20th October 2018, Saturday

E-budhabar

अब खुल्दैन ‘साहित्य संसार’को दैलो !



अब खुल्दैन ‘साहित्य संसार’को दैलो !

‘बाबा ! म त धेरै बाँच्दिनँ, डाक्टरले १० वर्षको समय दिएको छ ।’ मिर्गाैला प्रत्यारोपणपछि नियमित डायलाइसिसका रहेको साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधिले भन्ने गर्नुहुन्थ्यो । अजम्बरी त को नै हुन्छ र तर मिर्गाैलापीडितहरूको जीवन कष्टकर हुन्छ नै । उहाँको २३ वर्षअघि मिर्गाैला प्रत्यारोपण भएको थियो । चिकित्सकले अनुमान गरेको भन्दा १३ वर्षभन्दा बढी बाँचेर दाहाल गत शुक्रबार मस्तिष्काघात कारण भौतिक संसारबाट बिदा हुनुभयो ।
‘जदौ श्रोता, जदौ ! खुल्यो साहित्य संसारको दैलो, आउनुस् आजलाई मेला पसौं’ भनी मीठो स्वर र सुललित भावमा रेडियो नेपालको ‘साहित्य संसार’ कार्यक्रमको दैलो उघार्ने दाहालको निधनसँगै उहाँको यो शैलीलाई अब श्रोताले सुन्न नपाउने भएका छन् ।
पछिल्लो समय रेडियो अन्नपूर्णमा हरेक शनिबार प्रसारित हुने ‘जदौ’ कार्यक्रमको सञ्चालक रहेका यज्ञनिधिलाई साहित्य र पत्रकारितामा खरो स्वाभावका देशभक्त र राष्ट्रवादी स्रष्टाका रूपमा लिइन्छ । झर्राेवादी शैलीका दाहालले लामो समय दरबार हाईस्कुलमा नेपाली विषयको शिक्षण पनि गर्नुभएको थियो ।
मृत्युलाई पटकपटक नजिकबाट नियाले पनि बाँच्नुको कलाबारे बोल्नुपर्दा थकित नहुने दाहालका युवापुस्ताका स्रष्टा र सञ्चारकर्मीले पनि उद्घोषणकला र साहित्य सिर्जनाबारे सम्मानका साथ लिइने नाम हो ।
वनस्थलीस्थित राष्ट्रिय मिर्गाैला उपचार केन्द्रमा हप्ताको दुईपटक डायलोसिसलाई निरन्तरता नदिने हो भने साहित्यकार÷रेडियोकर्मी यज्ञनिधिको भौतिक शरीर नरहेसँगै उहाँले रेडियो तरंगमा छाडेर गएका साहित्यिक वाणीहरू अमर भएका छन् ।
खोटाङको धारापानीमा २०१० साउन ८ गते जन्मेका दाहाल २०३० सालमा साहित्यमा लागेका उहाँले भानु मावि, दरबारमार्गमा लामो समय शिक्षण गर्नुभएको थियो । यसबीचमै २०३४ मा रेडियो नेपालमा कार्यक्रम सञ्चालक बनेका उनको २०५७ फागुन १० मा मिर्गाैला प्रत्यारोपणका कारण साहित्यिक कार्यक्रमको यात्रामा अल्पविराम लागेको थियो ।
पञ्चायतकालदेखि रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम सञ्चालक भएर, लोक जनजीवनका साहित्य, संस्कार, स्वर र शैलीलाई टिप्दै ‘जदौ श्रोता, जदौ, खुल्यो साहित्य संसारको दैलो’ भन्ने यज्ञनिधिलाई गाउँगाउँका बूढापाकाले समेत सम्झन्थे । पछिल्लो दशकका उहाँलाई अभिनन्दन गर्न गठित आयोजक समितिको ग्रन्थ, साहित्यकार रमेश शुभेच्छुको सम्पादनमा प्रकाशित ‘जदौ’ कृति भयो भनेपछि ‘जदौ’ साझा प्रकाशनले उहाँको निबन्ध प्रकाशन गरेको छ ।
बोलीमा मिठास अनि भाषामा लयात्मकता र झर्राेपना अनि गणतान्त्रिक विचारले परिस्कृत यज्ञनिधिले लोकतान्त्रिक साहित्यिक आन्दोलनका समयमा आफ्नो अनामनगरस्थितको निवासलाई ‘गणतन्त्र काव्यटार’ घोषणा गरेको विशेष स्मरणीय मानिन्छ । लोकतन्त्रका लागि व्यवहारिक रूपमा प्रतिबद्ध दाहालले राजा ज्ञानेन्द्रले २०५८ असोज १८ मा प्रत्यक्ष शासन सुरु गरेपछि त्यसको विरोधमा रचना र आन्दोलनका माध्यमबाट जनता जगाउन निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । गणतन्त्रको नारा बोकेका माओवादी भूमिगत आन्दोलनमै थियो । लोकतान्त्रिक गणतन्त्रलाई अब शान्तिपूर्ण आन्दोलनकै मुद्दा बनाउनुपर्ने निचोडमा संसदीय दलहरू पुगिनसकेको समयमा दाहालले आफूलाई स्पष्ट गणतन्त्रवादी बनाई त्यसको प्रतीकका रूपमा ‘गणतन्त्र काव्यटार’को बोर्डलाई दाहालको दैलो (आफ्नो निवास) मा राख्न लगाउनुभएको थियो । अनामनगरको केन्द्रमा रहेको सो घरमा नागार्जुन साहित्यिक प्रतिष्ठानको कार्यालय पनि रहेको र दाहाल लामो समय त्यही घरमा बस्ने भएकाले मान्छेहरू आउँदा ‘गणतन्त्र’ लेखिँदा केही हुने हो कि ? भनेर चिन्ता प्रकट गर्दथे, तर दाहाल दाइले ‘जनताको चाहना, आवश्यकता र शक्तिका अगाडि कुनै पनि तानाशाह नटिक्ने’ ठोकुवा गरेर त्रसित नहुन र आन्दोलित भावका साथ अगाडि बढ्न आह्वान गर्न छाड्नुहुन्थेन ।
नागार्जुन साहित्यिक प्रतिष्ठानका सल्लाहकार र अध्यक्ष हुँदै लोकतान्त्रिक साहित्यकार संघ र पछि लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चलाई अस्थित्वमा ल्याई सक्रिय गराउन उनले जनताको सत्ता र लोकजीवनको सधैं वकालत गर्नुभएको थियो, जसले आन्दोलनका लागि साहित्यिक आधारभूमि तय गरेको थियो । व्यक्तिगत रूपमा प्रजातान्त्रिक धारका दाहालको सोच, व्यवहार र शैली प्रगतिशील, क्रान्तिकारी र रूपान्तरणकारी थियो । उहाँ एक सांस्कृतिक रूपान्तरणको अभियन्ता पनि हुनुहुन्थ्यो । ‘दासता र रैतीबाट मानिसलाई नागरिक बनाउनुपर्छ भन्ने त्यसबेलादेखिकै मेरो अभियान हो । म त ढाक्रे हुँ । शरीरले साथ दिएको भए अहिले पनि त्यसलाई निरन्तरता नै दिने थिएँ,’ उहाँ भन्ने गर्नुहुन्थ्यो ।
दाहालले आफूलाई केन्द्रमा राखेर कहिले पनि काम गर्नुभएन । आफूलाई सरल व्यक्तिका रूपमा प्रस्तुत गर्दै साहित्य, उद्घोषण र समाजबारे नयाँ पुस्तालाई सँधै अभिप्रेरित गर्ने गर्नुहुन्थ्यो । आफ्ना अनुभवमा पोकाहरू फुकाएर सहयात्री र नयाँ पुस्तालाई उहाँले जीवनका विविध आयमबारे मुखाग्र ज्ञानज्ञानका कुरा सुनाउनुहुन्थ्यो । रेडियोमा बोल्न नमिल्ने र बोल्न नभ्याएका अनेकांै स्मृति र अनुभवहरू उहाँले सुनाउँदा ज्ञान र सूचनाको स्रोतको समिश्रण प्रकट भइरहेको हुन्थ्यो ।
नेपाल प्रज्ञा प्रतिष्ठानजस्ता राज्यका निकायले जनअपेक्षाअनुसार काम नगरेको अनुभव गर्ने दाहालले गणतन्त्र काव्यटारझैं सडक प्रज्ञा प्रतिष्ठान घोषणा गर्ने तर्क पनि सुनाउने गर्दा सहयात्रीहरूले उनलाई सडक प्रज्ञा प्रतिष्ठानका प्राज्ञ भनिदिन्थें, उहाँ त्यसमा मख्ख पर्नुहुन्थ्यो ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा