27th May 2019, Monday

E-budhabar

पार्टी र आन्दोलनमा प्रकाश



पार्टी र आन्दोलनमा प्रकाश

देशमा तानाशाही पञ्चायती व्यवस्थाविरुद्ध जनताको आन्दोलन दिनप्रतिदिन विकसित हुँदै थियो । २०३६ सालको ऐतिहासिक जनआन्दोलनले निर्विकल्प भनिएको पञ्चायती तानाशाहीलाई बहुदलको विकल्पसहित जनमतसंग्रहमा जान राजालाई बाध्य पारेको थियो । धाँधली र षड्यन्त्रका बलमा कथित सुधारिएको पञ्चायती व्यवस्थालाई विजयी देखाए पनि जनताको आन्दोलन रोकिनुको सट्टा झन्झन् प्रबल बन्दै गइरहेको थियो । कम्युनिस्ट आन्दोलन र बहुपदका पक्षधर नेताकार्यकर्ता र समर्थक जनतामाथि धरपकड, दमन र राज्यआतंक कथित जनमतसंग्रहपछि पनि बढ्दै गइरहेको थियो । त्यतिबेला कम्युनिस्ट आन्दोलनमा सक्रिय युवा कार्यकर्ताहरू भएकै कारण मलाई गिरफ्तार गर्ने प्रयासमा पुलिस प्रशासनले पटकपटक घर खानतलासी गर्ने, पुस्तक पत्रपत्रिकादेखि मेरा पढाइका सर्टिफिकेट र नागरिकताको प्रमाणपत्रसमेत कब्जा गर्ने तथा मेरा पिता मुक्तिराम दाहाललाई छोरा नबुझाए मार्ने धम्कीसमेत दिइने गरेकाले परिवारमा आतंकको स्थिति थियो । २०३८ सालको जनमतसंग्रहपछि म आफू पूर्ण रूपले भूमिगत र पूर्णकालीन रूपमा पार्टी काममा सक्रिय भइरहेको थिएँ । पार्टीको एक ऐतिहासिक केन्द्रीय विस्तारित बैठकमा सहभागी हुन म पहिलोपटक भूमिगत रूपले नै भारतको अयोध्यामा गएको थिएँ । अयोध्या प्लेनमका रूपमा चर्चित त्यो बैठकबाट कार्यक्षेत्रमा फर्कने क्रममा मलाई साथीहरूले छोरा जन्मिएको समाचारसहित बधाई दिएपछि मात्र मैले त्यो खबर थाहा पाएको थिएँ ।

देशको यही राजनीतिक परिवेश र परिवारको यही वातावरणमा २०३८ असार १७ गते चितवन भीमसेन नगरपालिकामा प्रकाश दाहालको जन्म भएको हो । प्रकाशभन्दा अगाडि ज्ञानु, रेणु र गंगा तीन छोरी आठ, पाँच र तीन वर्षका मात्र थिए । पार्टी कामको आवश्यकता र परिवारका अन्य सदस्यहरूलाई राज्य आतंकबाट सुरक्षित राख्नुपर्ने आवश्यकतामाथिसमेत ध्यान दिई २०३८.सालको पञ्चायतविरोधी आन्दोलन र चर्चित बमकाण्डपछिको वातावरणमा अंशबन्डासहित मेरो परिवार नारायणगढको क्षेत्रपुरमा बसाइँ स¥यो । देशभित्र नेता–कार्यकर्ताको निरन्तर आवतजावत, भेलाबैठकको तीव्रता तथा अभाव र गरिबीको निकै चर्को दबाबका बीचमा प्रकाश दाहालको प्रारम्भिक शिक्षा नारायणगढकै बालकुमारी विद्यालयमा आरम्भ गरियो । प्रकाश दाहाल बालक कालमा अत्यन्त सोझो, इमानदार र लजालु स्वाभावका हुनका साथै बुबा, आमा र ठूलाबडाले अहएको काम तत्परताका साथ पूरा गर्ने चरित्रका थिए । नारायणगढको सुगमताका कारण देशभरिका पार्टी नेता र कार्यकर्ताहरूलाई केन्द्रीकरण र उनीहरूको विशेष सहयोग, सद्भाव र प्रेमका साथ प्रकाशको बचपन पार्टीकै बीचमा बित्दै गयो । स्वभावलै त्यो परिवेशले प्रकाशका लागि स्वतः राजनीतितिर आकर्षित भई प्रशिक्षित बन्ने अवसर दियो ।
उपर्युक्त पृष्ठभूमिमा प्रकाशको पहिलो स्वतःस्फूर्त राजनीतिक सक्रियता २०४६ सालको ऐतिहासिक जनआन्दोलनका बेला पञ्चायतकाविरुद्ध बजारबाट पार्टीका झन्डा बटुलेर घरमा ल्याएर गाड्ने र पुलिस प्रशासनलाई चुनौती दिने रूपमा देखियो । आठ, नौ वर्षको बच्चा भए पनि पञ्चायतविरोधी आन्दोलनमा कुनै न कुनै रूपमा उनको सहभागिता रहि नै रह्यो । जनआन्दोलनको सफलताका रूपमा ३० वर्षे पञ्चायतको अन्त्य र बहुदलको स्थापनापछिको उत्साहको वातावरणले प्रकाशलाई पार्टी र आन्दोलनप्रति एवं बुबाले समातेको बाटोप्रति अझ गहिरो विश्वासहित उत्साह थपिँदै गयो ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलतापछि पार्टीको महामन्त्रीको हैसियतले विभन्न कम्युनिस्ट समूहहरूका बीचमा पार्टी एकताका लागि गरिएको पहलको परिणामस्वरूप तत्कालीन नेकपा (मसाल), नेकपा (चौम), सर्वहारावादी श्रमिक संगठन, नेकपा (मसाल) मिलेर नेकपा (एकता केन्द्र) गठन भयो । नेकपा (एकता केन्द्र) को पनि म नै महासचिव निर्वाचित भएपछि पार्टीकै आवायकता र निर्णयअनुसार हाम्रो परिवार २०४६ सालमा ललितपुरको सौगलस्थित निरञ्जनगोविन्द वैद्यको घरमा रहेको पार्टी कार्यालयमै रहने गरी बसाइँ स¥यो । मावलीघरमा रहेर पढिरहेका माइली छोरी रेणुबाहेक ज्ञानु, गंगा र प्रकाश २०४६ सालदेखि ललितपुरकै एक सामुदायिक विद्यालयमा पढ्न थाले । अर्धभूमिगत रूपमा रहेको पार्टी नेतृत्वका लागि आवश्यक पर्ने सानातिना व्यावहारिक कार्यमा निकै सक्रियता र तत्परताका साथ काम गर्नु प्रकाशको २०४८ देखि २०५२ सालसम्मको झन्डै दिनचर्या बन्न पुग्यो । २०४९ सालमा हाम्रो बसाइँ सौगालबाट ललितपुर कुम्भेश्वरमा (पार्टीका तत्कालीन एक मात्र जिवित संस्थापक नरबहादुर कर्माचार्यको विशेष संरक्षणमा रहने गरी) सारियो । क. नरबहादुर कर्माचार्य र उहाँका परिवारका सबै सदस्यको विशेष प्रेम, सद्भाव र सहयोगका कारण कुम्भेश्वर बसाइ पनि विशेष सुखमय र फलदायी रह्यो । नरबहादुर कर्माचार्यले प्रकाशलाई सानो भएकाले विशेष माया गर्ने, ठट्टा मजाक गरेर हँसाउने, बजार घुम्न लिएर जाने, मीठोमीठो खाजा खुवाउने गरेका कारण प्रकाशको नरबहादुर र उहाँको सिंगै परिवारप्रति विशेष सम्मानपूर्ण अनुराग रहन गएको थियो ।
२०५१ सालको मध्यावधि निर्वाचनको बहिष्कारपछि पार्टी सम्पूर्ण रूपले जनयुद्धको तयारीमा केन्द्रित भएको थियो । तयारीको यो समग्र प्रक्रियामा अनिश्चयको आशंका मिश्रित रोमाञ्चकारी सहभागिता सिंगो परिवारको रहेको थियो । १३÷१४ वर्षको बालक प्रकाश भने तयारीको यो समग्र प्रक्रियालाई नजिकबाट बडो उत्साहका साथ नियालिरहेको सजिलै बुझ्न सकिन्थ्यो । जनयुद्धको पहल गर्ने दिन नजिकै आउँदै जाँदा आकस्मिक रूपमा हाम्रो परिवार कुम्भेश्वर छाडेर भूमिगत रहन अन्यत्र स¥यो । कुम्भेश्वरमा क. नरबहादुर कर्माचार्यलाई मात्र आकस्मिक रूपले हामी कहाँ र किन स¥यौं भन्ने जानकारी थियो । क्रान्तिप्रतिको निष्ठा एवं म र मेरो परिवारप्रतिको प्रेम र विश्वासका कारण क. नरबहादुरले औपचारिक रूपमा एउटै पार्टीमा नरहे पनि गोपनीयता र सुरक्षा बनाइराख्न निकै ठूलो र ऐतिहासिक सहयोग गरिरहनुभयो । यो प्रेम र विश्वास पछिल्लो पार्टी एकता हुँदै मृत्युपर्यन्त क. नरबहादुर कर्माचार्यले कायम राख्नुभयो । हाम्रो सिंगो पार्टी र परिवार उहाँको यो मानवीयताप्रति उच्च सम्मान र श्रद्धा राख्दछ ।
प्रकाश तीन÷चार वर्षको हुँदासम्म म भूमिगत रूपमा मिलाएर मात्र गाउँको घरमा जाने गर्दथे । घरमा गएको बेला बुबा फेरि गइहाल्छ कि भनेर प्रकाश भने खाना खाएर बाहिर चुठ्न जाँदा समेत मेरो हात छोड्दैनथ्यो । म बाहिर जाने थाहा पाए रुनु, कराउनु र पछि लाग्नु उसको विशेषता नै थियो । यसै क्रममा एकपटक तीन वर्षको नहुँदै मैले उसलाई लिएर भारतको नौतनवामा क. मोहनविक्रम सिंहसँगको भूमिगत बैठकमा गएको थिएँ । राति उठेर ऊ रुन थालेपछि क. मोहनविक्रमले केरा दिएर फकाईफुल्याई सुताएको घटना मेरा लागि अविस्मरणीय रहेको छ । चितवनमा रहँदासम्म मिलाएर घरमा आउनेजाने प्रक्रिया काठमाडौं सरेपछि अन्त्य भयो । ललितपुरमा रहँदाको करिब ६÷७ वर्ष परिवार प्रायः सँगै रहने वातावरण बन्यो । तर, जब जनयुद्धको पहल गरियो, तब फेरि एकपटक परिवार छोराछोरीसँगको भेट पनि दुर्लभजस्तै हुन थाल्यो । जनयुद्धको पहलसँगै परिवार पनि भूमिगत हुनुपर्ने अवस्था आयो । जनयुद्धको प्रारम्भिक दिनमा छोरछोरीलाई ललितपुरबाट सारेर काठमाडौं एक सामुदायिक विद्यालयमा भर्ना गरियो । केही महिना पढाइ गरेपछि प्रायः विद्यालयहरूमा दाहाल थर भएका विद्यार्थीहरूमाथि पुलिस प्रशासनको निगरानी बढ्न थाल्यो । प्रकाश, गंगा पढिरहेको नयाँ सकुलमा पनि सोधपुछ हुन थालेपछि सुरक्षाको दृष्टिले परिवारका सदस्यहरूलाई पनि पूर्ण रूपले भूमिगत लैजानुपर्ने अवस्था देखिन थाल्यो । ठूली छोरी ज्ञानुको विवाह जनयुद्धको अन्तिम तयारीकै समयमा गरिसकिएको थियो । पढ्दै गरेका दुई छोरी रेणु र गंगाको विवाह पार्टीको निर्णयअनुसार २०५३ साल माघमा एकै दिन गरियो । सुरक्षा र अन्य व्यावहारिक पक्षलाई पनि ध्यान दिएर प्रकाशलाई अध्ययनका लागि माइली दिदी रेणुसँग राख्ने निर्णय गरियो । रेणुको विवाह भारत प्रवासमा काम गर्ने पार्टीका एक जिम्मेवार नेता टेकबहादुर पाठकका छोरा अर्जुन पाठकसँग गरिएको थियो । त्यतिबेला क. टेकबहादुर पाठक भारत पन्जाबको जलन्धरकै एक बैंकमा काम गर्नुहुन्थ्यो । र, जलन्धरमा उहाँको एउटा सानो घर पनि थियो । यो सबै पक्षलाई विचार गरी प्रकाशलाई जलन्धरकै एक विद्यालयमा भर्ना गरियो । त्यहीबाट उसले मेट्रिक पास गरेर इन्टरमिडियटसम्म अध्ययन गर्ने अवसर जु¥यो ।
यसबीचमा जनयुद्ध निकै तीव्र गतिमा विकसित भइरहेको थियो । जनमुक्ति सेनामा भर्तीको क्रम पनि बढिरहेको थियो । यस पस्थितिमा स्वाभाविक रूपले प्रकाशमा पनि पूर्णकालीन बन्ने, जनमुक्ति सेनामा भर्ती हुने र लडाइँको मोर्चामा जाने इच्छा तीव्र बनेर आयो । करिब २० वर्षको उमेरमा प्रकाशलाई जनसेनामा भर्ती गरी आधारभूत तालिम दिने कार्य सम्पन्न गरियो । प्रकाश अब कलेजको होइन, जनमुक्ति सेनाका एक योद्धामा रूपान्तरित भइसकेको थियो ।
यता पार्टी हेडक्वार्टरको सुरक्षा, सञ्चार व्यवस्थापन र अन्य कामहरू निकै नै जटिल र चुनौतीपूर्ण बन्दै गइरहेको थियो । त्यो अवस्थामा पार्टी हेडक्वार्टर र जनमुक्ति सो हेडक्वार्टरको निर्णयअनुसार प्रकाशलाई हेडक्वार्टरमै सुरक्षामा खटाउने निर्णय गरियो । यो निर्णयप्रति प्रकाश त्यत्ति धेरै खुसी भने थिएनन् । उनको इच्छा युद्धमोर्चामा नै सहभागी हुने थियो । तर, एक बफादार योद्धाका नाताले निर्णय पालना गरी हतियार बोकेर हेडक्वार्टरको सुरक्षामा आफ्नो हिस्साको ड्युटी पालना गर्न भने प्रकाशले कुनै कसर बाँकी राखेनन् । यस प्रकारको सुरक्षा जिम्मेवारीबाहेक सञ्चार व्यवस्थालगायत कार्यालय व्यवस्थापनमा प्रकाशको निकै ठूलो सहयोग रहेको थियो । प्रकाशको सक्रिय योगदानको अभावमा हेडक्वार्टरको कार्यसम्पादन जुन गुण र स्तरको रह्यो, त्यो सम्भव नै थिएन ।
यसरी पार्टी हेडक्वार्टरमा काम गरिरहेको सिलसिलामा नै प्रकाशको पार्टीका अर्का वरिष्ठ नेता र मेरा घनिष्ठ सहयोद्धा क. पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीसँग चिनजान, भेटघाट र छलफलकै सिलसिलामा बढ्दै गइरहेको थियो । कतिपय साथीहरूको सुझावसमेतका आधारमा पोष्टबहादुर र मेरो परिवारसमेतको सल्लाहमा प्रकाश र प्रभा सहमत भई जनयुद्धको अन्तिम चरणतिर भूमिगत रूपमा नै उनीहरूको विवाह भयो । विवाहपछि पनि पार्टी र आन्दोलनका काममा उनीहरूको सक्रियता बढी नै रह्यो । १२ बुँदे समझदारी एवं शान्ति प्रक्रियाको तयारीका क्रममा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र नेकपा (एमाले) का तात्कालीन महासचिव माधवकुमार नेपालसँग नियमित र जीवन्त सम्पर्क, सम्बन्ध बनाउने काममा प्रकाशको निकै जोखिमपूर्ण र असाधारण भूमिका रहेको छ । रोल्पा, रुकुमका गाउँबस्तीबाट होस् वा भारतका विभिन्न सहरबाट त्यस प्रकारको नियमित र जीवन्त सम्पर्क बनाउन प्राविधिक दक्षतासहित साहसपूर्ण पहलले गर्दा १२ बुँदे समझदारी कायम गराउन अदृश्य रूपमा प्रकाशको भूमिका अविस्मरणीय रहन गयो । १९ दिनको ऐतिहासिक जनआन्दोलन, विस्तृत शान्ति सम्झौता, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासम्म पनि प्रकाशको भूमिका सुरक्षा, सञ्चार र कार्यालय व्यवस्थापनका दृष्टिले संवेदनशील र जिम्मेवारीपूर्ण रह्यो ।
शान्ति प्रक्रियामा आइसकेपछि मात्र प्रकाशकी आमा सीतामार्फत मलाई थाहा भयो कि प्रकाश र प्रभाबीच कुनै शारीरिक सम्बन्ध हुन सकेको छैन । भित्रभित्रै त्यसको तनावमा प्रकाश परिरहेको छ । त्यो तनावपूर्ण स्थितिको अन्त्य गर्न मेरो र पोष्टबहादुर वोगटीको परिवार आपसी सल्लाहमा नै प्रकाश र प्रभा दुवैको असल साथी बन्ने तर दाम्पत्य जीवनको अन्त्य गर्ने मागअनुसार पार्टीले सम्बन्ध विच्छेदको स्वीकृति दियो । त्यसपछि पनि प्रकाश मानसिक तनावको स्थितिमा रहेको र बेलाबेलामा अस्वाभाविक रूपले रक्सी सेवन गर्ने हुँदा घर, परिवार र पार्टी हेडक्वार्टरमै तनावको स्थिति बन्न थाल्यो । यसको सबैभन्दा ठूलो चिन्ता र पीडा आमालाई पर्नु स्वाभाविक थियो ।
स्मरण रहोस्, मैले र मेरो परिवारले पहिलो संविधानसभापछि एकैसाथ पार्टीभित्र तीव्र अन्तरसंघर्ष र विभाजनको खतरा, सरकारभित्र नागरिक सर्वोच्चताका लागि उत्पन्न जटिल परिस्थिति र परिवारभित्र उपरोक्त प्रकारको तनावपूर्ण स्थितिको सामना ग¥यौं । संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा पार्टी अन्तरसंघर्षको टुंगो विभाजनबाट हुन गयो, सरकारभित्रको जटिलता मेरो राजीनामाबाट र घरभित्रको तनाव प्रकाशको पुनर्विवाह र अनुशासनको कारबाहीबाट हुन पुग्यो । कारबाही अवधिमा समेत प्रकाशले जसरी अनुशासनमा रही पार्टी, आन्दोलन, देश र जनताकै पक्षमा आफूलाई उभ्याइरहे, त्यसबाट परिवन्दले जे–जस्तो समस्याको सामना गर्नुपरे पनि प्रकाशभित्र आफंैलाई सम्हाल्ने र सच्याउने असीम साहस रहेछ भन्ने तथ्य देखियो । पछिल्लो चरणमा प्रकाशलाई सकारात्मक वातावरण र हौसला प्रदान गर्ने कुरामा बिना मगरको निकै महŒवपूर्ण भूमिका रह्यो । यसैबीच, प्रकाश र बिनाका तर्फबाट प्रणव दाहालको जन्म भयो र स्थिति क्रमशः सामान्यीकरण हुँदै गयो ।
यहाँसम्म आइपुग्दा प्रकाशमा निकै ठूलो परिपक्वता आइसकेको थियो । प्रकाशको यो परिपक्वताको सकारात्मक परिणाम सर्वत्र देखिन थाल्यो । पार्टी हेडक्वार्टरको सचिवका रूपमा पुनः जिम्मेवारी पाएपछि उसले प्रचारप्रसार र सञ्चारको क्षेत्रमा, कार्यालय व्यवस्थापनको काममा, देशभित्र र बाहिर युवाहरूसँग सम्बन्ध विस्तार गर्ने र परिचालन गर्ने काममा, खेलकुदको क्षेत्रमा समेत प्रकाशको सक्रियता र दक्षता अभूतपर्व र असाधारण रूपमा देखा प¥यो । वास्तवमा दोस्रो प्रधानमन्त्रित्वकालमा जति सकारात्मक पहलहरू भए, तिनमा प्रकाशको यो परिपक्वता, सक्रियता र दक्षताको निकै ठूलो भूमिका थियो ।
३६ वर्षकै उमेरमा अनेक उतारचढाव, कमजोरी, आलोचना र जोखिमको सामना गर्दै प्रकाशले जसरी देश, जनता, पार्टी र आन्दोलनका लागि आफूलाई उभ्याइरहे, त्यो सामान्य कुरा होइन । पछिल्लो चरणमा पार्टी एकताको वातावरण निर्माण गर्न तथा निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन प्रकाश समर्पित भएर लागेको अवस्था थियो । म निर्वाचन अभियानका सन्दर्भमा केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा सम्बोधन गर्न झापा गएको थिएँ, आमा सीता र छोरा प्रकाश मात्र लाजिम्पाटमा थिएँ । साँझमा सीतासँग कुरा पनि भएको थियो र स्थिति सबै सामान्य थियो । तर बिहानै, ५ बजे झापाकै बिर्तामोडमा मर्निङ वाकमा निस्कन लाग्दा एक्कासि हृदयाघातका कारण प्रकाशको निधन भएको खबर प्राप्त भयो ।
प्रकाशको आकस्मिक निधनबाट देशविदेशमा शोकको लहर फैलियो । लाजिम्पाट, नर्भिक अस्पताल, पेरिसडाँडा र आर्यघाटसम्म स्वतःस्फूर्त रूपमा जनसागर उर्लिएर जसरी शोक यात्रामा सहभागिता भयो, यसबाट हामीले सोचेको, जानेको भन्दा बढी नै जनविश्वास प्रकाशले आर्जन गरेको तथ्य प्रमाणित भइरहेको थियो । अन्ततः यही नै प्रकाशले देश र जनताप्रति, पार्टी र आन्दोलनप्रति गरेको योगदानको केन्द्रीकृत अभिव्यक्ति थियो । आफू मरेर पनि प्रकाशले पार्टी र आन्दोलनलाई जिताएर गएको गहिरो प्रमाण थियो ।
(प्रकाश दाहालको प्रथम वार्षिक पुण्यतिथिमा प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा प्रकाशित कृति ‘प्रकाश दाहाल’बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद

ShareTweet काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा