17th August 2019, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

सफल उद्यमीको उतारचढाव



सफल उद्यमीको उतारचढाव

व्यवसायमा चम्किन अरु कुनै सूत्र चाहिँदैन । मात्र, इमानदारिता, कठोर मिहिनेत र कार्यदक्षता भए पुग्छ । व्यवसायी इन्द्रबहादुर बस्नेतको जीवनमा पनि यिनै सूत्रहरुले काम गरेका छन् । उनी आफ्नै परिश्रम, बुद्धि र व्यावसायिक दक्षताका कारण आफ्नो व्यवसायमा जम्न पुगे । काठमाडौंको उत्तरी भेग फुटुङ, जुन अहिले सहरीकरणको तीव्र चपेटामा पर्दैछ । तर, बस्नेतले दुग्ध व्यवसायमा हात हाल्दा भने फुटुङ विशुद्ध रुपमा काँठ थियो । काँठका बासिन्दाहरुको मुख्य पेशा थियो– खेतीपाति र पशुपालन । तर, पशुपालन गरे पनि दुध बेच्ने चलन भने बसिसकेको थिएन । परिवारमा उनले नै थाले, दुध बेच्ने पेशा । र, प्रथम निजी डेरी सञ्चालकको रुपमा उनी परिचित बन्न पुगे ।
‘हिँडेको गोरेटो’ मा एक सफल व्यवसायी बस्नेतको जीवनका तिनै पोका–पन्तुराहरु खोलिएका छन्, जहाँ उनले साढे सात दशकको अवधिमा भोगको तिता–मीठा क्षणहरुलाई सम्झनाको क्षितिजमा टाँग्न चाहेका छन् । २०७२ सालको महाभूकम्पलाई स्मरण गर्दै पूर्वदिप्तीमा फर्किएका बस्नेतले काँठका एकजना व्यक्तिले आफ्नो व्यवसायमा देखाएको दक्षतालाई उघार्न चाहेका थिए ।
कुनै पनि व्यवसायलाई पैसा कमाउने ध्येयसँग जोडिएको भने त्यो व्यवसाय फस्टाउनुको साटो खुम्चिँदै जान्छ । व्यवसाय प्रतिबद्धताको अर्को पाटो पनि हो । आखिर, बस्नेतले त्यही बाटो अपनाए, जसमा प्रतिबद्धताका अंशहरु पर्याप्त थिए । उनले २०२३ सालमा दुध बेच्न प्रारम्भ गर्दा काठमाडौंमा चिया–संस्कृतिको भर्खरै सुरुवात भएको थियो । उनी यति मिहिनेत गर्थे, फुटुङबाट असनसम्म दुध ल्याएर बेच्थे । उनी सम्झिन्छन्, ‘माछा मासु नखाने र दही दूधमा बल गर्ने मानिसले दिनको २ मानासम्म दूध लिन्थे । बजारमा दूध बेच्दा एक मानाको ११ आना पैसा आउँथ्यो । एक मानाको एक मोहर पनि नआउने । पसलभन्दा घर घरमा दूध बेच्दा १ मानाको ३ मोहर आउँथ्यो । मैले पसलभन्दा बढी घर घरमा दूध बेच्न थालेँ ।’
बीसको अन्तिम दशकतिरै धेरै दूध दिने भैंसी किन्न तराईसम्म झरेका बस्नेत उक्त व्यवसायमा अनेक अनुभव सँगाल्दै थिए तर पछि भने आफ्नै पहलमा डेरी उद्योग खोल्न चाहे । २०३४ सालमा उनले आफ्नै नाममा खोले– इन्द्र डेरी फर्म । नेपालमा निजी क्षेत्रमा दूग्ध उद्योग सञ्चालन गर्न लाइसेन्स लिने पहिलो व्यक्ति पनि भए । समयक्रममा उनले दूध बेच्ने कार्यलाई तन्काउँदै लगे र पाँच तारे होटलहरु अन्नपूर्ण, याक एन्ड यतीमा पनि दूध पु¥याउने जिम्मा पाए ।
दूग्ध व्यवसाय त फस्टाएको थियो नै, पछि भने बस्नेतले सिनेमा हलको मालिकको अनुभव पनि सँगाले । तर, सिनेमा हल सञ्चालन गर्दा झेल्नुपरेका कष्ट र हल ठेक्का दिँदा भएका बदमासीहरुका कारण उनी हललाई पार्टी प्यालेसमा बदल्न बाध्य भए । यद्यपि, सिनेमा हलको मालिक रहेका बेला केही चलचित्रमा अभिनय गरे पनि उनको चिनारी भने एक सफल डेरी सञ्चालककै रुपमा बन्यो ।
मूलतः बस्नेतको जीवनकथाले सफलता प्राप्त गर्नका लागि मानिसले इमानदारितापूर्वक मिहिनेत गर्नुपर्छ, आफ्नो पेशा–व्यवसायमा दक्षता हासिल गर्दै जानुपर्छ भन्ने प्रेरणा दिएको छ । सफल उद्यमी बन्न चाहनेहरुका लागि यो पुस्तकले उत्प्रेरणा जगाउन सक्छ ।
कृति ः हिँडेको गोरेटो
विधा ः आत्मकथा
लेखक ः इन्द्रबहादुर बस्नेत
प्रकाशक ः घोस्ट राइटिङ नेपाल
पृष्ठ ः १९२
मूल्य ः ३५०।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

कसले लग्यो गैंडाको खाग र बाघको जुँगा ?

ShareTweet काठमाडौं । सिंहदरबारस्थित पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेलायती बैठकमा सजाइएको अखेटपहारहरू हराएपछि त्यसको चोरी गर्ने चोरको खोजी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नगुन्जिएको एउटा जिन्दगी

ShareTweet ‘वैरीहरू आफ्नै कुकृत्यहरूले उदांगियून् आफ्नै मुर्खतापूर्ण प्रयासले पराजित होऊन् हास्यास्पद तर्कहरू न्यायले शान्तिले समानताका गुञ्जले गुञ्जित होऊन्- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

जातीय विभेदविरुद्ध अडिग

ShareTweet नेपाली समाजलाई परिवर्तनको लहरले स्पर्श गरे पनि जातीय विभेद र छुवाछुतका प्रकरणमा भने अझै पनि संकुचित र निर्मम नै प्रतीत हुन्छ । आधुनिक विकास र परिवर्तनका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा