14th November 2018, Wednesday

E-budhabar

नेताहरू दिल्ली धाउने क्रम कहिले रोकिएला ?



काठमाडौं । मुलुकमा दुई तिहाइ मतप्राप्त दलको सरकार भएपछि अरू धेरै कुराका अलावा एउटा आशा थपिएको थियो, अब नेपालका नेताहरूले आफ्नो निर्णय आफैं गर्नेछन्, विदेशीको शरणमा जाने दिन गए । तर, पछिल्ला दिनका गतिविधिहरू हेर्दा नेताहरूमा आत्मविश्वास पलाइसकेको देखिएको छैन । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको हालैको दिल्ली भ्रमण र त्यसक्रममा उनले उत्साहका साथ भारतीय पक्षलाई खुसी पार्ने गरी दिएका अभिव्यक्तिहरूबाट देशभित्रका विषयहरूमा विदेशमा पुगेर छलफल गर्ने क्रम कहिले रोकिएला भन्ने प्रश्न उब्जिएको छ ।
पुष्पकमल दाहालले दिल्ली पुगेर दुई देशबीचको सम्बन्ध नभई भारतीय पक्षसँगको आफ्नो व्यक्तिगत सम्बन्ध सुधार्ने कोसिस गरेर फर्किएका छन् । सरकारमा जान र टिकिरहन भारतीय सहयोग अनिवार्य रूपमा चाहिन्छ भन्ने मनोविज्ञानबाट निशृत उक्त भ्रमणका क्रममा भारतीय पक्षलाई खुसी पार्न उनले निकै मिहिनेत गरेको देखिन्छ । भेटघाटको सुरुआत नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग हुनुले दाहालको भ्रमणलाई झन् अर्थपूर्ण बनाइदिएको छ । भारतीय गुप्तचर संस्था आईबीका पूर्वप्रमुख डोभललाई दाहालले भेट्नुपर्ने कारण के रहेछ भन्ने सार्वजनिक भएको छैन । विगतमा भारतमा रहँदा त्यही गुप्तचर संस्थामार्फत दाहालले भारतीय स्वार्थविपरीत नजाने लिखित प्रतिबद्धता प्रधानमन्त्री कार्यालयसँग गरेका थिए ।
पुष्पकमल दाहालको योत्र भ्रमण पार्टीगत हो कि व्यक्तिगत भन्ने प्रश्न पनि उब्जिएको छ । स्रोतका अनुसार, भ्रमणका लागि नेकपामा कुनै निमन्त्रणा आएको थिएन । दाहाललाई व्यक्तिगत रूपमा भारतीय पक्षले निम्ता गरेको थियो । भारतीय पक्षलाई पनि थाहा छ, अहिले दाहाल एक्लैले सिंगो पार्टीको प्रतिनिधित्व गर्न सक्दैनन्, उनी एउटा पक्षको मात्र नेता हुन् । निम्तो पाउनासाथ पार्टी एकताका अनिवार्य कामलाई समेत पछि धकेलेर दाहाल दिल्ली दौडिएपछि नेकपामा शंका उपशंकाको वातावरण बनेको छ ।
अध्यक्ष दाहाले भ्रमण टोली बनाउँदा पनि पार्टीगत नभई आफ्नो पारिवारिक र व्यक्तिगत मात्र बनाउनुले पनि यसले पार्टीगत प्रतिनिधित्व गर्दैन भन्ने नै देखिन्छ । भ्रमण टोलीमा उनले आफ्ना सहयोगी जोखबहादुर महरा, छोरी गंगा दाहाल र अर्का सहयोगी सूर्यकिरण शर्मालाई समावेश गरेका थिए । नाम उल्लेख गर्न नचाहने नेकपाका एक नेताले भने, ‘त्यसकारण पनि यसलाई पार्टीगत भ्रमण भन्न सकिन्न, यो उहाँको व्यक्तिगत र पारिवारिक भ्रमण हो ।’
अध्यक्ष दाहालले भारत पुगेर दिन खोजेका स्पष्ट सन्देश हो, मलाई सहयोग गर्नूस्, म तपाईंहरूको विश्वास हासिल गर्न चाहन्छु । साथैै, सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री ओलीले खास केही गर्न नसकेकाले अब आफू सत्तामा आएपछि काम गर्ने सन्देश पनि उनले दिन चाहेका छन् । भ्रमणको नभनिएको तर खास अर्थ यही नै रहेको बुझ्न गाह्रो छैन । पछिल्ला दिनमा नेपालमा विकास भएका राजनीतिक घटनाक्रमहरूबाट बेखुस भारतका लागि यति आश्वासन पनि घाउमा मलमजस्तै ठानिएको छ । भावी प्रधानमन्त्रीका रूपमा दाहाललाई ठूलो सत्कार गरेर भारतले त्यही सन्देश दिन खोजेको छ ।
अध्यक्ष दाहालले भारतीय बुद्धिजीवी र पत्रकारहरूसामु आफूलाई भावी प्रधानमन्त्रीका रूपमा खुलेरै चिनाएका छन् । हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा दाहालले ओलीसँग दुई वर्षमा पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद आफूलाई दिने सहमति भएको खुलासा गरेका छन् भने द प्रिन्टलाई लिएको अन्तर्वार्तामा प्रधानमन्त्रीको कार्यकाल आधा आधा बाँड्ने सहमति भएको उल्लेख गरेका छन् । आपत्तिजनक कुरा त के छ भने उनले आफूलाई भारतीय नेताहरूलाई पनि यो कुरा भनेको सगर्व उल्लेख गरेका छन् ।
सबैलाई थाहा छ, प्रधानमन्त्री ओलीसँग भारत खुसी छैन । जति गर्दा पनि नसेकपछि बाध्य भएर मित्रताको हात मिलाए पनि मौका पाउनासाथ ओलीलाई अप्ठेरो पार्न भारतले ढुकेर बसेको कुरा ओली स्वयंलाई राम्रोसँग थाहा छ । दुई पार्टीबीच एकता हुँदा सत्ता साझेदारी सम्बन्धमा सहमति भएको र त्यो सहमतिअनुसार दाहाल प्रधानमन्त्री हुने भएकाले ओली भारतले आँखा दाहालतिर सोझिएको छ । जोसँग भेट्यो, उस्तै कुरा गर्न खप्पिस दाहालले भारतले के भनेर मक्ख पारेका छन्, त्यो त समयक्रममा थाहा होला । तर, अहिले दाहाललाई दिल्ली झिकाएर भारतले ओलीलाई दिन खोेजेको सन्देश हो, हामीसँग विकल्प पनि छ, तिमी भएनौ भने पनि हामी खाली बस्नुपर्दैन ।
अहिले दाहाल कहिले हस्याङफस्याङ गर्दै कहिले दक्षिण त कहिले उत्तर गरी दौडिनुपर्ने कुनै कारण छैन । यी दुवै देशसँग प्रधानमन्त्री ओलीले समानता र स्वाभिमानका आधारमा सम्बन्धलाई सही रूपमा अघि बढाइरहेका छन् । एकपटक भारत र चीन भ्रमण गरेर ओलीले सम्बन्धलाई सन्तुलित बनाएर छिमेकीलाई उच्च महत्वमा राखेको सन्देश पनि दिइसकेका छन् । यस्तो बेलामा मुलुकका कुनचाहिँ एजेन्डामा दाहालले भारत वा चीनसँग कुरा गर्न सक्छन् ? अथवा, उनले कुरा गर्नुपर्ने त्यस्ता के विषय छन्, जसमा ओलीले ध्यान दिन सकेका छैनन् ? स्वाभाविक जिज्ञासा उत्पन्न भएको छ ।
भारतको विश्वास लिन नसकेका कारण पहिलोपटक सत्ताबाट हट्नुपरेको भ्रम पालेर बसेका दाहाललाई अहिले पनि त्यही मनोविज्ञानले लखेटिरहेको बुझ्न सकिन्छ । दोस्रोपटक भारतकै विश्वासका कारण प्रधानमन्त्री हुन सकेको र अब पनि उसलाई विश्वासमा लिँदा सफल हुन सजिलो हुन्छ भनेरै उनले दिल्लीलाई दाहिना बनाउने कोसिस गरेको बुझ्न सकिन्छ । दक्षिण मात्रै जाँदा एकपक्षीय भन्लान् भन्ने डरले उत्तरतिर भ्रमण गर्न चाहे पनि त्यसको चाहिँ कुन राजनीतिक महŒव छैन भन्ने दाहाल स्वयंले पनि बुझेका छन् ।
नेपालमा सरकार बनाउने र गिराउनेदेखि ठूला नियुक्तिहरूमा समेत भारतले सुँढ घुसाउँदै आएको कुरा सबैलाई थाहै छ । यतिबेला नेकपाको दुई तिहाइ बहुमतको सरकार बनेपछि अब भारत नेपालका सन्दर्भमा बेरोजगार बनेको टिप्पणी हुँदै गर्दा दाहालमार्फत नेकपाभित्र खेल्न खोजेको रूपमा अरू नेताहरूले बुझेका छन् । सिधै कुरा गर्ने ओलीको स्वभाव र कूटनीतिक रूपमा राम्रो कुरा गर्दै आफ्नो मुलुकको हितमा एक इन्च पनि तलबितल नगर्ने माधवकुमार नेपालको स्वभावसँग परिचित भारतले दाहाल जति सजिलो नेता अरू नठानेकैले होला, उनलाई बैमौसममा भ्रमण गराएर एक्सपोज गराएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

गल्याङको लल्याङमा नेपाल टेलिकमको सेवा विस्तार

ShareTweet नेपाल टेलिकम, द“रसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ . विस्तार पश्चात अब लल्याङका करिब ५) घरध’री- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा