17th December 2018, Monday

E-budhabar

सिर्जनाको मझेरीमा उपेक्षित किसान



– मधेस सदैव उर्वर भूमि रहँदै आयो । अन्नबालीको प्रचुरता रहेको मधेसका जनताले चिनी कारखाना खुल्न थालेपछि उखु खेतीलाई प्रश्रय दिए । नगदे बालीका रूपमा परिचित उखु लगाउँदा किसानहरूले आम्दानीको दह्रो स्रोतसमेत भेट्टाएका थिए । तर, पछिल्लो अवधिमा भने उखु किसानहरू उद्योगीहरूबाट पीडित बन्दै आएका छन् । उखु किसानको बक्यौता भुक्तानी गर्न उद्योगीहरूले आलटाल गर्ने, भुक्तानी गरे पनि अपुरो रकम भुक्तानी गर्ने समस्या किसानहरू झेल्दै आएका छन् ।
– केही वर्षपूर्व बारा, पर्सालगायत मधेसका किसानले मकै बाली लगाउँदा त्यसमा दाना नलागेको पाइयो । उन्नत जातको मकैं लगाउँदा उत्पादन वृद्धि हुने अपेक्षा राखेका थिए, किसानहरूले । तर, उन्नत जातको वर्णशंकर बीउमा नै समस्या देखियो । किसानहरूले क्षतिपूर्ति माग्दै आन्दोलनसमेत गरे । तर, उनीहरूको आवाजको कतै सुनुवाइ भएन ।
– मध्य पहाडी जिल्लाहरू अदुवा उत्पादनका दृष्टिले अब्बल मानिन्छन् । सल्यान, इलामजस्ता जिल्लाका किसानहरूले व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका छन् । तर, अदुवाको मूल्यमा यति धेरै घटबढ भइरहेको हुन्छ कि कुनै वर्ष त किसानले लगानीसमेत उठाउन सकिरहेका छैनन् ।
– चितवन, काभ्रेलगायत जिल्लाका किसानले सडकमा दूध पोखाएको दृश्य साँच्चै हृदयविदारक देखिन्छन् । दूध बढी हुने सिजनमा दुग्ध उद्योगहरूले मिल्क होलिडे लागू गर्ने प्रचलनजस्तै भएपछि किसानहरू मर्कामा पर्नु स्वाभाविकै हो । यस्तो समस्या किसानहरूले हरेक वर्ष भोग्दै आएका छन् ।
यी केही दृष्टान्त हुन्, जसले नेपालको कृषि क्षेत्र र त्यसमा निर्भर जनताले के–कस्ता समस्या र पीडाको सामना गरिरहेका छन् भन्ने स्पष्ट तस्बिर देखाउँछ । यद्यपि, यो नेपाली कृषि क्षेत्रको धूमिल तस्बिर हो, जहाँ किसानका रुग्ण, उदास र बेचैन अनुहार मात्र देखिन्छन् ।
नेपालका किसानहरू अनेक समस्यासँग जुध्दै आएका छन्, यो क्रम÷उपक्रम वर्षौं लामो छ । ती समस्यामध्ये सबभन्दा ठूलो समस्या हो, उत्पादनको उचित मूल्य नपाउनु । कुनै पनि कृषिजन्य उत्पादन गर्दा मल, बीउ, विषादी र श्रमिकलगायतमा ठूलो लगानी परेको हुन्छ । रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वरा शक्ति हरेक वर्ष ह्रास हुँदै गइरहेको हुँदा उत्पादन वृद्धि गर्न रासायनिक तŒवको मात्रा बढाउँदै लैजानुपर्ने बाध्यताबीच नेपाली किसानहरू उभिएका छन् । यद्यपि, राम्रै उत्पादन भए पनि किसानहरूले आफ्नो उत्पादनको मूल्य आफैंले निर्धारण गर्न पाउँदैनन् । किसानहरू बिचौलियाद्वारा घेरिएका छन् र बिचौलियाहरूले गरेको मूल्य निर्धारणमा टिकिरहन सक्नुपरेको छ । बिचौलियाहरूको जगजगी रहेको कारण उनीहरूलाई नसमाती आफ्नो उत्पादनले बजार नपाउने हो कि भन्ने भयबीच किसानहरू बाँचिरहेका छन् र बिचौलियाहरूको बढ्दो प्रभावका कारण किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाइरहेका छैनन् ।
