21st September 2018, Friday

E-budhabar

सत्यापनको नजिक



सत्यापनको नजिक

आफ्नो जीवन–गाथा रच्ने इच्छा कसलाई हुँदैन र ? जीवनका अँध्यारा–उज्याला तस्बिरहरुलाई फ्रेममा टाँग्ने उत्साहले डोरिँदै समाजका प्रबुद्ध अनुहारहरुले आत्मकथा लेखिरहेका छन् । तर, अधिकांशले आत्मकथ्य नभएर आत्म–गन्थन वा आत्म–विश्लेषण कोरिरहेका छन् । आत्मकथालाई भँडास पोख्ने माध्यम बनाइरहेका छन् । तर, कथा–शिल्पी नारायण तिवारी भने केही फरक लाग्छन् । उनले ‘स्मृति कतिकति’ मा तिनै स्मृतिहरुलाई सतहमा ल्याउने प्रयत्न गरेका छन्, जसलाई उनले हृदयको अतल गहिराइबाटै उत्खनन गरेको प्रतित हुन्छ ।
विराटनगर, उनको आत्मकथांशको इपिसेन्टर हो, जहाँबाट फैलिएका तरंगहरुले सीतागञ्ज, चैनपुर, धरान, लहान, जनकपुरजस्ता थलोहरुलाई प्रभावित तुल्याएका छन् । मधेसको सीमान्त गाउँ सीतागञ्जमा बाल्यकालीन समय गुजारेका उनले आफ्नो अध्ययन र प्रतिभालाई तिखार्ने थलो विराटनगरलाई नै बनाए । विराटनगरमै डेरा जमाए, पढे र साथीहरुसँग संसर्ग बढ्यो । गीत गाउने सोख त छँदै थियो तर सिनेमाहरु हेर्ने सौखले विराटनगरका हलहरुले नपुगेर फारबिसगञ्जसम्म पु¥याए र धीत मरुन्जेलसम्म सिनेमा हेरे । सिनेमाप्रतिको अधिक मोह र गायन कलाप्रतिको रुचि बढ्दै जाँदा त्यसले साहित्य लेखनका लागि पाश्र्वभूमिसमेत तयार पार्ने काम ग¥यो ।
जीवन–यात्रामा जोडिएका सबैजसो पात्रहरुलाई उनले स्मृतिमा लपेट्न खोजेका छन् । तर, तीमध्ये अधिकांश पात्रहरु जीवनको पछिल्लो घुम्तिमा आइपुग्दा उनीभन्दा धेरै टाढा छन् । यात्रामा छुटेका पात्रहरुलाई उनी सम्झिन्छन् र ती पात्रहरुका गुण–अवगुण केलाउँदै विव्हल हुन पुग्छन् । चाहे लहानमा भेटिएकी झुम्की दिदी हुन् वा धरानमा भेटिएका डा. मानसकुमार वनर्जी, दुवैलाई उनी आत्मीयतापूर्वक सम्झिन्छन् । परिवारका सदस्य, नातागोतादेखि जागिरे जीवनका क्रममा कमाएका साथीभाइ, शुभेच्छुक, सहयोगीहरुलाई उनी स्मृतिको क्षितिजमा इन्दे्रनीझैं टाँग्न चाहन्छन् । नेपाल राष्ट्र बैंकको कर्मचारीको रुपमा लहान रहँदा कार्यालय–सहयोगी रहेका रामचन्द्र रामलाई त उनी कहाँ बिर्सन सक्थे र ? मधेसको दलित समुदायका ती कर्मचारीसँग पानी माग्दा उनले पानी दिन अस्वीकार गरेको प्रसंगले नेपाली समाजको कुरुप अनुहार छर्लङ्ग देखाउँछ ।
लामो समय जागिरमै रमाएका तिवारीले त्यही क्रममा देखे, भोगे वा छामेका मसिनादेखि मस्तिष्कको कुनाबाट फ्याँक्न नसकिने घटनाहरुलाई सिनेमाको दृश्यांशझै क्रमबद्ध रुपमा पस्किएका छन् । तर, सिनेमामा कुनै नायक वा नायिकाले ‘फ्ल्यासब्याक’ मा आफ्ना कथा भनेझैं उनी पनि पटकपटक पूर्वदीप्तीमा फर्किइरहन्छन् । एउटा प्रसंगलाई किनारा नलगाउँदै बीचमा अर्को प्रसंग उप्काउने र पुनः उही पुरानै प्रसंग जोड्ने कलाले गर्दा पठनीयतामा अप्ठेरोपन सिर्जना हुन पुगेको सहज बोध गर्न सकिन्छ । अर्थात् घटनाक्रमहरु प्रवाहमय बन्न सकेका छैनन् ।
पछिल्लो समय आत्मकथा लेख्नेहरुले ‘इमानदार आत्मस्वीकार’ गर्न नचाहेको आक्षेप झेल्दै आएका छन् । आफैलाई ढाँट्ने कार्यमा आत्मकथा लेख्नेहरु सक्रिय रहेका छन् । तर, तिवारीको सवालमा भने यस्तो आक्षेप लगाइहाल्नु पर्ने स्थिति देखिँदैन । किनभने, उनी धेरै हदसम्म खुल्न खोजेका छन् । लेखनमा सत्यापनको अभावबाट टाढै देखिन्छन् उनी । अतः ‘स्मृति कतिकति’ तिवारीको जीवन एवं व्यक्तित्वलाई नियाल्ने एउटा सरल सूत्र बन्न पुगेकोमा द्विविधा नरहला ।
कृति ः स्मृति कतिकति
विधा ः आत्मकथा
लेखक ः नारायण तिवारी
प्रकाशक ः साझा प्रकाशन
पृष्ठ ः १९२
मूल्य ः ३४०।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा