17th December 2018, Monday

E-budhabar

उज्यालोको एउटा गीत



उज्यालोको एउटा गीत

अक्सर कविहरूसामु विषयवस्तुको छनोट र बिम्बविन्यासको क्रममा उज्यालो या अँध्यारोमध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ । यस मानकमा हेर्दा शशी लुमुम्बूको तपस्वी पहाड उज्यालोको एउटा गीत हो । हुन त हामीसँग आत्महत्या गराउन बाध्य पारिदिने लास्जियो जाभोरजस्ता कविहरू नभएका पनि होइनन् । परन्तु, कविले नैराश्यताको बीज छर्दै हिँडेको पटक्कै सुहाउँदैन । शशीको यस संग्रहलाई नियाल्दा अधिकांश कविताहरू उज्यालोको पक्षमा वकालत गर्दै हिँडेको कुनै अभियन्ताजस्तो लाग्छ । खासगरी समय, समाज र युगबोध भएका कविहरू यसरी मुखरित हुने गर्छन् । अर्कोतर्फ कवितालाई स्वान्त सुखायको साधन ठान्ने र बजारिया ग्ल्यामरको ¥याम्पमा हिँडाउनेहरूका लागि उनका कविताहरू निर्मम प्रतीत हुन सक्छन् ।

आगोको खोजीमा
कति युग बितायौं
कति कल्प कटायौं
कति सन्तानहरूलाई सहिद बनायौं ।
(किन यति दुलर्भ छ आगो !)

कवितामा युद्ध विभिषिका, रूपान्तरण, स्थापत्य कहिरणहरूमाथि प्रश्न, सीमान्तकृत÷सबाल्र्टनीय चेत, उज्यालो महिमा, नोस्टाल्जिक सेल्फ कन्फेसन र डायस्पोरिक चेतलाई डिस्कोर्सका रूपमा अगाडि सार्दै प्रगतिवादी चेतलाई उनले अन्तर्यमा केन्द्रीय स्वरका रूपमा स्थापित गरेका छन् र अधिकांश कविताले उत्तिकै सुझबुझपूर्ण ढंगले पाठकको मानसपटलमा सपाट चित्र कोर्न सक्ने सामथ्र्य राख्छन् । कवितालाई कमभन्दा कम अमूर्त बनाउन खोज्नुले कविता कर्मलाई उनले सौन्दर्यका लागि सौन्दर्यभन्दा पनि समाज रूपान्तरणसँग जोड्न चाहेको देखिन्छ । साहित्य मीमांशाका अमिनहरूले यस कोटीका कविहरूलाई देब्रे ढल्कुवाको पगरी पनि गुथ्ने गरेका छन् । देशले भोग्नुपरेको सशस्त्र संघर्षको घाउलाई उनले सन्त्रासहरू जीवितै छन्, दिलसराको पुनर्जन्म, दसैँ अनुभूति, बेपत्ता प्रियजनप्रति, ज्योति गुमाएका योद्धाहरूमार्फत क्यानभासमा पोत्दा सायद जोकसैलाई पनि यसले फ्ल्यासब्याकमा पुग्न बाध्य पारिदिन्छ ।

त्यस दिनदेखि–
घुरेनन् कौसीमा परेवा
आएनन् दलिनमा बास बस्न गौंथली
गाएनन् कोइलीले वनमा लोकगीत
फर्किएनन् चरा साँझमा बासस्थान
जुन दिन–
एकाएक खोसियो हामीबाट तिमीलाई ।
(बेपत्ता प्रियजनप्रति)

लामो समयको त्याग, तपस्या, र बलिदानपश्चात् परिवर्तनलाई संस्थागत गर्ने क्रममा तथाकथित नायकहरूको वैचारिक र सांस्कृतिक स्खलनलाई उनले आंलकारिक प्रतिप्रश्न शैलीमा व्यंग्यचेतका साथ पस्केका छन् । यसले कविता क्राफ्टमाथि उनको दक्षता प्रस्टसँग झल्काइदिन्छ ।
देउताको पनि देउता देख्यौं तिमीलाई
तिम्रा हरबोली हामीलाई देववाणी लागे
भत्काएर कुलदेउताको थान
तिमीलाई विराजमान गरायौं त्यहाँ

कालान्तरमा–
तिमी हिउँचुलीझैं चुलिँदै गयौ
हामी रित्तिइँदै गयौँ÷खिइँदै गयौं…।

हे नायक !
तर,
तिमीले भनेजस्तो
खोइ त चमत्कार भएको ?
(हे नायक)

राजधानी प्रवेश, अन्तिम विद्रोह, अनागरिक कथा, अक्कर र खरिते, देशसँग संवादमार्फत राज्यसत्ताविरुद्ध उनी तीव्र असन्तोषका साथ वागी विद्रोहीको रूपमा देखा परेका छन् । खासगरी समाजको पिँधमा थिग्रिएर रहेका समुदायप्रति उनको असीम सहानुभूति देखिन्छ । कवितालाई पाठकको अदालतमा उभ्याउँदा उनले सबाल्र्टनीय चेतलाईसमेत पछ्याएका छन् । बजारमा छ्यास्छ्यास्ती भेटिने वनमारा कविहरूका लागि उनका कविताहरू पट्यारलाग्दो लाग्न सक्छन् । किनकि, एकाध कवितामा बाहेक कतै पनि रुमानी तथा पराभौतिक कल्पना भेटिँदैन । बरु, कतै कतै खास वस्तुभन्दा कहिलेकाहीँ त्यसको प्रतिच्छाया सुन्दर देखिन्छ भन्ने एरिस्टोटलको भनाइलाई सम्झाइदिने गरी समाजको अन्तरविरोध र तीतो यथार्थलाई डकुमेन्ट्रीय शैलीमा प्रस्तुत गरेका छन् ।

जस्तापाताको भारी बोकेर
चतराबाट आइरहेका भरिया दाइ
अक्करमा ठोक्किएर
सप्तकोसीमा खसेको दृश्यले
अहिले पनि तर्साइरहन्छ ।
(अक्कर र खरिते)

अर्गानिक मान्छे, सपनाहरूको रक्षार्थ, आमाको चिठी र अनागरिकमार्फत उपभोक्तावादी चिन्तन, पुँजीवादको तीव्र प्रभाव र अर्थ राजनीतिक तरलतासँगै हुर्केको आन्तरिक तथा बाह्य प्रवासित्वले स्थानीय सामाजिक तथा सांस्कृतिक वैभवमाथिको खतरातर्फ संकेत गरेका छन् । यसक्रममा शैलीगत हिसाबले समेत विशिष्ट आन्तरिक लय चेतना देखिनुले उनमा परेको भूपी प्रभाव सहजै देख्न सकिन्छ ।

छोरा !
तेरो बाटो हेर्दाहेर्दै हामी त
आफैं बाटो हुन लागिसक्यौं
खोस्रिँदाखोस्रिँदै खेतबारी
आफैं माटो हुन लागिसक्यौं
(आमाको चिठी)

मेरा लागि देशमा
एक बित्ता जमिन पनि भएन
– उभिनलाई
मेरा लागि देशमा एक टोपी आकाश पनि रहेन
– ओतिनलाई
(सपनाहरूको रक्षार्थ)

कवितामा प्रयुक्त घाम, चन्द्रमा, पूmल, आगमन, आगो, सपनाजस्ता प्रतीकहरूले उनी युरोपियन समाज स्थापनाका लागि प्रयत्नशील देखिन्छन् । तर, उज्यालोको गीत गाउँदै गर्दा अँध्यारोको बिम्बलाई समेत उनले समसामयिक परिवेश अनुकूल प्रस्तुत गरेका छन् ।

त्यस्तो के सम्बन्ध छ कुन्नि
तस्करलाई हाछ्युँ आउँदा
सरकारको मुटु हल्लिन्छ
तस्करलाई औंलो ठड्याउँदा
उसको टाउको दुख्छ ।
(कि यो सहर ठीक छैन)

कविताको सार पक्ष जति सबल देखिन्छ, उतिकै मात्रामा रूप पक्ष पनि देखिन्छ । खासगरी रूपक, उपमा, प्रतीक तथा मानविकीकरणले उनका कविताका रूप पक्षलाई बलियो बनाएका छन् । कुशल शब्द विन्यासले कवितामा एक खालको सुमधुर संगीतसमेत पैदा गरिदिएको छ । हुन त कवितामा नजानिँदो पाराले स्वतः लयको निर्माण हुन्छ । तर, उनले प्रायजसो सबै कवितामा श्रुत्यनुप्रास र अन्त्यानुप्रासको समेत कुशल प्रयोग गरेका छन् । लामा र छोटा दुवै प्रकारका कवितामा उनको कलम उत्तिकै बलियो देखिए तापनि छोटा कविताहरू बढी खँदिला र प्रभावकारी देखिन्छन् ।
यसरी रूप र सार दुवै कोणले कवि शशीको तपस्वी पहाडलाई यथार्थवादी÷प्रगतिवादी कविताकृतिका रूपमा लिन सकिन्छ ।
कृति ः तपस्वी पहाड
विधा ः कविता
कवि ः शशी लुमुम्बू
पृष्ठ ः ९६
प्रकाशक ः रत्न पुस्तक भण्डार
मूल्य ः २००।—

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पछ्याउँदै आधुनिक कला

ShareTweet नेपालमा आधुनिक चित्रकलाको जग बसाल्न एकाध कला–शिल्पीको मात्रै सक्रियता छ । अग्रज कलाशिल्पी मदन चित्रकार पनि तीमध्ये एक हुन् । विश्वमा आधुनिक चित्रकलाको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

तिखारिएको सिर्जना

ShareTweet हरेक मानिसमा देश–प्रेमको भावना सल्बलाउनुपर्छ । देशलाई प्रेम गर्नुको अर्थ हो– आफ्नो भूगोल, आफन्तजन र परिवेशलाई माया गर्नु । हुन पनि हामीकहाँ देश–प्रेमको- ...
पूरा पढ्नुहोस्

छोटकरीमा