रासायनिक मल, बीउविजन र विषादीलगायतमा किसानहरू दिन–प्रतिदिन परनिर्भर बन्दै गएका छन् । परम्परागत रैथाने बीउ मासिँदै गएको छ र धेरै उत्पादन हुने अपेक्षाका कारण किसानहरू वर्णशंकर बीउमा निर्भर हुँदै छन् । त्यस्तै, किसानहरूले जैविक विषादीहरू प्रयोग गर्न छाडिसकेका छन् । मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने यथार्थ थाहा पाउँदा पाउँदै पनि विषादी प्रयोग गर्न किसानहरू बाध्य छन् । जैविक मल उत्पादनमा त किसानहरू यति पछाडि परिसके, किनभने पशुपालनमा क्रमशः रुचि घट्दै गइरहेको छ । त्यसको मुख्य कारण जनशक्तिको अभाव नै हो । बलिया हातपाखुरा भएका युवाहरूको सम्पूर्ण ध्यान वैदेशिक रोजगारीतिर ढल्किएको छ र गाउँमा बस्ने र पशुपालन, खेतीपाती गर्नेतिर खासै रुचि देखिँदैन । निश्चितै, पशुपालन नगरे कसरी जैविक मल उत्पादन हुन सक्छ ?
यद्यपि, अनेक समस्या र चुनौती झेल्दै नेपाली किसानहरू आफ्नो पेसामा दत्तचित्त रहे पनि ऋणको भारीले थिचिएर आत्महत्या गर्ने तहसम भने पुगिसकेका छैनन् । अहिलेसम्म कृषि कर्म गर्दा ऋण लागेर नेपाली किसानले आत्महत्या गरेको दुःखद खबर सुन्नुपरेको छैन । तर, मित्रराष्ट्र भारत भने यो पीडाबाट वर्षौंदेखि ग्रसित छ । ऋण चुक्ता गर्न नसकेर भारतमा बर्सेनि हजारौं किसानले आत्महत्या गरिरहेका हुन्छन् । तथापि, नेपालका किसानहरूलाई आत्महत्या हुनबाट रोक्न बैंक तथा वित्तीय संस्थाहरू अग्रसर देखिन्छन् । किनभने, बैंक तथा वित्तीय संस्थाहरूले किसानलाई ऋण दिन नै चाहँदैनन् । ऋण नलिएपछि किसानलाई ऋण चुक्ता गर्नुपर्ने चिन्ताबाट स्वतः मुक्त हुने भए र ऋणको तनावकै कारण आत्महत्या गर्नु परिरहेको छैन ।
नेपाली किसानहरू अनेक समस्या झेल्दै आफ्नो कर्ममा सदैव क्रियाशील देखिएका छन् । तर, किसानहरूले भोग्नुपरिरहेका समस्या र जल्दाबल्दा पीडाको भने सिर्जनाको धरातलमा यथोचित रूपमा छायांकन हुन सकिरहेको छैन । साहित्य, कला, गीत–संगीत, चलचित्रजस्ता सिर्जनाका कुनै पनि माध्यम वा विधाले किसानको जीवनको यथार्थ पक्षलाई उजागर गर्न सकिरहेका छैनन् ।
पछिल्लो अवधिमा वैदेशिक रोजगारीले निम्त्याएको समस्या र त्यसले नेपाली जनजीवनमा पु¥याएको असर एवं पीडालाई मुख्य विषय बनाएर चलचित्रहरू निर्माण भए । वैदेशिक रोजगारीकै विषयमा थुप्रै गीत–संगीत पनि सिर्जना भए । तर, किसानको समस्यालाई उठान गरिएका चलचित्रहरू न त बनेका छन्, न त गीत–संगीतमा नै किसानको समस्या प्रतिविम्बित हुन पुगेका छन् । चित्रकलाजस्तो माध्यम त झनै टाढा छ ।
साहित्य लेखनमा किसानको समस्या र पीडाको उजागर त शून्यबराबर नै देखिन्छ । साहित्यमा किसान समस्या आउन नसक्नुका मुख्य कारण के हो भने हामीकहाँ अधिकांश लेखक सहरिया मध्यम वर्गका छन् । उनीहरूलाई आफू र आफ्नो वर्गको गन्थन लेख्ने फुर्सद नै छैन । किसानहरले भोग्नुपरिरहेको समस्या र पीडा त्यस्ता लेखकहरूलाई छुने विषय नै होइन ।

किन लेखियोस् त ?
सिर्जनाको मझेरीमा किसानहरू किन उपेक्षित छन् ? यो निश्चय नै सोचनीय विषय हो र गम्भीर प्रश्न पनि ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पछ्याउँदै आधुनिक कला

ShareTweet नेपालमा आधुनिक चित्रकलाको जग बसाल्न एकाध कला–शिल्पीको मात्रै सक्रियता छ । अग्रज कलाशिल्पी मदन चित्रकार पनि तीमध्ये एक हुन् । विश्वमा आधुनिक चित्रकलाको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

तिखारिएको सिर्जना

ShareTweet हरेक मानिसमा देश–प्रेमको भावना सल्बलाउनुपर्छ । देशलाई प्रेम गर्नुको अर्थ हो– आफ्नो भूगोल, आफन्तजन र परिवेशलाई माया गर्नु । हुन पनि हामीकहाँ देश–प्रेमको- ...
पूरा पढ्नुहोस्

छोटकरीमा