13th December 2018, Thursday

E-budhabar

सरकारको निरीहता



आम नेपालीको चाहना हुन्छ– चाड, पर्व र उत्सवहरू सहज रूपमा बितोस् । बहुसंख्यक नेपालीको मुख्य चाडपर्व नजिकिँदै छ । दसैं र तिहार बहुसंख्यक नेपालीको प्रमुख पर्व हो । यी दुवै पर्वले परम्परागत रूपमा धार्मिक स्वरूप ग्रहण गरे पनि यसका सामाजिक, सांस्कृतिक र आर्थिक पक्षहरू कम महत्वहीन भने छैनन् । समाज र परिवारलाई सघन रूपमा जोड्ने र आपसमा सामाजिक सद्भाव कायम गर्ने पर्वका रूपमा दसैं र तिहारजस्ता पर्वलाई लिने गरिन्छ । दसैं र तिहारबाहेक अरू जाति, समुदाय र धर्ममा आस्था प्रकट गर्ने मानिसहरूले आ–आफ्नै पर्व र सांस्कृतिक अनुष्ठानहरू मनाउँदै आएका छन् । यसरी, बहुसांस्कृतिक÷सामाजिक परिदृश्य र माहोलबीच नेपाली समाज वर्षौंदेखि चलायमान हुँदै आएका छन् । यो एउटा सुन्दर पक्ष हो ।
तर, हरेक चाडपर्व आउँदा त्यसले आममानिसलाई सहजताको अनुभूति भने कमै गराउने गरेको छ । उपभोक्तावादी संस्कृति र माहोलमा बाँचिरहेको नेपाली समाजमा सुखद, उल्लास र शान्तपूर्वक चाडपर्व मनाउने आममानिसको चाहनामा बर्सेनि तुषारापात हुँदै आएका छन् । दसैं नजिकिँदै छ । तर, दसैंको मुखमा नै सवारी साधनको भाडामा मूल्यवृद्धि गरिएको छ । अनेक बहाना र कारण देखाएर व्यवसायीहरूले भाडादरमा वृद्धि गराउन सरकारलाई लाचार तुल्याएको छ । सिन्डिकेट हटाएर प्रशंसा बटुलेको वर्तमान सरकार पछिल्लो समय व्यवसायीहरूसामु झुकेका छन् । व्यवसायीहरूले केही दिन सडकमा गाडी नगुडाउँदैमा सरकारले बाध्य भएर व्यवसायीहरूको मागलाई सम्बोधन गर्नुपरेको छ । चाडपर्वको मुखमा यातायातको भाडादर बढाउने निर्णयसँगै सरकारको लाचारीपन देखिएको छ भने व्यवसायीहरूको भने मौकामा दाउ छोप्ने गलत र दरिद्र मनोवृत्ति उदांगो हुन पुगेको छ ।
चाडपर्वको मुखमा यातायातको भाडादर वृद्धि गर्नु आमजनतालाई च्याप्ने कामभन्दा बाहेक अरू केही हुन सक्दैन । किनभने, बहुसंख्यक नेपाली दसैंको बेलामा आफ्नो घर फर्किन चाहन्छन्, आफन्तहरूसँग बसेर रमाइलो गर्ने र टीका लगाउने गर्दछन् । दसैंको बेलामा यातायातको सहज सुविधा नहुने भएको हुँदा भाडादर वृद्धि भए पनि त्यसलाई चुपचाप सहेर यात्रा गर्न तयार हुन्छन् । दसैंमा भाडादर वृद्धि भएपछि त्यसपछिका दिनहरूमा त्यसलाई सहज रूपमा स्विकार्नेबाहेक अरू विकल्प आमजनतामा हुँदैन ।
चाडपर्वको पूर्वसन्ध्यामा बजारमा अराजकता बढ्नु त सामान्य नै भइसक्यो । हरेक वर्ष चाडपर्व नजिकिँदै जाँदा बजारलाई मूल्यवृद्धिको पारोले निश्चय नै छोएको हुन्छ । कुनै पनि सामानलाई व्यापारीहरूले दसौं गुना बढी मूल्यमा बिक्री गर्नु आमविषय बनिसकेको छ । उपभोक्ताहरू पनि बढी मूल्यका सामानहरू चुपचाप किन्न बाध्य छन् । हुन त, चाडपर्वको पूर्वसन्ध्यामा बजार अनुगमनको चहलपहल नदेखिने होइन । तर, सरकारी तवरबाट गरिने अनुगमनहरू फितला, प्रभावहीन र देखावटी मात्र साबित हुँदै गएका छन् । अनुगमनमा देखिएको फितलोपनले व्यापारी÷व्यवसायीहरू सचेत हुने होइनन्, उल्टै उनीहरूको मनोबल उकास्ने काम मात्र भइरहेको छ ।
देशमा दुई तिहाइ प्राप्त वामपन्थी शक्तिको सरकार छ । प्रबल जनमतप्राप्त सरकारले चाहने हो भने कालोबजारी, अराजकता, मूल्यवृद्धिजस्ता आमजनतालाई पिरोल्ने पक्षहरूको सहज रूपमा नियन्त्रण गर्न सक्छ । अराजकता अपनाउने व्यापारी÷व्यवसायीहरूको मनपरीतन्त्रलाई नियन्त्रण गर्न यथोचित कदम चाल्न सक्छ । सरकार गठन हुँदाका प्रारम्भिक दिनहरूमा सिन्डिकेट तोडेर अराजकतालाई हटाउने प्रयत्न सरकारले नगरेको होइन । तर, दिनहरू बित्दै जाँदा तिनै सिन्डिकेटधारीहरूसामु सरकार लाचार देखिन पुगेको छ । सरकारको लाचारीपनसामु अराजकता र मूल्यवृद्धिलाई प्रश्रय दिने जमात सल्बलाउन थालेका छन् र उनीहरूको मनोबल उच्च हुँदै गएका छन् । यस्तो स्थितिलाई नियन्त्रण गर्नेतिर सरकारले प्रभावकारी कदम चाल्न नसक्नु अत्यन्तै दुःखलाग्दो पक्ष हो ।
निश्चय नै, सरकार आमजनताप्रति उत्तरदायी हुनुपर्छ । आमजनताले भोग्नुपरेका समस्या र पीडाप्रति सरकारको ध्यान जानु आवश्यक रहन्छ । आमजनता मूल्यवृद्धिको चपेटामा परेका छन् कि, बजारमा व्याप्त अराजकताको सिकार भएका छन् कि वा कुनै समस्यामा झेलिएका छन् कि भन्ने विषयमा सरकारले चासो राख्नु अनिवार्य देखिन्छ । तर, सरकारमाथि केही सीमित वर्गका मानिसहरू हावी हुँदै गएका छन् । त्यस्ता वर्गका मानिसहरूको बोलवालासामु सरकार लाचार, निरीह र कमजोर प्रतीत हुँदै गइरहेको छ । पछिल्लो समय देखिएको यातायातमा भाडावृद्धि, बजारमा देखिएको अनियन्त्रित मूल्यवृद्धि र त्यसलाई नियन्त्रण गर्न सरकार चुक्दै गएकाले सरकार बिस्तारै कमजोर हुँदै गएको संकेत गर्दछ । यो वामपन्थी नेतृत्वको सरकारका निम्ति शुभ, सुखद र सुहाउँदो पक्ष होइन ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जनाको मझेरीमा उपेक्षित किसान

ShareTweet – मधेस सदैव उर्वर भूमि रहँदै आयो । अन्नबालीको प्रचुरता रहेको मधेसका जनताले चिनी कारखाना खुल्न थालेपछि उखु खेतीलाई प्रश्रय दिए । नगदे बालीका रूपमा परिचित- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

उज्यालोको एउटा गीत

ShareTweet अक्सर कविहरूसामु विषयवस्तुको छनोट र बिम्बविन्यासको क्रममा उज्यालो या अँध्यारोमध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ ।- ...
पूरा पढ्नुहोस्

छोटकरीमा