20th October 2018, Saturday

E-budhabar

अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान



अनुभवको आँखीझ्यालबाट प्रज्ञा–प्रतिष्ठान

प्रज्ञा–प्रतिष्ठानमा जाने र काम गर्ने इच्छा अलि पहिल्यैदेखि थियो । सायद भाषा, साहित्य तथा वाङ्मयका अन्य क्षेत्रमा काम गर्ने सबैमा यस्तो इच्छा हुन्छ । यस्तो इच्छा राख्नु गलत पनि होइन । २०६१ सालमा मलाई प्राज्ञसभामा जान अनुरोध गरिएको थियो । सबैभन्दा पहिले यस्तो आग्रह साहित्यकार मोदनाथ प्रश्रितले गर्नुभएको थियो । त्यसबेला उहाँ एमालेको नेता पनि हुनुहुन्थ्यो । उहाँको भनाइ अहिले प्राज्ञ सभामा जानुस्, यसबाट अनुभव प्राप्त हुन्छ र माथिल्लो पदमा जानका निम्ति सहयोग पुग्छ भन्ने थियो । मैले जान मन गरिनँ । मैले विनम्रतापूर्वक प्रश्रितजीको आग्रहलाई टारें । त्यसबेला म एमालेको केन्द्रीय संस्कृति विभागको सचिव थिएँ । विभागमा प्रज्ञा–प्रतिष्ठानमा जाने विषयमा छलफल भयो, नामहरू प्रस्तावित भए तर मैले आफ्नो इच्छा व्यक्त गरिनँ । प्राज्ञ–परिषद् सदस्यमा भए जान्थें तर त्यसबेला मेरा निम्ति यो सम्भव थिएन । यो कुरा मलाई राम्रोसँग थाहा थियो । त्यसैले, प्रयत्न पनि गरिनँ ।
२०६१ कात्तिक २ गते प्राज्ञसभा तथा प्राज्ञ–परिषद् गठन भयो । वासुदेव त्रिपाठी उपकुलपति हुनुभयो । प्रगतिशील साहित्य क्षेत्रबाट गोविन्द भट्ट र जीवेन्द्रदेव गिरी प्राज्ञ–परिषद् सदस्य हुनुभयो । शेरबहादुर देउवाको सरकार थियो । सरकारमा एमाले पनि सहभागी थियो । २०६१ साल जेठमा राजा ज्ञानेन्द्रद्वारा शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गरिएको थियो । एमाले राजाको प्रतिगमन आधा सच्चिएको विश्लेषण एवं निष्कर्षसहित सरकारमा सहभागी भएको थियो । देउवा त्यसबेला नेका (प्रजातान्त्रिक) का सभापति हुनुहुन्थ्यो । देउवा नेतृत्वको सरकार एक वर्ष पनि चलेन । २०६१ माघ २० गते राजाबाट आफ्नै नेतृत्वमा मन्त्रिपरिषद् गठन गर्ने कार्य भयो । प्रतिगमनको विरोधमा आन्दोलन क्रमशः चर्कंदै गयो । प्राज्ञ–परिषद्ले पूरा समय काम गर्न पाएन । बीचमै यसको अवशान भयो । राजनीतिक उहापोहका कारण केही वर्षसम्म प्राज्ञ–परिषद्को गठन नै हुन सकेन । प्राज्ञिक गतिविधिहरू यसबाट गम्भीर रूपले प्रभावित भए ।
२०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुभयो । उहाँको प्रधानमन्त्रित्वकालमा प्राज्ञ–परिषद् गठन गरियो, तर सर्वोच्च अदालतले त्यसको विरुद्धमा फैसला दियो । गोपाल किराती संस्कृतिमन्त्री हुनुहुन्थ्यो । किराँतीकै कारण यस्तो स्थिति उत्पन्न भएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठान ऐन–२०६४ मा प्राज्ञ सभा र परिषद् गठन गर्ने सुस्पष्ट प्रक्रिया उल्लेख गरिएको छ । यसका निम्ति मन्त्रीको संयोजकत्वमा तीन जनाको सिफारिस समितिगठन गर्नुपर्छ । भाषा, साहित्यलगायत वाङ्मयका विविध क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिहरूमध्येबाट दुई जनालाई सिफारिस समितिमा राख्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरिन्छ । किरातीले यो प्रक्रिया त पूरा गर्नुभयो, तर सिफारिस समितिको निर्णयबिना नै प्राज्ञसभा गठन एवं पदाधिकारी नियुक्तिको प्रस्ताव प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्नुभयो । प्राज्ञसभा र परिषद् गठन त भयो, तर यही त्रुटीलाई आधार बनाएर अदालतमा मुद्दा दिइयो । फैसलामा निर्णय कार्यान्वयन नगर्नू भनियो । प्राज्ञपरिषद् गठनका सन्दर्भमा माओवादी साथीहरूसँग त्यसबेला पनि बेलाबखत अनौपचारिक छलफलहरू भएका थिए । त्यसबेला पनि म संस्कृति विभागको सचिव नै थिएँ । माओवादी मित्रहरूले मलाई आधिकारिक रूपमै उपकुलपतिका निम्ति प्रस्ताव गर्नुभयो । कुलपतिका रूपमा उहाँहरूले ईश्वरचन्द्र ज्ञवालीलाई प्रस्तुत गर्नुभएको थियो । मैले यो मेरो मात्रै कुरा परेन, यस विषयमा सांगठनिक स्तरबाटै छलफल हुनुपर्छ र प्रज्ञा–प्रतिष्ठानमा हाम्रो समुचित प्रतिनिधित्व हुनुपर्छ भनें । उहाँहरू यस रूपमा अघि बढ्न चाहनुहुन्न भन्ने मेरो बुझाइ थियो । भयो पनि त्यही । एक दुईजना एमालेनिकटका साहित्यकारहरूलाई राखेर उहाँहरूले प्राज्ञ सभा र परिषद् गठन गर्नुभयो । आखिर यो गलत निर्णय प्रक्रियाका कारण तुहियो ।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुभयो । प्रज्ञा–प्रतिष्ठानमै जाने मेरो चाहना थियो । त्यहीअनुसार आन्तरिक छलफलहरू पनि भएका थिए । यसमा मैले सकारात्मक प्रतिक्रिया नै पाएको थिएँ । संविधानसभाका निम्ति समानुपातिकका तर्फबाट नाम प्रस्तावित हुँदा पनि मैले मेरो ठाउँ त्यहाँ होइन, प्रज्ञा–प्रतिष्ठान हो भनेको थिएँ र आफ्नो नाम हटाउन अनुरोध गरेको थिएँ । त्यसबेला माधव नेपाल पार्टी प्रमुख हुनुहुन्थ्यो । यो कुरा उहाँले कतै सार्वजनिक रूपमा बोल्नु पनि भएको छ । अदालतमा परेको मुद्दाका कारण प्रज्ञा–प्रतिष्ठानको गठन चाँडै हुने सम्भावना थिएन । कांगे्रेससँगको संयुक्त सरकार थियो । म जाने ठाउँ प्रज्ञा नै हो भन्ने मनस्थिति बनाएर बसेका बेला शंकर पोखरेलले भेट्न बोलाउनुभयो । पोखे्रल माधव नेपालको प्रधानमन्त्रीत्वमा गठित मन्त्रिमण्डलमा सूचना तथा सञ्चारमन्त्री हुनुहुन्थ्यो । उहाँले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष भएर जान प्रस्ताव गर्नुभयो । मैले आफ्नो चाहना अरु नै रहेको बताउँदै सोच्नका निम्ति समय मागेँ । प्रज्ञा–प्रतिष्ठानको गठन कहिले हुन्छ, कुनै ठेगान थिएन । म आर्थिक समस्यामा पनि थिएँ । त्यसरी आग्रह गरेको प्रस्तावलाई अस्वीकार गर्दा मन्त्रीलाई नराम्रो लाग्ने हो कि भन्ने पनि मलाई थियो, तर जान मन पटक्कै थिएन । अन्ततः जेजस्तो भए पनि जाने टुंगोमा पुगें । नियुक्ति पनि छिट्टै भयो ।
नियुक्तिका कारण म गम्भीर विवादमा तानिएँ । मेरो नियुक्तिको विरोधमा पार्टी अध्यक्ष र विभागीय मन्त्रीकहाँ जनसांस्कृतिक महासंघका पदाधिकारीहरू डेलिगेसन नै जानुभयो । मेरो आलोचनालाई व्यापक बनाइयो । मलाई स्पष्टीकरण सोधियो । म त्यसबेला महासंघको उपाध्यक्ष पनि थिएँ । महासंघमा सामान्य अनौपचारिक छलफल हुँदा चलचित्रकर्मी देशभक्त खनाललाई बोर्ड अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा म पनि थिएँ । मन्त्रीले प्रस्ताव राखेपछि मन्त्री र महासंघका अध्यक्षका बीचमा कुराकानी भएको होला भन्ने लाग्यो । मन्त्री पार्टीका सचिव र अध्यक्ष पार्टी पोलिट्ब्युरो सदस्य हुनुहुन्थ्यो । मसँग महासंघमा बसेर छलफल गर्ने समय नै भएन । नियुक्ति भएपछि मसँग राम्रोसँग कुरा बुझ्ने प्रयत्न पनि गरिएन । आफूले कुनै गल्ती नगरेका कारण मैले स्पष्टीकरण दिइनँ । म देशभक्तलाई पछि धकेलेर त्यहाँ गएको थिइनँ । मेरो त्यो रोजाइको क्षेत्र नै थिएन । म नगएको भए पनि देशभक्तको त्यहाँ नियुक्ति हुने सम्भावना थिएन । अरू कोही पनि नियुक्ति भएर जान्थ्यो । यो कुरा मैले अलि पछि मात्र थाहा पाएको थिएँ । मन्त्रीहरूले पार्टीले सम्बन्धित संगठनका सुझाव एवंं प्रस्तावहरूलाई ध्यान दिनैपर्छ । सबै उनीहरूले भने अनुसार गर्नुपर्छ भन्ने छैन र गर्न पनि गरिदैन । जेहोस्, मेरा निम्ति यो नियुक्ति सुखद् रहेन । म बोर्डमा गएको आठ, नौ महिनापछि मात्र प्रज्ञा–प्रतिष्ठानको गठन भयो । यसरी गणतन्त्रको स्थापनापछिको प्रज्ञा–प्रतिष्ठानको पहिलो गठनमा म पर्न सकिनँ । अपेक्षा नै नगरिएको ठाउँमा गएर आलोचित भएँ । अहिलेसम्म पनि यसले मलाई कुनै न कुनै रूपमा लखेट्दै छ । म लखेटिँदै छु ।
२०७१ भदौमा प्रज्ञा–प्रतिष्ठानको गठन भयो । पुरानो परिषद्को समयावधि सकिएको केही महिनापछि मात्र गठन प्रक्रियालाई अघि बढाइएको थियो । प्रज्ञामा जानुपर्छ भनेर आग्रह गर्ने धेरै मित्रहरू हुनुहुन्थ्यो । पार्टीका नेताहरू पनि सकारात्मक हुनुहुन्थ्यो । मेरो चाहना छँदै थियो । मैले ठूलो पद खोजेको पनि थिइनँ । म प्राज्ञ–परिषद् सदस्य भएर काम गर्न चाहन्थें । लो प्रोफाइलमा बसेर काम गर्न मलाई असहज पनि लाग्दैन । बीचमा सचिवका रूपमा पनि मेरो नाम चर्चामा आयो । मेरो बुझाइ म त्यसका निम्ति उपयुक्त पात्र होइन भन्ने थियो । अन्ततः प्राज्ञ–परिषद् सदस्यका रूपमा मेरो मनोनयन भयो । यसरी २०६१ सालदेखि प्राज्ञ प्रतिष्ठानसँग जोडिन खोजेको म एक दशकपछि मात्र त्यससँग जोडिन पुगें । हाम्रो नियुक्ति निर्विवाद भने भएन । हुने कुरा पनि थिएन । एउटा प्रतिष्ठित दैनिक पत्रिकाले नवगठित प्राज्ञ–परिषद्लाई लिएर सम्पादकीय लेखिएको सम्भवतः यो नै पहिलोपटक थियो । सामाजिक सञ्जालमा पनि निकै टीकाटिप्पणीहरू भए । मेरो हकमा मसम्बद्ध आन्दोलनभित्रबाटै पनि केही आलोचना भयो । म सांस्कृतिक महासंघको सिफारिसमा परेको थिइनँ । सिफारिसमै नपरेको मानिस परिषद्मा परेपछि केहीले आलोचना गर्नु स्वभाविक थियो । यस आलोचनालाई लिएर म गम्भीर भइनँ र अहिले पनि छैन । सिफारिस समितिले सिफारिस ग¥यो, म मनोनयनमा परें । मैले कसैलाई फाल र मलाई राख भनेको थिइनँ । यो मैले भनेर हुने कुरा पनि थिएन । तर, केही महिनापहिले कसैले एक नाम चलेकै पत्रिकामा मेरो नामै नलिईकन फलानो, फलानोलाई पन्छाएर चलचित्र विकास बोर्ड र प्रज्ञा–प्रतिष्ठानमा जाने ‘चोर प्राज्ञ’ भनेर लेख्नुभयो र प्रधानमन्त्रीलाई घुमाउरो भाषामा यस्ताबाट सावधान रहन र प्रतिष्ठानमा योग्यहरूलाई लान आग्रह गर्नुभयो । उहाँ कति योग्य हुनुहुन्छ, म त्यति जान्दिनँ । उहाँको योगदान र योग्यता लोकले नै जान्ला । मैले उहाँलाई म्यासेज गरेर यतिचाहिँ भने– प्रज्ञामा जानोस्, मेरो शुभकामना छ तर कलम मसँग पनि छ । कुरोलाई गहिराइमा नबुझी अर्काको मानमर्दन गर्नेहरूलाई देख्दा असाध्यै दुःख लाग्छ । प्रज्ञा–प्रतिष्ठानमा आउन योग्य मानिसहरू सयौं हुनुहुन्छ । सयौंका बीचबाट पैंतीस जनालाई प्राज्ञ सभा र एघार जनालाई प्राज्ञ–परिषद्मा मनोनयन गर्ने हो । एउटा राख्दा अर्को छुट्छ, अर्को राख्दा अर्को छुट्छ । परिषद् सदस्यमा आउन न मैले ‘चाकरी’ नै गरेको थिएँ न ‘शक्ति’को प्रयोग । फेरि म शक्ति प्रयोग गर्ने हैसियतमै थिइनँ र छैन । पार्टी नेताहरूसँग सामान्य भेटघाट र कुराकानीलाई ‘चाकरी’ भन्ने हो भने न पार्टी चल्छ र न त आन्दोलन । बरु, मलाई राम्रोसँग थाहा छ, यस्तो भन्नेहरूमै यो समस्या सबैभन्दा वेशी पाइन्छ ।
प्रज्ञाको कामको प्रशंसा, रचनात्मक आलोचना र सुझाव एवं नकारात्मक टीकाटिप्पणीका बीच मेरो चार वर्षको कार्यकाल सकिएको छ । बाहिर रहँदा मैले प्रज्ञालाई जसरी हेरेको थिएँ, बुझेको थिएँ, त्यहाँ पुगेपछि मेरो कयौं बुझाइहरू भिन्न रहेको अनुभव भयो । मेरो बुझाइ र वास्तविकताका बीचमा कैयौं अन्तरहरू भेटिए । मेरा पहिलेका कैयौं विश्लेषणलाई अनुभवहरूले पुष्टि गर्ने काम पनि गरेका छन् । पहिले नकारात्मक टिप्पणीहरू सुरु भए । केही मानिस यस निम्ति योजनाबद्ध रूपमै लागे । पार्टीको कार्यकर्ता, अयोग्य, साहित्यिक कद नै नभएका, औसतभन्दा पनि तलका साहित्यकार आदि आदि भनेर टिप्पणीहरू गरिए । पदावधि सकिने बेलासम्म पनि कुनै न कुनै रूपमा यस्ता टिप्पणीहरू आइनैरहे । डेढ दुई महिना पहिले नै हो जस्तो लाग्छ । एक जना उमेरले पचास काटेका लेखकले एउटा नाम चलेको पत्रिकामा औसतभन्दा पनि तलका कविता लेख्ने प्राज्ञहरू भनेर टिप्पणी गरे । उनको टिप्पणीमा अरू पनि कुरा छन् । उनको तीर हनाइ म, मात्रिका पोखे्रल, विष्णुविभु घिमिरे, श्रवण मुकारुङ, कतातिर लक्षित थियो, म भन्न सक्तिनँ तर यो नकारात्मक टिप्पणीको हद मात्र थिएन, कुण्ठा, पूर्वाग्रह र ईष्र्याको पराकाष्ठा पनि थियो । यस्तो टिप्पणी गर्नेहरूको कद के हो, यसबारेमा टिप्पणी गर्न अहिले मलाई मन छैन । यस्तो मनोवृत्ति साहित्य क्षेत्रमा पाइनु दुःखद् हो । रचनात्मक वा स्वस्थ आलोचना गर्न सकिन्छ र गर्नुपर्छ तर नकारात्मक टिप्पणी कुण्ठा र ईष्र्याबाट जन्मिएको झुसिलो डकार हो । प्रज्ञा–प्रतिष्ठान कहिल्यै नआउने, यसले के कति काम गरेको छ भनेर नजिकबाट हेर्दै नहेर्ने, यसका समस्याहरू के–के हुन् भनेर नजिकबाट नियाल्दै ननियाल्ने र प्रज्ञा–प्रतिष्ठानबारे कुनै रचनात्मक र व्यवस्थित सोच नै नभएका कतिपय नै आफू आउन नपाएको र आफूलाई उचित मानमनितो नगरिएको झोंक प्राज्ञहरूको हुर्मत लिने काम गरे । कतिपय योग्य र अयोग्यको लाइसेन्स बाँड्ने मठाधीशजस्ता भए ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा