24th June 2019, Monday

रङ छ्याप्न माहिर



अब चलचित्र–भवनहरूमा नेपाली फिल्म हेर्न जानुको अर्थ यति मात्र रह्यो, कि हाँस्न जानु, कि रुन जानु । अर्थात्, पछिल्लो समय जेजति नेपाली फिल्महरू निर्माण भइरहेका छन्, कि त हास्य–प्रधान कथावस्तुमा बनेका हुन्छन्, कि त प्रेम–कथाले भरिभराउ हुन्छन् । हास्य–प्रधान र प्रेम–प्रधान फिल्महरूमा मसलाका रूपमा द्वन्द्वलाई समावेश गर्नु सामान्य विषय रह्यो । तर, पछिल्लो समय निर्माण भएका अधिकांश फिल्ममा एउटा सुधार के आएको छ भने, द्वन्द्व–दृश्यलाई पस्किने क्रममा पचासको दशकमा निर्माण भएका फिल्ममा राजेश हमाल, निखिल उप्रेती, शिव श्रेष्ठ मार्काको द्वन्द्व–दृश्यलाई पछ्याउने गल्ती भने गर्न छाडिएको छ । शारीरिक रूपले तगडा र झगडा गर्न माहिर दर्जनौं खलपात्रहरूलाई विभिन्न तरिका अपनाएर नायक एक्लैले फाँड्ने दृश्यहरू भने अब चलचित्रहरूबाट क्रमशः लोप हुँदै छन् । अविश्वासिला दृश्यहरू दर्शकले पचाउन छाडिसकेको रहस्य बुझेपछि चलचित्रकर्मीहरूले यथार्थ दृश्यमा धेरै बल गर्न थालेका छन् । द्वन्द्वका दृश्य पस्किँदा यथार्थलाई मान्यता दिन थालेका छन् । अर्थात्, वास्तविक जीवनमा मानिसहरू जसरी मारपिट गर्छन्, त्यस्तै दृश्य । अवास्तविक र विश्वास गर्न नसकिने द्वन्द्व–दृश्यहरूबाट माथि उठ्न थालेका छन्, चलचित्रकर्मीहरू ।
द्वन्द्व–दृश्यहरूमा सजगता अपनाउन थाले पनि कथावस्तुको हिसाबले भने नेपाली चलचित्रहरू अझै पनि सीमित घेरामा नै अल्झिएका छन् । अधिकांश चलचित्रहरू हास्य, प्रेमकथामा नै घुमिरहेका छन् । निःसन्देह, हास्य र प्रेम–विषयक कथावस्तुहरू अरू कथावस्तुभन्दा तुलनात्मक रूपमा बिक्ने विषयहरू हुन् । कमेडी फिल्महरूले समाजका विकृत तस्बिरहरूको प्रदर्शन मात्र गर्ने होइनन्, दर्शकहरूलाई यथेष्ट मनोरञ्जनसमेत दिलाउँछ । अझ, पछिल्लो समय टेलिभिजनका पर्दामा हरेक हप्ता देखिइरहेका अनुहार र तिनका अभिनयलाई देखेर मुग्ध भएका दर्शकहरू कमेडी फिल्म हेर्न किन पनि लालायित बन्ने गरेका छन् भने हास्य–सिरियलकै पात्रहरू फिल्म निर्माण र अभिनयमा जुटेका छन् । हास्य–प्रधान टेलिफिल्महरूमा ती कलाकारहरूले कमाएको क्रेजकै कारण उनीहरू अभिनित फिल्मप्रति दर्शकहरूको गहिरो मोह र लगाव बढ्दै गएको छ । त्यही कारण हुनुपर्छ, कमेडी फिल्म निर्माण र प्रदर्शनको खेतीपाति निकै फस्टाएको छ ।
प्रेमकथामा आधारित फिल्महरू भने युवापुस्तालाई आकर्षित गर्ने हेतुले निर्माण भइरहेका छन् । पहिला पनि युवा वर्गलाई नै तान्ने हिसाबले प्रेमकथाका फिल्महरू बन्थे । तर, समयान्तरमा प्रेमको दायरा फराकिलो बन्न पुगेको छ । खासगरी, आधुनिकताको सोपान चढ्न हरेक समाज र वर्गका व्यक्तिहरू अभ्यस्त भइसकेका छन् । त्यसका निम्ति सूचना र सञ्चार प्रविधिले पर्याप्त सघाउ पु¥याएको छ । सूचना प्रविधिले फड्को मारेसँगै प्रेमका नियमहरू पनि बदलिएका छन् । पहिला युवा–युवतीहरू एकअर्काका भावना साट्न प्रेम–पत्रको सहारा लिन्थे र त्यो निकै लामो र उदेकलाग्दो प्रक्रिया थियो । तर, अहिले भने प्रविधिको विकास र पहुँचले त्यो माध्यम यति सीमित भइदिएको छ कि क्षणभरमा नै युवा–युवतीहरूमा एकअर्काले भावना साट्न सक्छन् । पछिल्लो समय निर्माण भइरहेका प्रेमकथायुक्त फिल्महरूले अहिलेका किशोर–किशोरी, युवा–युवतीहरूका भावना र उनीहरूका आवेगलाई पछ्याउन सक्षम देखिएका छन् । र, त्यस्ता फिल्महरूले तुलनात्मक रूपमा राम्रै दर्शक पाइरहेका छन्, एकाधलाई छाडेर अधिकांशले चित्तबुझ्दो नाफासमेत कमाइरहेका छन् ।
राजनीतिक क्षेत्रमा व्याप्त विसंगति, सामाजिक÷आर्थिक मुद्दाहरू, पारिवारिक झमेला, वैदेशिक रोजगारका सकारात्मक–नकारात्मक पक्ष, द्वन्द्वले उब्जाएका समस्याहरू, शैक्षिक क्षेत्रका विकृतिहरूजस्ता विषयहरूमा फिल्म निर्माण भएका छन् । समाजका दैनन्दिन रूपमा उद्घाटित भइरहने विषय र समस्याहरूलाई केलाउने दिशामा फिल्महरू सक्रिय पनि छन् । तर, समस्या के देखिन्छ भने, गम्भीर सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत विषयहरूलाई पनि हास्य र प्रेमका रङ्गीन भाँडामा डुबाउन चलचित्रकर्मीहरू माहिर देखिएका छन् । विषय जुनसुकै होस्, त्यसमा कि त कमेडीरूपी रङ छ्यापेर विरूप तुल्याइएको हुन्छ, कि त प्रेमका अनावश्यक प्रसंगहरू राखेर विकृत बनाइएको हुन्छ ।
नेपाली फिल्महरूले कमेडी र प्रेम–विषयक माध्यमलाई मात्र पछ्याइरहेको हुँदा निश्चित रूपमा यस्ता प्रश्नहरू उब्जिन्छन्, के हामी बाँचिरहेको समाज र परिवेशमा यी दुइटा माध्यमभन्दा भिन्न अरु कथावस्तुहरू छैनन् ? चलचित्रकर्मीहरूका नजर र मस्तिष्कमा यीभन्दा भिन्न विषयहरू छैनन् ? चलचित्र चलाउनका निम्ति कमेडी र प्रेमकथाकै सहारा मात्र लिनु चलचित्रकर्मीहरूको बाध्यता हो ? होइन, फिल्मलाई आकर्षक बनाउन अलिअलि कमेडी र प्रेम प्रसंगहरूको रङ दले पनि कथावस्तुको मौलिकतालाई जोगाउन सकिन्छ । तर, त्यसका निम्ति चलचित्रकर्मीहरूमा गम्भीरताको उत्तिकै जरुरत देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा प्याकेज छलफल अनिश्चित

ShareTweet काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले एकीकरणको बाँकी काम धकेलिँदै जाँदा नेकपाभित्र गुनासो र असन्तुष्टि चुलिँदै गएको छ । पार्टीभित्रको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

मसिना अक्षर, खँदिलो लेखन

ShareTweet अक्षर र लेखन मनोविज्ञानबारे मलाई खासै जानकारी छैन । राम्रा अक्षर हुनेहरूलाई परीक्षामा राम्रो अंक प्राप्त हुने कुराचाहिँ सर्वसिद्ध छ । अक्षर सिकाइका क्रममा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वीरेन्द्रको प्रशस्ती

ShareTweet राजदरबारमा शाही पाश्र्ववर्तीका रूपमा १७ वर्ष बिताएका सुन्दरप्रताप रानाले रहस्यमयी दरबार हत्याकाण्ड भएको १८ वर्षपछि दरबारको दुःखान्त नामक पुस्तक बाहिर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा