22nd October 2018, Monday

E-budhabar

अधैर्यको नमीठो स्वाद



अधैर्यको नमीठो स्वाद

आख्यान र गैरआख्यान दुवै विधाका किताबको अध्ययनमा गहिरो अभिरुचि राख्ने एक जना गम्भीर अध्येताले केही दिनअघि भने, ‘नेपाली लेखकहरूका एकपछि अर्को किताब फितला हुँदै गइरहेका छन् । लेखन स्तर झन्झन् गिर्दै गइरहेको छ । पहिलापहिलाको किताबको जत्तिकै लेखन स्तर होला भन्ठानेर किताब किन्यो, झन् खस्किएको पाइरहेको छु । भर्खरै मैले नारायण ढकालको ‘हजार माइलको बाटो’ पढें, तर त्यही घटना–शृंखलाका उनका पहिलो उपन्यास ‘प्रेतकल्प’ जति उचाइ नयाँ उपन्यासले लिन सकेन । ‘वृषभ बध’ को उचाइ पनि माथि थिएन ।’
के नेपाली लेखकहरूको लेखन स्तर खस्किँदै गइरहेको हो त ? अहिले पुस्तक–बजारमा बिक्ने स्रष्टाहरूका आफ्ना पूर्ववर्ती रचनाभन्दा कम गुणस्तरका सिर्जना आइरहेका छन् ? लेखकहरूको स्तर गिर्दै जानुमा केले भूमिका खेलेको छ ? यस्ता प्रश्न स्वाभाविक रूपमा उठ्ने गर्दछ । आखिर, पाठकहरूलाई प्रश्न उठाउने र लेखकहरूको लेखन–स्तरबारे तराजुमा तौलिने अधिकार सदैव रहन्छ । किनभने, सुधी पाठकहरूले कुनै पनि किताब पढेर आस्वादन लिइरहेका मात्र हुँदैनन्, आफूले अध्ययन गरेका लेखकका पूर्वकृतिहरूसँग पनि नयाँ कृतिको सँगसँगै तुलना गरिरहेका हुन्छन् । जसरी, राजहाँसमा दूध र पानीलाई छुट्ट्याउने क्षमता हुन्छ, पाठकसँग पनि त्यही क्षमता हुन्छ– उसले कुन कृति दूध हो र कुन पानी हो भन्ने सहजै छुट्ट्याउन सक्दछन् ।
हरेक पाठकले के अपेक्षा सँगालेका हुन्छन् भने, कुनै लेखकले दोस्रो वा तेस्रो कृति ल्याउँदा पहिलाभन्दा उम्दा ठहरियोस्, पहिलो कृतिले छाडेको छापभन्दा अझ प्रभावकारी छाप छाड्ने क्षमता राखोस् । तर, पछिल्लो केही दशकयता बजार पिटेका केही लेखकले पाठकलाई खिन्न र निराश तुल्याउने काम मात्रै गरेका छन् भन्दा अत्युक्ति नहोला । पहिलो कृतिबाट उचाइ लिइसकेपछि चर्चा–परिचर्चाको वृत्तमा उभिएका लेखकहरूले दोस्रो वा तेस्रो कृति त्यही उचाइको नल्याउँदा पाठकहरू निराश हुनु र त्यस्ता लेखकप्रति उनीहरूको मोहभंग हुनुलाई अन्यथा मान्न सकिँदैन । आफ्नो अपेक्षाको पहाडमा पहिरो गएपछि कुनचाहिँ पाठक प्रफुल्ल हुन सक्छन् र ?
आख्यान लेखनमा बुद्धिसागरले मारेको छलाङलाई सबैले प्रशंसा गर्दछन् । ‘कर्णाली ब्लुज’ले उनको लेखन क्षमतालाई एकैपटक सतहमा ल्याइदियो । गजल लेखनमा रमाइरहेका उनलाई त्यसले नेपाली साहित्य वृत्तमा नाम र दाम दुवै दिलायो । अहिलेसम्म पनि उनको त्यो उपन्यास खोजेर पढ्ने पाठकहरू छन् । तर, उनको दोस्रो आख्यान ‘फिरफिरे’ले भने पहिलो उपन्यासको जत्तिकै उडान भर्न सकेनन् भन्ने पाठकहरू धेरै निस्किए । पहिलो उपन्यासको क्रेजले तानिएकाहरू दोस्रो उपन्यासप्रति किन खिन्न भए ? यस्तै समस्या नारायण वाग्ले पनि झेलिसकेका हुन् । मदन पुरस्कार प्राप्त वाग्लेको ‘पल्पसा क्याफे’लाई पाठकहरूले जति रुचाए र त्यसले प्रकाशकलाई पनि आख्यान छापेर चल्न सकिँदो रहेछ भन्ने उत्साह जसरी जगाइदियो, तर, दोस्रो उपन्यास ‘मयूर टाइम्स’ भने अपेक्षाकृत रूपमा पाठकको नजरमा ‘उत्कृष्ट’ ठहरिन सकेन । धेरैले भने पनि, ‘दोस्रो उपन्यास ल्याउन हतार नगरेको भए हुन्थ्यो ।’
अमर न्यौपानेले पनि झेलेको समस्या बुद्धिसागर र नारायण वाग्लेभन्दा पृथक् छैन । मदन पुरस्कार पाएका न्यौपानेले ‘सेतो धरती’मा जुन वाहवाही बटुले, ‘करोडौं कस्तुरी’मा भने पाठकको अभिरुचि देखिएन । तर, मदन पुरस्कार पाएपछि उनले एउटा के सहुलियत पाए भने करिब–करिब ओझेलमा परेको उनको पहिलो कृति ‘पानीको घाम’लाई भने पाठकहरूले खोजेर पढ्न थाले र त्यसको बिक्री पनि स्वाभाविक रूपमा बढ्न पुग्यो । पछिल्लो चरणमा नयनराज पाण्डेले केही उत्कृष्ट उपन्यास नेपाली पाठकलाई दिए । ‘लु’, ‘सल्लीपीर’ जस्ता उपन्यासका कारण नयाँ पुस्ताका पाठकहरूले उनको लेखन क्षमता पर्गेल्न पनि पाए । तर, पाण्डेको लेखन धरातललाई ‘उलार’ नपढी बुझ्न सकिँदैन । सबैले भन्छन्, ‘उनका पछिल्ला कृतिहरू उलारजत्तिको उम्दा हुन सकेनन् ।’ हुन पनि लघु–आकारको आख्यान कृति ‘उलार’ले जति उचाइ कायम गरेको छ, उनका अरू कृतिहरू त्यो कृतिका अगाडि बामपुड्के नै साबित हुन्छन् ।
आखिर, अधिकांश लेखकका पहिलोभन्दा अरू कृति किन फितला हुँदै गइरहेका छन् ? जवाफ प्रस्ट छ– लेखकहरूमा धैर्यको अभाव । आफ्नो पहिलो रचनाले पाठकको अपार माया र स्नेह पाएपछि जोकोही लेखक पनि उत्साहित हुनु स्वाभाविक हो र त्यो उत्साहले निश्चित रूपमा अर्को कृति लेख्न उत्प्रेरित गर्दछ । पाठकले पनि त्यस्ता लेखकहरूबाट अर्को कृति आओस् भन्ने चाहना राख्छन्, यसलाई सामान्य ठान्नु पर्दछ । तर, ‘मैले लेखेको पहिलो कृति लोकप्रिय भइहाल्यो, अर्को लेख्दा कसो लोकप्रिय नहोइएला र ?’ भन्ने सोच राखेर लेख्न थाल्छन् । परिणाम पहिलो कृतिभन्दा झन् कमजोर र फितलो कृति जन्मिन पुग्दछ । लेखनमा धैर्यभन्दा पनि एउटा कृतिको लोकप्रियताको आडमा अर्को कृति लेख्ने र चाँडै नै बजार पिट्ने मनोकांक्षाका कारण कतिपय लेखकहरूका लेखन स्तर खस्किँदै गइरहेको सहज रूपमा स्विकार्न सकिन्छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा