन् र फुल्छन् । बगरको सेताम्यपन र सेतै फुल्ने काँसबीचको प्रगाढ सम्बन्ध र हार्दिकतालाई हेर्ने हो भने प्रकृतिका एकअर्का वस्तु कसरी मिलेर बसेका छन् र त्यसले प्रचुर सौन्दर्य प्रवाह गरिरहेका छन् । ‘सान र सुन्दरता’ मा भने उनले भौतिक सुख, सयलले मानिसमा बढाएको अहंकार, द्वेष र अभिमानको पर्दाफास गर्न खोजेका छन् । भौतिक सुख–सुविधामा निर्लिप्त रहने मानिसहरूले जतिसुकै ठूला महल उभ्याए पनि त्यो क्षणिक रहेको उनको ठम्याइ छ–‘अग्ला महलले छेकेका छाप्राहरू÷उज्यालो घामबाट वञ्चित थिए÷तर आज समान देखिन्छन्÷यो दृश्य देख्दा÷पीडा महललाई हुँदो रहेछ÷छाप्राहरू त फेरि सजिलै बन्लान्÷तर ती महलहरू फेरि कहिले बन्ने ?’ ।
प्रकृतिमा शक्तिशाली जीवजन्तुहरूले आफूभन्दा कम शक्ति भएका एवं निरीह प्राणीहरूमाथि सदैव शासन चलाउँदै आएका छन्, निरीह प्राणीहरूलाई भोजन बनाउँदै आएका छन् । ‘इच्छा’मा भने कविले बाघ र बाख्राबीच कहिले समानता हुने होला भन्ने कल्पना गर्न पुग्दछन् । प्राकृतिक नियमविरुद्ध नै लाग्छ उनको कविता । तर, बाघहरूले घाँस खान थालेपछि बाख्राहरू भोकै पर्नुपर्ने परिस्थितिले भने उनलाई विक्षिप्त तुल्याएको महसुस यो कविता पढ्दा बोध हुन पुग्छ । उनी लेख्छन्, ‘जब बाघहरू घाँस खान थाल्छन्÷ बस्तीमा बाख्राहरू भोकै मर्नेछन् ।’ उनका केही कविता जीवनबोधले अभिप्रेरित छन् । ‘कुम्हालेका भाँडो जस्तो जीवन’मार्फत उनी मानिसको जीवनलाई बुझ्न चाहन्छन् । जसरी माटोको भाँडा सानो चोटले चकनाचुर हुन सक्छ, मानिसको जिन्दगी पनि त्यहीं भाँडाभन्दा पृथक् नरहेको उनको बुझाइ देखिन्छ ।
‘झयाउकिरी बास्दा’, ‘दिक्दार’, ‘हरेक साँझा रक्सी पिउने मान्छे’जस्ता कविताले मानवीय संवेदना र पीडाको तहबारे बुझ्न मद्दत पु¥याउँछ । ‘नियति’मा भने उनले देश बनाउने संकल्प बोकेका राजनीतिज्ञहरूको भाषण र व्यवहारमा देखिएको अन्तरप्रति कटाक्ष गरेका छन् । मूलतः ग्रामीण भेगमै रहेर काव्य–साधना गरिरहेका पौडेलको काव्यकारिताबारे समालोचक डा. नेत्र एटमका यी शब्दहरू नै उनको लेखन–क्षितिजबारे बुझ्न पर्याप्त होला, ‘यो कृति सौन्दर्यको एउटा पृथक् आकार हो । आफ्ना प्रिय सपनाहरू संगृहीत एउटा कोमल दस्तावेज हो । आफूलाई, आफ्नो चिन्तन र व्यक्तित्वलाई पगालेर कलामा ढालेर तयार गरिएको अनुभवहरूको महान् पाइलो हो ।’
कृति ः बगर र काँसहरू
विधा ः कविता
कवि ः बोधराज पौडेल
प्रकाशक ः बीएन पुस्तक संसार
पृष्ठ ः ७२
मूल्य ः १५० ।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जनाको मझेरीमा उपेक्षित किसान

ShareTweet – मधेस सदैव उर्वर भूमि रहँदै आयो । अन्नबालीको प्रचुरता रहेको मधेसका जनताले चिनी कारखाना खुल्न थालेपछि उखु खेतीलाई प्रश्रय दिए । नगदे बालीका रूपमा परिचित- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

उज्यालोको एउटा गीत

ShareTweet अक्सर कविहरूसामु विषयवस्तुको छनोट र बिम्बविन्यासको क्रममा उज्यालो या अँध्यारोमध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ ।- ...
पूरा पढ्नुहोस्

छोटकरीमा