20th October 2018, Saturday

E-budhabar

मन्त्रीको निगाह पाएपछि…



काठमाडौं । कहिले वैदेशिक रोजगार विभाग, कहिले ताहाचल कार्यालय र कहिले मन्त्रालयमा बसेर आफ्नो कमाउ धन्दालाई निरन्तरता दिँदै आएका एक कर्मचारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले पुरस्कृत गरेका छन् । पुरस्कृत हुने ती कर्मचारी हुन्– पेसल कोइराला । नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन संघको श्रम मन्त्रालयअन्तर्गत विभागीय कार्यसमितिको केन्द्रीय सदस्य रहेका कोइरालालाई मन्त्री विष्टले केही दिनअघि मन्त्रालयको स्टोर शाखाको तालाचाबी सुम्पेका छन् ।
सो मन्त्रालयको काठमाडौं श्रम कार्यालय ताहाचलबाट ठूलो संख्यामा कर्मचारीहरू छनोट गरेपछि त्यसमा परेका कोइरालाले मन्त्री विष्टको निगाहका कारण मन्त्रालयको स्टोर शाखाको प्रमुख स्टोरकिपरका रूपमा जिम्मेवारी पाएका हुन् । ताहाचलमा हुँदा अकूत कमाएका कोइरालालाई किन मन्त्रालयको स्टोर शाखाको जिम्मेवारी दिइयो भन्ने प्रश्न अहिले मन्त्रालयभित्र सबैले उठाउने गरेका छन् ।
कोइराला लामो समयदेखि सोही मन्त्रालयअन्तर्गतका काठमाडौंकै विभिन्न निकायहरूमा बस्ने कर्मचारीका रूपमा चिनिन्छन् । उनी कहिले वैदेशिक रोजगार विभाग, कहिले श्रम विभाग, कहिले राम्रो कमाइ हुने ताहाचल कार्यालय र कहिले मन्त्रालयमा कार्यरत रहँदै आएका छन् । अरू कर्मचारीहरूको भने अन्यत्रै ठाउँहरूमा सरुवा हुने भए पनि कोइराला भने यी निकायहरूमा विगत ११ वर्षदेखि रहँदै आएका छन् ।
यसैबीच, तीव्र आर्थिक चलखेल र अनियमितताका कारण बदनाम हुँदै आएको ताहाचलस्थित श्रम कार्यालयमा भने केही सुधार आउन थालेको छ । आवश्यकताभन्दा बढी कर्मचारी कार्यरत रहेको उक्त कार्यालयबाट कर्मचारीहरू छनोट गरेपछि र कार्यालय प्रमुखमा नयाँ कर्मचारीलाई पठाएपछि सुधारका संकेत देखिन थालेको हो । अहिले सो कार्यालयको प्रमुखमा भविश्वर पाण्डे पुगेका छन् र उनले विगतका बेथितिहरूलाई हटाएर कार्यालयमा सुधार ल्याउन अनेक प्रयत्न थालेका छन् ।
यसअघि ताहाचल कार्यालयमा १ सय २ जना कर्मचारीसम्म कार्यरत रहेका थिए । सो मन्त्रालयको कमाइ हुने कार्यालयको रूपमा ताहाचल कार्यालय चिनिएको हुँदा मन्त्रीलगायतको सोर्स लगाएर कर्मचारीहरू सरुवा, काजमा जाने गरेका थिए । वैदेशिक रोजगारीमा जानेहरूको श्रम स्वीकृति लिने सो कार्यालयमा कर्मचारीहरूले श्रम स्वीकृतिकै नाममा कमाउँदै आएका थिए ।
तर, अहिले भने कर्मचारीको संख्यामा व्यापक रूपमा कटौती गरिएको छ । अहिले ताहाचल कार्यालयमा सुब्बा तहका २२ जना, शाखा अधिकृत तहका सात जना, उपसचिव एक र कार्यालय प्रमुख एक जना रहेका छन् । सो कार्यालयको कार्यालय प्रमुखमा सहसचिव तहको दरबन्दी रहे पनि उपसचिव पाण्डेलाई नै कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । उक्त कार्यालयबाट फिर्ता भएका २२ जना कर्मचारीले भने अझै पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोग धाउनुपरेको छ । ताहाचलमा हुँदा आर्थिक लेनदेन गरेको प्रकरणमा मुछिएका ती कर्मचारीहरूविरुद्ध अख्तियारमा उजुरी परेपछि छानबिनको दायरामा उभ्याइएको हो । ताहाचल कार्यालयमा कार्यरत एकाध कर्मचारी मात्र अख्तियारको फन्दामा पर्न जोगिने गरेको बताइन्छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा