16th January 2019, Wednesday

E-budhabar

इन्द्रेनीझैं रंगीचंगी



इन्द्रेनीझैं रंगीचंगी

२०४६ सालयता नेपाली राजनीति, समाज र अर्थव्यवस्था धेरै चलायमान हुन पुगे । परिवर्तनको आवेगले समाजका हरेक अंगलाई लपेट्यो । २०६२ सालसम्म आइपुग्दा त राजनीतिले उथलपुथलकै रूप लिइसकेको थियो । माओवादी जनयुद्धको डोब सर्वव्याप्त भयो भने राजदरबार हत्याकाण्डदेखि गणतन्त्रको बीजारोपण पनि सोही अवधिमा भयो । राजनीति, समाज र अर्थव्यवस्था तरंगित रहेको सो अवधिमा सर्जकहरूले पनि लेखनका नयाँ विषय–क्षेत्र भेट्टाए ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि कथा लेखनमा सक्रिय रही २०६२ सालको जनआन्दोलनसम्म लेखनमा उचाइ स्थापित गरिसकेका कथा–सर्जकहरूका रचनालाई नियाल्ने माध्यम बनेको छ– ‘प्रज्ञा आधुनिक नेपाली कथा’ । नेपाल प्रज्ञा–प्रतिष्ठानको यो पाँचौं शृंखला हो । चौथो शृंखलासम्म २०४६ सालअघिका सर्जकहरू समेटिएका छन् । पाँचौं शृंखलामा भने पछिल्लो कालखण्डमा कथा साहित्यमा सक्रिय सर्जकहरूलाई उभ्याइएको छ र लेखिएको पनि छ, ‘विक्रमाब्दको एकाइसौ शताब्दीको पचासको दशकमा नेपाली कथा आकाशमा उदाएका कथा सर्जकहरूका कथा सिर्जनालाई समेट्ने प्रयास गरिएको छ ।’
पचासको दशकयता कथा साहित्यमा कलम घोट्नेहरूका लेखनमा जनयुद्धको राप, त्यसले समाजमा पु¥याएको तिखो असर, राज्यआतंक, संसदीय राजनीतिमा अभ्यस्त दलहरूमा देखिएको विचलन, सत्तालोलुपता र त्यसले निम्त्याएको विसंगति, दरबार हत्याकाण्ड, निरंकुशतन्त्रको पुनःस्थापना, राजतन्त्रप्रति जनतामा पलाएको गहिरो वितृष्णा र गणतन्त्रको दिशामा लम्किरहेका जमातको स्पष्ट तस्बिर देख्न सकिन्छ । जनयुद्धको विस्तारसँगै राज्यआतंकले कति दह्रो ढंगले उपस्थिति जनाएको थियो भन्ने पक्ष पुण्य कार्कीको ‘गर्भे आतंककारी’मा स्पष्ट देख्न सकिन्छ भने कमल नियोलको ‘युद्धकालीन आमाहरू’, गंगा सुवेदीको ‘अन्तहीन वेदना’ र फूलमान बलको ‘काजोल खातुन’मा जनयुद्धले नेपाली समाजमा पारेको गहिरो प्रभावको स्पष्ट झलक देखिन्छन् ।
राजनीतिमा भित्रिएको विसंगतिको कारण जनताले पीडा भोग्नुपरेको यथार्थलाई पनि केही कथा सर्जकहरूले पस्किन चाहेका छन् । मातृका पोखरेलको ‘म पनि निदाएको छैन’ ले सीमान्त तहका जनताले खेप्नुपरेका दुःख, कष्ट र जटिलतालाई उजागर गर्न खोजेको छ भने तृष्णा कुँवरको ‘चुनाउ’ले राजनीतिक क्षेत्रमा व्याप्त विकृतिको पर्दा उघार्न चाहेको छ । रोहित दाहालको ‘अब गाउँ ब्युँझियो’मा भने नेपाली समाजको गलगाँडका रूपमा स्थापित जातीय विभेदको पीडालाई केलाउन खोजिएको छ । राजनीतिक परिवर्तनसँगै जातीय विभेदविरुद्ध ग्रामीण भेगका जनता जुर्मुराउन थालेको पक्षलाई यो कथाले समातेको छ ।
सो शृंखलामा कथासर्जकहरू किशन थापा ‘अधीर’, सुस्मिता नेपाल, विवश वस्ती, मणि लोहनी, दीनबन्धु शर्मा, कुमुद अधिकारी, निलम कार्की ‘निहारिका’, अभय श्रेष्ठ, गोपाल अश्क, आत्माराम शर्मा, केशरी अम्गाइँ, अमर न्यौपाने, कुमार नगरकोटी, रत्नमणि नेपाल, जया राई, शर्मिला खड्का दाहाल, ललिता दोषी, नवीन विभास, जलेश्वरी श्रेष्ठ, रक्ष राई, हरिमाया भेटवाल, अनमोलमणि, घनश्याम शर्मा, उपेन्द्र सुब्बा र आन्विका गिरीका कथा रहेका छन् ।
मूलतः पचासको दशकयताका नेपाली समाज, राजनीति, सांस्कृतिक क्षेत्रमा आएका उथलपुथललाई नियालेर हेर्न चाहनेहरूका निम्ति यो शृंखलामा रहेका कथाहरूले लाभ दिनेछ । शृंखलाका कथाहरू पहाडीदेखि मधेसी समाजसम्मको छायांकन गर्न सक्षम रहेकाले इन्द्रेनीझैं रंगीचंगी प्रतित हुन्छ ।
कृति ः प्रज्ञा आधुनिक नेपाली कथा
विधा ः कथा
सम्पादक ः इस्माली÷डा. लक्ष्मणप्रसाद गौतम
प्रकाशक ः नेपाल प्रज्ञा–प्रतिष्ठान
पृष्ठ ः २४०
मूल्य ः २८०।–

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

आगलागीमा कर्मचारीकै लापरबाही

ShareTweet काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण त्रिशूली जलविद्युत् आयोजनाको विद्युत् गृहमा एक वर्षमै तीनपटक आगलागी हुन पुगेको छ । तर, पटकपटक आगलागी भएर भौतिक क्षति- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नायक कि खलनायक ?

ShareTweet ‘इतिहास एक संवाद हो,’ आर्थर मारविकले भनेका थिए । तर, अब इतिहास संवादमा मात्र सीमित छैन । संवाद, विवाद, अन्तर–आवाजहरूका घेरा नाघिसकेको छ इतिहासले । केही दिनपूर्व- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कृषिवनको उपयोगिता

ShareTweet जनसंख्या वृद्धिसँगै परिवार टुक्रिने क्रम बढ्दो छ । परिवार टुक्रिएसँगै जग्गा–जमिनहरू खण्डीकृत हुने क्रम पनि उत्तिकै तन्किँदो छ । एकातिर जमिनको खण्डीकरणसँगै- ...
पूरा पढ्नुहोस्

छोटकरीमा