16th January 2019, Wednesday

E-budhabar

महाकविप्रति उच्च सम्मान



महाकविप्रति उच्च सम्मान

हिन्दू धर्मावलम्बीहरूले हर्ष, खुसी र उल्लासपूर्वक मनाउने तिहारमा लक्ष्मी पूजालाई विशेष ग्राह्यता र मान्यता दिने गरिन्छ । लक्ष्मीलाई वैभव र समृद्धिको प्रतीक मानिन्छ र लक्ष्मीपूजाका दिन लक्ष्मीलाई खुसी तुल्याउन सकियो भने आर्थिक समृद्धि र वैभवको ढोका खुल्ने आममान्यता छ । त्यसैले, लक्ष्मीलाई खुसी राख्ने हेतुले लक्ष्मी पूजाका दिन हरेक मानिसले आफ्नो घरआँगनलाई उज्यालो राख्छन्, बत्तीहरूले झिलिमिली तुल्याउँछन् । नेपाल, भारतलगायत हिन्दू धर्ममा आस्था राख्नेहरूले लक्ष्मीलाई समृद्धिको प्रतीक मान्दै विशेष पूजाअर्चना गर्छन्, ताकि लक्ष्मी खुसी रहून् र समृद्धिका सोपानहरू उक्लिने सिँढीहरू जीवनमा तयार होऊन् ।
लक्ष्मीपूजामा हरेक नेपालीले लक्ष्मीलाई खुसी राख्न प्रयत्न गरिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने स्रष्टा–सर्जकहरूलाई खुसी तुल्याउने दिशामा एउटा स्तुत्य कार्यको घोषणा गरे । प्रधानमन्त्री ओलीले एउटा स्टाटस लेख्दै भाषा, साहित्य र संस्कृतिको विकास र जगेर्नामा आफ्नो अनुराग रहेको स्पष्ट पारे । प्रधानमन्त्रीले लेखे, ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई परिवारसँगको परामर्शमा उपयुक्त मूल्य तय गरी सरकारले खरिद गर्नेछ र त्यसलाई देवकोटा स्मृति संग्रहालयका रूपमा स्थापित गरिनेछ । जहाँ उहाँजस्तो विश्वस्तरीय नेपाली साहित्यकारको जीवनसँग जोडिएका तथ्य र सामग्री संग्रहित हुनेछन् ।’
नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अतुलनीय योगदान रहेको यथार्थप्रति कोहीकसैको विमति रहन सक्दैन । बाँचुन्जेल भाषा, साहित्यकै उत्थानमा समर्पित रहेका देवकोटाले नेपाली साहित्यको समृद्ध रथलाई अगाडि बढाउन जसरी अथक प्रयत्न गरे, जुन उनको जीवनकथा पढ्ने र उनलाई निकटबाट चिन्नेहरूले अझै पनि स्मरण गर्छन् । महाकवि देवकोटाको लेखनमा अन्तरनिहित जीवन दर्शनलाई लिएर साहित्य वृत्तमा जेजस्ता सहमति–असहमति रहे पनि उनले भाषा साहित्यको विकासमा पु¥याएको योगदानलाई जोकसैले स्तृत्य नजरले हेर्न चाहन्छन्, यसमा कुनै सन्देह देखिँदैन ।
महाकवि देवकोटाको घर र उनले प्रयोग गरेका सामग्रीहरूलाई राष्ट्रिय संग्रहालयका रूपमा विकास गर्ने प्रधानमन्त्री ओलीको उद्घोषले वर्तमान सरकार राष्ट्रिय गौरवका विषयमा मानिने सम्पदाहरूको संरक्षण र विकासमा गम्भीर रहेको छनक निश्चित रूपले दिन्छ नै । साथै, स्रष्टाहरूको उचित सम्मान गर्न राज्य चुक्दै आएको प्रश्न पटकपटक उठ्ने गरिरहेको परिप्रेक्ष्यमा पछिल्लो कदमले विगतदेखि उठ्दै आएको त्यस्तो प्रश्नलाई मेट्ने आधार पनि तय गरेको ठान्न सकिन्छ । आज महाकवि देवकोटाको संरक्षणविहीन घर र सामग्रीहरूको संरक्षण गरी संग्रहालयका रूपमा विकास गर्ने सरकारले भोलिका दिनमा अरू स्रष्टाहरूको सम्मान त्यस्तै कुनै अरू कदम चाल्न सक्ने अपेक्षा पलाएको छ ।
हुन त कुनै पनि स्रष्टा, सर्जकको भौतिक सम्पत्तिहरूको संरक्षण गर्ने दायित्व परिवारका सदस्यहरूकै हुनु राम्रो पक्ष हो । किनभने, आफ्नो परिवारका सदस्यहरूमा जति पुर्खाका सम्पत्ति वा सम्पदाप्रति अपनत्व गाँसिएको हुन्छ, त्यस्तो अपनत्व अरूमा सायदै जोडिएलान् । तर, परिवारका सदस्यहरूले संरक्षण गर्नमा असहजता भए मात्र त्यो दायित्व र जिम्मेवारी राज्यले लिनु उचित देखिन्छ । यद्यपि, राष्ट्रका निधिहरूका सम्पत्तिलाई राष्ट्रको सम्पदाका रूपमा ग्रहण गरेर राज्यले नै संरक्षण गर्ने, संग्रहालयका रूपमा विकास गर्ने प्रयत्न गर्दा त्यस्ता सम्पदाहरूको जगेर्ना हुने र राष्ट्रका निधिहरूको सम्मानसमेत हुने देखिन्छ ।
विकसित मुलुकहरूले आफ्नो राष्ट्रका निधिहरूका सम्पत्तिलाई संग्रहालयका रूपमा विकास गर्ने कार्यमा धेरै अग्रसरता लिएको पाइन्छ । अधिकांश विकसित देशहरूले साहित्यकार, कलाकार वा राष्ट्रको विकास र उत्थानमा योगदान पु¥याएका व्यक्तित्वहरूका घरलाई संग्रहालयका रूपमा विकास गरी देशका निधिहरूलाई उच्च सम्मान दिएको पाइन्छन् । त्यस्ता कार्यले राष्ट्रको इज्जत र गौरव बढाउने मात्र होइन, विदेशी पाहुनाहरूलाई आकर्षित तुल्याउने माध्यम पनि बन्न सक्दछ । जर्मनीमा पुग्ने विदेशीहरूले एकपटक कार्ल माक्र्सको घर हेर्न चाहन्छन् भने चीन पुग्नेहरूले माओत्से तुङको जन्मभूमिमा टेक्ने इच्छा सँगाल्छन् । इटाली पुग्नेहरूले लुभ्र संग्रहालय हेर्ने लालसा पाल्नु स्वाभाविक हो ।
तर, हामीकहाँ भने स्रष्टा, सर्जकहरूका घरहरू न त अहिलेसम्म विदेशीहरूका लागि दर्शनीय स्थल बन्न सकेका छन्, न त हामीकहाँ कुनै कला संग्रहालय नै छ । शाह र राणावंशीय शासकहरूका सामग्रीहरू हेरेर चित्त बुझाउनुपर्ने बाध्यता मात्रै छ ।
वर्तमान सरकारले महाकवि देवकोटाको घरलाई संग्रहालयको रूपमा विकास गर्ने निर्णय स्तुत्य त छ नै, अब अरू स्रष्टाहरूका घरलाई पनि क्रमशः संग्रहालयकै रूपमा विकसित गर्दै त्यस्ता घरहरूलाई दर्शनीय स्थलका रूपमा विकास गर्न ढिलाइ गर्नुहुँदैन । यो दिशातिर सरकारले योजनाबद्ध रूपमा कदम चाल्नु अनिवार्य भइसकेको छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

आगलागीमा कर्मचारीकै लापरबाही

ShareTweet काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण त्रिशूली जलविद्युत् आयोजनाको विद्युत् गृहमा एक वर्षमै तीनपटक आगलागी हुन पुगेको छ । तर, पटकपटक आगलागी भएर भौतिक क्षति- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नायक कि खलनायक ?

ShareTweet ‘इतिहास एक संवाद हो,’ आर्थर मारविकले भनेका थिए । तर, अब इतिहास संवादमा मात्र सीमित छैन । संवाद, विवाद, अन्तर–आवाजहरूका घेरा नाघिसकेको छ इतिहासले । केही दिनपूर्व- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कृषिवनको उपयोगिता

ShareTweet जनसंख्या वृद्धिसँगै परिवार टुक्रिने क्रम बढ्दो छ । परिवार टुक्रिएसँगै जग्गा–जमिनहरू खण्डीकृत हुने क्रम पनि उत्तिकै तन्किँदो छ । एकातिर जमिनको खण्डीकरणसँगै- ...
पूरा पढ्नुहोस्

छोटकरीमा