20th October 2018, Saturday

E-budhabar

लेखकले संसारको वास्तविक रङ देखाउन सक्नुपर्छ ः गालेएनो



लेखकले संसारको वास्तविक रङ देखाउन सक्नुपर्छ ः गालेएनो

दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा जन्मिएका एदुआर्दो गालेएनो (१९४०–२०१५) लेखन शक्ति बेजोडको थियो । उनको लेखन शक्ति देखेर नै उनलाई आफ्नै देशबाट निस्कासितसमेत गरियो । तर, जहाँ रहे पनि उनी लेखन र परिवर्तनकारी आन्दोलनहरूमा सदैव सक्रिय रहे । ल्याटिन अमेरिकाको इतिहास लेखनमा उनले जुन नयाँ दिशा दिए, त्यसले संसारमा वैकल्पिक इतिहास लेख्न तमाम मानिसहरूलाई प्रेरणासमेत प्रदान गरेको मानिन्छ । यसपटक गालेएनोको एउटा वैचारिक लेखको केही अंश ः
जब कुनै व्यक्तिले लेख्दछन्, तब उनले अरू मानिसहरूसँग आफ्ना केही ज्ञान बाँडचुँड गर्ने आवश्यकतालाई पूरा गर्ने गर्दछ । यसरी लेख्ने कार्य अत्याचारविरुद्ध र अन्यायमाथि विजय प्राप्त गर्ने सुखद अनुभवको साझेदारी गर्ने हेतुसँग जोडिन पुगेको हुन्छ । यो आफू र अरू मानिसहरूमा उत्पन्न एक्लोपनको अनुभवलाई समाप्त पार्नका निम्ति पनि हो । भनिन्छ, साहित्य ज्ञान र विचार फैलाउने साधन हो र यसले अध्येताहरूको भाषा र आचरणमाथि प्रभाव पार्दछ । तर, ‘बाँकी मानिसहरू’ र ‘दोस्रो’ जस्ता शब्द धेरै नै भ्रामक छ, खासगरी संकटको समयमा जब सही र गलत चिजलाई पहिचान गर्न आवश्यक ठानिन्छ, तब यस्ता भ्रामक शब्द गलत पनि हुन सक्छन् । वास्तवमा, त्यस्ता मानिसहरूकै बारेमा लेखिन्छन्, जसको भाग्य वा दुर्भाग्यसँग सम्बन्ध महसुस गरिएको हुन्छ । ती त्यस्ता मानिसहरू हुन्, जसले न तरिका पु¥याएर खान सक्छन्, न सुत्न जान्दछन् । तिनीहरू संसारकै सबभन्दा थिचिएका, अपमानित मानिस हुन् र त्यही कारण तिनीहरू सबैभन्दा डरलाग्दा विद्रोही पनि हुन् ।
तिनीहरूमध्ये अधिकांशले पढ्न नै जान्दैनन् । सीमित शिक्षित मानिसहरूमध्ये कतिसँग पैसा होला र तिनले किताबहरू खरिद गर्न सकून् ? तब, कसैले केवल यस्तो भन्दछन् कि ती लेखकहरू ‘आममानिस’का निम्ति लेखिरहेका छन् । तर, यो यथार्थभन्दा धेरै टाढाको विषय हो ।
प्रश्न के हो भने हामीजस्ता मानिसहरू, जो आवाजहीनहरूको आवाज बन्न चाहन्छौं, यस्तो भयावह वातावरणमा कसरी काम गर्न सक्छौं ? जब डन्डा र बजारको तिखो आवाजले सबैलाई बहिरा बनाउँदै लगिरहेको छ, त्यतिबेला के हामी आफ्नो आवाज अरूलाई सुनाउन सक्छौं ? आज हामी जुन लोकतान्त्रिक व्यवस्थामा बाँचिरहेका छौं, यो लोकतन्त्र वास्तवमा मौनता र डर उत्पन्न गराउने लोकतन्त्र हो । यस्तो परिस्थितिमा लेखकका निम्ति जुन सीमित ठाउँ बचेको छ, के त्यो व्यवस्थासामु समर्पण र यसरी त्यसको पराजयको प्रमाण होइन र ? हाम्रो लेखकीय स्वतन्त्रताको सीमा के हो र हामीले यसबाट कस्ता व्यक्तिहरूलाई फाइदा पु¥याइरहेका छौं ?
वास्तवमा, लेखक एक संस्कृति उद्योगको दैनिक ज्यालादारी मजदुर हुन्, जसले भद्र अभिजात वर्गको उपभोक्तावादी आवश्यकतालाई पूरा गर्ने गर्दछन् । उनीहरू स्वयं त्यही तप्काबाट आएका हुन्छन् र त्यही तप्काका लागि नै लेख्ने गर्दछन् ।
हामी जुन समाजमा बसिरहेका छौं, त्यो समाजमा जनसंख्याको ठूलो अंशको रचनात्मक क्षमता र सम्भावनाहरूलाई निरन्तर समाप्त पार्दै लगिरहेको छ । केही नयाँ रचना गर्ने काम, जो बाँच्ने पीडालाई साझा गर्ने र मृत्युसँग लड्न आवश्यक छ, त्यसलाई अब केही पेसेवर ‘विशेषज्ञ’ वा ‘बुद्धिजीवी’को भरोसामा छाडिदिएको छ । हामीजस्ता कति यस्ता ‘बुद्धिजीवी’ ल्याटिन अमेरिकामा छौं ? हामी लेख्छौं, कसका लागि र कसको कुरा गर्छौंं ? हामीले लेखेका कुरा कुन मानिसहरूका लागि आवाज बन्नु आवश्यक छ ? तालीहरूको गडगडाहट र पुरस्कार पाउने सपनाभन्दा अगाडि बढेर हामीले यो प्रश्न आफैंसँग सोध्नुपर्ने हुन्छ । किनभने, कहिलेकाहीँ हाम्रो प्रशंसा सबभन्दा धेरै तिनै मानिसहरूले गर्दछन्, जसलाई हाम्रो लेखनले कुनै खतरा उत्पन्न गराउँँदैन । वास्तवमा, लेख्ने कुरा केही न केही मृत्युसँग लड्नुजत्तिकै हुन्छ । यो लडाइँ हो, हामीभित्र र बाहिर फैलिएको मुर्दा उदासी र बेखुसीको विरुद्ध । तथापि, यो आउँदो पुस्ताका लागि तब काम आउन सक्छ, जब उनीहरू आफ्नो पहिचानका लागि संघर्षरत समुदायको आवश्यकतालाई आफूसँग जोड्न चाहन्छन् । मेरो विचारमा एक लेखकको मृत्युजस्तै, उदासीबाट आफू स्वयंलाई बचाउनु र आफ्नो लेखन–शक्ति चिन्न सक्नुले नै बाँकीलाई उनको पहिचान दिन्छ । यसरी, मानवताको लडाइँमा कला र साहित्य हतियार लिएर अग्रपंक्तिमा हिँड्ने सिपाहीजस्तै हो, कुनै राजाको शयनकक्ष होइन ।
थोपरिएको बाह्य संस्कृतिको हातमा आफ्नो पहिचान बेच्ने र आफ्नो पसिना, रगत र सपनाको मूल्यमा पुँजी र मुनाफा कमाउने र बाँड्ने व्यवस्थालाई बचाइराख्ने त्यस्ता व्यक्तिहरूका निम्ति ‘मास कल्चर’को खेलौना तयार पारिएको छ । यो अरू केही पनि होइन, ‘मास’का लागि ‘कल्चर’को नाममा मानिसको बोल्ने, विचार गर्ने, केही भन्ने वा गर्ने भावनालाई नियन्त्रित गर्ने काम मात्र हो । जनताका निम्ति पेस गरिएको उक्त ‘मास कल्चर’ले यथार्थ पहिचान गर्न सक्ने हाम्रो क्षमतालाई दबाउने र त्यसको साटो हामीलाई केही गर्ने, निर्माण गर्ने र नयाँ रचनाको झूटो प्रतीतिले भर्ने काम मात्र गरिरहेको छ ।
आफू बाँचिरहेको समयको सम्पूर्ण संकट र परिवर्तनको चाहनालाई समेट्ने र सबै प्रकारका खतरासँग जुध्ने खालको साहित्यले नै नयाँ र सर्वोत्कृष्ट संसारको तस्बिर देखाउन सक्छ । र, स्वप्न देख्न सक्ने साहस र योग्यताले निपुण लेखकका माध्यमद्वारा उनीहरूले त्यो संसारलाई प्राप्त गर्ने बाटो पनि देखाउन सक्छ । विदितै छ, अन्याय र उदासीको माहोलमा साहित्यको एउटा बेग्लै महŒव रहँदै आएको छ ।
त्यस्तै, जनसंख्याको एउटा ठूलो अंश जब बाँच्ने संघर्षमा लागेको छ, तब केही लेखक आफू ‘विशिष्ट’ रहेको दाबी गर्दै आफ्ना लागि सुविधाको माग गर्ने गर्दछन् । केही यस्ता लेखक पनि छन्, जो सरकारी दमनको स्थितिमा साहित्यलाई भजाएर सत्ताको साथमा रहन्छन् । म यी दुवै कुराको बिल्कुलै विरुद्धमा छु । लेखक न त कुनै भगवान् हुन्, न त व्यवस्थाको इच्छाको दास । यो कुरा साँचो हो कि हामी वरिपरिका घटनाहरूबाट प्रेरणा लिएर आफ्नो साहित्य सिर्जना गर्छौं, तर यसको अर्थ यो होइन कि, हामीले आफूलाई त्यतिसम्म मात्रै सीमित राख्ने गर्छौं । के देखिन्छ भने लेख्नु भनेको एक किसिमको गतिविधि नै हो, यो कुनै जादुजस्तो चिज होइन । तर, जब एउटा लेखकले हामीलाई यो संसारको वास्तविक रङ देखाउने र सर्वोत्तम संसार निर्माण गर्न प्रोत्साहन दिने खालका मानिस र तिनीहरूका अनुभवको छेउमा उभ्याउन पुग्छन्, तब उसले लेखेको साहित्यको प्रभाव र असर कुनै जादुभन्दा कम भने हुँदैन ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा