21st September 2018, Friday

E-budhabar

सदैव रंगकर्ममै समर्पित



सदैव रंगकर्ममै समर्पित

ओममणि शर्माले पात्रहरूलाई नपछ्याएको दशक बितिसक्यो । पात्र अर्थात् कथाका पात्रहरू । कुनै बेला नेपाली कथा–साहित्यमा राम्रै छाप छोडेका शर्माको लेखनले उचाइ लिदै थियो । तर, अचानक लेख्न छाडे उनले । दशकयता उनले एउटै पनि पात्रलाई आफ्नो कथा–संसारमा उभ्याउन पाएका छैनन् । स्विकार्छन् पनि, ‘दस वर्षदेखि मैले कथा लेखेकै छैन । तर, एउटा उपन्यास भने लेख्न मन छ । आफूले जीवन बाँच्दा भोगेका पक्षहरूलाई उपन्यासमा उतार्ने विचार गरेको छु ।’
वर्षौंअघि साझा प्रकाशनको ‘स्वास्थ्य’ ठीक भएको बेला उनको एउटा कथाकृति निस्किएको थियो– ‘छाप’ । त्यसयता न अर्को सँगालो आयो, न त कथा–लेखनमा उनको सक्रियता नै देखियो । बटुल्ने हो भने एउटा सँगालो त पुग्छ नै, तर ७७ वर्षीय शर्मासँग कतिपय कथाहरू संकलित छैनन् । छरिएका छन्, कताकता । एउटै थलोमा जुटाएर अर्को कृति निकाल्ने रहर छ उनलाई । २०२२ सालदेखि कथा लेख्न थालेका उनले जीवनका ऊर्जावान् क्षणहरू भने एक प्रतिबद्ध नाट्यकर्मीकै रूपमा बिताए । तर, नाट्यकर्मीका रूपमा सक्रियता दर्साए पनि कथा लेखनप्रतिको मोहले भने पछ्याउन छाडेनन् । भन्छन्, ‘मैले यथार्थवादी कथाहरू लेखें । सामाजिक जीवनका कथाहरू लेखें । तर, मैले आफ्ना पात्रहरूलाई कहिल्यै पनि हेला गरेर, होच्याएर लेखिनँ । सबै पात्रप्रति मेरो सम्मानजनक दृष्टिकोण रह्यो ।’
मकवानपुरको भीमफेदीमा जन्मिए पनि २०२४ सालदेखि भने उनी ढुक्कैले काठमाडौंमा बस्न थाले । र, काठमाडौंमा सल्बलाइरहेको साहित्यिक माहोलहरूमा सहभागिता जनाउन थाले । परशु प्रधान, किशोर पहाडी, कवितारामसँग संगत बाक्लिँदै मात्र गएन, कथा÷कविता लेखनमा पनि तीव्र अभिरुचि दर्सिंदै गयो । साहित्य लेखनसँगै नेपाल बैंकमा सामान्य तहको जागिरे जीवन पनि प्रारम्भ भयो उनको । जागिरले काठमाडौंमा टिकाउन सघायो । तर, लेखनको माध्यमद्वारा परिवर्तनको स्वर उराल्ने स्वभाव उनका निम्ति प्रत्युत्पादक ठहरियो र तत्कालीन व्यवस्थाले ‘कालोसूची’मा चढायो । जति लेखे पनि सरकारी माध्यमहरूमा उनका रचनाहरू अघोषित रूपमा प्रतिबन्ध लागे ।
२०३६ सालपछि समाज खुकुलियो, राजनीतिक माहोल फराकिलो बन्दै गयो । त्यही समयतिर अशेष मल्लले एउटा बेजोड नाटक लेखे, ‘सडकदेखि सडकसम्म’ । पञ्चायतप्रति पेचिलो प्रहार थियो नाटकमा । शर्माले भने मण्डलेको भूमिका निर्वाह गरे । अर्को नाटक ‘हामी वसन्त खोजिरहेछौं’ मा पनि उनको भूमिका मण्डलेकै थियो । समाजले घृणित नजरले हेर्ने ‘मण्डले’को भूमिका निर्वाह गर्नु तत्कालीन समयमा सहज भने थिएन । तर, उनलाई परिवर्तनले भोकले यति धेरै सताएको थियो, निरंकुश व्यवस्थाको विरुद्धमा हुने सिर्जनात्मक अभियानहरूमा उनको बाक्लो सम्बद्धता रहन्थ्यो ।
एकपटक, झापामा सडक नाटक देखाउन जाँदा तत्कालीन मेची अञ्चलाधीश लक्ष्यबहादुर गुरुङले उनीलगायत सम्पूर्ण टोलीलाई मेची अञ्चलमा एक छिन पनि बस्न दिएनन् । पछि तिनै अञ्चलाधीश धौलागिरी अञ्चलको अञ्चलाधीश बनेर जाँदा नाटक देखाउन बागलुङ पुगेका उनीहरूलाई दच्काउँदै भने, ‘मैले तिमीहरूलाई मेची कटाएको थिएँ, फेरि बाग्लुङमा पनि आइपुग्यौ ? भोलि नै बाग्लुङ छाड्नू ।’ शर्मासँग यस्ता तीता प्रसंगहरू अनेक छन्, जसलाई वर्तमानमा सम्झिँदा ऊर्जा प्रदान गर्दछ ।
नाट्यकर्मी अशेष मल्लसँगको उनको सहकार्य लोभलाग्दो छ । २०३३ सालमा ‘तुवाँलोले ढाकेको बस्ती’देखि प्रारम्भ भएको अशेष–ओममणि सहकार्य आजपर्यन्त यथावत् छ । त्यसयता ‘सडकदेखि सडकसम्म’ मगन्तेको भूमिका, ‘नाटकहरूको नाटक’मा हल मालिकको भूमिका, ‘शकुनी पासाहरू’मा धृतराष्ट्रको भूमिका र ‘कुमारजी आज्ञा गर्नुहुन्छ’मा दशरथको भूमिका– यी नाटकहरूमा आफूले निर्वाह गरेको भूमिका सम्झिँदा उनलाई अझै पनि रोमाञ्चित तुल्याउँछ । हुन त उनले केही चलचित्र, टेलिचलचित्रमा पनि अभिनय कला देखाए । ‘चेलीबेटी’मा नायिकाको मामाको भूमिकामा खेले । तर, चलचित्र अभिनयले उनलाई खासै लोभ्याउन सकेन । भन्छन्, ‘मलाई नाट्य अभिनयले नै सन्तुष्टि दिन्छ । मलाई कतिपय फिल्मकर्मीले फिल्ममा खेल्न आग्रह गरे । तर, मैले नाटक खेल्न छाडेर फिल्मतिर मन दिइनँ ।’
जीवनमा कथा लेखे, कविता लेखे शर्माले । र, खेले नाटक । तर, नाटक लेख्ने साहस भने उनले कहिल्यै गर्न सकेनन् । भन्छन्, ‘कथा लेख्न सक्नेले नाटक पनि लेख्न त सक्छन् । तर, मैले नाटक लेखनमा कहिल्यै पनि रुचि देखाइनँ । म कथा लेखनमा जति सफल भएँ, नाटक लेखनमा त्यति सफल हुन सक्दिनँ कि भन्ने लाग्यो र नाटक लेखिनँ ।’ नाटक नलेखे पनि उनले जीवन नै रंगकर्ममा बिताए र नाट्यकर्मद्वारा चेतना प्रवाह गर्दै कालरात्रिलाई पन्छाउने अभियन्ताहरूको लहरमा आफूलाई उभ्याए । उनी यसैप्रति गर्व छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

सरुवामा चलखेलको आशंका

ShareTweet काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको शुक्रबार प्राधिकरणको व्यवस्थापनले- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

ShareTweet प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

इन्द्रेनीझैं रंगीचंगी

ShareTweet २०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले- ...
पूरा पढ्नुहोस्

छोटकरीमा