22nd October 2018, Monday

E-budhabar

संगीत चोरी ः पुस्तैनी रोग



संगीत चोरी ः पुस्तैनी रोग

एउटा सिनेमा धेरै आधारद्वारा निर्मित हुन्छन् । तिनै आधारहरूले नै सिनेमा परिपक्व बन्छन् र पारखीहरू लोभिने कारण पनि बन्दछ । सिनेमाको मूल प्राण त्यसको कथातŒव रहे पनि अधिकांश सिनेमालाई चम्काउन भने गीत–संगीतको भूमिका अपरिहार्य रहँदै आएको छ । मूलतः व्यावसायिक सफलता बटुल्ने अभिप्रायले निर्मित अधिकांश सिनेमाले गीत–संगीतलाई पहिलो प्राथमिकतामा नै राख्दै आएका छन् र संगीतको बेजोड प्रभाव र आकर्षणले नै सिने पारखीहरूलाई तान्ने कला आजपर्यन्त प्रभावकारी बन्दै गएको छ । संसारका अधिकांश फिल्म जगत्ले यो कदमलाई निरन्तर पछ्याउँदै आएका छन् र नेपाली सिने जगत् पनि यो प्रक्रियाबाट बित्ताभर टाढा छैन ।
यद्यपि, नेपाली चलचित्र क्षेत्रले विकासका जति–जति उपल्ला खुट्किलाहरू पार गर्दै गएका छन्, चलचित्र–संगीतलाई भने मौलिकताको खडेरीले टड्कारो रूपमा गाँज्दै लगेको स्पष्ट आभास हुँदै गएको छ । सिनेमामा संगीत सिर्जना गर्नेहरूले अरू सर्जकका पूर्ववर्ती सिर्जनाको प्रभावमा परेर र त्यसलाई सौहार्द रूपमा तोडमरोड गरेर आफ्नो ‘सिर्जना’मा ढाल्ने प्रवृत्ति यथावत् नै रहेको छ । पछिल्लो समय चलचित्र ‘शत्रुगते’को ‘रूपै मोहनी’ बोलको गीत अर्का सर्जकको सिर्जनाको गहन प्रभावमा परेको तथ्य फैलिएसँगै चलचित्र–संगीतमा रम्नेहरू प्रभाव र तोडमरोडको सहाराबिना बाँच्न नसक्ने रहेछन् भन्ने पुष्टि हुन्छ । केही वर्षयता चलचित्र–संगीतमा उचाइ लिइरहेका राजनराज शिवाकोटीद्वारा संगीतबद्ध गरेको उक्त गीत प्रसिद्ध लोकगायक कुमार बस्नेतको ‘रौसी खान जाऊ दाजै’को ठाडो प्रभावका कारण विवादित बन्न पुग्यो ।
केही दशकअघिसम्म नेपाली चलचित्र जगत् हिन्दी चलचित्रका गीतहरूको लय चोर्ने सवालमा अत्यधिक बदनाम थियो । ‘वरिष्ठ’ उपमा जोडिएको अनेक संगीत–सर्जकहरूले हिन्दी चलचित्रका गीतको लयलाई आफ्नै ‘मौलिक सिर्जना’ ठानेर नेपाली चलचित्र भित्र्याउने क्रममा मौलिक प्रतिस्पर्धा नै हुने गरेको थियो । त्यस्तो ‘प्रतिस्पर्धा’को अन्त्य धेरै हदसम्म भएको अपेक्षा गरिए पनि नयाँ पुस्ताका संगीत–सर्जकहरूले भने स्वदेशी गीतकै लयलाई हुबहु आफ्नो सिर्जनामा ढाल्ने क्रमको सुरुवात भएको छ अब । यसअघि अल्मोडा राणा क्षेत्री त रंगेहात नै समातिएका थिए । एकाध संगीत निर्माणमा अग्रज सर्जकका सिर्जनालाई सामान्य तोडमरोड गरेको आरोप झेलेपछि उनको तीव्र आलोचना भएको थियो । अहिले शिवाकोटी पनि त्यही हालत झेल्दै छन् ।
नेपाली चलचित्र जगत्मा व्याप्त संगीत चोरी गर्ने कार्यलाई पुस्तैनी रोगका रूपमा अथ्र्याउँदा केही फरक नपर्ला । कुनै समय चम्किएका रञ्जित गजमेर विवादको भुमरीमा परेको देखिएन । तर, त्यसपछि चलचित्र संगीतमा एकछत्र छाएका शम्भुजित बाँस्कोटा, टीका भण्डारीलगायत संगीत–सर्जकले भने अनेक आरोप झेल्नुप¥यो । चलचित्र संगीतमा ‘राजा’ बन्ने होडमा बाँस्कोटा र भण्डारीले कुनै पनि लक्ष्मणरेखा पार गर्न हिच्किचाएनन् । अरूका संगीतलाई तोडमरोड गरी आफ्नो सिर्जना बनाउने, लयलाई भाँचभुँच पार्ने र कतिपय संगीतलाई त हुबहु नै सार्ने कार्यमा दक्षता नै हासिल गरेका थिए । प्रतिलिपि कानुन खासै प्रभावकारी नरहेको समयमा चम्किएका यी सर्जकहरूले चलचित्र संगीतलाई सुमधुर बनाउने नाममा अरूका मौलिक सिर्जनामाथि धावा बोलेका थिए । त्यही समय, चलचित्र संगीतमा पाइला टेके पनि अरूका सिर्जनालाई तोडमरोड गर्ने कार्यबाट टाढै रहेका कारण शक्तिवल्लभजस्ता संगीत–सर्जकहरू चलचित्र–संगीतमा लामो समय टिक्न सकेनन् । अहिले शम्भुजीत–टीका भण्डारीको समय घर्किसकेको छ, उनीहरूको संगीत बिक्न छाडेको नै करिब दुई दशक बितिसकेको छ । तर, नेपाली चलचित्र संगीतमा उनीहरूले स्थापित तुल्याएको गलत मान्यता र परिपाटी भने अझैसम्म कायम रहनु सुखद पक्ष होइन ।
अहिले वसन्त सापकोटा, महेश खड्काजस्ता संगीत–सर्जकको सिर्जनाले चलचित्र–संगीत कम सिँगारिएका छन् । सापकोटाले धेरै समयपछि चलचित्र ‘भैरे’मा संगीत दिएका छन् । लयलाई भाँचभुँच पार्ने सर्जकहरूको बाहुल्य बढ्दै गएको हुँदा मौलिक र आफ्नै सिर्जनायुक्त संगीत पस्किनेहरू ओझेलमा पर्नुलाई अचम्म मान्नुपर्दैन । यद्यपि, शम्भूजीत–टीकाको युग अन्त्य भएपछि उदाएका यी संगीत–सर्जकहरूले भने अरूका सिर्जनामाथि धावा बोलेको आरोप खासै झेल्नु परेन ।
नयाँ पुस्तामा ‘हिट’ संगीत भरेर रातारात चर्चित हुने प्रवृत्ति नराम्ररी मौलाइरहेको छ । ‘हिट संगीत’ दिन सके एकपछि अर्का निर्माता–निर्देशकहरूले पत्याउने र चलचित्र–संगीतमा आफ्नो वर्चस्व कायम हुने लोभमा नयाँ पुस्ताका संगीत–सर्जकहरू फसिरहेका छन् । हिट संगीत सिर्जना गर्ने लोभ र लहडमा अरूका सिर्जनालाई बंग्याउने, लयलाई हुबहु सार्ने क्रम बढिरहेको छ । तर, नेपाली चलचित्र संगीतमा बढ्दो यस्तो प्रवृत्तिले न त चलचित्र–संगीतलाई माथि उठाउन मद्दत पु¥याउँछ, न त संगीत–सर्जकहरूले नै आफ्नो करिअरलाई जीवन्त तुल्याउन सक्छन् । अन्ततः दुवै भड्खालोमा मात्र जाकिन पुग्नेछन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा