21st September 2018, Friday

E-budhabar

अख्तियारले डामेका पाण्डे गुठीकोे कामु खाने दौडमा



अख्तियारले डामेका पाण्डे गुठीकोे कामु खाने दौडमा

काठमाडौं । शेरबहादुर देउवा सरकारले चुनावपछि नियुक्त गरेका गुठी संस्थानका अध्यक्ष मीनराज चौधरी र प्रशासक नारायण चौधरीको नियुक्ति खारेज भएको छ । केपी ओली सरकारले देउवा सरकारले निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ देखि फागुन २ सम्म गरेका राजनीतिक नियुक्ति खारेज गरेको छ । उनीहरूको नियुक्ति खारेजीसँगै निमित्त प्रशासकको काम विवादास्पद उपप्रशासक दीपकबहादुर पाण्डेले पाएका छन् ।
बरिष्ठताका आधारमा निमित्त पाएका पाण्डे कामु प्रशासकको पत्र लिन दैनिक मन्त्रालय धाइरहेका छन् । पाण्डे संस्थानका अति विवादित उपप्रशासक हुन् । उनीविरुद्ध अख्तियारमा धेरैवटा उजुरी परे पनि पोखराको जग्गा हिनामिना र भक्तपुरको गुठीको घर भाडामा गरेको अनियमिततामा उनलाई विभागीय कारबाही गर्न दिएको आदेश अहिलेसम्म संस्थानले कार्यान्वयन गरेको छैन । उनलाई विभागीय कारबाही नगरेकोबारे अख्तियारले कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयलाई पटकपटक ताकेता गरिरहेको छ । उनलाई विभागीय कारबाही नगरेकोबारे अख्तियारले पटकपटक मन्त्रालयका सचिवसमेत राखेर ध्यानाकर्षण गराउँदै आएको छ ।
दीपकबहादुर पाण्डेविरुद्ध परेको उजुरीमा तत्कालीन संस्थान सञ्चालक समितिका सदस्य उमेश स्थापितको संयोजकत्वमा गठित चार सदस्यीय छानबिन समितिले उनले पदको दुरूपयोग गर्दै आर्थिक अनियमितता गरेको ठहर गर्दै आयोगसमक्ष प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदन बुझाएको सात वर्ष बितिसक्दा पनि अख्तियारले कुनै प्रक्रिया अगाडि नबढाएको एक कर्मचारी बताउँछन् ।
संस्थानले २०६८ फागुनमा उपप्रशासक पाण्डेविरुद्ध छानबिन गरिएको प्रतिवेदनअनुसार कारबाही गर्न लेखी पठाएको थियो । छानबिन समितिले संस्थानलाई ठूलो हानिनोक्सानी हुने विशेष प्रकृतिका कार्यहरू गरेको, कानुनविपरीत विभिन्न व्यक्ति र संस्थासँगको मिलेमतोमा पटकपटक गैरकानुनी काम गरेकाले कारबाही गर्न सिफारिस गरेको थियो । फिल्डबुकमा मोहीको नाम उल्लेख नभई खाली रहेको ललितपुरस्थित रातो मच्छेन्द्रनाथलाई आरती गर्ने घर गुठी तैनाथीलाई ललितपुर कार्यालयका तत्कालीन कार्यालय प्रमुख पाण्डेले गैरकानुनी कार्य गरेको प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘बाग्मती सिंहसत्तल गुठीको चपली भद्रकालीस्थित २ सय २४ गल्फुटार नगर विकास आयोजनाभित्र परी अधिग्रहण परेको आठ रोपनीभन्दा बढी जग्गाको मुआब्जा रकम हालसम्म पनि गुठी संस्थानले प्राप्त गर्न सकेको छैन ।’ अधिग्रहणमा परेको जग्गा रैतानमा परिणत गर्ने कार्य तत्कालीन कार्यवाहक प्रमुख पाण्डेले गरेको र पाण्डेलाई तत्कालीन प्रशासकले सफाइ दिने कार्य गरेको पनि प्रतिवेदनमा जनाइएको छ । भक्तपुर नगरपालिका–३ को कित्ता नम्बर ८४ को घर बहाल रकम सम्बन्धमा उपप्रशासक पाण्डेलाई कारबाही गर्न भनिएको भए पनि त्यसमा वास्ता नगरिएको जनाइएको छ । समितिको प्रतिवेदनमा सम्झौताअनुसार बहाल असुल नगरिएको, भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा कारबाही गर्न लेखी पठाइएको भए पनि सोअनुसार नभएको समाचार छ ।
गुठी संस्थानका पोखरा, महाकाल, भक्तपुरका पचासौं रोपनी जग्गा गैरकानुनी रूपमा मोही खडा गरी हिनामिना गरेका पाण्डेलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाउन सक्ने स्रोत बताउँछ । पाण्डेले संस्थानका पचासौं रोपनी गुठी तैनाथी जग्गा गैरकानुनी रूपमा मोही कायम गर्दै हिनामिना गरेका थिए । संस्थानअन्तर्गतका विभिन्न शाखा कार्यालयमा प्रमुख र केन्द्रीय कार्यालयका विभिन्न शााखाको शाखा प्रमुखमा कार्यरत छँदा उप्रशासक पाण्डेले प्रचलित कानुनले निर्दिष्ट गरेको व्यवस्थाविपरीत कार्य गरी आफू र व्यक्तिविशेषलाई लाभ र सार्वजनिक संस्थालाई गैरकानुनी हानिनोक्सानी हुने कार्य गरेको उजुरीका आधारमा अख्तियारको निर्देशनमा गुठी संस्थानले छानबिन समिति गठन गर्न निर्देशन दिएपछि स्थापितको संयोजकत्वमा समिति बनेको थियो । पाण्डेले भक्तपुर चित्तपोल गाविस वडा नम्बर १ (ख) कित्ता नम्बर ३०६ को क्षेत्रफल १ रोपनी ४ आना गुठी तैनाथी खान्गी जग्गा मोही कायम गराई आफ्नै फाँटवाला कर्मचारीको बुहारीको नाममा लिखत पास गराई उनले त्यसैमध्येबाट आफ्नै दिदी नारायणदेवी कार्कीको नाममा पास गरिएको उल्लेख छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा