13th December 2018, Thursday

E-budhabar

साउने प्रतिज्ञा



साउने प्रतिज्ञा

हरेक दिन दाह्री–जुँगा मिलाएर हिँड्ने एकजना साथी दाह्री–जुँगा पालेको अवस्था देखेपछि प्रश्न गर्न मन लाग्यो, ‘दाह्री–जुँगा पाल्न थाल्नुभएछ नि, किन यस्तो विरूप हो ?’ ती साथीले जवाफ फर्काउँदै भने, ‘यो साउन महिनाभरि नकाट्ने प्रतिज्ञा गरेको छु । भदौ लाग्ने बित्तिकै काट्ने योजना छ ।’ मेरो प्रश्न रह्यो, ‘किन, साउनमा दाह्री–जुँगा काट्नुहुँदैन र ?’ उनले सहजतापूर्वक जवाफ दिए, ‘मैले हरेक वर्ष साउन महिना बार्दै आएको छु । म यो महिनामा धूमपान, मद्यपान, माछा–मासुजस्ता तामसी भोजन गर्दिनँ । दाह्री–जुँगा पनि काट्दिनँ । मैले साउन महिनालाई यसरी नै शुद्ध महिनाका रूपमा उपयोग गर्दै आएको छु ।’
आखिर, साउन महिना धार्मिक वा चारित्रिक हिसाबले किन प्रतिज्ञाको महिनामा बदलिँदै छ ? अरू महिनामा धर्मकर्म, चरित्र शुद्धीकरणमा खासै तनमन नदिनेहरू पनि किन साउन महिनामा यतिबिघ्न बदलिन पुग्छन् ? खानपिनलगायतका पक्षहरूमा शुद्धीकरणको मार्ग किन अपनाउँछन् ? के साउन वैराग्यको महिना हो ? अचेल मन्दिरतिर रंगीबिरंगी सारीहरूमा सजिएका महिलाहरूको घुइँचो र विशुद्ध आचरणमा बसेका पुरुषहरू देख्दा साउन महिनाको महिमा गाउन करै लाग्छ । अरू महिना फेरिन नचाहनेहरू साउन महिनामा नै अचानक फेरिन पुग्दा साउनको गरिमा र महŒव पनि दर्सिन पुग्छ ।
धार्मिक क्रियाकलापमा तनमन सुम्पिने नारीहरूका निम्ति त साउन महिनाको महŒव झनै उच्च छ । हिन्दू धर्ममा आस्था राख्ने नारीहरूले शिवको मन्दिरमा गई दर्शन गर्ने र पूजाआजामा समय व्यतति गर्ने कार्य साउन महिनाभरि नै जारी राख्छन् । साउनको हरेक सोमबार मन्दिरहरूमा नारीहरूको बाक्लो भीड लाग्नुलाई सामान्य मान्नुपर्ने हुन्छ । सोमबारको दिन कसै–कसैले फलाहार मात्र सेवन गरेर र कोही–कोही चाहिँ पानीसमेत नपिई शिवको व्रत र पूजाआजामा निमग्न रहन्छन् । सोमबारको व्रतलाई पतिव्रताको उच्च रूप मानिन्छन् र धार्मिक भावना बोक्ने नारीहरूले त्यस दिनलाई विशेष दिनका रूपमा ग्रहण गर्दै आइरहेका छन् ।
धार्मिक हिसाबले त साउन महिना समृद्ध छँदै छ, सांस्कृतिक रूपले पनि यो महिना सिंगारिएको हुन्छ । हात–खुट्टालाई मेहन्दीले सिंगार्नेदेखि हरिया सारी र चुरामा सजिने कार्यमा नारीहरूबीच तीव्र प्रतिस्पर्धा नै चल्छ । हात–खुट्टामा बुट्टेदार मेहन्दी लगाउँदा र हरिया सारी र चुरामा सजिँदा त्यसले कति पुण्य मिल्ला वा मनोकांक्षा पूरा होला ? यो आफ्नै ठाउँमा छ । तर, मेहन्दी र सारी, चुराको व्यापार भने निकै फस्टाउने महिनामा पर्छ, साउन महिना । मेहन्दी, हरिया सारी र चुरालाई धार्मिक पक्षसँग जोडिदिएपछि त्यस्ता चिजहरूको बिक्री नबढ्ने सवालै रहँदैन । ती चिजहरू मात्र होइनन्, धार्मिक वा सांस्कृतिक पक्षसँग जोडिएका कुनै पनि वस्तुको बिक्री तुलनात्मक रूपमा माथि नै हुन्छन् ।
नारीहरू साउन महिनामा धार्मिक अनुष्ठानहरूमा चुर्लुम्म डुब्न पुग्छन् नै, पुरुषहरूमा पनि साउन मनाउने आफ्नै तरिका र शैली छन् । मूलतः साउन महिना यात्रा गर्ने उपयुक्त महिनामा पर्दैन । किनभने, वर्षात््का अरू महिनाको तुलनामा साउनमा बढी नै वर्षा हुन्छ र कुनै पनि यात्रालाई अवरोध तुल्याउन यथेष्ट भरथेग गर्छ । पहाडी इलाकाहरूमा पहिरो जाने, सडकहरू भत्किने, पुरिने र मधेसको भूभाग डुबानमा पर्ने समस्या प्रायः साउन महिना नै उब्जिन्छन् । तर, नेपाल र भारतका अधिकांश मानिसहरू साउन महिनामा नै बोलबमको यात्रामा निस्कन्छन् । धार्मिक यात्राका क्रममा निस्किँदा कैयन् मानिसहरूलाई बाढी र पहिरोले बगाएको, कैयन् मानिसहरू डुबानमा परेको र कैयन् दिनसम्म सडक अवरुद्ध भएर बिचल्लीमा परेका समाचारहरू बारम्बार सुनिन्छन् । साउन महिना तीर्थस्थलहरूमा घुमफिर गर्ने उपयुक्त मौसम भएको महिना नभएकोमा जानकार हुँदाहुँदै पनि धार्मिक भावनाले डोरिएर अधिकांश मानिस साउनमा नै तीर्थस्थलहरू घुम्न रुचाउँछन् । पुण्य प्राप्ति हुने अन्धविश्वासमा जकडिएर उर्लिंदो नदी–नाला तर्दै, कठिन सडक–मार्गहरू पार गर्दै र जीवनकै जोखिम मोल्दै मानिसहरू तीर्थस्थलहरू घुम्न जाने गरेका छन् ।
आखिर, साउनले सबैलाई जकडेको प्रतति हुन्छ । शिक्षित, सभ्य एवं आधुनिक समाजमा हुर्किएका मानिसहरूसमेत साउनको धार्मिक, सांस्कृतिक, आचरणगत साङ्लोले बाँधिएका छन् । नारीहरूलाई त व्रत, सिँगारपटार र धार्मिक स्थलहरूमा घुमफिर गर्दैमा फुर्सद हुँदैन, यो महिना । पुरुषहरू पनि साउनमा कुनै व्यसनलाई त्याग्दा अपार मुक्ति मिल्ने भ्रममा रुमल्लिएका देखिन्छन् । एक महिना व्यसनबाट टाढा रहने र अरू महिना भने त्यसमै चुर्लुम्म डुब्ने हो भने त्यो कति अर्थपूर्ण होला ? प्रश्न सोचनीय छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जनाको मझेरीमा उपेक्षित किसान

ShareTweet – मधेस सदैव उर्वर भूमि रहँदै आयो । अन्नबालीको प्रचुरता रहेको मधेसका जनताले चिनी कारखाना खुल्न थालेपछि उखु खेतीलाई प्रश्रय दिए । नगदे बालीका रूपमा परिचित- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

उज्यालोको एउटा गीत

ShareTweet अक्सर कविहरूसामु विषयवस्तुको छनोट र बिम्बविन्यासको क्रममा उज्यालो या अँध्यारोमध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ ।- ...
पूरा पढ्नुहोस्

छोटकरीमा