21st February 2019, Thursday

E-budhabar

जीपीको बैठक नौ महिनासम्म किन बसेन ?



काठमाडौं । गणतन्त्र स्थापनापछि मुलुककै अभिभावक बनेका दिवंगत गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको संस्था आफैं भने अभिभावकविहीन बन्न पुगेको छ । उनको नाममा तनहुँको दुलेगौडामा स्थापना भएको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र अचेल नेतृत्वविहीन बन्न पुगेको हो । सो उपचार केन्द्रको अध्यक्ष स्वास्थ्य मन्त्रालयको १२औं तहको व्यक्ति हुने गर्छ जसको नियुक्ति मन्त्रिपरिषद्ले गर्नुपर्ने हुन्छ । यसअघि डा. किरण रेग्मी स्वास्थ्य सचिव भएका बेला अर्का १२औं तहका चिकित्सक डा. पुष्पा चौधरीलाई अस्पतालको अध्यक्ष नियुक्ति गरिएको थियो । उनी मन्त्रालयको सचिव भइसकेपछि अर्का रिक्त १२औं तहका चिकित्सकलाई अध्यक्षका रूपमा नियुक्ति गर्नुपर्नेमा अर्को नियुक्ति नभइन्जेल डा. चौधरीले नै सोको जिम्मेवारी सम्हाल्नुपर्ने थियो । तर, उनी मन्त्रालयको काममा व्यस्त भएपछि विगत नौ महिनादेखि अस्पतालको एउटासमेत बोर्ड बैठक बसाइनन् । त्यसैले, अहिले अस्पताललाई नेतृत्व दिने व्यक्तिको अभाव रहेको बताइन्छ । बोर्ड बैठक नबस्दा अस्पतालको कर्मचारी समायोजन र स्थायी संरचना निर्माणलगायतका थुप्रै निर्णय हुन नसकेको र केन्द्र अस्तव्यस्त भएको कर्मचारीहरूको गुनासो छ ।
केन्द्र सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयका १२औं तहका चिकित्सकको नेतृत्वमा ११ सदस्यीय बोर्ड र कार्यकारी निर्देशकको व्यवस्था गरिएको छ । अहिले मन्त्रालयमा डा. सुशीलनाथ प्याकुरेल १२औं तहका एक मात्र चिकित्सक रहे पनि डा. चौधरीले नै मन्त्रीमार्फत उनलाई अध्यक्षका रूपमा मन्त्रिपरिषद्मा लानुपर्ने नियुक्तिको प्रस्ताव लानै आलटाल गर्दा समस्या भएको बताइन्छ । तर, अध्यक्षका हैसियतले डा. चौधरीले कुनै पहल नगरे पनि स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पहल लिँदा अहिले केही गति भने आएको छ । अन्य विषयमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल र स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको स्वार्थ बाझिएका कारण धेरै काम रोकिए पनि अवस्थामा सो अस्पताल पनि प्रभावित भएको छ । पद्मा अर्याललाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेसँगै उनले स्वास्थ्य क्षेत्रमा केही सुधारको प्रयास गरेकी थिइन् ।
सोही क्रममा उनी दुलेगौडा तनहुँस्थित सो उपचार केन्द्रमा अनुगमनका लागि पुगेकी पनि थिइन् । उनले केन्द्रको अनुगमनपछि सो अस्पताललाई सुव्यवस्थित पार्ने मामिलामा सचिव चौधरीको ध्यानाकर्षण गराइन् । विगतमा केन्द्रको कार्यकारी निर्देशकका रूपमा लामो समय डा. यज्ञबहादुर भण्डारीले प्रशासन सम्हालेका थिए । स्मरण रहोस, सो विवाद तथा अनियमितताबारे बुधबारले लामो समयदेखि उजागर गर्दै आएको थियो ।
डा. भण्डारीको पालामा अनियमितता, बेथिति र विवादैविवाद सिर्जना भएपछि उनलाई हटाएर डा. मुक्तिनाथ भट्टराईलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो । डा. भण्डारी आफूलाई गैरकानुनी तवरले हटाइएको भन्दै अदालत पुगे पनि अदालतले सरकारको नियुक्ति सदर गरेपछि केन्द्रले केही गति लिएको बताइन्छ ।
मन्त्रालयबाट गएको अनुगमन टोलीले अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने, सम्बन्धित निकायबाट कर्मचारीहरूको दरबन्दी स्वीकृति गरिनुपर्ने, एम्बुलेन्स सेवा छिटो, छरितो र प्रभावकारी पानुपर्ने, स्वीकृत दरबन्दीअनुसारको कर्मचारी व्यवस्थापन हुनुपर्नेलगायत सुझाव दिएको थियो । अहिले ती सुझावहरू मन्त्रालयकै प्रत्यक्ष निगरानीमा कार्यान्वयनमा आउन थालेपछि विगतमा राजनीतिक किचलोका कारण अस्तव्यस्त बनेको अस्पतालको स्वरूप फेरिएको भन्दै स्थानीयहरू खुसी भएका छन् ।
राज्यमन्त्री अर्यालले ११औं तहको चिकित्सक पठएर अस्पताल सुधार गर्ने प्रतिबद्धता जनाएकामा उपेन्द्र यादव मन्त्री नियुक्त भएर आएसँगै दमौलीका डा. रामकुमार श्रेष्ठलाई सो अस्पतालमा पठाइएको छ । सहसचिव तहका श्रेष्ठले प्राविधिक हिसाबले कमीकमजोरी रहेको कुराहरूको विवेचना गर्दै नयाँ योजना ल्याएको र सो जिम्मेवारीलाई आफ्नो प्रतिष्ठासँग गाँसेको हेरेको बताइन्छ । अहिले सरकारी डाक्टर, निजामती कर्मचारी र कार्यकारी निर्देशकको समन्वयले अस्पतालले गति लिएको र त्यसका लागि राज्यमन्त्री अर्यालले पहलकदमी उठाएकोमा स्थानीयहरू खुसी छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा रहेको राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई भारत सरकारले सहयोग गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता संगै स्थानीय जनता उत्साहित भएका बेला कार्यकारी निर्देशकको विवादले गर्दा संस्था लथालिंग भए पनि अदालतले डा. भण्डारीलाई पुनःस्थापना नगरेपछि संस्थाको नेतृत्वको विवाद एक हदसम्म समाप्त भएको थियो । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले नै केही वर्ष अघि पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास केन्द्र स्थापना गर्ने निर्णय गरे पनि लामो समयको खिचातानीले गति लिन नसकेको केन्द्रमा अहिले केही सुधार भने भएको बताइन्छ ।
मन्त्रीसँगै मन्त्रालयको एक टोलीले केन्द्रको अनुगमन गरी सातबुँदे निर्देशन दिएको थियो । तनहुँको दुलेगौंडास्थित शुक्लागण्डकी नगरपालिकामा ७ सय रोपनी जग्गामा स्थापित सो अस्पतालमा स्थानीय स्तरबाट सञ्चालित सेतीगंगा सामुदायिक अस्पतालको स्वामित्वसमेत गाभिएपछि बृहत् रूपमा ल्याइएको छ ।
गत वर्षबाटै जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सेतीगंगा सामुदायिक अस्पताल हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्य उपचारको सेवा दिन थालिएको छ । अस्पतालको आकस्मिक सेवासहित बहिरंग सेवा, स्त्रीरोग, सवारी दुर्घटना, नाक कान घाँटी, पेटसम्बन्धी उपचार, हाडजोर्नी सेवा, ईसीजी, ल्याब एक्सरे, भिडियो एक्सरे, सुत्केरी सेवालगायतका सेवाहरू सञ्चालन भएको छ । अहिले अस्पतालमा करिब ६० जना कर्मचारी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

लेखापढी व्यवसायीलाई मर्यादित बनाउनुपर्ने

ShareTweet काठमाडौं । ललितपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीले लेखापढी व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताएका छन् । नेपाल लेखापढी कानुन व्यवसायी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

एउटा समृद्ध गीतको इतिवृत्त

ShareTweet २०४६ सालमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जनजागृत तुल्याउन त्यही गीतलाई रोजियो । २०६२–०६३ सालको जनआन्दोलनलाई सफल तुल्याउने हेतुले जनतालाई सडकमा ओराल्न–जगाउन- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

परिवेश खोतल्ने कथाहरू

ShareTweet हामी बाँचिरहेको समाज ढोंग, आडम्बर र देखासिकीको जगमा उभिएको छ । भित्र खोक्रो भए पनि बाहिर सम्पुष्ट देखिनुपर्ने संस्कृति सामन्ती समाजले हामीलाई उपहारस्वरूप- ...
पूरा पढ्नुहोस्

छोटकरीमा