16th October 2018, Tuesday

E-budhabar

हामी एउटै पार्टीमा बस्न लायक रहेछौं त ?



हामी एउटै पार्टीमा बस्न लायक रहेछौं त ?

अहिले देशका दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकीकरणको प्रक्रिया अगाडि बढिरहेको छ । यो एकताको प्रक्रियालाई वरिष्ठताका आधारमा, विगतदेखिको कामको अनुभवका आधारमा, पार्टीको पदीय जिम्मेवारीका व्यवस्थित गर्ने काम गर्नुपथ्र्यो, त्यो पनि एउटा निश्चित मापदण्डका आधारमा । त्यो भएन । केन्द्रमा हिजो ठूलो पार्टी एमाले, त्योभन्दा अलिक सानो पार्टी माओवादी केन्द्र थियो । एमालेले ६० प्रतिशत, माओवादीले ४० प्रतिशत सिट संसदीय निर्वाचनमा भाग लगाएर निर्वाचनमा गएका हुन् । ठ्याक्कै त्यही नभए पनि मूलतः त्यही आधारमा मन्त्रिपरिषद् पनि बनाएको हो । त्यही प्रतिशतका आधारमा अरू पार्टी संगठन पनि निर्माण हँुदै गएको हो । यसरी दुइटा पार्टी प्याच अप भएका हुन् । यसरी प्याच अप हुँदा हिजोको ठूलो पार्टीको अध्यक्ष केपी ओली कमरेडले अहिले पनि अध्यक्ष पाउनुभएको हो । त्यो सिद्धान्त तल्ला कमिटीमा लागू गर्ने कि नगर्ने ? अहिलेको मूल प्रश्न यही हो ।
त्यो मापदण्ड अरू कमिटीका लागू पनि हुनुपर्छ । एउटा निचिश्त मापदण्डका आधारमा पार्टी कमिटी निर्माण गर्ने काम गरिएन, आफ्नो मन परेको वा मन नपरेको मान्छे भनेर हेरिया, विगत महाधिवेशनमा कसलाई भोट हालेको थियो भन्ने आधारमा खोजबिन गरियो भने हामी एउटै पार्टीमा बस्न लायक मान्छे रहेछौं त ? रहेनछौं । घटनाक्रमले त्यस्तै देखायो । त्यसकारण, एउटा पार्टी बनाउने हिसाबको भूमिका अहिले भएको देखिइरहेको छैन ।
उहाँहरू आफंैले सचिवालय बसेर एउटा नियम बनाउनुभएको छ । हामीले त्यो पढेको मात्र हो । अहिले राजनीतिक निर्णय गर्ने संगठनचाहिँ स्थायी किमिटी, पोलिटब्युरो बनेपछि पोलिटब्युरो र केन्द्रीय कमिटी हो भन्नुभएको छ । सचिवालय होइन, यो दैनिक कामको व्यवस्थापन गर्न मात्र हो । सबै काम सचिवालयले गर्ने हो भने ४४१ जनाको केन्द्रीय कमिटी भारी बोकाउन किन राखेको ? विघटन गरिदिए भइगयो नि । हामी त केन्द्रीय कमिटीको बिल्ला भिरेका फुटपाथका बटुवाजस्ता भयौं । हामीले न कुनै ठाउँमा आफ्ना विचार राख्न पायौं, न निर्णय गर्न पायौं । हाम्रो कुरा लागू हुन्थ्यो हँुदैनथ्यो, त्यो बेग्लै कुरा तर निर्णय प्रक्रियामा सामेल हुन त पाउनुप¥यो नि ।
अहिले भइरहेको क्रियाकलापमा करेक्सन भएन भने अहिले भइरहेको एकता प्रक्रियाले उत्साह बढाउँदैन । अहिले दुई तिहाइको सरकार छ, दुइटा पार्टी मिलेर ठूलो पार्टी बनाएका छौं । तर, अहिलेको संख्या गनेर मात्र हुँदैन । यो संख्या सधंै रहँदैन भन्ने हेक्का पनि हामीले राख्नुपर्छ । २०४८ सालमा ११० सिट जितेको, पछि स्वतन्त्र चार सिट पनि सामेल भएपछि ११४ सिट जितेको नेपाली कांग्रेस पनि २०५१ मा पुग्दा दोस्रो पार्टी भयो । हामीले राम्रो काम गरेनौं, जनताका दैनिक जीवनका समस्याहरूलाई सम्बोधन गरेनौं भने हामीले अहिले बहुमत छ भनेर फुर्ती नगरे पनि हुन्छ । जनतालाई उत्साह दिन सकिने काम गर्न सकिएन भने हाम्रो पार्टीमा रहने र फर्कने क्रम त फेरि पनि जारी भइहाल्छ नि । त्यसैले, यी कुरामा गम्भीर रूपमा सोच्नुपर्ने हुन्छ ।
सरकारले पार्टीलाई र पार्टीले सरकारलाई सप्ठेरो, अप्ठेरोमा दुवैमा पार्न सक्छन् । सरकारको काम राम्रो भइदियो भने पार्टीको काम बढाउन मद्दत पुग्छ । पार्टीको काम बिगँ्रदै गयो भने सरकारको काम पनि कमजोर हँुदै जान्छ । प्रधानमन्त्रीले अरिंगालझैं कस्सिएर लाग्नुस् भनेर किन भन्नुपरेको ? राम्रो काम गरेपछि कसैले लाग्न भन्नै पर्दैन । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ज्येष्ठ नागरिक भत्ता, आफ्नो गाउँ आफैं बनाऔं जस्ता कार्यक्रमको सुरुवात भयो । त्यो बेला केपी कमरेड नै गृहमन्त्री हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा गृह मन्त्रालय चल्यो । एक जना मान्छे मारिएन । त्यो बेलाका कार्यक्रमले हामीलाई अहिलेसम्म जित्न मद्दत गरेको छ । यसपटक गरेको राम्रो कामले भविष्यमा जित्न मद्दत गर्ने हो । यसपटक राम्रो काम गरेनौं भने भविष्यमा जित्ने कल्पनै नगरे हुन्छ ।
सरकारलाई घेराबन्दीका कुरा पनि प्रशस्त सुनिने गरेको छ । तर, हामीले आफ्नो अयोग्यता अर्काको टाउकोमा हाल्नुभएन । काम गरौं न । घेराबन्दी कसले ग¥यो, न्यायलयले ? सरकारका निर्णयलाई छेक्ने काम न्यायालयले ग¥यो भने न्यायालयमा अर्को नक्षत्रबाट मान्छे ल्याएको छ र ? त्यहाँ पनि त नेपाली नै छन् । ती मान्छेलाई मोटिभेट गरौं । तपार्इंहरू विकासको पक्षधर भइदिनुस्, ससाना कुरामा विकासविरोधी नभइदिनुस् भनेर कन्भिन्स गरौं । सञ्चार माध्यमलाई पनि बोलाएर राम्रो कामका लागि मद्दत गर्नुस् भन्न सकिन्छ । नेपाली कांग्रेस त अहिले सत्ताबाट बाहिर निस्केको हुनाले पागल भएको छ । प्रधानमन्त्रीले भन्नुभएको कुरा मलाई चित्त बुझेको छ । मुसाले बोरा काट्यो भने पनि किन काट्यो भनेर निहुँ खोज्ने भएको छ कांग्रेस । मुख्य कुरा हामीले सेवा प्रवाह चुस्त गर्नुप¥यो । चिनीमा प्रतिकिलो १५ रुपैयाँ मूल्य बढ्यो रे ! नेपालमा चिनी बाहिरबाट आयात गर्न हतारमा किन रोक्नुपरेको ? हामीलाई पुग्दो छैन भने किन रोक्नुपरेको ? यस्ता कुरामा सरकार गम्भीर हुनुपर्छ ।
जेहोस्, अहिले पार्टीमा विवाद सतहमा आएको छ । अब शीर्ष नेताहरू एक ठाउँ बस्नुपर्छ । पार्टीलाई यो ठाउँसम्म ल्याउने पनि उहाँहरू नै हो । केपी ओलीले नचाहनुभएको भए यो पार्टी एकता हुने थिएन । चाहनुभयो, एकता भयो । यत्रो पार्टीलाई एकता गर्न सक्ने इच्छाशक्ति भएको मान्छेलाई यो पार्टीलाई म ठीक ढंगले चलाउँछु भन्ने पनि इच्छाशक्ति देखाउनुपर्छ । दुई अध्यक्षले राम्रो ढंगले चल्न खोज्नुभयो भने काम राम्रो हुन्छ, नत्र दुई जनाको प्राइभेट लिमिटेड कम्पनी बन्छ । त्यसले पार्टी जीवन राम्रो हुँदैन । पार्टी जीवन राम्रो भएन भने कार्यकर्ता सक्रिय हुँदैनन् । विरोधले गाली गरिरहेका हुन्छन्, कार्यकर्ताले उत्तर दिन छाड्छन् । कार्यकर्ता निरुत्साहित हुँदै जान्छन् । निरुत्साहित कार्यकर्ताले कुन पार्टीलाई बोक्न सक्छ ?
त्यसैले, म फेरि भन्न चाहन्छु, इतिहासमा यस्तो मौका बिरलै आउँछ । कमरेड केपी ओलीले दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गर्न पाउनुभएको छ । यो सरकार पूर्ण सफल होस् । यो सरकार असफल भयो भने त्यो मुलुकका लागि दुर्भाग्य हुन्छ । फेरि कांग्रेस त आउँला तर देश र जनताको हितमा कुनै काम हुँदैन । ओली कमरेडकै नेतृत्वमा अघि बढेको पार्टी एकता प्रक्रियालाई उहाँले काखापाखा नगरेर विवादरहिद ढंगले टुंगोमा पु¥याउनुपर्छ । (कुराकानीमा आधारित)

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा