22nd October 2018, Monday

E-budhabar

चार दर्जन वित्तीय संस्थाद्वारा राष्ट्र बैंकको निर्देशन अवज्ञा



चार दर्जन वित्तीय संस्थाद्वारा राष्ट्र बैंकको निर्देशन अवज्ञा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको निर्देशन उनीहरूले लत्याएका छन् । बैंक तथा फाइनान्स कम्पनीहरूको नियमनकारी निकायका हैसियतले राष्ट्र बैंकले बेलाबेला विभिन्न निर्देशनहरू जारी गर्छ । त्यो निर्देशन बैंकिङ क्षेत्रमा वित्तीय सन्तुलनका लागि अत्यावश्यक भएको बताइन्छ । राष्ट्र बैंकले गत साता वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तसमेतलाई समेट्ने गरी एक परिपत्र जारी गरेको थियो । उक्त परिपत्रअनुसार क्षेत्रीय तथा राष्ट्रिय स्तरका विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्थाहरूले १५ साउनभित्र नै आव २०७४÷७५ को वित्तीय प्रतिवेदन सार्वजनिक गर्नुुपथ्र्यो । राष्ट्र बैकले वाणिज्य बैंकहरूलाई त्रैमास सकिएको ३० दिनभित्र र विकास बैंक, फाइनान्स र लघुवित्त संस्थाहरूलाई त्रैमास सकिएको १५ दिनभित्र वित्तीय प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको थियो । तर, उक्त निर्देशन कार्यान्वयनमा आएको हप्ता बितिसक्दा पनि झन्डै चार दर्जन संस्थाहरूले त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।
जारी गरेको ऐननियमलाई बैंक तथा फाइनान्स कम्पनीहरूले अक्षरशः पालना गर्नुुपर्छ । यदि गरिएन भने त्यस्ता संस्थाहरूलाई नियमअनुसार दण्डजरिवाना गर्ने अधिकार राष्ट्र बैंकमा रहेको हुुन्छ । अहिले नेपाली बैंकिङ क्षेत्रमा २८ वटा वाणिज्य बैक, ३४ वटा विकास बैंक, २५ वटा फाइनान्स र ६३ वटा लघुवित्त संस्थासमेत गरी १ सय ६० वटा बैंक तथा फाइनान्स कम्पनीहरू सञ्चालनमा रहेका छन् ।
तर, तीमध्ये हालसम्म पाँचवटा वाणिज्य बैंक, २२ वटा विकास बैंक, १५ वटा फाइनान्स कम्पनी र २२ वटा लघुवित्त संस्थाहरूले मात्र वित्तीय विवरण सार्वजनिक गरेको बताइन्छ । यसबीचमा आशा लघुबित्त वित्तीय संंस्था, समिट माइक्रो फाइनान्स, बेस्ट फाइनान्ससहितका झन्डै चार दर्जन बैंक तथा फाइनान्स कम्पनीहरूले राष्ट्र बैंकको निर्देशन अवज्ञा गर्दै वित्तीय प्रतिवेदन सार्वजनिक नगरेको राष्ट्र बैंक स्रोतले बतायो ।
बैंकहरूको कर्जा अनुत्पादक क्षेत्रमा बढी
त्यसो त विगतमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अनुत्पादक क्षेत्रमा कम कर्जा लगानी गर्न र उत्पादनमूलक क्षेत्रमा बढी कर्जा लगानी गर्न निर्देशन दिएको थियो । सो निर्देशन पनि लागू हुन नसकेको तथ्यांकहरूले देखाएको छ । त्यो निर्देशन मान्ने हो भने कृषि तथा औद्योगिकजस्ता उत्पादनमूलक क्षेत्रमा लगानी बढी हुनुपथ्र्यो । तर ती क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरूको कर्जा अझै न्यून देखिएको छ । राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रअन्तर्गत कृषि र ऊर्जामा कम्तीमा पनि १२ प्रतिशत कर्जा प्रवाह गर्न निर्देशन दिएको भए पनि चालू आवको ६ महिनामा बैंक तथा फाइनान्स कम्पनीहरूले प्रवाह गरेको कर्जाको अनुपात हेर्दा कृषिमा भन्दा हायर पर्चेज अर्थात् सवारीसाधन खरिदमा बैंकहरूको कर्जा अधिक देखिएको छ ।
सवारीसाधनमा पनि पछिल्लो समयमा खासगरी निजी गाडी खरिदको ऋण धेरै स्वीकृत भएको स्रोतले जानकारी दिएको छ । निजी गाडीमा धेरै लगानी गर्दा त्यसले राष्ट्रिय उत्पादकत्वमा खासै योगदान नदिने विज्ञहरू बताउँछन् ।
हायर पर्चेजमा ६ महिनामा ८५ अर्ब
राष्ट्र बैंकको तथ्यांकअनुसार कृषि क्षेत्रमा ६४ अर्ब ८७ करोड ३७ लाख ८० हजार रुपैयाँ मात्र कर्जा प्रवाह गरेको बैंकिङ क्षेत्रले चालू आवको पछिल्लो ६ महिनामा हायर पर्चेज अर्थात् सवारीसाधन खरिदमा ८५ अर्ब ६ करोड ६ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । विपन्न वर्ग क्षेत्रमा भने सो अवधिमा ७० अर्ब ८६ करोड ७६ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेका देखिन्छ । सो अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप १९ खर्ब ६६ अर्ब ९६ करोड ३० लाख रुपैयाँ रहेकोमा कुल कर्जा १४ खर्ब २८ अर्ब ७६ करोड ३५ लाख ९० हजार रुपैयाँ रहेको थियो । वाणिज्य बैंकहरूले मात्र पनि चालू आवको छ महिनामा कृषिमा भन्दा हायर पर्चेजमा कर्जाको अनुपात बढाएको देखिन्छ । कृषिमा ४९ अर्ब ४९ करोड ६६ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले सवारीसाधनतर्फ चालू आवको ६ महिनामा ५८ अर्ब ७८ करोड ५३ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार सो अवधिमा वाणिज्य बैंकहरूको कुल निक्षेप १५ खर्ब ५० अर्ब १५ करोड ११ लाख ४० हजार रुपैयाँ रहेको थियो भने कर्जा ११ खर्ब ६४ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको थियो । सो अवधिमा विपन्न वर्ग क्षेत्रमा भने वाणिज्य बैंकहरूले ५७ अर्ब २३ करोड ५३ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले भने चालू आवको छ महिनामा कृषि क्षेत्रमा १३ अर्ब ३० करोड १६ लाख ६० हजार रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।
सो अवधिमा हायर पर्चेज शीर्षकअन्तर्गतको कर्जा भने १८ अर्ब ४९ करोड ४६ लाख ६० हजार रुपैयाँ रहेको छ भने विपन्न वर्गतर्फको कर्जा ११ अर्ब १५ करोड ५३ लाख ३० हजार रुपैयाँ रहेको छ । २ खर्ब ४६ अर्ब ६९ करोड ६७ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरेका विकास बैंकहरूले सो अवधिमा एक खर्ब ९७ अर्ब ७४ करोड ५९ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
फाइनान्समा त कृषिमा झनै कम
फाइनान्स कम्पनीहरूको पनि कृषि क्षेत्रमा कर्जाको आकर्षण कम देखिएको छ । चालू आवको छ महिनामा ७५ अर्ब ५० करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब २४ करोड ५६ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेका फाइनान्सहरूको कृषि क्षेत्रतर्फको कर्जा २ अर्ब ७ करोड ५४ लाख ९० हजार रुपैयाँ मात्र रहेको छ । उक्त अवधिमा हायर पर्चेज शीर्षकअन्तर्गतको कर्जा ७ अर्ब ७८ करोड ६ लाख ७० हजार रुपैयाँ रहेको फाइनान्स कम्पनीहरूको विपन्न वर्गतर्फको कर्जा भने २ अर्ब ४७ करोड ६३ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
घरजग्गामा लगानी पनि उस्तै
नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी गर्न कडाइ गरे पनि त्यसमा सुधार हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाले आपूmखुसी कर्जा प्रवाह गर्दा बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को चरम अभाव भएपछि राष्ट्र बैंकले अनुत्पादक क्षेत्रतर्फको लगानीमा कडाइ गरेको थियो ।
अनुत्पादक क्षेत्रमा घरजग्गा, ओभरड्राफ्ट, सेयर धितोलगायतका कर्जा पर्छन् । तर, जेठसम्मको तथ्यांकमा घरजग्गा धितोको कर्जा लगानीमा कमी आएको देखिँदैन । केन्द्रीय बंैकका अनुसार जेठसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये १ खर्ब २७ अर्ब १५ करोड रुपैयाँ घरजग्गाको धितोमा प्रवाह गरेका छन् । यो कुल कर्जाको ६१ दशमलव १ प्रतिशत हो । जेठसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी १९ खर्ब ६६ अर्ब ७२ करोड छ । गत असारमा बैंक तथा वित्तीय संस्थाले घरजग्गाको धितोमा १ खर्ब ८ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अघिल्लो वर्षको जेठमा बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गाको धितोमा ६१ दशमलव ३ प्रतिशत कर्जा प्रवाह गरेका थिए । गत असारको तुलनामा जेठमा १९ अर्ब ८ करोडले घरजग्गाको धितोमा बैंकहरूको लगानी बढेको थियो । त्यस्तै, जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूले १३ दशमलव ९ प्रतिशत कर्जा कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह गरेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा १४ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । भूकम्पपीडितहरूलाई २ प्रतिशत ब्याजमा आवासीय घर निर्माण कर्जा ८१ करोड ६५ लाख रुपैयाँ प्रवाह भएको छ । केन्द्रीय बैंकका अनुसार यस्तो कर्जा ३ सय ८२ जनाले लिएका छन् । त्यस्तै, उत्पादनशील क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्थाहरूले १७ दशमलव ५ प्रतिशत कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । जबकि बैंक तथा वित्तीय संस्थाहरूले कुल कर्जाको २० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा