20th October 2018, Saturday

E-budhabar

संगीतको शक्ति



संगीतको शक्ति

प्रकृति महान् शिक्षक हो, सायद । संगीत–शिल्पी शक्तिबल्लभको हरेकजसो सिर्जनामा प्रकृतिको गहन छाप छ । मनोरम गौरीशंकर हिमशृंखलामा बिहानीपख पोतिने घामका सुनौला लाली हेर्दै हुर्किएका उनमा हिमाली सौन्दर्य अझै टाँसिइरहेका छन् । भन्छन् पनि, ‘गौरीशंकर हिमाल हेर्दै म हुर्किएँ र मेरो सिर्जनामा प्राकृतिक प्रभाव कति धेरै परेको रहेछ भन्ने कुरा मैले संगीत सिर्जना गर्न थालेपछि थाहा पाएँ ।’ चार दशकयता संगीतकर्ममा क्रियाशील उनको सिर्जनामा लोक र शास्त्रीय संगीतको मिश्रण यसरी घुलेको हुन्छ कि, त्यसमा प्राकृतिक सौन्दर्य, हावापानी र माटोको गन्ध व्याप्त देखिन्छन् । लोक र शास्त्रीय संगीतको मिश्रणलाई नै उनी आफ्नो सिर्जनाको विशेषता ठान्छन्, परिचय मान्छन् ।
लोक र शास्त्रीय संगीतको मिसावटी गन्ध उनको ‘उकाली ओराली गर्दै’ गीतमा प्रखर रूपमा आउँछ । दशकअघि चलचित्र ‘सिमाना’मा यो गीत संगीतबद्ध गर्दा उनले आफूलाई एकाएक चर्चाको शिखरमा पु¥याउला भन्ने कल्पनासम्म गरेका थिएनन् । क्यासेट बिक्ने जमाना थियो त्यो र कुनै पनि चलचित्रको सफलताको मापन कति क्यासेट बिक्यो भन्ने कुराले पुष्टि गथ्र्यो । त्यो समय अर्काे चलचित्र ‘चिनो’को गीति–क्यासेटले बजार पिटेको थियो । उनी भन्छन्, ‘सिमानाका गीतको क्यासेटले चिनोको क्यासेट बिक्रीको रेकर्डलाई तोड्यो । मलाई म्युजिक नेपालले लगातार दुई वर्ष पुरस्कृतसमेत ग¥यो ।’
शक्तिबल्लभलाई सुमधुर संगीतको सिर्जना गर्ने शिल्पीका रूपमा चिनिन्छ । तीसको दशकमै दोलखाबाट काठमाडौं पढ्न आएका उनले एउटा दैनिकी बनाए– दिउँसो कलेज, बिहान–बेलुकी संगीताभ्यास । कलेजको कोठाभित्र टेबुल ठटाएर गाउने क्रमसँगै उनले गोपालनाथ योगीसँग भ्वाइलिन सिके र चेतनाथ शर्मासँग सिके शास्त्रीय संगीत । दुवै गुरुबाट खारिँदै गएपछि आधुनिक संगीत सिक्न उनी अम्बर गुरुङको चेला बने । उनले अम्बरसँग एक वर्ष सिके तर मोह भने शास्त्रीय संगीतमा नै थियो । भन्छन्, ‘मलाई गायनप्रति मोह थियो । म गाउँमा छँदा पनि लोकगीतहरू गाउँथें ।’ तर, तीसको मध्यदशकतिर भने उनले संगीत सिर्जनालाई पछ्याउन चाहे । २०३६ सालमा त्रिचन्द्र कलेजमा आयोजित एक प्रतियोगितामा उनले संगीत दिएका तीन जना गायक रवीन शर्मा, उमेश पाण्डे र पूर्णा थापा क्रमशः प्रथम, द्वितीय र तृतीय भएपछि उनलाई लाग्यो– ‘म संगीतमा नै जम्न सक्ने रहेछु ।’
२०४५ सालमा भने एउटा गीति–प्रतियोगितामा १५ हजार पुरस्कार पाएपछि उनले संगीतको शक्ति झनै देखे । त्योबेला उनी कृषि विकास बैंकमा जागिरे भइसकेका थिए र तलब थियो– १ हजार ४७० रूपैयाँ । तर, वातावरणीय गीत प्रतियोगितामा १५ हजार पुरस्कार पाएपछि भने उनले संगीतकर्ममा नै जोतिने संकल्पबोध गरे । त्यही गीतले नै रवीन शर्मालाई पनि गायनको खुट्किला उक्लिन सहयोग पु¥यायो । त्यही संगीतले नै पहिलो पटक विदेश अर्थात् थाइल्यान्ड घुम्ने अवसर पनि जु¥यो । त्यो प्रतियोगितामा आफूले संगीतबद्ध गीत प्रथम र गोपाल योञ्जनको संगीत द्वितीय भए पनि उनमा अहम् भाव भने कदापि पलाएन ।
२०४७ सालपछि भने उनले नेपाली चलचित्रहरूलाई संगीतले सिँगार्न थाले । चलचित्र ‘आँधीबेरी’ का निर्देशक यादव खरेलले उनको सिर्जना शक्तिलाई पत्याएपछि त्यही चलचित्रको चारवटा गीतलाई उनले सिंगारे । भन्छन्, ‘त्यो समय गीत रेकर्ड गर्न मुम्बई जानुपथ्र्यो । म मम्बई गएँ र आठ÷दस दिन त्यहीँ नै बसेँ । पारिश्रमिकस्वरूप १० हजार पाउँदा निकै खुसी पनि भएँ । र, मैले संगीतसिर्जना गरेर अर्थोपार्जन गर्न थालेको त्यही समयदेखि हो ।’ हुन पनि, कविता कृष्णमूर्ति र साधना सरगमको स्वरमा सजिएको ‘उडूँ कि गुँडू म ए चरी सरर…’ गीत निकै नै चल्यो । उनको प्रतिभा देखेर बम्बईमा भेटिएका केही शुभचिन्तकहरूले बम्बईमै बसेर संघर्ष गर्न उनलाई नसुझाएका होइनन् । तर, उनले त्यस्तो सुझावलाई हार्दिकतापूर्वक टारे । कारण थियो, घर–परिवार र जागिर । भन्छन्, ‘मम्बईमा गएर चलचित्रको गीत रेकर्ड गर्ने कार्यलाई मैले बिस्तारै कम गराउँदै लगें । आफ्नै देशमा रेकर्ड गर्नमा मेरो पनि भूमिका छ ।’
दर्जनौं चलचित्रमा संगीत दिएका शक्तिबल्लभलाई नेपालीमा पहिलो गजल–एलबम निकाल्ने श्रेय जान्छ । २०५० सालमा उनले ‘गजल’ एल्बम निकालेर नेपाली गजललाई प्रश्रय दिए । भन्छन्, ‘नेपाली संगीतमा गजललाई भित्र्याउनुपर्छ भनेर मैले सुरुवात गरेको थिएँ ।’ प्रख्यात गजल गायक गुलाम अली, अघिल्लो पुस्ताका नेपाली गायकहरू बच्चु कैलाश, योगेश वैद्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीपक खरेलदेखि नयाँ पुस्ताका गायकहरूले उनको सिर्जनामा स्वर भरिसकेका छन् । तर, आफ्नो सांगीतिक यात्रा चम्किँदै गर्दा मृत्युले खोसेका स्वरसम्राट नारायणगोपाललाई आफ्नो संगीतमा एउटा गीत गाउन लगाउने धोको भने उनको अब कहिल्यै पूरा हुँदैन । भन्छन्, ‘नारायण दाइले मेरो संगीतमा एउटा गीत गाउने टुंगो भएर उहाँले अभ्यास गर्न थालिसक्नुभएको थियो । तर, त्यही समय उहाँ बिरामी हुनुभयो । त्यो गीत रेकर्ड हुन पाएन । उहाँलाई गाउन लगाउने इच्छा अधुरै रह्यो ।’

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा