21st September 2018, Friday

E-budhabar

न्याम्समा २२ डाक्टरको दौडादौड



काठमाडौं । मुलुककै ठूलो विशेषज्ञ डाक्टर उत्पादन गर्ने स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–न्याम्स (वीर अस्पताल) को रिक्त उपकुलपति (भीसी) का लागि २२ जना प्राध्यापक डाक्टरले दौडधुप तीव्र पारेका छन् । आकर्षक र धेरै भूमिका हुने उपकुलपति पदका लागि यसअघि उपकुलपति रहेका डा. गणेशमान गुरुङदेखि बाहिरबाट आएका चिकित्सकहरूले समेत प्रतिस्पर्धा गरेका हुन् ।
सो प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट गठित सहकुलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव संयोजकत्वको समितिले १५ दिनअघि दरखास्त अह्वान गरेको थियो । सोक्रममा दरखास्तको अन्तिम मिति आइतबारसम्म निर्वतमान भीसी गुरुङसमेत २२ जनाको दरखास्त परेको बताइएको छ । निवर्तमान उपकुलपति डा. गुरुङदेखि वरिष्ठ प्राध्यापक र पदाधिकारीहरूले दरखास्त हालेर दौडधुपमा लाागेपछि सरकारलाई पनि भिसी छान्ने काम सकसपूर्ण बनेको बताइएको छ ।
भीसीको दौडमा पूर्वरेक्टर डा. श्रीकृष्ण गिरी, निवर्तमान रेक्टर यहुनचन्द्र शिवाकोटीदेखि प्रसूतिगृहका निर्देशक डा. जागेश्वर गौतमले समेत दरखास्त हालेका छन् । यसैगरी, न्याम्सका पूर्वडिन डा. सीताराम चौधरी, वरिष्ठ चिकित्सकहरू अनिल मिश्र, डा. विधाननिधि पौडेल, वीर अस्पताल आकस्मिक विभाग प्रमुख डा. भोलाराम श्रेष्ठ, प्रसूतिगृहका विशेषज्ञ डा. गेहनाथ बराललगायतले दरखास्त दिएका छन् ।
२२ साउनमा निवर्तमान उपकुलपति डा. गणेश गुरुङको कार्यकाल सकिएपछि उपकुलपति सिफारिस गर्न उपप्रधान तथा स्वास्थ्य, जनसंख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा सदस्य रहेको एक समिति बनेको थियो । तीमध्येबाट सरकारले सक्षम, भिजन भएको र संस्थालाई नेतृत्व गर्न सक्ने व्यक्ति उपकुलपति छान्ने बताइएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन दफा १८ को उपदफा २ र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड २०७३ अनुसार मन्त्रालयले दरखास्त आह्वान गरेको थियो । उपकुलपतिमा नेपाल सरकारको ११औं तहको चिकित्सक वा सोभन्दा माथिल्लो तहमा बहालवाला वा अवकाशप्राप्त चिकित्सकले दरखास्त दिन सक्छन् । त्यसैगरी, स्वास्थ्य विज्ञान प्रतिष्ठानका बहालवाला वा अवकाशप्राप्त चिकित्सक वा स्वास्थ्यसंस्था वा मेडिकल कलेजमा कार्यकारी तहको जिम्मेवारीमा रहेको र जिम्मेवारी वहन गरिसकेको चिकित्सकले दरखास्त दिन सक्छन् ।
दरखास्तसँगै प्रतिष्ठान सञ्चालनको व्यावसायिक कार्ययोजना र व्यक्तिगत विवरणका समेत आधारमा उम्मेदवार छनोट बताइएको छ । कर्मचारी, सेवा क्षेत्र र पठनपाठनका आधारमा पनि न्याम्स, वीर अस्पताल नेपालकै सबैभन्दा ठूलो संस्थामध्ये पर्छ । यसको प्रमुख प्रशासनिक र प्राज्ञिक नेतृत्व गर्ने पद भएकाले उपकुलपतिको नेतृत्व कसले गर्छ भन्ने कुरामा प्रतिष्ठान, वीर अस्पताल, नर्सिङ क्याम्पससँगै थुप्रै ठूला निर्माण र गुरुयोजनाको समेत भविष्य जोडिएको छ । उपकुलपति नियुक्तिमा सबैभन्दा बढी प्रभाव कुलपतिको हिसाबले पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै रहने बताइन्छ । सहकुलपतिका रूपमा अन्य पदाधिकारी उपकुलपतिको सिफारिसका आधारमा स्वास्थ्यमन्त्रीले टुंग्याउन सके पनि उपकुलपतिको सन्दर्भमा भने उनले सिफारिस मात्र गर्न सक्छन् । यस आधारमा नेकपानिकट देखिएका डा. गौतम, डा. बराल, डा. गिरी, डा. शिवाकोटी, डा. गुरुङ र डा. पौडेलमध्ये एकजना नियुक्त हुन सक्ने अनुमान गरिएको छ । त्यसमा पनि पार्टीका नेतासँगको सम्बन्ध र प्रभावका हिसाबले गौतमको बढी सम्भावना देख्नेहरू धेरै छन् ।
तर, गौतम धेरै विवादित छन् । उनी एक निजी मेडिकल कलेजको सेयर नामसारीमा किर्ते प्रमाणित भइसकेका व्यक्ति हुन् । त्यति मात्र होइन, सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री खगराज अधिकारीले उनलाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा गरेको नियुक्तिसमेत विवादमा परेको थियो । काउन्सिलको अध्यक्ष हुन काउन्सिलमा दर्ता भएको कम्तीमा २० वर्ष हुनुपर्ने नियम भए पनि २० वर्ष नपुग्दै ढाँटेर नियुक्ति आएको पुष्टि भएपछि अख्तियारबाट कारबाही चल्ने डरमा राजीनामा दिएका थिए । त्यसकारण, प्रभावका आधारमा मात्रै उपकुलपति बन्न गौतमलाई सहज छैन । स्रोतका अनुसार डा. गुरुङलाई दोहो¥याउने पक्षमा नेकपा छैन । आफ्नो कार्यकालमा तुलनात्मक राम्रो काम गर्न नसकेका र तत्कालीन स्वास्थ्यमन्त्री गगन थापालाई सहयोग गरेको भनेर पार्टीका नेताहरू उनीसँग सकारात्मक छैनन् । पछिल्ला दिनमा कतिपयले डा. बरालको पार्टी समर्थन बलियो देखेका छन् । तर, वीरभित्रकै नहुनुले उनको सम्भावना कमजोर बनाउन सक्छ । पुरानो जनमोर्चा खेमाबाट वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पहुँच पु¥याउन सक्दा मात्रै डा. गिरीको सम्भावना बलियो बन्ने बताइन्छ । तीबाहेक मन्त्रालयमा चिकित्सा सेवा महाशाखाको नेतृत्व गरिसकेका डा. श्रेष्ठ कांग्रेसनिकट भएकाले उनको सम्भावना नगण्य मात्र छ भने मन्त्रालयको नेतृत्व गरेका आधारमा नियुक्तिमा प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीकै कुरा सदर गर्ने स्थिति बन्दा डा. शाह, डा. मिश्रा, डा. चौधरीमध्ये एक जना उपकुलपति बन्ने सम्भावना बलियो देखिन्छ । यीमध्ये पनि बलियो डा. शाह देखिए पनि वीरको नहुनु नै उनको सम्भावनामा तगारो बन्न सक्छ । तर, अहिले वीरमा उपकुलपति बन्ने वीरभित्रकै मान्छे चाहिन्छ भन्ने भावना प्रबल भएकाले बाहिरबाट ल्याएका मान्छेलाई काम गर्न असहज हुने बताइन्छ । प्रतिष्ठानको इतिहासमा हालसम्मका उपकुलपति डा. दिनेशनाथ गंगोल, डा. सीपी मास्के, डा. विश्वराज दली, डा. दामोदर पोखरेल र डा. गणेश गुरुङमध्ये बाहिरबाट आएका मास्के र दलीले कार्यकाल पूरा गर्न पाएनन् । उनीहरूविरुद्ध आन्दोलन भएपछि बीचैमा छोड्नुपरेको थियो । अहिले मन्त्रीनिकट केही व्यक्तिको साथ लिएर उपकुलपति नियुक्तिलाई आफूअनुकूलको व्यक्ति ल्याउन केही उपकरणका ठेकेदारहरू लागेको मन्त्रालयका एक अधिकारीले बताए ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा