13th December 2018, Thursday

E-budhabar

संविधानको प्रतिफल



असोज ३ गते नेपाली जनताले गौरवान्वित महसुस गर्ने दिन । यो दिन इतिहासको पानामा एउटा सानदार दिनका रूपमा अंकित हुँदै आएको छ । नेपाली जनताले आजभन्दा ठीक चार वर्षअघि, आजकै दिनमा संविधान पाएका थिए । नेपाल र नेपाली जनताको सुदूर भविष्यलाई चिह्नित गर्ने संविधान प्राप्तिका अनेक कथा–उपकथाहरू गाँसिएका छन् । संघर्षशील इतिहासलाई साक्षी राखेर जनताले प्राप्त गरेको संविधान एउटा महान् उपलब्धि थियो । वर्तमानमा जनताले जुन अधिकार पाएका छन्, त्यो त्यही संविधानको प्रतिफल हो । त्यसैले, असोज ३ लाई नेपाली जनताले एउटा उच्च पर्वका रूपमा स्विकार्दै आएका छन् र नेपाली जनता उपलब्धिका मार्गहरूमा पाइला तन्काउन उद्यत हुँदै आएका छन् ।
नेपाली जनक्रान्तिको उत्कर्ष रूप थियो– नयाँ संविधान । २०४६ सालको राजनीतिक परिवर्तनपछि जनताले संविधान नपाएका होइनन् । त्यो संविधानले जनतालाई मौलिक हक र अधिकार सुम्पे पनि संवैधानिक राजतन्त्रलाई स्विकारेर चल्नुपर्ने बाध्यात्मक परिस्थिति विद्यमान थियो । संविधानले दरबारिया शक्तिहरूलाई चलखेल गर्न दिने प्रशस्तै आधारहरू दिएको थियो । राजनीतिक शक्तिहरूलाई संकुचनमा राख्ने अभ्यास दरबारिया शक्तिले संविधानकै आधारमा गर्दै आएका थिए । व्यावहारिक रूपले जनताको पूर्ण हितमा २०४७ सालको संविधान उभिएको थिएन । तर, त्यो संविधानलाई बदल्ने परिकल्पना पनि गर्न सकिने राजनीतिक परिस्थिति विकास भइसकेको थिएन ।
२०५२ सालदेखि विद्रोही नेकपा (माओवादी) ले जनयुद्धको थालनी गरेपछि नेपालको राजनीतिक धरातलमा त्यसले एउटा बेग्लै तरंग मात्र ल्याएन, सामाजिक, सांस्कृतिक, आर्थिकलगायत क्षेत्रमा परिवर्तन र चेतनाका लहरहरूसमेत फैलिने वातावरण बन्यो । राज्य पक्षले विद्रोही शक्तिलाई दबाउने रणनीति लिएपछि माओवादी युद्धले हिंसात्मक दिशासमेत पक्रियो । विद्रोहीहरूको आवाजलाई राजनीतिक तवरले समाधान गर्ने कार्यमा राज्य पक्ष चुक्दै गयो भने विद्रोही पक्षले पनि आफ्नो शक्ति विस्तार गर्दै राज्यविरुद्ध भीषण संघर्ष गरे । युद्धको प्रभाव सघन रूपले सहरी इलाकाहरूदेखि ग्रामीण भेगसम्मै प¥यो । हजारौं जनाले जीवन गुमाए, हजारौं नै घाइते भए र हजारौं नै विस्थापित भए । युद्धको गहिरो पीडा झेल्न नेपाली जनता बाध्य भए ।
पचासको अन्तिम दशकमा दरबार हत्याकाण्ड भएपछि नेपाली राजनीतिमा बेग्लै परिस्थिति विकास हुँदै गयो । तत्कालीन राजा ज्ञानेन्द्र शाहमा पलाएको तीव्र राजनीतिक महŒवाकांक्षाले गोडमेल हुने अवस्था मात्र सिर्जना भएन, निरंकुशतन्त्रको बुटमा नेपाली जनता पुनः पिल्सिन पुगे । राजाको निरंकुश कदम र सोचले विस्तार पाउँदै गएपछि संसदवादी राजनीतिक शक्तिहरू र विद्रोही माओवादी शक्तिबीच भएको दह्रो एकता र जनआन्दोलनको भीषण आँधीले अन्ततः २ सय ४० वर्षदेखि शासनरत राजतन्त्रको अन्त्य गराएरै छाड्यो । संविधानसभाको निर्वाचनपछि गठित पहिलो संसद्ले राजतन्त्र अन्त्यको आधिकारिक रूपमा घोषणा गरेपछि देशमा गणतन्त्रको बिहानी मात्र झुल्किएन, त्यसले नयाँ नेपाल बनाउने संकल्प बोकेर उभिएका राजनीतिक शक्तिहरूको चाहनालाई मार्गप्रशस्त गर्ने आधार पनि दिलायो । यिनै घटनाक्रम र उपलब्धिहरूका जगमा उभिएर २०७२ असोज ३ गते अन्ततः नेपाली जनताले नयाँ संविधान पाए ।
विदितै छ, चार वर्षअघि संविधान जारी हुन नदिन दृश्य–अदृश्य शक्तिहरूले निकै नै चलखेल गरे । संविधान जारी गर्ने मिति पछाडि धकेल्ने वा संविधान नै ल्याउन नदिनेजस्ता चलखेलमा संविधान विरोधी शक्तिहरू सल्बलाएका थिए । तर, राजनीतिक दलहरूका नेतृत्व पंक्तिले भने अनेक चलखेलका बाबजुद संविधान जारी गर्ने कार्यमा आफूलाई एक इन्च पनि पछि हट्न दिएनन् । नेतृत्वको सुझबुझ, साहस र जिम्मेवारीबोधकै परिणाम स्वरूप समयमै संविधान जारी भयो, नेपाली जनताले आफ्नो संविधान पाए । हुन पनि धेरै सकस भोगेर नयाँ संविधान जारी भइछाड्यो । विडम्बना, संविधान जारी भएपछि छिमेकी राष्ट्र भारतले देखाएको रवैया र करिब ६ महिनासम्म नाकाबन्दीको सामना समेत नेपाली जनताले भोग्नु प¥यो ।
अनेक सकस, चलखेल र अवरोधहरूलाई चिर्दै जनताले संविधान पाएको चार वर्ष बितेको छ । संविधानकै जगमा जनताले धेरै उपलब्धि बटुल्नसमेत पाएका छन् । यो अवधिमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरू चुनिएका छन् । देश संघीयताको बाटोमा अगाडि बढेको छ । जनता अधिकारसम्पन्न र शक्तिशाली बन्दै गइरहेका छन् । जनताले एकपछि अर्को उपलब्धिको स्वाद चाख्न पाइरहेका छन् । यी सबै संविधानको देन हो, संविधानले दिलाएको उपलब्धि हो ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जनाको मझेरीमा उपेक्षित किसान

ShareTweet – मधेस सदैव उर्वर भूमि रहँदै आयो । अन्नबालीको प्रचुरता रहेको मधेसका जनताले चिनी कारखाना खुल्न थालेपछि उखु खेतीलाई प्रश्रय दिए । नगदे बालीका रूपमा परिचित- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

उज्यालोको एउटा गीत

ShareTweet अक्सर कविहरूसामु विषयवस्तुको छनोट र बिम्बविन्यासको क्रममा उज्यालो या अँध्यारोमध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ ।- ...
पूरा पढ्नुहोस्

छोटकरीमा