11th December 2018, Tuesday

E-budhabar

झुसे फलको नेपाल–यात्रा



काठमाडौंका सुपरमार्केटहरूमा एकाध वर्षपूर्व एउटा महँगो विदेशी फल सजाएर राखिन्थ्यो । त्यो एउटा अभिजात्य फल नै थियो । सामान्य आर्थिक स्रोत भएका नेपालीले खरिद गरेर खाने हैसियत त राख्दैनथ्यो नै, मध्यमवर्गीयले समेत त्यो फलको मूल्य सुनेर जिब्रो टोक्दै प्रतिक्रिया जनाउँथे, ‘कति महँगो हो यो ?’
किबी थियो, त्यो अभिजात फल । र, इटाली, जर्मनी, स्विट्जरल्यान्डजस्ता युरोपियन देशहरूबाट आउँथे र ८÷९ सय रूपैयाँ प्रतिकिलो बिक्री हुन्थ्यो । अब भने त्यो परिदृश्य क्रमशः मेटिँदै छ । ठूलाठूला डिपार्टमेन्ट स्टोरहरूमा सजिने किबी अब सहरका सामान्य फलफूल पसलहरूमा समेत पाइन थालेका छन् । स्याउ, सुन्तला, अनारजस्ता फलफूलकै लहरमा किबीले पनि सजिने मौका पाउन थालेको छ र मध्यमवर्गीय तप्काले अब ‘किनेरै’ खान सक्ने मूल्यमा ओर्लिएको छ । अर्थात्, काठमाडौंको बजारमा ३ सय प्रतिकिलो सहज रूपमा उपलब्ध हुन थालेको छ ।
नेपालको उच्च पहाडी भूभागमा केही वर्षयता व्यावसायिक रूपमा किबीको खेती हुन थालेपछि नेपालीको पहुँचमा यो फल पुग्न सम्भव भएको यथार्थलाई पन्छाउन मिल्दैन । तर, किबीले व्यावसायिक गोरेटा पहिल्याउन सफल हुनुमा केही पात्रहरूको प्रयत्नलाई सलाम गर्नुपर्ने हुन्छ । दोलखाको भीमेश्वर नगरपालिका–६, सिम्पानीका श्यामबहादुर खड्का एक यस्ता पात्र हुन्, जसले किबीलाई मध्य र उच्च पहाडी भेगहरूमा फिँजाउन दुई दशकयता सक्रियता दर्साइरहेका छन् ।
श्यामबहादुरको किबी–साइनो अलि रोचक नै छ । २०४३÷४४ सालतिर लामोसाँघु–जिरी सडकखण्डको निर्माण कार्यले गति समातिरहेको थियो । स्विट्जरल्याण्ड सरकारको आर्थिक–प्राविधिक सहयोगमा निर्माण भएको उक्त सडक निर्माण कार्यमा जोडिन आइपुगेका एकजना स्विस इन्जिनियरले संयोगवश उनकै घरमा डेरा बसाए । स्विट्जरल्यान्डबाट ती स्वीस इन्जिनियरले आफूसँगै केही दाना फल पनि ल्याएका थिए र उनी त्यसलाई स्वाद मानेर खान्थे पनि । तिनै स्विस इन्जिनियरले एक दिन श्यामबहादुरको बारीमा किबीको बीउ रोपे ।
ती स्विस इन्जिनियरको नेपाल बसाइँ तन्किएन । एकाध वर्षमा नै उनले नेपाल छाडे । तर, श्यामबहादुरको बारीमा भने त्यो नयाँ र नामविहीन फल उम्रियो र बिस्तारै लहराको रूपधारण गर्दै फैलिन थाल्यो र दुईतीन वर्षपछि फल्न पनि थाल्यो । खड्का भन्छन्, ‘त्यो फल फल्न थालेपछि कुन समयमा पाक्छ, पाकेपछि कसरी खाने भन्ने हामीलाई जिज्ञासा रह्यो । झुसैझुस भएकाले हामीले त्यसको नाम झुसे फल राख्यौं ।’
एक दिन श्यामबहादुर त्यो झुसे फल बोकेर चरिकोट बजारतिर ओर्लिए । उनलाई विश्वास थियो, जिल्लाका कृषिका हाकिम र कर्मचारीहरूले पक्कै पनि त्यो नामविहीन फलको नाम भन्नेछन् । तर, उनको विश्वासले मूर्त रूप पाएन । कृषिका कर्मचारीले यति मात्रै भने, ‘यो विदेशीहरूले खाने महँगो फल हो ।’ उनमा झनै कौतूहलता पलाउन पुग्यो । त्यही समय, उनको घरमा डीएफआईडीमा कार्यरत केशव शिवाकोटी आए । उनको बारीमा किबी फलेको देखेर शिवाकोटी यति धेरै मुग्ध भए र भने पनि, ‘तपाईको बारीमा त सुनैसुन फलेको रहेछ ।’
२०५९ सालको हिउँदमा श्यामबहादुरले एउटै बोटमा ५२ केजी किबी फलाए र बेच्न लगे, काठमाडौंको कालीमाटीमा । उनी सम्झिन्छन्, ‘कालीमाटीमा मैले लगेको किबीलाई ग्रेडिङ गरेर ३ भाग लगाइयो र मलाई ८ हजार रूपैयाँ दिए ।’ त्यसपछिका वर्षहरूमा उनका साला शान्त थापाले काठमाडौंका विभिन्न होटलहरूमा लगेर बिक्री प्रवद्र्धनमा उनलाई सघाउन थाले । २०६६ सालदेखि भने किबीलाई व्यावसायिक रूपले अघि बढाउन सके उनले । दोलखाको बोंचस्थित शीतोष्ण फलफूल केन्द्रका प्रमुख बनेर पुगेका चन्द्रमान श्रेष्ठलाई उनले आफूकहाँ किबी भएको खुलासा गरे । चन्द्रमान उनको घरमा पुगे र एउटा झाँगिएको लहरामा फलेका किबी देखेर खुसी भए । खड्का भन्छन्, ‘उहाँले नै नर्सरी उत्पादन गर्नुपर्छ भन्नुभयो र मबाटै बीउ लिएर जानुभयो र बिरुवा उमारियो ।’ सो केन्द्रले ३ सय बिरुवासमेत किनेर श्यामबहादुरको किबी अभियानलाई गति प्रदान गर्न भूमिका खेल्यो ।
श्यामबहादुरको आर्थिक धरातल उकास्नमा किबीको प्रचुर योगदान छ । आफ्नै बारीमा ५०–६० बोट किबी फलाउने उनले केही वर्षयता भने नर्सरीमा जोड दिएका छन् । भन्छन्, ‘म अहिले बर्सेनि ८–१० हजार बिरुवा उत्पादन गर्छु र बेच्छु पनि । त्यसरी बिक्री गर्दा वर्षमा १२ देखि १५ लाखसम्म आम्दानी गर्ने गरेको छु ।’ उनले एउटा बिरुवा अढाइ सयमा बेच्दै आएका छन् ।
किबीलाई ‘महँगो र सहर–बजारका सम्भ्रान्त वर्गले खाने फल हो’ भन्ने मान्यतालाई बदल्न उनी प्रयत्नरत छन् । भन्छन्, ‘अहिले ३ सय रुपियाँ केजीमा बिक्री भइरहेको किबीलाई ५० रूपैयाँ प्रतिकिलोमा झार्ने मेरो योजना छ । मबाट बिरुवा लैजाने किसानहरूलाई पनि मैले ५० देखि १ सय रुपियाँसम्ममा बेच्ने सोच बनाएर किबी रोप्नुस् भन्ने गरेको छु ।’ उनले एउटा हिसाब पनि निकालेका छन् । भन्छन्, ‘एक रोपनीमा १५ बोट किबी फलाउन सकिन्छ । एउटा बोटबाट ५० केजी उत्पादन हुँदा १५ बोटबाट ७ सय ५० केजी उत्पादन हुन्छ र त्यसलाई सय रुपियाँ केजी बेच्दा पनि ७५ हजार रुपियाँ आम्दानी हुन्छ । यति आम्दानी अरु कुन फल वा बालीले दिन सक्छ ?’
२०७२ सालमा ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’बाट सम्मानित खड्काले हेबार्ड, एलिसन, बु्रनो, एबोट, मन्टी र रेड किबी गरेर सात÷आठ जातिका किबी फलाइरहेका छन् । ती सबै किबी २ हजारभन्दा माथिको उचाइमा सप्रिएका छन् । उनी भन्छन्, ‘कति उचाइमा कुन जातको किबी राम्ररी फल्छ भन्नेबारे सरकारले परीक्षण गरेर किसानलाई जानकारी गराउन आवश्यक भइसकेको छ ।’ उनले आफ्नो बगैंचामा जापानको लोकप्रिय गोल्डेन किबी र एक स्विस नागरिकले पठाइदिएको मिनी किबीसमेत रोपेका छन् । ती देशहरूमा सप्रिएका यी दुवै जातका किबीले नेपालको उच्च पहाडी भेगको हावापानी स्विकार्ने उनको विश्वास छ ।
श्यामबहादुरले भारतीय बजारमा पनि आँखा लगाउन थालेका छन् । युरोपबाट आयातित महँगा किबीभन्दा नेपालका उच्च भेगहरूमा उत्पादित सस्तो किबीलाई भारतीय बजारमा फैलाउन सके नेपाली किबीले व्यापकता पाउने उनको अनुमान र अपेक्षा छ । भन्छन्, ‘अहिले हामीले उत्पादन गरेको किबीको मुख्य बजार त काठमाडौं नै हो । तर, गत वर्षदेखि भारतमा पनि पठाउन थालेका छौं । भारतीय बजारमा नेपाली किबीले राम्रो रेस्पोन्स पाएको हुँदा हामी उत्साहित भएका छौं ।’

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जनाको मझेरीमा उपेक्षित किसान

ShareTweet – मधेस सदैव उर्वर भूमि रहँदै आयो । अन्नबालीको प्रचुरता रहेको मधेसका जनताले चिनी कारखाना खुल्न थालेपछि उखु खेतीलाई प्रश्रय दिए । नगदे बालीका रूपमा परिचित- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

उज्यालोको एउटा गीत

ShareTweet अक्सर कविहरूसामु विषयवस्तुको छनोट र बिम्बविन्यासको क्रममा उज्यालो या अँध्यारोमध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ ।- ...
पूरा पढ्नुहोस्

छोटकरीमा