17th August 2019, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

वर्गीय चिन्तनका कविताहरू



वर्गीय चिन्तनका कविताहरू

‘म कर्नाली !

तिमीबाट बलात्कृत छु युगौंदेखि
तर अब कसरी बोल्नेछु म– हेरिराख
ओ निर्दयी काठमाडौं ?’
(म कर्नाली)

निरंकुश भएर निरंकुश राज्यसत्ताको विरोधमा जनता जगाउन भूमिगत राजनीति गर्नुपर्ने पञ्चायतकालमा ‘शीतबिन्दु’का नामले साहित्य र राजनीतिमा सक्रिय प्रदीप ज्ञवाली अहिले दुवै क्षेत्रमा वास्तविक नामबाट लोकप्रिय छन् । साहित्यमा सीमान्तकृत आवाजलाई केन्द्रमा ल्याउन कला, चिन्ता र विचारको सशक्त प्रयोगसहित सिर्जनारत ज्ञवालीको पछिल्लो कृति ‘बिनासालिकका नायकहरू’ (कवितासंग्रह) प्रकाशनमा आएको छ । त्यसअघि उनको चिन्तनप्रधान पुस्तक ‘सांस्कृतिक रूपान्तरण ः एक विमर्श’ साझा प्रकाशनबाट बजारमा आएको थियो । यसले उनीसँग पुस्तककार हुन लायक पाण्डुलिपि अझै तम्तयार छन् भन्ने देखाउँछ, किनकि यी दुवै पुस्तक लगातार देखिए पनि यी लामो समयदेखि हालसम्म लेखिएका र फुटकर रूपमा प्रकाशित भएका रचनाका संग्रह हुन् ।
राजनीति र साहित्यलाई उत्तिकै समय दिनु र दुवै क्षेत्रबाट सम्मानित पहिचान र व्यक्तित्व बनाउन सफल हुनु कम कठिन छैन । वर्तमान परराष्ट्रमन्त्री कवि ज्ञवालीले त्यसमा सफलता हासिल गरेका छन् र जनताको मनमा पुगेका छन् । ज्ञवाली साहित्यका अन्य विधामा जत्तिकै कविता विधामा पनि प्रभावशाली रूपमा अभिव्यक्त हुन सकेका छन्, यद्यपि उनले आफूलाई कवि भनेर चिनाउन हतार गर्दैनन् । संख्यात्मक रूपमा कम र गुणत्मक रूपमा प्रभावशाली कवितामा लेख्ने ज्ञवालीको २०५३ सालमा ‘चित्ता जलिरहेछ’ कविताकृति प्रकाशित भएको थियो भने २०५९ मा ‘आस्था ओ मेरी प्रिया’ बजारमा आएको थियो । यद्यपि, ‘आस्था ओ मेरी प्रिया’ शीर्षकको कविता पनि यस पुस्तकमा समावेश छ । कृतिगत रूपमा उनले २०४६ मा ‘सहयात्री’ उपन्यासबाट आफूलाई साहित्यमा स्थापित गरेको पाइन्छ ।
‘बिनासालिकका नायकहरू’ लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक परिवर्तन र प्राप्ति तथा त्यसका लागि आफ्नो तर्फबाट ज्यानको पनि आहूति दिने सहिददेखि तिनै गरिब, किसान र सीमान्तकृत समुदायले खेलेको भूमिकाको सम्मान हो । उनीहरूलाई इतिहासले अग्रभागमा स्थान नदिएकोप्रतिको असन्तोष हो । इतिहासमा नलेखिँदैमा जनताले तिनलाई बिर्सनेछैनन् भन्ने सन्देशयुक्त काव्यिक दस्तावेज हो । समाजले राजनीतिक, आर्थिक वा अन्य स्थितिमा प्रगति प्राप्ति गरिसके पनि सांस्कृतिक रूपान्तरण र जागरणको गति धीमा हुने आमप्रवृत्तिका बीच त्यस्ता बिनासालिकका नायकहरूलाई क्रमशः चिह्नित गर्न र उनीहरूको योगदानलाई प्रेरणको स्रोत मान्न तथा समाजका सबै क्षेत्र र तहमा न्यायोचित विकासको यात्रा आरम्भ गरेर समृद्ध एवं शान्तिपूर्ण नेपालको सुन्दर परिकल्पना कविताहरूले गरेका छन् ।
विद्यमान पुँजीवादी र उपभोक्तावादी तथा विस्तारवादी सोचले ग्रस्त समाज र समयलाई पछाडि पार्न खोजे पनि दुःखको घडीमा पनि वीरता कायम राखी परिवर्तनको सपना देख्नेहरूले त्यस्ता बाधा र अवरोधलाई छिचोल्ने अभिव्यक्ति बिनासालिकका नायकहरूले दिइरहेका छन् ।
नेपालबाट राजतन्त्रको अन्त्य भए पनि घर समाजका छोटे राजा वा त्यस प्रवृत्तिको समुल अन्त्य भइसकेको छैन, जसले गर्दा गणतन्त्र प्राप्तिको आन्दोलनको लक्ष्य गन्तव्यमा पुग्न अझै समय लाग्नेछ । जुनसुकै मुलुकमा राजनीतिक क्रान्ति र सुधार हुँदै शासकीय व्यवस्थामा परिवर्तनसँगै सामाजिक रूपान्तरणको माग समाजले गर्छ । खराब र विकृत संस्कृति त्यागेर असल तथा प्रगतिशील वैज्ञानिक संस्कृतिलाई अँगाल्दै हिँड्न नसक्ने समाज पछौटेपनबाट माथि उठ्न सक्दैन । उनका कविता र विचारले यसलाई सापेक्ष मान्दै त्यसबाट अघि बढ्न पाठकहरूलाई अपिल गरेको छ । कविले विभिन्न स्थानमा यात्रा गर्दाको अनुभूतिलाई पनि काव्यात्मक प्रस्तुति दिएका छन् । ४७ वटा कविता रहेको कृतिमा मेलोडी, अँध्यारोमा जुनकिरी, स्मृतिदंश, चरैवेति चरैवेति… र शिलान्यास खण्ड विभाजन गरी पाठकलाई रुचिअनुसारको स्वाद लिने बाटो देखाइएको छ ।
कविका तीन दशकअघिदेखि लेखिएका कविताहरू पनि समेटिएकाले यसमा विभिन्न कालखण्ड र इतिहासलाई अभ्ययन र मनन गर्न सकिन्छ । यसका बाबजुद पनि यी बिनासालिकका नायकहरूको सामयिकतामा कुनै कमी देखिँदैन । कविको सफलता नै यही हो कि कविताहरू जीवन्त र सामयिक हुन सकून् । यसमा भूमिका लेख्ने क्रममा कवि श्यामलले ‘समयको गतिमा लयबद्ध जमिनका कविता’को संज्ञा दिएझैं यस संग्रहमा सशस्त्र युद्धमा प्रभावितहरूमा पीडा, समाजमा अझै पनि देखा पर्ने जमिनदारी प्रथा एवं धार्मिक भेदभावको चित्रण र विरोध गर्दै मुक्तिसंघर्षको आह्वान गरिएको छ । त्यो आह्वानको सदुपयोग पनि एकप्रकारले २०४६ र २०६२ को जनआन्दोलनमा भइसकेको छ तर जनताले खोजेको न्याय, समानता र समृद्धिका सपना पूरा हुन बाँकी नै छन् । त्यही भएर होला, ती आन्दोलन, परिवर्तन र प्राप्त उपलब्धिलाई संस्थागत गर्ने क्रममा रहेको नेपाली समाजलाई कविको आग्रह छ ः
‘प्रिय कमरेड !
म एउटा जिउरे खाट
इतिहासको अँध्यारो कुनामा लुकेर
अझै पर्खिरहेछु तिमीलाई !’
(अँध्यारो कुनाबाट एउटा खाट)
मूलत ः यो कृति ज्ञवालीका कविताहरूबाट छानिएका कविताहरूको संग्रहजस्तो देखिन्छ । समय र सन्दर्भमा हिसाबले पनि यसमा विविधता पाइन्छ तर त्यो विविधता समाज परिवर्तनको सन्देशबाट बाहिर छैन । सकिएको भए राजनीतिक, सामाजिक, प्र्रेमिल र स्मृतिका सन्दर्भका अलगअलग कविताकृति निस्किएको भए पाठकहरू अझ लाभान्वित हुन सक्ने थिए ।

कृति ः बिना सालिकका नायकहरू
विधा ः कविता
लेखक ः प्रदीप ज्ञवाली
संस्करण ः २०७३
पश्रकाशक ः सिमल बुक हाउस
मूल्य ः रु ३००।–

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

कसले लग्यो गैंडाको खाग र बाघको जुँगा ?

ShareTweet काठमाडौं । सिंहदरबारस्थित पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेलायती बैठकमा सजाइएको अखेटपहारहरू हराएपछि त्यसको चोरी गर्ने चोरको खोजी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नगुन्जिएको एउटा जिन्दगी

ShareTweet ‘वैरीहरू आफ्नै कुकृत्यहरूले उदांगियून् आफ्नै मुर्खतापूर्ण प्रयासले पराजित होऊन् हास्यास्पद तर्कहरू न्यायले शान्तिले समानताका गुञ्जले गुञ्जित होऊन्- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

जातीय विभेदविरुद्ध अडिग

ShareTweet नेपाली समाजलाई परिवर्तनको लहरले स्पर्श गरे पनि जातीय विभेद र छुवाछुतका प्रकरणमा भने अझै पनि संकुचित र निर्मम नै प्रतीत हुन्छ । आधुनिक विकास र परिवर्तनका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा