21st February 2019, Thursday

E-budhabar

यही गति र तरिकाबाट एकताले आकार लिन्छ त ?



यही गति र तरिकाबाट एकताले आकार लिन्छ त ?

नेपाल कम्युनिस्ट पार्टीको एकताको प्रक्रिया औपचारिक रूपमा सुरु भएको झण्डै एक वर्ष पुग्न लागेको छ । पार्टी एकताको घोषणा भएको पनि चार महिना पूरा भइसकेको छ । यो अवधिमा केही दिनअघि प्रदेशको इन्चार्ज, सहइन्जार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको समाचार बाहिर आएको छ, तर अरू कमिटीहरूको एकताले अझै गति लिएको देखिँदैन । प्रदेशदेखि लिएर वडा तहसम्मका कमिटीको एकताको काम त्यत्तिकै छ भने जनवर्गीय संगठनहरूको एकता पनि निष्कर्षमा पुगेको छैन । एकताका लागि बनेका कार्यदलले प्रतिवेदन त बुझाएका छन्, तर कुनै निश्चित विधि र मामदण्डबिना तयार गरिएका एकता प्रतिवेदलाई लिएर धेरैतिर असन्तुष्टि छाएको छ । यो अवस्थामा एकता प्रक्रियाले उत्पन्न गरेका सकारात्मक र नकारात्मक पक्षको केही विवेचना हुनु जरुरी छ ।
के छन् त सकरात्मक पक्ष ?
दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता हुनु आफंैमा ठूलो, युगीन महŒवको विषय हो । त्यो एकताका कारण आज हामीसँग दुई तिहाइ बहुमत छ । कम्युनिस्टहरू कहिल्यै मिल्न सक्दैनन्, यिनीहरूले जानेको फुट्न मात्रै हो भन्ने आजसम्म हामीमाथि लाग्ने गरेको आरोपलाई चिर्ने काम भएको छ । यो एकताले नेपालको राष्ट्रिय स्वाभिमानलाई उँचो बनाएको छ । हाम्रो गौरव बढाएको छ । नेपाली जनताको भविष्य सुन्दर छ, सुनिश्चित छ भन्ने सन्देश दिएको छ । आजसम्म नेपालमा कम्युनिस्ट पार्टीको सिद्धान्तमा कम्युनिस्ट पार्टीको विचारमा र नेतृत्वमा मात्र मुलुकको विकास, निर्माण र समृद्धि, न्याय, समानता, स्वतन्त्रता सम्भव छ भन्ने हिजो हामीले भन्दै आयौं । यति हामीले त्यो गर्न चाहने हो भने त्यो गर्न सक्ने बहुमत जनतालाई हामीलाई दिएका छन् । त्यो यही एकताको सहकार्य र परिणाम हो । आज नेकपा जसरी निर्माण भएको छ त्यो कुराले यो एकतालाई सफलता र परिणाममा बदल्ने र यो एकताको बलमा मुलुकको समृद्धिको पक्षमा काम गर्नुको विकल्प हामीसँग छैन । हामीलाई असफल हुने अवसर नै छैन । त्यो सफलतामा पुग्नुपर्छ, पुग्न सकिन्छ भन्ने सामथ्र्य यो एकताका कारण प्राप्त भएको छ ।
नकारात्मक पक्ष
एकता प्रक्रिया अझै सकिएको छैन । एकता प्रक्रियामा यति ढिलाइ हुनु यसको एउटा कमजोर पक्ष हो । एकता प्रक्रियाका काम चाँडै सिध्याउन नेतृत्वले चाहेन वा समयको राम्रो व्यवस्थापन गर्न सकेन वा अरू केही कारण छन्, त्यो बेग्लै कुरा हो । एकता गर्ने सन्दर्भमा पहिल्यै खास नीति, पद्धति, विधि, मापदण्ड बनाएर त्यसैअनुसार कमिटीहरू बन्ने, बनाउने प्रक्रिया सुरु गर्नुपर्ने थियो । तर, त्यसो नगर्दा एउटा भएका कमिटी पनि सबैलाई समेट्ने वा सबैलाई चित्त बुझ्ने स्थिति भएन । यत्रो युद्ध चलाएर आएको माओवादीसँग हामी शान्तिपूर्ण पद्धतिबाट आएकाहरूका बीचमा एकता हुन सक्ने, मिलेर जाने सकिने अर्थात् हिजोको एकअर्काको निषेधको राजनीति छाडेर एउटै मन मुटु हुन तयार हुने एकातिर, अर्कातिर हिजो महाधिवेशनमा कसले कसलाई समर्थन गरेको थियो, कसले कसलाई गरेको थिएन, को सँग कसका के सम्बन्ध थिए भन्ने आधारमा कमिटीको जिम्मादिने कुराले प्रशस्त काम गरेको छ । ती कुराहरू आज महŒवपूर्ण विषय भए । एकीकरणका लागि कार्यदलहरू बनाएर पठाइयो, तर कार्यदललाई कुनै निश्चित विधि, मापदण्ड थिएन । जसरी दुईटा पार्टीका केन्द्रीय कमिटीहरूको एकता भयो त्यसरी नै दुई पार्टीका जिल्ला कमिटीहरूको एकता, दुइटा पार्टीका प्रदेश कमिटीहरूको एकता हुनुपर्नेमा त्यसो भएन । हात्तीले गाउँगाउँमा गएर पुलको माला सुँडको माला लिएर राजा खोज्न हिँडेको कथाजस्तो गरी कार्यदलले काम गरेको पाइयो । जिल्लामा कमिटीहरू छँदै छन् तर ती कमिटीहरूको एकता गर्ने काम छाडेर नेता खोज्दै हिड्ने तरिका अपनाइयो ।
कम्युनिस्ट पार्टीको प्रधान विषय भनेको सिद्धान्त हो । त्यसपछि यसको संगठनात्मक पद्धति, विधि, विधान, नियमावली, कार्यविधिहरू हुन्छन् । तर, हामी कहाँ यी कुरालाई त्यति महŒव दिइएन । एकीकरण भएर स्थायी कमिटी, केन्द्रीय कमिटी बन्यो । तर, आजसम्म न स्थायी कमिटीको बैठक बसेको छ न केन्द्रीय कमिटीको बैठक बसेको छ । कमिटीबाट निर्णय हुने प्रक्रियामा जानुपर्नेमा नेताहरूले सल्लाह गरेर गर्ने परिपाटी देखियो । सामूहिक नेतृत्व, विधि, प्रणाली, विधानको पद्धतिलाई अपनाइएको देखिएन ।
अब के गर्ने ?
नेकपाको भविष्य हामी नेकपाकै नेता–कार्यकर्ताको हातमा छ । पार्टी सञ्चालनसँग मात्र यसको भविष्य जोडिएको छैन, सरकार सञ्चालनसँग पनि जोडिएको छ । केन्द्रमा दुई तिहाइ बहुमतको सरकार हामीसँग छ । सातमध्ये ६ प्रदेशको सरकार नेकपाकै नेतृत्वमा छ । अधिकाशं स्थानीय सरकारमा पनि नेकपाकै नेतृत्व छ । तर, सरकारको अहिलेसम्मको कामकारबाही हेर्दा धेरै आशंकाहरूले जन्म लिएका छन् । विगत हेर्ने हो भने के देखिन्छ भने जब पार्टी सरकारमा जान्छ, पार्टी हराएजस्तो हुन्छ । पार्टीविहीनजस्तो हुन्छ । कांग्रेसको रोग पनि यही हो । जब सरकारबाट हटेर पार्टी सडकमा आउँछ, पार्टी एकाएक फुर्तिलो भएर निस्कन्छ । आज पनि हामी यो तीतो यथार्थबाट उम्कन सकेका छैनौ । आज पनि सरकार चलिरहेको छ तर पार्टीचाहिँ छ कि छैन जस्तो परिस्थितिमा छ ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको रक्षा, स्थायित्व, सुशासन, पारदर्शिता, गतिशीलता र हामीले संविधानमा भनेको समाजवादको लक्ष्य प्राप्त गर्ने कुरा का लागि पहिलो सर्त भनेको पार्टी संगठित हुनुप¥यो, गतिशील हुनुप¥यो । सरकारभन्दा अग्र भागमा पार्टी उभिनुपर्छ । र, पार्टीले सरकारको नेतृत्व गरेको कुरा आमकार्यकर्ता पंक्तिले भनुभूति गर्ने गरी पार्टी सञ्चालन गर्न सक्नुपर्छ । दोस्रो कुरा, अहिलेको सरकारको यहाँसम्मको यात्राले उत्साह, जोस, जागँर बढाउने, आशा जागृत गर्नेभन्दा अलिक बढी निराशाजन्य परिस्थिति देखिएको छ । भ्रष्टाचार नियन्त्रणमा कमी भएको छैन, सुशासनको प्रत्याभूति भएको छैन, नियुक्तिहरू विवादित बनेका छन् । चुनाव भइरहँदा, जनताले मत हालिरहँदा, सरकार बनिरहँदा जुन खालको जोसजाँगर, उत्साह, विश्वास थियो, आज त्यो विश्वास डगमगाएजस्तो भएको छ । तसर्थ, सरकारको कामबारे पार्टीमा गम्भीरतापूर्वक समीक्षा गर्न जरुरी छ ।
हामीले जनताको विश्वास जित्ने गरी सरकार चलाउन सकेनौं, कार्यकर्ताको आत्मबल बढ्ने गरी पार्टी चलाउन सकेनौं भने समस्याहरू अवश्य जन्मनेछ । त्यो अवस्थामा एकताले आकार लिने भन्दा पनि विकार लिन सुरु हुन्छ । त्यसकारण, सरकारमा रहेर काम गरेका नेताहरको मूल्यांकन सरकारकै कामबाट हुन्छ । संसद्मा रहेका नेताहरूको कामको मूल्यांकन संसद्कै भूमिकामा हुन्छ । त्यहाँभन्दा बाहिर रहेका नेता–कार्यकर्ताको कामको मूल्यांकन पार्टी काममा हुन्छ । अथवा के हो ? यो तरिकाले कामको विन्यास गरेर जानुपर्ने हुन्छ । पार्टीको माथिदेखि तल्लो तहसम्म रहेर काम गरेका सबै कार्यकर्ताको मूल्यांकन कामको आधारमा हुन्छ, व्यक्तिको समर्थन वा विरोधका आधारमा हँुदैन भन्ने परिपाटी स्थापित गरेर जान नसक्ने हो भने एकता दुर्घटनामा पर्ने खतरा हुन सक्छ । त्यसैले, यो कम्युनिस्ट पार्टी हो । यो सिद्धान्तनिष्ठ हुन्छ । यो विधिमा चल्छ, पद्धतिमा चल्छ । मान्छेको मूल्यांकन कामका आधारमा हुन्छ । गलत गर्नेलाई कारबाही हुन्छ भन्ने कुरालाई हामीले स्थापित गरेको विधिपद्धतिभित्र रहेर नेतृत्वले कामलाई अगाडि बढाउन नसक्ने हो भने हाम्रो भविष्य सुन्दर हुनेछैन । हिजो हामीले भोट पाएका थियौं, त्यसकारले अब पनि पाइरहन्छौं भन्ने कुरा मान्न सकिँदैन । बाहिरको इतिहास हेरिरहनुपर्दैन, हाम्रै देशमा २०१५ सालमा आएको कांग्रेसको दुई तिहाइ बहुमत किन टिकेन ? कांग्रेसले २०४८ मा ल्याएको ११३ को बहुमत किन टिकेन ? २०६५ मा माओवादीले ल्याएको त्यत्रो बहुमत किन टिकेन ? हामी धेरै टाढा जानुपर्दैन, केवल हाम्रो विगतलाई हेरौं । विगतमा भएका कमजोरी दोहो¥याउने होइन कि ती कमजोरीबाट सिकेर नयाँ सिराबाट मुलुकको सुन्दर भविष्य निर्माणका लागि एकताबद्ध भएर अघि बढ्नुको विकल्प हामीसँग छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

लेखापढी व्यवसायीलाई मर्यादित बनाउनुपर्ने

ShareTweet काठमाडौं । ललितपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीले लेखापढी व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताएका छन् । नेपाल लेखापढी कानुन व्यवसायी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

एउटा समृद्ध गीतको इतिवृत्त

ShareTweet २०४६ सालमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जनजागृत तुल्याउन त्यही गीतलाई रोजियो । २०६२–०६३ सालको जनआन्दोलनलाई सफल तुल्याउने हेतुले जनतालाई सडकमा ओराल्न–जगाउन- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

परिवेश खोतल्ने कथाहरू

ShareTweet हामी बाँचिरहेको समाज ढोंग, आडम्बर र देखासिकीको जगमा उभिएको छ । भित्र खोक्रो भए पनि बाहिर सम्पुष्ट देखिनुपर्ने संस्कृति सामन्ती समाजले हामीलाई उपहारस्वरूप- ...
पूरा पढ्नुहोस्

छोटकरीमा