13th December 2018, Thursday

E-budhabar

समस्याको उठान



समस्याको उठान

देश, समाज र परिवारभित्र दैनन्दिन रूपमा अनेक घटनाहरू जन्मिरहेका हुन्छन् । निश्चय नै, त्यस्ता घटनाहरूले मानिसको जीवनमा सानाठूला प्रभाव पार्दछन् । कुनै घटनाको प्रभाव क्षणिक हुन्छन् भने कुनैले लामो समयसम्म मन–मस्तिष्कलाई बिथोलिरहन्छन् । स्रष्टा खेमराज पोखरेलले पनि तिनै साना–ठूला घटना र प्रसंगहरूलाई लेखनको विषय बनाउँदै आएका छन् । उनको लघुकथाकृति ‘सिमानामा आमा’भित्र मानवीय संवेदना र भावहरूलाई केलाउने सिर्जनाहरू फक्रिएका छन् ।
सहर र गाउँबीचको दूरी अझै मेटिन सकेको छैन । गाउँमा बस्ने वृद्ध आमाबुवाको अपेक्षा सहरमा बस्ने छोराछोरीप्रति अधिक हुन्छ भने सहरमा बस्ने छोराछोरीमा पनि गाउँ, नातागोता र आफन्तहरूप्रति उत्तिकै सद्भाव मौलाइरहेको हुन्छ । तर, सबै आ–आफ्नै बाध्यतामा पिल्सिएका हुन्छन् । यो पक्षलाई उनले ‘खोइ उत्तर’जस्ता कथामार्फत अभिव्यक्त गर्न खोजेका छन् । ‘भीर महको मौरी’ कथामा भने हाम्रो राजनीतिक परिपाटीप्रति व्यंग्य गरिएको छ । शासन प्रणाली फेरिए पनि, देशमा परिवर्तन आए पनि व्यक्ति फेरिएका छैनन् । हिजो जुन व्यक्तिले शासन गरेका थिए, बदलिँदो राजनीतिक परिस्थितिमा पनि तिनै व्यक्तिको बोलवाला कायम छ भन्ने कटु यथार्थलाई यो कथाले देखाउन चाहेको छ ।
नयाँ पुस्ता नयाँ–नयाँ चाहना, इच्छा र आवश्यकता बोकेर बाँचेका हुन्छन् । तर, छोराछोरीको चाहनालाई पूरा गर्न अभिभावकहरूले कति हाड घोट्नुपर्छ ? यो यथार्थलाई ‘उल्टो’ कथाले समेटेको छ । घरमा रंगीन टेलिभिजन हुँदा पनि एलसीडी किन्नुपर्ने छोराको फर्माइसलाई पूरा गर्न नसक्दा अभिभावक र सन्तानबीच देखिएको द्वन्द्वलाई यो कथाले राम्ररी पहिल्याएको छ । ‘टाई’ कथामा भने अरुको देखासिकी गर्ने प्रवृत्तिप्रति कटाक्ष गरिएको छ । विवाहमा बेहुलाको टाई मिलाउन नआउँदा अरूकै सहारा लिनुपर्ने बाध्यकारी परिस्थितिलाई व्यंग्यात्मक रूपमा यो कथामा उतारिएको छ ।
सहरमा बस्ने मानिसहरू यति व्यस्त भइसके कि अभिभावकहरूसँगको बढ्दो दूरीलाई झनै बढाइरहेका छन् । ‘ढाँट’मा मातातीर्थ औंसीको दिन आमालाई भेट्न नगई फोनबाट नै सन्चो–बिसन्चो सोधेर कर्तव्य पूरा गर्ने छोरा–बुहारीको लाचारीपनलाई उजागर गर्न खोजिएको छ । सहरको व्यस्त जिन्दगी र आफन्तहरूबाट टाढिँदै गएको शब्दचित्र यो कथामा छ । ‘कसको लोग्ने ?’ कथामा भने वैदेशिक रोजगारमा गएका एक जना पुरुषको घरमा रहेकी पत्नीसँग जनगणना लिन गएका कर्मचारीसँगको रोचक संवादलाई उतारिएको छ । वैदेशिक रोजगारीमा जानेहरू बिदामा केही समय घर फर्किने र पत्नीलाई गर्भवती बनाएर जाने यथार्थलाई यो कथामा उतारिएको छ । ‘सिमानामा आमा’ भने देशप्रेमले ओतप्रोत कथा हो । सिमानामा बार लगाइएन भने हिंस्रक जीवजन्तुहरू मात्र घरभित्र प्रवेश गर्दैनन्, फिरंगीहरूले समेत धावा बोल्न सक्छन् भन्ने यथार्थलाई पस्किन यो कथा सफल देखिएको छ ।
सामान्य विषयलाई पनि कथाको स्वरूपमा ढाल्ने पोखरेलको खुबी लोभलाग्दो छ । उनका हरेक कथाले एउटा न एउटा समस्यालाई उठान गर्न चाहेको प्रस्टै देखिन्छ । उनका हरेक कथामा नेपाली समाज, परिवेश र परिवारभित्रका समस्या एवं पीडाहरू छरपस्ट देखिएका छन् ।
कृति ः सिमानामा आमा
विधा ः लघुकथा
लघुकथाकार ः खेमराज पोखरेल
प्रकाशक ः बीएन पुस्तक संसार
पृष्ठ ः १७६
मूल्य ः ३००।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जनाको मझेरीमा उपेक्षित किसान

ShareTweet – मधेस सदैव उर्वर भूमि रहँदै आयो । अन्नबालीको प्रचुरता रहेको मधेसका जनताले चिनी कारखाना खुल्न थालेपछि उखु खेतीलाई प्रश्रय दिए । नगदे बालीका रूपमा परिचित- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

उज्यालोको एउटा गीत

ShareTweet अक्सर कविहरूसामु विषयवस्तुको छनोट र बिम्बविन्यासको क्रममा उज्यालो या अँध्यारोमध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ ।- ...
पूरा पढ्नुहोस्

छोटकरीमा