20th October 2018, Saturday

E-budhabar

वायुसेवाको बोर्डमा बदनाम



काठमाडौं । नेपाल वायुसेवा निगमको बोर्ड सदस्य रहेका एक विवादित पात्रलाई निगमबाट हटाउनुपर्ने आवाज उठेको छ । लामो समय निगमकै पाइलट रहेका अच्यूतराज पहाडी, जीवनबहादुर शाही पर्यटनमन्त्री भएका बेला अवकाश भएलगत्तै बोर्ड सदस्यको नियुक्ति लिन सफल भएका थिए । उनी निगममा आर्थिक अनियमिततामा परेर तीनपटक त निलम्बन भइसकेका पात्र हुन् भने उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।
पछिल्लो समय उनी भवन भट्टहरूले सञ्चालन गरेको बीबी एयरलाइन्सको कन्सल्ट्यान्टका रूपमा पनि कार्यरत छन् । सरकारले सञ्चालन गरेको एक एयरलाइन्स कम्पनी र त्यस्तै अर्को सरकारको प्रतिस्पर्धी एयरलाइन्स कम्पनी गरी दुईवटामा एकैचोटि काम गरेको भन्दै उनीमाथि कि वायुसेवा निगम छोड्नुपर्ने त कि बीबी एयरलाइन्स छोड्नुपर्ने नैतिक संकट खडा भएको छ । रिक्त सदस्यमा ‘विवादित छवि’का निगमकै पूर्वनिर्देशक पहाडीलाई नियुक्त गर्दा त्यो बेला पनि ठूलो आर्थिक चलखेल भएको आरोप लागेको थियो । पहाडीलाई चार वर्षका लागि राष्ट्रिय ध्वजावाहक निगम सञ्चालक समिति सदस्यमा ‘विज्ञ’ भन्दै नियुक्त गरिएको थियो । सञ्चालक सदस्य टेकनाथ आचार्यको पदावधि सकिएपछि रिक्त स्थानमा पहाडी पुगेका हुन् । तर, पछिल्लो दिनमा उनको भूमिका र कार्यशैली शंकास्पद रहेको भन्दै सर्वत्र आलोचना भएको छ । बीबी एयरवेजका कर्मचारी नेपाल एयरलाइन्सको सञ्चालक समिति सदस्य रहनुहुन्न भन्ने आवाज पनि उत्तिकै उठेको छ । एउटै व्यक्ति सरकारी र निजी कम्पनीमा रहँदा सरकारी कम्पनीको सञ्चालक समितिका निर्णय, व्यावसायिक रणनीति तथा अन्य गोप्य दस्तावेज क्रमशः बाहिर जाँदा निगमको व्यावसायिक योजना नै धरापमा पर्दै गएको बुझिएको छ ।
निजी विमान कम्पनीमा कार्यरत पहाडी नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य बनेर लामो समयदेखि काम गरिरहँदा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मौन बसे पनि अब मन्त्री रवीन्द्र अधिकारीले नछोड्ने भएका छन् । एउटै व्यक्ति दुई विमान कम्पनीमा कार्यरत रहँदा गोप्यता भंग हुने र गोप्य कागजात बाहिर जानेमा कुनै शंका छैन । तर, मन्त्रालयको नेतृत्व चुप बस्नुले निगमलाई व्यावसायिक रूपमा योग्य बनाउने विषयमा पर्यटन मन्त्रालयको भूमिका शंकास्पद देखिएको छ । निगम सञ्चालक समितिमा कार्यरत व्यक्तिलाई निजी विमान कम्पनीमा विज्ञको रूपमा काम गर्न दिनु निगमको रणनीति निजी कम्पनीलाई दिनु हो । तर, पहाडी भने आफु निगम र बीबी दुवैको तलबी कर्मचारी नभएकाले आफ्नो विज्ञताको मात्र सेवा दिने गरेको दावी गर्छन् । त्यसो त पहाडीसँगै निगम सञ्चालक समिति सदस्य मुक्तिराम पाण्डे सम्राट ट्राभल एजेन्सीका मालिक रहेका र अर्का सदस्य निमु नुरु शेर्पाको हेलिकोप्टर कम्पनी नै रहेको भन्दै उनीहरूको भूमिकाका कारण निगमको स्वार्थ बाझिन सक्ने खतरा बढेको छ ।
यता, पछिल्लोपटक बीबी एयरवेजले नेपाल वायुसेवा निगमसँग खरिद गरेको पुरानो विमान बिक्री गर्न एरो कनेक्टको वेबसाइटमा राखेको छ । सो वेबमा विमानको टाइप ७५७–२००, एकाउन्ट नेममा बीबी एयरवेज र बीबी एयरवेजको सम्पर्क व्यक्ति भनेर पहाडीको नाम र मोबाइल नम्बर नै राखेको छ । उक्त साइटका अनुसार बीबीको ७५७–२०० विमान खरिद गर्ने संसारभरका व्यक्ति तथा कम्पनीले बीबीको आधिकारिक व्यक्ति भनेर पहाडीलाई नै सम्पर्क गर्नुपर्नेछ । उक्त तथ्यले पहाडीले भनेको जसरी आफूले विज्ञता मात्र बिक्री गरेको भन्न मिल्दैन । बीबीको आधिकारिक व्यक्ति नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य पनि भएका कारण यसले दुवैको व्यवसायमा असर पार्ने निश्चित भएको विज्ञहरू बताउँछन् । सञ्चालक समितिले व्यावसायिक रणनीति बनाउने, विमान खरिद बिक्री गर्नेलगायतका सबै निर्णय पास गर्नेछ ।
त्यसो त २०६८ असारमा २५ भारतीय नागरिकसँग भारु २ लाखका दरले रकम उठाई निगममा जागिर दिने भन्दै पहाडीले नक्कली नियुक्तिपत्र दिएका थिए । सो प्रकरणमा उनलाई निलम्बन गरिएको थियो । निगमको दसौं तह (निर्देशक) पदबाट अवकाश पाएका पहाडीलाई त्यसबेला इन्जिनियरिङ विभागका निर्देशक रहेका बेला असार २८ गते निगमकै उच्च अधिकारी सहभागी छानबिन समितिले दोषी ठहर गरेको थियो । त्यसपछि उनलाई कार्यकारी अध्यक्षको कार्यालयमा हाजिर गराइएको थियो । निगमको कर्मचारी विनियमावली २०५८ मा यस्तो प्रकृतिका विषयमा कारबाहीका लागि ‘भविष्यमा निगमको सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गर्ने’ उल्लेख भए पनि निगम व्यवस्थापनले उनलाई कारबाही भने गरेको थिएन । त्यसबाहेक करिब डेढ दशकअघि निगमका बोइङ ७५७ जहाजका १६ थान टायर खरिद गर्दा डेढदेखि २ लाख अमेरिकी डलर ‘घोटाला’ गरेको प्रमाणित हुँदा पनि उनीमाथि निगमले कारबाही गरेको थिएन । तर, केही समयपछि यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन गरियो र अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित भएका थिए । त्यसपछि मुद्दा जितेर उनी काममा फर्किएका थिए । पहाडीलाई प्रहरीले करिब एक साता हिरासतमा राखेको थियो । निगमकै सात उच्च अधिकारी सम्मिलित छानबिन समितिले असार २८ मा पहाडीले विमानस्थल प्रवेश पास दुरुपयोग गरेको निष्कर्ष निकालेको थियो ।
यता, पहाडी गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको कम्पनी बीबी एयरवेजको कर्मचारी भएर काम गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगमा उजुरी परेको थियो । त्यसपछि अख्तियारले निगमको तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई साउन ८ मा ‘पहाडीका कर्तुतबारे सत्यतथ्य जानकारी गराउन’ पत्राचार गरेको थियो । पत्रमाथि कारबाही गर्दै मन्त्रालयले साउन ११ मा निगम महाप्रबन्धकलाई सत्यतथ्य विवरणसहित राय–प्रतिक्रिया उपलब्ध गराउन निर्देशन दिएको थियो । यता, बीबी एयरवेज र निगम सञ्चालक सदस्य पहाडीबीच भएको करार सम्झौतामा २०७४ पुस ६ बाट फागुन १६ सम्म पहाडीलाई परामर्शताका रूपमा नियुक्ति दिइएको छ । त्यति अवधिका लागि उनलाई ५ लाख ४९ हजार २० रुपैयाँ पारिश्रमिक दिने सम्झौता छ । त्यसैगरी, अख्तियारमा प्राप्त उजुरीमा पहाडीले ‘इन्जिनियरलाई जहाज मर्मत गर्न लगाएर आफैंले गरेको भनी बिल बुझाएर मासिक लाखौं भुक्तानी बुझ्ने गरेको, बीबी एयरवेजका तर्फबाट सीईओ भन्दै उक्त एयरवेजको हितमा काम गर्ने गरेको, २०६८ मा भारतीय नागरिकलाई किर्ते सही गरी त्रिभुवन विमानस्थलको पास बनाई ठगी गरेको, जहाजको टायर खरिद गर्दा भ्रष्टाचार अभियोगमा अख्तियारले मुद्दा चलाएको’ उल्लेख छ ।
यसैबीच, नेपालको ध्वजावाहक विमान उडाउने एक मात्र संस्था नेपाल वायुसेवा निगम दिनप्रतिदिन थला पर्दै गएको छ । यसरी थला पर्नुको मुख्य कारण केही अघि वाइड बडी जहाज खरिदमा निकै ठूलो घोटाला भएको तथ्य फेला परेको छ । उक्त जहाजको रिक्वेस्ट फर प्रपोजल (आरएफपी) मै उनले ठूलो घोटला गरेको निगम सूत्रले जानकारी दिएको छ । हाई फ्लाई एक्स नर्टररोज (एआर) कम्पनीसँगको मिलेमतोमा ८० मिलियन डलरभन्दा कम पर्ने जहाजलाई एयर बस कम्पनीका शील शुक्लाकै चाँजोपाँजोमा जहाज खरिद गरेर निगम डुबाएको चर्चा छ । पछि त्यही जहाजको टेन्डरमा १ सय ४ मिलियन डलर पु¥याइएको र पछि फेरि सञ्चालक समितिका सदस्यहरूलाई गुमराहमा राखेर १ सय ९ मिलियन डलर पु¥याएर करिब ६० मिलियन डलर घोटाला गरेको आरोप लागेको छ । अघिल्लोपटक एक वर्ष पनि नपुग्दै राजीनामा दिएर हिँडेका झापाली मदन खरेललाई कार्यकारी अध्यक्षका रूपमा नेपाल वायु सेवा निगम छिराउनु त्यसैको एउटा कारण भएको पनि अहिले निगममा चर्चा चल्ने गरेको छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा