20th October 2018, Saturday

E-budhabar

काठमाडौंलाई नसरापौं अब



काठमाडौंलाई नसरापौं अब

तीसको दशकतिर मधेसलाई विम्बमा उभ्याएर कवि कृष्णभूषण बलले एउटा शक्तिशाली कविता लेखेका थिए । तत्कालीन समयबोध झल्किने त्यो कवितामा मधेसलाई हेर्ने दृष्टिकोण सकारात्मक थियो । र, मधेसलाई उद्दिग्न तुल्याउने चैतको हावालाई पनि असल विम्बले पोतेर काव्यिक रूप दिइएको थियो । तर, त्यही समयताका कवि बलले उद्घोष गर्दै लेखे, ‘काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन ।’ अनेक विसंगति थाप्लोमा बोकेर भित्रभित्रै छटपटाइरहेको, गुम्सिरहेको काठमाडौंको निकासका निम्ति ‘मञ्जुश्रीको अर्को तलबार’को औचित्य देखेका थिए उनले ।
काठमाडौं अर्थात् देशको केन्द्र । शक्ति, सान र सौन्दर्यको सुरुचिपूर्ण आवोहवा बहने थलो हो, काठमाडौं । प्रादेशिक संरचनातिर मुलुकको पांग्रा गुड्न थाले पनि काठमाडौंको सानसौकत अझै कायम छ । भोलिका दिनमा काठमाडौंको शक्ति र सानमा क्षय आउला वा नआउला ? प्रश्न अनुत्तरित छ । तर, अहिलेसम्म काठमाडौंको ‘केन्द्रीय स्वर’ भने सुकिसकेको छैन । त्यही भएरै हुनुपर्छ, काठमाडौंको खोइरो खन्ने क्रम यथावत् छ र त्यसमा प्रायः अधिकांश सर्जकले सक्रियता दर्साएका छन् ।
कवि उदय निरौला त काठमाडौंप्रति अधिक नै क्षुब्ध भएका थिए, कुनैबेला । उनले काठमाडौैंको तुलना गरेका थिए, भस्मेसँग । भस्मे अर्थात् जंगल फाँडेर उब्जनीयोग्य बनाइएको भूमि । उनको क्रुद्धता यसरी पोखिएको थियो, ‘काठमाडौंमा घाम पर्गेल्न÷औंसी बाँच्नुपर्छ÷आफ्नै गन्तव्य पाउन÷आफ्नै मन्तव्य गुमाउनुपर्छ÷मान्छे बनेर मान्छे बाँच्न÷पाइलापाइलामा निगालो बन्नुपर्छ ।’
यद्यपि, पछिल्लो पुस्ताका कवि÷आख्यानकार बुद्धिसागर भने अलि नरम नै देखिएका थिए । काठमाडौंको उछित्तो काढेर केही फाइदा छैन भन्ने बुझे होलान्, उनले । दूरदराजमा बस्ने बुवाप्रति सम्बोधन गर्दै उनले कोरेका थिए, यी काव्यिक हरफहरू, ‘उही चोकमा मकै पोल्ने बूढी आइमाई÷उही टुँडिखेलमा ठन्डा बरफ बेच्ने बूढो फौजी÷उही साँघुरा सडक÷बा÷उस्तै छ काठमाडौं ।’ कवि जसराज किरातीले काठमाडौंको नामै त किटेनन् । तर, नाम नलेखे पनि उनले काठमाडौंलाई लक्षित गरेर, काठमाडौंमा पन्पिरहेको विसंगतिलाई कोट्याउँदै यसरी क्षोभ व्यक्त गर्न चाहे, ‘इन्द्रचोकभरि÷नयाँ सडकको घुइँचोभरि÷लागिरहेछ गद्दारहरूको कालो बजार÷साँढेहरूको मल्ल युद्ध हेरेर थपडी मारिरहेछन्÷कौडीमा सलामी दिने नेपाली सुकुमार ।’
कवि आरएम डंगोल काठमाडौंकै बासिन्दा हुन् । ग्रामीण भेगबाट काठमाडौं छिर्दा उनले संघर्षका अनेक तहहरू पार गरे होलान् । तर, काठमाडौंलाई हेर्ने उनको दृष्टिकोण पनि अरू सर्जकभन्दा पृथक् छैनन् । उनी पनि काठमाडौंको कुरूप अनुहारतिर औंल्याउन चाहन्छन्, ‘सपनाका अमूर्त रङहरूझैं÷यही रङहरूले कुच्चिएको÷धिमे बाजाको स्वरताल÷डबली–डबलीमा÷न्यानो बनाएर ओछ्याइएको÷भजनको शास्त्रीय राग–ताल÷अनुष्ठान–अनुष्ठानको÷यो व्यंग्य पराकाष्ठा÷रूपसीको विज्ञापनमा साटिएर÷ज्युँदा कुमारीहरूले÷परम्परा धानिरहेको÷यो काठमाडौं ।’
काठमाडौंलाई काव्यको फ्रेममा सजाउनु सुखद पक्ष हो । तर, अधिकांश सर्जकहरू भने काठमाडौंप्रति आफ्नो स्पष्ट दृष्टिकोण पस्किन चुकेका छन् । जुन–जुन सर्जकहरूले काठमाडौंलाई विम्ब बनाएर कविता लेखेका छन्, तर ती कविहरूको काठमाडौं–हेराइ नितान्त कोल्टे, एकांगी, एकपक्षीय देखिन्छ । त्यस्ता सर्जकहरूले काठमाडौंलाई कि त गाली गरेका छन् कि त विसंगतिलाई उधिन्ने चेष्टा मात्र गरेका छन् । काठमाडौंलाई ‘काव्यिक गाली’ गरेर आत्मरतिमा रमाउनेहरूकै बाहुल्य देखिन्छ । कवि संगीत आयाम त यतिसम्म अगाडि बढेका छन्, ‘सयौं तीता यथार्थहरू÷बोक्दै हिँड्ने काठमाडौं÷कहिल्यै मिठासको यात्रामा÷बाँच्न जान्दै जानेन÷अनेकौं विरोधाभासहरू÷मन पराउने काठमाडौं÷कहिल्यै स्पष्ट भएको÷थाहा पनि छैन÷प्रायः विजयोत्सवहरूमा÷जीवित रहने काठमाडौं÷हारेर प्रायः जितेको इतिहास छैन÷समयगत परिवर्तनलाई÷रेखेर आफूभित्र काठमाडौं÷पृथक् हुँदै सोच्न मान्दैन ।’
काठमाडौंभन्दा बाहिर थातथलो भएका वा बासस्थानका लागि काठमाडौंलाई पछिल्लो समय रोजेका सर्जकहरू काठमाडौं क्षुब्ध हुनुलाई स्वाभाविकै मान्नुपर्छ । किनभने, कतिपयका अपेक्षामाथि तुषारापात गर्ने र कतिपयका सपनाहरू खण्डित तुल्याउने काम काठमाडौंले ग¥यो होला र त्यसले काव्यिक क्षुब्धता जन्मियो पनि होला । तर, काठमाडौंका रैथाने कवि सुदन खुसः आफ्नै सहरलाई, आफैंले टेकेको र लडीबुडी खेलेको धरातललाई बेग्लै नजरले हेर्न चाहन्छन् । उनी काठमाडौंको पीडालाई यसरी कोट्याउन चाहन्छन्, ‘अभावको भीडमा च्यापिएर÷अप्रिय भई सबैको÷प्रदर्शित गरेर सबैको÷शरीरभरि अस्थिपञ्जर÷घृणा र अपमान पोतेर÷ठिंग उभिएको बेला÷मैले आफूलाई पाएको छु ।’
काठमाडौं, एउटा महानगर र महानगर एउटा अनेक स्वप्न फुल्ने ठाउँ । तर, कवि साम्ब ढकाल भने सहरको बाध्यतालाई बुझ्नुपर्ने अड्कल लगाउँछन् । लाग्छ, उनका यी हरफहरू पढेपछि काठमाडौंलाई सराप्नेहरू मौन रहलान्, ‘जसरी सहर एउटा सभ्यता हो÷जसरी सहर एउटा संस्कार हो÷जसरी सहर एउटा त्राणहरण हो÷जसरी, जसरी, जसरी भने पनि÷सहर हाम्रै हो÷हाम्रै हो सहर ।’

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा