21st September 2018, Friday

E-budhabar

दायित्व, चुनौती र गुट मानसिकता



दायित्व, चुनौती र गुट मानसिकता

नेकपा आन्तरिक पार्टी एकीकरण प्रक्रियालाई पूर्णता प्रदान गर्न जुटेको छ । पार्टीको माथिल्लो निकाय केन्द्रीय समिति र सचिवालयको निर्माणले पूर्णता पाए पनि पार्टीका विभिन्न सांगठनिक तह र जनसंगठनहरूको एकीकरणले अझै पूर्णता प्राप्त गरेको छैन । प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरणले पूर्णता प्राप्त गर्न अझै केही समय पर्खनुपर्नेछ । कार्यदलहरूद्वारा लामो छलफल र गृहकार्यपछि नामहरू केन्द्रीय सचिवालयमा सिफारिस गरिएको छ । अहिलेसम्म नआइपुगेका नामावलीहरू केही समयपछि केन्द्रीय सचिवालयमा आइपुग्नेछन् । पार्टीको माथिल्लो निकायले यसलाई अनुमोदन गर्नुपर्नेछ ।
आन्तरिक एकीकरण प्रक्रिया निर्विवाद रूपमा अघि बढ्न भने सकेको छैन । ठाउँठाउँमा यसको विरोध भयो र हँुदै छ । प्रदेश र जिल्ला संगठनहरूले सिफारिस गरेको नामावलीमा असहमति जनाउँदै पार्टी केन्द्रीय कार्यालयमा असहमति र विरोधपत्रहरूसमेत बुझाइएको छ । असन्तुष्टि र विरोधका स्वरहरू सार्वजनिक रूपमै व्यक्त भएका छन् । गल्तीहरूलाई नसच्याइए ‘समानान्तर कमिटी’ निर्माणसम्मका कुराहरू प्रकाशमा आएका छन् । सार्वजनिक सञ्चारमाध्यममा बढाइचढाइ कुरा गरिएको हुन सक्छ, तर असन्तुष्टि हुँदै नभएको होइन । संगठनात्मक एकीकरणमा कतिपय प्रदेश र जिल्लामा देखिएका कमजोरीहरूले कैयौंलाई आक्रोशित तुल्याएको छ । यस्ता कमजोरीहरूलाई सच्याउन नसके यसले आउँदा दिनहरूमा कयौं नेता–कार्यकर्तालाई अझ बढी आक्रोशित बनाउनेछ । यसको परिणाम निःसन्देह राम्रो हुनेछैन ।
प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरणका निम्ति बनाइएका सामान्य मापदण्डहरूको कार्यान्वयन पनि कतिपय ठाउँमा भएको देखिन्न । कार्यदलहरूले एकीकरणको मर्म र सामान्य मापदण्डहरूलाई गम्भीरतापूर्वक लिन सकेको भए सायद कतिपय ठाउँहरूमा समस्याहरू आउने थिएनन् र विरोधका स्वरहरू पनि सुनिने थिएनन् । यस्तो समस्या पूर्वएमाले र पूर्वमाओवादी दुवैमा देखिएको छ । कार्यदलहरूले निर्धारित समय सीमाभित्र काम पनि गर्न सकेका छैनन् । परिणामतः एकीकरण प्रक्रियालाई पूर्णता प्रदान गर्न ढिलो भएको छ ।
आन्तरिक संगठनात्मक एकीकरण प्रक्रियामा अहिले जेजस्ता समस्या देखिएका छन्, नेतृत्व यसप्रति गम्भीर हुनु आवश्यक छ । गुट मानसिकता पुनः देखा पर्न थाल्नु राम्रो कुरा होइन । यसले पार्टीलाई बलियो होइन, कमजोर बनाउनेछ । गुट, उपगुट र त्यस अनुरूपको क्रियाकलाप नेपाली कम्युनिस्ट आन्दोलनको कटु यथार्थ हो । यसले पार्टी र पार्टी आन्दोलनलाई प्रशस्त क्षति पु¥याएको छ । पूर्वएमालेसँग यसका कटु अनुभवहरू पनि छन् । गुट–उपगुट पार्टीभित्र हुनुहुन्न भनेर निकै भनिएको छ तर त्यसलाई व्यवहारमा लागू गर्न सकिएको छैन । यसकै कारण पार्टीका कैयौं इमानदार, योग्यता र क्षमता भएका नेता तथा कार्यकर्ताहरू पाखा परेका छन् । कैयौं आन्दोलनबाटै पलायन भएका छन् । गुट–उपगुटकै कारण इतिहास, योग्यता र योगदानका आधारमा होइन, गुट–उपगुटकै आधारमा अघि बढ्ने र अवसरहरू प्राप्त गर्ने स्थिति निर्माण भएको छ । यसको विरोध गर्नेहरू पनि या त यसकै पछि लाग्नुपर्ने या त पार्टी जीवनबाट पलायन हुनुपर्ने स्थितिको विकास भएको छ ।
आज नेकपाको काँधमा गम्भीर दायित्वहरू छन् । यसका अगाडि डरलाग्दा चुनौतीहरू पनि छन् । पार्टी दुई तिहाइ बहुमतसहित सरकारमा छ । कम्युनिस्ट पार्टीसँगै झन्डै दुई तिहाइ मत छ । जनताले ठूलो आशा, अपेक्षा र भरोसासहित यो मत प्रादन गरेका हुन् । सरकारले आफ्ना प्रतिबद्धताहरू अगाडि सारेको छ । ‘समृद्ध र सुखी नेपाली’ उसको नारा छ । केही वर्षभित्र ऊ मुलुकलाई विकाशील राष्ट्रको स्तरमा उठाउँदै त्यसभन्दा अघि बढ्न चाहन्छ । पार्टीले आफ्नो घोषणापत्र मार्फत मुलुक रूपान्तरणको खाका र आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको छ । तर, पार्टी एकढिक्का भएर अघि बढ्न सकेन भने पार्टी र सरकार दुवै जनताको आशा एवं अपेक्षालाई पूरा गर्न असफल हुनेछन् । गुट मानसिकता जहाँ र जसमा भए पनि यो डरलाग्दो रोग हो । यसले कुरा जे गरे पनि व्यवहारमा गुटभन्दा अरू हेर्दैन, त्यसभन्दा माथि उक्लैन सक्तैन । यसभन्दा माथि उठ्न नसक्नेहरूले गर्ने ठूलो कुराले खासै अर्थ पनि राख्दैन ।
चुनौतीहरूलाई सामना गर्दै दायित्वहरूलाई पूरा गर्न आज पार्टीको आन्तरिक एकता सुदृढ हुनु आवश्यक छ । बलियो गरी एकताबद्ध पार्टीले नै आफ्ना दायित्वहरूलाई पूरा गर्न सक्छ । अघिल्तिरको यात्रा सहज छैन । यो हिजोको जस्तो समय पनि होइन । विभिन्न कुरा अगाडि सारेर जनतासँग भोलि क्षमा माग्न पनि पाइनेछैन । हामी ‘गर्ने नत्र सिद्धिनका निम्ति तयार रहने’ स्थितिका बीचबाट गुज्रिरहेका छौं । काम गरेर देखाउन नसके भोलि माया गरेर जनताले पुनः सत्ताको वागडोर सुम्पनेछैनन् । यो नै आदि र अन्त्य पनि हुन सक्नेछ । हिजोकै गुटीय मानसिकताका आधारमा चल्ने, यस प्रवृत्तिलाई अन्त्य गर्ने दिशामा गम्भीर नै नहुने र यस्तै हो, यसैगरी चल्छ भन्ने दृष्टिकोण राख्ने हो भने पार्टी कुनै बिन्दुमा पुग्दा फुटको सिकार पनि हुन सक्नेछ । फुटेन भने पनि पार्टीभित्र एकअर्कालाई निषेध गर्ने भयानक चक्र चल्नेछन् र यस चक्रको सिकार पार्टी र सरकार दुवै बन्नेछन् । एउटाले अर्कालाई सफल हुनै नदिने व्यूह रचना गरिनेछ । यस्तो दृश्य विगतमा पनि थोरै धेरै देखिएको हो । भोलि यो दृश्य अझ डरलाग्दो रूपमा देखिनेछ । यसबाट कम्युनिस्ट आन्दोलनलाई निषेध गर्न चाहनेहरू लाभान्वित हुनेछन् ।
परिवर्तित परिस्थितिमा पार्टीलाई नयाँ ढंगले अघि बढाउनु, आन्तरिक एकतालाई अझ बलियो बनाउनु र सम्पूर्ण पार्टी पंक्तिलाई इतिहास, योगदान र योग्यताका आधारमा चित्तबुझ्दो जिम्मेवारी प्रदान गर्नु अहिलेको आवश्यकता हो । दुई ठूला पार्टी मिलेर नेकपा बनेको स्थितिमा गुट–उपगुटको मानसिकतालाई त्यागेर अघि बढ्न सकिएन भने पार्टीभित्र कति गुट–उपगुटहरू बन्लान् र तिनले अघिल्तिरको यात्रामा के–कस्ता अवरोधहरू खडा गर्लान् भनेर सहजै अनुमान गर्न सकिन्छ । गुटहरू पार्टीभित्र हुन्छन्, यिनलाई त व्यवस्थापन पो गर्नुपर्छ भन्ने विचार पनि कतिपयमा पाइन्छ । तर, यो दृष्टिकोण गलत छ । माक्र्सवादी–लेनिनवादी पार्टीका सन्दर्भमा मात्र होइन, बुर्जुवा पार्टीहरूका सन्दर्भमा पनि यसलाई उचित ठह¥याइन्न । बुर्जुवा पार्टीहरूले समेत यसको आलोचना गर्छन् र यसको अन्त्यका निम्ति प्रयत्न गर्छन् । गुट–उपगुटहरू प्रायः पार्टीको आन्तरिक जीवनमा असमानता, उपेक्षा, अपमान, जनवादको अभाव, महŒवाकांक्षा, व्यक्तिवाद, अवसरवाद आदिका कारण जन्मने गर्छन् । पार्टीको आन्तरिक जीवनलाई ठीक ढङ्गले सञ्चालन गर्ने, सबैलाई समुचित भूमिका प्रदान गर्ने, मूल्यांकन प्रणालीलाई सही बनाउने संवादका निम्ति पूर्ण जनवादी तरिकालाई अँगाल्ने, व्यक्तिवाद एवं अवसरवादबाट बच्ने र सामूहिकतालाई अँगाल्ने हो भने पार्टी जीवन गुट–उपगुटबाट मुक्त हुन सक्छ । पाटी जीवनमा वैचारिक बहसका क्रममा विचार समूहहरू जन्मन सक्छन् र जन्मन्छन् । विचार समूह पनि स्थायी प्रकृतिको हुनुहुन्न । स्थायी प्रकृतिको हुँदा त्यो गुटमा बदलिन सक्छ । बरु, विचारमा धेरै ठूलो अन्तर परे एउटै पार्टीमा बस्ने कुरा हुन्न र नबस्नु नै राम्रो हुन्छ । विचार समूह र गुट–उपगुटहरू एउटै होइनन् । वास्तवमा गुट–उपगुटहरूको कुनै विचार नै हुन्न ।
नेकपाले हिजोको गुट–उपगुटलाई निरन्तरता दिने कि यसको जरै उखेल्ने गरी अघि बढ्ने, गम्भीर भएर सोच्ने बेला आएको छ । नयाँ पार्टी नबनी नयाँ नेपाल बन्दैन । समाजवादको कुरा गफ मात्रै हुनेछ । माक्र्सवाद–लेनिनवादलाई मान्ने पार्टीले कम्युनिस्ट पार्टीको संगठनात्मक जीवनमा यसको मर्मलाई आत्मसात् गर्न जरुरी छ । पार्टीको आन्तरिक जीवनमा रहेका कतिपय कमजोरीलाई यो सच्याउने बेला पनि हो । पार्टी एकीकरणको नयाँ परिस्थितिलाई पार्टीको आन्तरिक जीवनमा रहेका कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने अवसरका रूपमा पनि प्रयोग गर्न सकिन्छ र गर्नुपर्छ । गुट मानसिकतालाई त्याग्नु पार्टीलाई बलियो बनाउने दिशामा सर्वाधिक महŒवपूर्ण कदम हुनेछ ।
लामो समयदेखि बनेर आएका गुट–उपगुटलाई अन्त्य गर्न त्यति सजिलो छैन । गुट–उपगुटमै रमाउने, यसलाई नै राजनीति सम्झने, यसभन्दा बाहिर निस्किएर आफ्नो राजनीतिक भविष्यको कल्पनै गर्न नसक्ने सोचाइको विकास भएको बेला यसको अन्त्य अझ जटिल हुन्छ । एक प्रकारले जटिल घाउका रूपमा विकसित हुँदै गएको यस रोगको सफल शल्यचिकित्सा आजको खाँचो हो । यसप्रति निर्मम भएर अघि बढ्न सक्दा नै पार्टीमा नयाँ जीवन सञ्चार गर्न सकिनेछ । पार्टीको आन्तरिक एकीकरण प्रक्रियामा जहाँजहाँ यस किसिमका कमजोरीहरू भएका छन्, पार्टीको माथिल्लो निकायले तिनलाई सच्याउनुपर्छ र गुट–उपगुटलाई निरुत्साहित गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्छ । यसले परिवर्तित परिस्थितिमा पार्टीलाई नयाँ जीवन दिनेछ र त्यस्तो पार्टीले नै नेपाली समाजको समग्र परिवर्तन र समृद्धिको नेतृत्व गर्दै समाजवादतर्फ प्रस्थानको मार्ग प्रशस्त गर्न सक्नेछ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा