20th October 2018, Saturday

E-budhabar

बहुराष्ट्रिय कम्पनीले बिथोलेको तीज



बहुराष्ट्रिय कम्पनीले बिथोलेको तीज

बितेका वर्षहरूमा झैं, यसपटक पनि नारी वर्गको मुख्य पर्व तीजको रौनक प्रारम्भ भइसकेको छ । सहर, बजारदेखि ग्रामीण भेगहरूमा समेत तीजको चटारो भित्रिइसकेको छ । मूलतः तीज एकदिने पर्व भए पनि त्यसअघिका दिनहरूमा समेत नेपाली नारीहरू आफन्त, साथीसँगीहरू भेटघाट, खानपिन, नाचगानजस्ता कार्यहरूमा व्यस्त देखिने क्रम केही दशकयता मौलाउँदै गएको हुँदा यसपटकको उक्त क्रम प्रारम्भ भइसकेको छ । तीजलाई भव्यतापूर्वक मनाउन विभिन्न पार्टी प्यालेस, रेस्टुरेन्टहरू बुक गर्ने र घरहरूमा समेत मनाउने कार्य सुरु भइसकेको छ र गीत–संगीतको चर्को आवाजसँगै नाचगानमा संलग्न भएर तीजको भव्यतालाई स्वागत गर्न थालिसकिएको छ ।
बदलिँदो समयसँगै तीजको स्वरूप पनि फेरिएको छ । अब तीजलाई नारीहरूको विशुद्ध पर्वका रूपमा मात्र हेर्नु सोह्रै आना गल्ती हुनेछ । तीजको मौलिक स्वरूपमा परिवर्तन मात्र आएको छैन, कतिपय व्यक्ति वा व्यापारिक प्रतिष्ठानहरूका निम्ति यो पर्व व्यापारको राम्रो माध्यमसमेत बन्न पुगेको छ । सहरबजारतिर लाखौं लगानी गरेर खोलिएका पार्टी प्यालेस वा रेस्टुरेन्टहरूलाई तीजले राम्रै ‘बिजनेस’ दिइरहेको छ । तीज आउनुभन्दा कम्तीमा पनि महिना दिनअघिदेखि नै तीजको रौनक सुरु हुने, नारीहरू नाचगान र खानपिनमा रमाउने गरेका हुँदा पार्टी प्यालेसहरूलाई त्यो फाइदाको विषय बन्न पुगेको छ ।
व्यापारिक हिसाबले जेजस्तो भए पनि नारी कलाकारहरूले तीजलाई लक्षित गरेर गीति–एल्बमहरू निकाल्ने, त्यस्ता गीतलाई सामाजिक सञ्जालमार्फत प्रचारप्रचार गर्ने र त्यसमार्फत आफ्नो सामाजिक पहिचान स्थापित गर्ने कार्य पनि यही पर्वमा नै हुने गर्दछ । वर्षौंदेखि गीत–संगीत क्षेत्रमा जमेकादेखि नवोदित गायक–गायिकाहरूले समेत तीजलाई भव्य बनाउन आफ्नो गला तिखार्ने गर्दै आएका छन् । सम्भवतः नेपालका अनेक पर्वहरूमध्ये संगीतले सिँगार्ने पर्व तीज मात्र होला । किनभने, तीजजस्तो पर्वलाई लक्षित गरेर जेजति संगीत सिर्जना हुन्छन्, गीति–एलबमहरू निकालिन्छन्, अरू पर्वहरूमा सायदै यसरी संगीतले फक्रिने मौका पाउँछन् । संगीतको विकास र प्रवद्र्धनमा पनि तीजले थप गोरेटो कोरिदिएको छ । यो संगीत जगत्का निम्ति खुसीको पक्ष हो ।
तीजको मौलिक स्वरूपलाई बिथोलेर व्यापारिक प्रयोजनमा प्रयोग गर्ने कार्यले गति समातेको पनि वर्षौं भइसकेको छ । कतिपय बहुराष्ट्रिय कम्पनीहरूको समेत नजर पर्न थालेको वर्षौं बितिसकेको छ । डाबर नेपालजस्तो बहुर्राष्ट्रिय कम्पनीले त डेढ दशकभन्दा लामो समयदेखि तीजलाई लक्षित गरेर भव्य कार्यक्रम गर्दै आएको छ । यस पटकको तीजलाई लक्षित गरेर डाबर नेपालले ‘तीज महोत्सव’ प्रारम्भ गरिसकेको छ । जसरी तीज आउनुभन्दा महिना दिनअघिदेखि नै नारीहरू तीजको रमझममा डुब्न थाल्छन्, डाबर नेपालले पनि आफ्ना उत्पादनहरू बेच्न तीज आउनुभन्दा दुई हप्ता पहिला नै ‘तीज महोत्सव’ थालिसकेको छ । महिला सशक्तीकरण र उद्यमशीलताको नारा दिएर आफ्नो उत्पादन बेच्ने कार्य बहुराष्ट्रिय कम्पनीहरूले प्रारम्भ गरिसकेको छ ।
मूलतः डाबर कम्पनीले महिलाहरूका निम्ति आवश्यक सौन्दर्य सामग्रीहरूको उत्पादन एवं बिक्री गर्दै आइरहेको छ । नेपालमा पनि विगत लामो समयदेखि महिलाको ‘अनुहारमा निखार’ ल्याउने डाबर गुलाबरीजस्ता उत्पादन डाबरले बेच्दै आएको छ । निश्चय नै अधिकांश महिला आफ्नो सौन्दर्यप्रति सचेत हुन्छन् । अझ, सहरबजारतिरका उच्च घरानादेखि मध्यमवर्गका महिलाहरू त शारीरिक सौन्दर्यलाई जोगाइराख्न सदैव आतुर रहन्छन् र त्यसका निम्ति हरसम्भव उपाय र त्यस्ता सामानहरूको प्रयोगमा जोड दिन्छन् । र, आफ्नो अनुहार वा शरीरको छालालाई घामबाट बचाउन महिलाहरूले अनेक सौन्दर्य सामग्रीहरू प्रयोग गर्ने गर्छन् । डाबरले पनि महिलाको छालालाई चम्काउने र घामबाट जोगाउनेजस्ता आकर्षक र गुलिया विज्ञापन गरेर आफ्ना उत्पादनहरू बेच्दै आएका छन् ।
जब कुनै चाड वा पर्वहरूमा बहुराष्ट्रिय कम्पनी आफ्नो उत्पादन बिक्री गर्न प्रवेश गर्दछन्, त्यस्ता चाडहरूको मौलिक स्वरूप स्वतः बिथोलिन पुग्छ । त्यस्ता पर्वहरू नै बहुराष्ट्रियकरणको चपेटाको सिकार हुन पुग्दछ । नपत्याउँदो गरी एउटा मौलिक संस्कृति, पर्वको व्यापारिकीकरण हुन पुग्दछ । दसैं, तिहारजस्ता पर्वलाई त बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो कब्जामा लिइसकेको थियो । हुन पनि ती चाडहरूलाई लक्षित गरेर कोक, पेप्सीजस्ता बहुराष्ट्रिय कम्पनीहरूले स्थानीय उत्पादनलाई विस्थापित गरी आफ्ना उत्पादन पस्किँदै आइरहेको धेरै वर्ष भइसकेको छ । दसंै, तिहारजस्ता पर्वहरूमा कुनै पाहुना, आफन्त वा नातेदारहरूलाई स्वागत वा सत्कार गर्दा स्थानीय उत्पादनहरू अघि सार्ने कुरा अब इतिहास भइसक्यो र तत्काल कोक वा पेप्सीको बोतल खोलिने गरिन्छ । सहरको कुरा छाडौं, ग्रामीण भेगहरूमा समेत पाहुनालाई दूध, मोहीजस्ता स्थानीय उत्पादनले स्वागत गर्नुभन्दा कोक वा पेप्सीले स्वागत गर्न पाउँदा आतिथ्य गर्नेहरू पनि खुसी हुने गर्छन् ।
बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना उत्पादन बेच्न नेपालीहरूको मौलिक चाड, पर्वभित्र कसरी सूक्ष्म रूपमा छिरिरहेका छन् र उपभोक्ता सञ्जाललाई कसरी बिस्तार गरिरहेका छन् भन्ने कुराको यी केही दृष्टान्त मात्र हुन् । चाडपर्वको मौलिकतालाई मिचेर नेपालीजनलाई आफ्नो माखेसाङ्लोमा बेर्ने कार्यमा त्यस्ता बहुराष्ट्रिय कम्पनीहरू उद्यत देखिँदै आएका छन् । तीज सुरु नहुँदै ‘तीज महोत्सव’को नाममा आफ्ना उत्पादन बेच्ने डाबरजस्ता कम्पनीहरूको नियतले यो पक्षलाई झन् छर्लङ्ग पारेको छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा