17th December 2018, Monday

E-budhabar

ओली सरकार र वर्ग पक्षधरताको सवाल



ओली सरकार र वर्ग पक्षधरताको सवाल

निरंकुश तन्त्र र लोकतन्त्रको लडाइँमा जनताले जित्तै आएको नेपाली इतिहास हो । लोकतन्त्रको लडाइँ जितेका नेपाली जनताले अब समृद्धिको लडाइँ लड्नुपरेको छ । यो लडाइँ जित्न अझै कति समय संघर्ष गर्नुपर्ने हो, यकिन छैन । समृद्धि नारा, भाषण वा जुलुसबाट आउँदैन, बरु दीर्घकालीन योजना र त्यसको सार्थक कार्यान्वयनबाट मात्र सम्भव छ । नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न राणाविरोधी आन्दोलनले कुलीन वर्गीय राणाशाहीको हातमा रहेको शासनसत्तालाई सीमित अधिकारसहित जनताको नेतृत्वमा सुम्पिएको थियो । विगतमा गुमेको आफ्नो सत्ता फर्काउने दाउ हेरेर बसेको राजतन्त्रले १० वर्ष बित्दा नबित्दै पुनः सत्ता आफ्नो हातमा लिएको इतिहास सबैसामु छर्लङ्गै छ ।
राणाशासन अन्त्य गर्न र २०१७ सालको शाही ‘कु’पछि राजतन्त्रको हातमा गएको सत्ता फर्काउन देशका पछाडि पारिएका, विपन्न र सर्वहारा वर्गले महŒवपूर्ण आन्दोलन गरेको थियो । हतियारबन्द आन्दोलन होस् या शान्तिपूर्ण आन्दोलन, त्यसको अग्रमोर्चामा त्यही वर्गको बाहुल्य थियो । केही अपवादलाई छाडेर भन्ने हो भने कुलीनतन्त्र र नोकरशाही तन्त्रले परिवर्तनको आन्दोलनमा विपक्षमा नै आफ्नो भूमिका निर्वाह ग¥यो । नेपालका निर्णायक आन्दोलनहरूमा उनीहरूको भूमिका नकारात्मक थियो । प्रजातन्त्रका सेनानीहरू र पञ्चायतविरुद्ध कांग्रेसको नेतृत्वमा हतियार उठाउनेहरूलाई सत्तामा पुग्दा समेत नेपाली कांग्रेसले यथोचित ध्यान दिन सकेन वा चाहेन । कांग्रेसको झन्डा बोकेर प्रजातन्त्रका लागि ठूल्ठूला जोखिम उठाउने योद्धाहरूको जुलुम फर्किएको कैयौं दृष्टान्त दिन सकिन्छ । साथै, त्यही कारण उनीहरूको दैनन्दिन जिन्दगीसमेत कष्टकर हुन पुग्यो भन्ने गुनासा पटकपटक नेपाली राजनीतिको बजारमा छरिएर रहिरहे । त्यसलाई तत्कालीन सत्ताले वास्ता गरेको देखिएन । तर, नेपाली कांग्रेसले सत्तामा रहदा लोकतन्त्रको पक्षमा रगतपसिना बगाउने जनताको पक्षमा नभई कुलीनतन्त्रको सेवा गरिरह्यो ।
पञ्चायत व्यवस्थाको अन्त्य गर्ने २०४६ सालको जनआन्दोलनका योद्या र घाइतेहरूको त्यही स्थिति पनि त्यस्तै रह्यो ।आन्दोलनको अग्रपंक्तिमा हिँड्नेहरूको र सत्ताको दमनबाट सहिद भएका परिवारहरूको बिचल्ली कायमै छ । उनीहरूको भरणपोषण र जीवनयापनबारे तत्कालीन प्रजातन्त्रवादी सत्ताले उदारतापूर्वक ध्यान दिएको देखिएन । नक्सलवादी आन्दोलनबाट प्रेरित भएर २०२८ साल पछि झापा विद्रोहबाट नौलो जनवादी क्रान्ति गर्ने उद्घोषका साथ आफ्नो यात्रा सुरु गरेको तत्कालीन नेकपा (माले) को नेतृत्वमा सरकारविरोधी आन्दोलन र तत्कालीन पञ्चायती सरकारको तर्फबाट ठूल्ठूला हत्याकाण्डहरू घटे । छिन्ताङ हत्याकाण्ड र पिस्कर हत्याकाण्डमा त्यस क्षेत्रका विपन्न र पिछडिएका थामी र राई जातिहरूमाथि पञ्चायती सत्ताबाट आततायी दमन भएको थियो । मुक्तिका खातिर लड्ने ती थामी जातिहरूलाई पटकपटक सत्तामा पुगेको तत्कालीन नेकपा (एमाले) ले सम्झन आवश्यक ठानेन । माधव नेपालको राजीनामापछि कार्यवाहक महासचिव बनेका अमृत बोहरा, जसले पिस्कर हत्याकाण्डलाई नजिकबाट नियालेका मात्र होइनन् नेतृत्वसमेत प्रदान गरेका थिए, उनको पालामा कुनै थामीलाई सभासद् बनाउन सकिएन, बरु अत्यन्त विवादास्पद धनाढ्य लार्केल लामालाई सभासद् बनाइयो । विगतमा वर्ग पक्षधरतामा नेपालका वामपन्थी पार्टी चुकेका थुप्रै उदाहरण छन् ।
राजतन्त्रलाई अन्त्य गर्ने निर्णायक र भयानक संघर्ष १९ दिने ऐतिहासिक जनआन्दोलन र तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्धलाई लिन सकिन्छ । जनयुद्धमा सत्ताको साधन र स्रोतबाट वञ्चित, जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय हिसाबले पीडित जनसमुदायको सबभन्दा बढी सहभागिता थियो । जनयुद्धमा लाग्ने व्यक्तिहरूले स्वभावैले घर परिवार, पेसा, परम्परागत व्यवसाय त्यागेर हिँड्नुपथ्र्यो । देशको मुक्ति भए आफ्नो समेत मुक्ति हुने अभिप्रायले जनयुद्धमा होमिएको यो ठूलो युवा जमातमध्ये कतिले ज्यान गुमाए त कतिले जीवनभर निको नहुने अपांगता प्राप्त गरे । पारिवारिक बेमेल, नयाँ स्थानमा आफ्नो भविष्य निर्माण गर्नुपर्ने अवस्था, शिक्षाको अभावमा रोजगारी र अन्य अवसरहरूको अप्राप्यता आदिजस्ता समस्याबाट ती जोदाहाहरू अहिलेसम्म मुक्त हुन सकेका छैनन् । त्यति मात्र होइन, खुला प्रतिस्पर्धात्मक राजनीतिमा आपूmलाई समायोजन गर्न नसक्दा उनीहरूभित्र भयानक हीनताबोध समेत उत्पन्न भएको सर्वत्र अनुभव गरियो । दशकौंदेखि संसदीय अभ्यास गरेका व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने र पुँजीवादी चुनावको अनुशरण गर्नुपर्ने परिस्थितिसँग युद्ध लडेर आएका नेतालाई सहज थिएन । द्वन्द्वका कारण सिर्जित सामाजिक बेमेल, वैमनश्य र प्रतिशोधको भावनालाई सार्थक सम्बोधन गरेमात्र युद्धले छोडेको त्यो डोबलाई पुर्न सकिन्थ्यो । तर, त्यसतर्फ कसैले खास ध्यान दिएको देखिएन । जनआन्दोलन र जनयुद्धको बलमा हजारौं शोषित, पीडित जनताको रगत, पसिना र बलिदानबाट गणतन्त्र प्राप्त भयो र त्यही गणतन्त्रको माध्यमद्वारा पार्टीका कैयौं नेता राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र अन्य कैयौं पदमा पदासीन हुन पुगे । खोलो त¥यो लौरो बिस्यो’ भनेझैं आज ती जोदाहाहरूबारे सोच्ने फुर्सद कसैलाई छैन ।
परिवर्तनको फल आधारभूत वर्गमा पु¥याउन ठूल्ठूला नीतिगत र संरचनागत परिवर्तन नगरी वर्तमान सरकार सफल हुन सक्दैन । संसदीय व्यवस्थासहितको संविधान बनेर कार्यान्वयन भइसक्दा पनि शासन व्यवस्थाबारे अझै बहस चलिरहेको छ, तर विपन्न जनताको रासन व्यवस्थाबारे कुनै छलफल चलेको देखिँदैन । मुक्तिका लागि लडेका योद्धाहरू आज भुक्तिका लागि सडकमा भौतारिरहने परिस्थितिमा खासै सुधार भएको छैन । अमेरिकी लेखक ज्याफ्री स्याकको पुस्तक ‘द प्राइस अफ सिभिलाइजेसन’मा उल्लेख भएझैं देशको शासन व्यवस्थालाई ‘कर्पोरेटोक्रेसी’ले सञ्चालन गरेको हुन्छ । नेपाल त्यसको अपवाद हुन सक्दैन । जुनसुकै पार्टी सत्तामा आए पनि त्यही समूह हाबी हुने र जनलक्षित कार्यक्रमको फाइदासमेत त्यही समूहले लिने विडम्बनापूर्ण स्थिति कायम छ । यसले पार्टी नेतृत्वलाई जनताबाट अलग–थलग बनाइदिन्छ, अपसृत बनाइदिन्छ । कुनै आन्दोलन सफल पार्न जनताको घरदैलोमा पुग्ने पार्टी नेतृत्व सत्तामा पुगेपछि जनताको झोपडीतिर नफर्कने तीतो यथार्थको पुनरावृत्ति भइरहेको छ । जनआन्दोलन, जनयुद्ध र सामाजिक परिवर्तनका अन्य आन्दोलनमा लाग्ने जनताको डोकाको न डालाको स्थिति कायम छ । अहिले बनेको स्थिर र शक्तिशाली सरकारले पनि जनताको झुपडीको हेक्का नराख्ने हो भने समृद्धिको नारा पनि सिंहदरबारवरिपरि मात्र सीमित हुनेछ र सर्वसाधारणका लागि त्यो ‘आकाशको फल आँखा तरी मर’ सिबाय केही हुनेछैन । पार्टीका केही टाठाबाठाहरू र सत्तारूढ हुन सक्ने सबै पार्टीको सदस्यता सिरानीमा राखी त्यही भजाएर रातारात मालामाल हुने नोकरशाहहरूबाट यो सरकार बाहिर आउन निकै मेहनत गर्नु पर्ने आवश्यकता छ । सरकारका हरेक नीतिहरू मुक्तिका लागि लड्ने त्यो सर्वहारा श्रमजीवी वर्गलाई सर्वोपरि राखेर निर्माण भए मात्र वास्तविक रूपमा समाजवादको आधार तयार हुन सक्छ ।
विपन्न वर्ग, जनआन्दोलन र जनयुद्धका घाइते, बेपत्ता परिवार र सहिद परिवारबारे निश्चित व्यवस्था गर्नु राज्यको दायित्व हो । यो कुनै पार्टी विशेषको समस्या मात्र होइन । राज्यका स्रोत र साधनको न्यायोचित वितरण नहुने र निमुखाको निवेदन सिंहदरबारमा छिर्नै नसक्ने परिपाटीको अन्त्य नभए सम्म समाजवाद, लोकतन्त्र जे भनिए पनि त्यसको खासै अर्थ रहँदैन । जनजीविकाको सवाल उठाउँदा झन्भट नमान्ने नेतृत्व र पार्टी सत्तामा रहेको वर्तमान अवस्थामा गणतन्त्रको फल जनताले प्राप्त गर्लान् भन्ने आशा गर्न सकिन्छ । २०६२ । ६३ सालको जनआन्दोलनको सफलतापश्चात् राज्यका विभिन्न अंगमा जातीय, क्षेत्रीय र लैंगिक समावेशीकरणको सुरुवात गरे पनि विकराल वर्गीय विभेदीकरणको अन्त्य नगरी देशमा विद्यमान विकराल वर्गीय उत्पीडनलाई सम्बोधन गर्न सकिँदैन । देशभरका विपन्न जनताको सही तथ्यांक संकलन गरी उनीहरूको यथोचित प्रतिनिधित्व राज्यको नीति निर्माण तहमा गराउन सकिए सामाजिक न्याय र समानतातर्फको यात्रा वास्तविक अर्थमा सुरु भएको ठहरिने छ । शक्तिशाली कम्युनिष्ट सरकारलाई सम्झाइरहनुपर्दैन, समाजवाद झोपडीलाई प्राथमिकतामा पार्ने व्यवस्था हो, महलको मौजा होइन । वर्गीय उत्पीडनलाई सम्बोधन नगरी दीर्घकालीन शान्ति, सम्वृद्धि र समाजवादको कल्पना गर्न सकिंदैन । प्रजाजातन्त्र र गणतन्त्रका जोदाहाहरू घर न घाटको भएर सडकमा भौतारिनुपर्ने र समाजका नवधनाढ्य र सुविधाभोगी वर्गले सधैं शासनसत्तामा ढलिमलि गरिरहने परिस्थिति कायम रहेमा अपेक्षित आर्थिक समृद्धि प्राप्त गर्न सकिदैन ।
सरकार बनेको सात महिना बितिसक्दा पनि किसान, मजदुर, विद्यार्थी, सैनिक जवान, प्रहरी, वकिल, पत्रकार, शिक्षक, प्रध्यापकलगायत कोही पनि देशको अवस्थासँग सन्तुष्ट भेटिँदैनन् । हुँदाहुँदा प्रधानमन्त्री, सत्तारुढ दलका शीर्ष नेताहरू,मन्त्रीहरू, नेताहरू सांसद, उद्योगीहरू समेतदेश विकासको रेखा पत्ता लगाउन नसकेको अवस्थामा देखिन्छन् ।
भ्रष्टाचारको जालो सबैतिर फैलिएको छ, तर त्यसको दोष हरेकले आफूबाहेक अरूमा थोपर्ने आम परिपाटी कायम छ । यस्तो अवस्थाको अन्त्य गर्न सबभन्दा पहिले खेतबारीमा राँटैराँटा पारेर जोत्ने अल्छि हलीको जस्तो आम कार्यशैलीमा व्यापक सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अपनत्व सम्पूर्ण जनतामा विस्तार गर्न आवश्यक छ । दींगो समृद्धिको लागि दीर्घकालीन नीति निर्माण, व्याप्त बेीथतीको अन्त्य, भ्रष्टाचारमा शून्य सहनशीलता, चुस्त प्रशासन, प्रभावकारी अनुगमनको व्यवस्था, पद्धतिकेन्द्रत विकासको अविलम्ब थालनी हुनु अपरिहार्य छ । माथिदेखि तलसम्मको राजनीतिक नेतृत्व जवाफदेही, इमानदार र पारदर्शी बनाउन सबैको सकारात्मक पहल हुन ढिला भइसकेको छ ।
हिजो गरिएका तमाम प्रतिबद्धता र क्रान्तिकारी भाषण अब दुई तिहाइ समर्थनसहितको कम्युनिस्ट सत्ताले खुरुखुरु कार्यान्वयनमा नलगी सुखै छैन । गर्न सक्ने कामबारे मात्र बोल्ने र आफ्नो बोलीको अधिकांश प्रतिशत व्यवहारमा उतारेर मात्र वर्तमान सरकारले नेपाली जनताको समर्थन पाइरहन सक्छ । र, इतिहासमा यो सरकार सफल सरकारका रूपमा दर्ज हुनेछ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पछ्याउँदै आधुनिक कला

ShareTweet नेपालमा आधुनिक चित्रकलाको जग बसाल्न एकाध कला–शिल्पीको मात्रै सक्रियता छ । अग्रज कलाशिल्पी मदन चित्रकार पनि तीमध्ये एक हुन् । विश्वमा आधुनिक चित्रकलाको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

तिखारिएको सिर्जना

ShareTweet हरेक मानिसमा देश–प्रेमको भावना सल्बलाउनुपर्छ । देशलाई प्रेम गर्नुको अर्थ हो– आफ्नो भूगोल, आफन्तजन र परिवेशलाई माया गर्नु । हुन पनि हामीकहाँ देश–प्रेमको- ...
पूरा पढ्नुहोस्

छोटकरीमा