17th December 2018, Monday

E-budhabar

मतभिन्नताको सम्मान गर र आफ्ना काम कारबाहीमा लचिलो होऊ



मतभिन्नताको सम्मान गर र आफ्ना काम कारबाहीमा लचिलो होऊ

(मार्टा हर्नेकर । चिलीमा जन्मिएकी । विख्यात वामपन्थी लेखिका, अन्वेषक तथा पत्रकार । ८० वटा पुस्तक र अनगिन्ति आलेखकी लेखिका । फ्रान्समा रहँदा विशौं शताब्दीका प्रकाण्ड माक््र्सवादी दार्शनिक लुइस आल्थुसरकी शिष्य । सन् १९६८ मा स्वदेशमा फर्केपछि माक्र्सवाद लेनिनवादको प्रचारप्रसारमा सक्रिय सहभागी । सन् १९७३ मा चिलीमा त्यहाँको पहिलो माक्र्सवादी राष्ट्रपति साल्भाडोर एलेन्डेविरुद्ध भएको सैनिक विद्रोहपछि उनले क्युबामा आएर एउटा अनुसन्धान प्रतिष्ठान (मेमोरियल पपुलर लेटिनो अमेरिकन) को निर्देशकको हैसियतमा लामो समयसम्म काम गरिन् । सन् २००४ देखि २०११ सम्म भेनेजुयलामा आएर बसिन् । त्यहाँ रहँदा सन् २००६ देखि २०१० सम्म एउटा अनुसन्धान संस्था सेन्ट्रो इन्टरनेसनल मिरन्डा रिसर्चमा काम गरिन् । उनले राष्ट्रपति ह्युगो चाभेजको सल्लाहाकारको रूपमा पनि काम गरिन् । हाल उनी क्यानडाको टोरन्टो शहरमा बस्दै आएकी छन् ।
भनिरहनुपरेन, उनी आफैं एक माक्र्सवादी चिन्तक र अभियन्ता । लेटिन अमेरिकी वामपन्थी आन्दोलनकी प्रत्यक्ष साक्षी पनि । उक्त आन्दोलनको सूक्ष्म अध्ययनपश्चात् मार्टाले भावी वामपन्थी आन्दोलनको संरचनात्मक स्वरूप र आन्दोलनको दिशा कस्तो हुनुपर्दछ भनेर तलको लेखमा विचारोत्तेजक समसामयिक विचार पस्केकी छन् । लेटिन अमेरिकी वामपन्थी आन्दोलनको अनुभवलाई चिहाउन र सिक्न पनि यो लेख धेरै नै सान्दर्भिक छ । यो आफंैमा भावी वामपन्थी आन्दोलनको चेक लिष्ट पनि हो । प्रस्तुत लेख मन्थली रिभ्युबाट साभार गरिएको हो । त्यसमा प्रकाशित १२ लेखमध्ये यहाँ दुईवटा मात्रै अनुदित रूपमा प्रस्तुत गरिएको छ । लेखमा लेखिकाले केही आधारभूत विचार अघि सारेकी छन्, तिनमा बहस हुनु, विचार बनाउनु र आन्दोलनको पुनर्नवीकरण गर्नु हामी कहाँको वामपन्थी आन्दोलनको निम्ति पनि जरुरी छ । अनु.)
१. मतभिन्नतालाई सम्वोधन गर्नेबारे वामपन्थमा अझै पनि कठिनाइहरू छन् । अतीतमा, राजनीतिक संगठनहरूमा, खासगरी आफूलाई श्रमजीवी वर्गको पार्टी भनेर घोषणा गर्ने पार्टीहरूमा आफूले राजनीतिक काम गर्ने सामाजिक आधारलाई एकनासे बनाउने प्रवृत्ति रह्यो । विगतको श्रमजीवी वर्गको पहिचान र एकनासेपनको कारणले यो दृष्टिकोण विचारणीय भए पनि अहिले श्रमजीवी वर्ग स्वयं बिल्कुलै विविधीकृत भएको, र रंगीबिरंगी नयाँनयाँ सामाजिक शक्तिहरूको उद्भव भएको हुँदा आज उक्त दृष्टिकोण कालातीत भएको छ । आज हामीले झन्झन् बढ्ता विविधतामा आधारित एकताबारे व्यवहार गर्नुपरेको छ, हामीले जातीय तथा सांस्कृतिक, लैंगिक विविधताको र खास खास सहकारीमा भएको सम्बन्धन भावको सम्मान गर्नुपरेको छ ।
२. स्वयं संघर्षमा लाग्न उत्सुक रहेका हरेक क्षेत्रको यथार्थ सम्भावनालाई मध्यनजर गरेर र यहाँसम्म कि प्रत्येक व्यक्तिको सम्भावनालाई हेरेर उनीहरूको प्रतिबद्धतालाई काम (कारबाहीमा लागाउन सुरु गर्नु जरुरी छ । त्यसो गर्दा ती अभियन्ताहरूलाई एकनासे बनाउन भने खोज्नुहुँदैन । संघर्षको साझा मञ्च खडा गर्ने हेतुले सहमतिका यथासम्भव साझा बिन्दु पत्ता लगाउन विशेष संवेदनशीलता हुनु जरुरी छ ।
३. मतभिन्नताबारे यस्तो सम्मान हाम्रा बहसमा देखिनुपर्दछ । पहिला पहिलाको जस्तो भिन्नभिन्न उद्देश्यलाई लिएर एउटै सन्देश प्रवाह गर्ने पुरानो शैलीबाट हामीले पिण्ड छुट्ट्याउनैपर्दछ । हामीले अरूलाई निराकार थुप्रोका रूपमा सोच्नुहुँदैन । उनीहरू पनि हामीजस्तै आखिर विभिन्न स्थानमा बसोबास गरेका, विभिन्न काममा लागेका तथा विभिन्न विचारधारात्मक प्रभावमा परेका व्यक्ति न हुन्, महिला या पुरुष हुन् । हाम्रो सन्देशले लचिलो तरिका अपनाउनुपर्दछ, ताकि यी वास्तविकता जनसाधारणकहाँ पुग्न सहज होस् ।
४ हाम्रा भाषण र सन्देश एउटै कपडा र एउटै आकारमा सिलाइएको लूगाजस्तो हुनुहुँदैन र तिनलाई एकै ढंगले, उनै शब्दमा, उनै भाखामा या उसै माइकबाट सप्रेषण पनि गर्नुहुँदैन । वर्षौं बितिसक्दा पनि उनै पोस्टर र उनै नारा रहिरहने हो भने हाम्रो बोलीको कुनै मूल्य रहँदैन । त्यसले कसैको पनि कल्पनाशीलतालाई छुँदैन ।
५. हामीले आफ्ना सन्देशलाई वैयक्तीकरण त गर्नुपर्दछ तर सामूहिक लक्ष्य देख्न छाड्नुहुँदैन ।
६. मेरो विश्वास छ, यस मुद्दाले आन्दोलन (एक्तिभिज्म) मा आएको संकटमाथि प्रकाश पार्न मद्दत गर्नेछ । अझ सबैलाई ज्ञात भएकै कुरा हो कि विगत केही वर्षयता आन्दोलनमा निकै नै व्यापक संकट आएको छ । त्यो वामपन्थी पार्टीमा मात्र सीमित नभएर मुक्तिका निम्ति अभिप्रेरित धर्म शास्त्र (लिबरेसन थियोलोजी) को प्रभावमा आएर सामाजिक आन्दोलन र जनस्तरका समुदायमा समेत देखापरेको छ । यसको व्याख्या दुनियाँले भोग्नुपरेको परिवर्तनबाट मात्रै गर्न सकिन्छ । यति हुँदाहुँदै पनि, हाम्रा धेरैजसो मुलुकमा आन्दोलनको यस संकटको सँगसँगै समानान्तर रूपमा समाजमा वामपन्थको प्रभाव बढेको छ र जनसमुदायबीच प्रगतिशील भावनाको विकास भएको छ ।
७. यसले हामीलाई के निष्कर्ष निकाल्न मद्दत गर्दछ भने यो संकट उत्पन्न हुनुको पछिल्तिरको एउटा कारण भनेको संगठित राजनीतिक गतिविधिमा संलग्न हुन उनीहरू योग्य हुनका निम्ति जनताका सामुन्ने अघि सारिएको मागको प्रकृति हो । हामीले जाँचपड्ताल गर्नुपर्ने कुरा भनेको के वामपन्थीहरू आन्दोलनको ढोका खोल्न र समाजमा हुर्कंदो प्रगतिशील भावनालाई मलजल गर्न सक्षम भएका छन् भन्ने नै हो । सबै मानिसहरूको एउटै आन्दोलनकारी पेसा हुँदैन, न त सबैमा स्थायी रूपमा आन्दोलनमा लाग्ने भावना नै हुन्छ । ऐन मौकाको राजनीतिक वातावरणले गर्दा मानिसको लगावमा तलबितल भइरहन्छ । यसलाई अनदेखा गर्नु र सबैबाट एकनासको आन्दोलनकारी भूमिका खोज्नु भनेको आफंैलाई साँघुरो बनाउनु र राजनीतिक संगठनलाई कमजोर पार्नु मात्रै हो ।
८. उदाहरणका निम्ति, कोहीकोही यस्ता मानिसहरू हुन्छन्, जो खासखास मुद्दामा मात्रै आन्दोलनमा सरिक हुन चाहन्छन्, जस्तो कि स्वास्थ, शिक्षा र संस्कृतिका मुद्दामा, त्यो पनि आफ्नो कार्यालय परिसर या आफ्नो समुदायको आसपासमा होइन । अर्काखाले यस्ता मानिसहरू पनि हुन्छन्, जो वर्षैभरि नभएर खासखास घटना क्रममा मात्रै सक्रिय हुन रुचाउँछन्, जस्तो कि चुनावको बेलामा । तिनलाई महŒवपूर्ण राजनीतिक संघर्षको बेलामा जहिल्यै गणना गरे हुन्छ, ती हाजिर हुन्छन् । तिनले आफ्ना दैनिक जीवनमा वामपन्थी परियोजना र मूल्यको प्रवद्र्धन गरिरहेका हुन्छन् ।
९. आन्दोलनमा सरिक हुन चाहाने सबै मानिसलाई एउटै काइदा कानुनमा बाँधेर एउटै डालामा राख्न खोज्नु भनेको सम्भाव्य कार्यकर्तालाई आन्दोलनबाट बाहिर घचेट्नु हो । यो कायदा कानुन त्यस्तो हो, जसअनुसार सबका सबले आन्दोलनका खातिर समान रूपमा अहोरात्र खटिनुपर्ने हुन्छ ।
१०. हामीले त्यस्तो किसिमको संगठन निर्माण गर्नुपर्दछ, जसमा यथाशक्य विविध पक्षका जुझारु मानिसहरू अटाउन सकून्, तिनलाई विविधस्तरको सदस्यता दिन सकियोस् । यी विभिन्न तहहरूबीच उँचनिचको संरचना नबनाई तिनका कार्यकर्ताको प्रतिबद्धतालाई सदुपयोग गर्न संगठनको आंगिक संरचनाले अररोपन छोड्नुपर्दछ र बढ्ता लचिलो हुनुपर्दछ ।
११. विभिन्न तहको आन्दोलनलाई मलजल गर्न तिनले आफ्ना राजनीतिक क्रियाकलाप सञ्चालन गर्न सुगम हुने हिसाबले तिनको वरिपरिको वातावरणसंग मिल्दोजुल्दो सांगठनिक संरचना बनाउनु र जनस्तरका एकाइ निर्माण गर्नु जरुरी हुन्छ ।
वामपन्थले संघर्षका कार्यसूची निर्धारण गर्ने जिम्मा दक्षिणपन्थलाई दिनु हुँदैन
१. अघिल्लो लेखमा मैले हालसालैका दशकमा राजनीतिक वामपन्थको एउटा ठूलो हिस्सामा सामाजिक आन्दोलनसँग मिलेर काम गर्न र नयाँ सामाजिक शक्तिसँग सम्बन्ध विस्तार गर्न निकै कठिन भएको चर्चा गरेकी थिएँ । यसो हुनुमा थुप्रै कारण छन् ।
२ दक्षिणपन्थीहरूले ठूल्ठूला राजनीतिक पहलकदमी प्रदर्शन गरेका छन्, वामपन्थीहरू भने प्रतिरक्षात्मक देखिन्छन् । दक्षिणपन्थीहरूले राजकीय संस्था र आमसञ्चारका माध्यममा भएको आफ्नो नियन्त्रणको भरपुर फाइदा उठाएका छन् । त्यति मात्र होइन, तिनले आफ्नो आर्थिक प्रभावलाई समेत वित्तीय तथा एकाधिकारी पुँजीको सेवामा बनाइएको आफ्नो नयाँ मोडल लाद्न प्रयोग गरेका छन् र एकातिर, सामाजिक विभाजन र पार्टीविरोधी, खासगरी राजनीतिक वामपंथविरोधी जनभावना उराल्न निजीकरण, श्रम विनियमन र नवउदारवादी आर्थिक कार्यक्रमका तमाम हथकण्डाको प्रयोगमा तीव्रता ल्याएका छन्, अर्कातिर, राजनीतिक वामपन्थले भने आफ्नो कामलाई विद्यमान वैधानिक व्यवस्थाको उपयोगमा लगभग पुरै जसो सीमित गरेको छ, विरोधीहरूले लादेको खेलको नियममा आफूलाई बाँधेको छ र मुस्किलले यसलाई अन्यथा ठानेको छ । मूर्खताको हद यहाँसम्म पुगेको छ कि वामपन्थको संघर्षको पात्रो नै दक्षिण पन्थले कोरिदिएको छ ।
४. अर्कातिर प्रभुत्वशाली वर्गले थोपरेका प्रचलित खेलका नियम वामपन्थी एकताको निम्ति भाँजो हाल्ने खालका छन् र तिनले व्यक्तिको करिश्मामा आधारित राजनीतिलाई मलजल गर्दछन।कुनै कुनै मुलुकमा त वामपन्थीहरू बृहत्तर मोर्चाको हितलाई भन्दा आफ्नै पार्टीको हितलाई हेर्न बाध्य छन्, किनभने तिनले त्यसो न गर्ने हो भने तिनको पार्टी राजनीतिक परिदृश्यबाटै अलप हुने खतरा हुन्छ ।
५. यसको अर्थ हो, जब निर्वाचनामा हार खाइन्छ निराशा, थकावट र निर्वाचन अभियानमा भएको खर्चको जोरजाम गर्दा राजनीतिक लाभ शून्य हुनुले समयको बर्बाद भएको मनोभावना पार्टीभित्र देखा पर्दछ । यदि निर्वाचन अभियानलाई जनचेतना र जनसंगठनलाई विस्तार गर्ने गरी शैक्षणिक दृष्टिकोणले अनुभूत गरिएको भए यो स्थिति भिन्न हुन सक्दथ्यो । त्यस स्थितिमा निर्वाचन परिणाम त्यतिअनुकूल नभए पनि अभियानको दौरानमा खर्च गरिएको समय र मेहनत खेर जाने थिएन ।
६. कसैकसैले तर्क गर्न सक्छन, सत्ताधारी प्रणालीले क्रान्तिकारी वामपन्थको किल्लाभित्र छिराइदिएको ट्रोजन हर्स भनेको संस्थाको पूजा (कल्ट अफ इन्स्टिच्युसन) हो, जसले गर्दा वामपन्थीहरूलाई उनीहरूभित्रैबाट आक्रमण गर्न सजिलो हुन्छ । यो कुनै आश्चर्यजनक तर्क होइन ।
७. कार्यसंयोजनको जिम्मा सार्वजनिक तथा प्रशासनिक ओहोदामा बसेकाका क्रमशः माथिल्ला तहका मानिसहरूलाई दिने गरिएको छ । अधिकांश जसोको जोड भने सामूहिक काम ( कारबाहीलाई हतोत्साही गर्ने र संसदीय काममा निर्देशित गर्ने या सञ्चारमा छाउने खालको हुन्छ ।
८. संगठनको जुझारु काम भनेको निर्वाचनको बेलामा पोस्टर टाँस्नु या त्यस्तै अन्ठसन्ठ सार्वजनिक काम गर्नुमा अधपतन हुन पुगेको छ ।
९. अझ निकम्मा काम त के भएको छ भने पार्टीको वित्तीय खर्च उठाउने जिम्मा संसद, स्थानीय सरकार र निर्वाचन बोर्डजस्ता राजकीय संस्थामा काम गर्ने कार्यकर्ताको थाप्लोमा छोडिएको हुन्छ । यी सबले गर्दा पराश्रयीपन र अनावश्यक दबाब झेल्नुपर्ने हुन्छ ।
१०. वामपन्थको राजनीतिक गतिविधि भनेको कुनै संस्थाको चुनाव जित्नु मात्र होइन । यसका गतिविधि त ती संस्था परिवर्तन गरेर यथास्थितिको रूपान्तरण गर्न सक्षम बनाउनेतर्फ पो परिलक्षित हुनु पर्दछ । शक्तिहरूबीचको यस्तो नयाँ सहसम्बन्ध सिर्जना गर्नुपर्दछ, ताकि आवश्यक परिवर्तन लागू गर्न सकियोस् । हामीले के कुरा बुझ्न जरुरी छ भने सामाजिक शक्तिको निर्माणबेगर राजनीतिक शक्ति निर्माण गर्न सकिँदैन ।
११. यसका साथसाथै हामीले सारा पहलकदमी र आफूसँग रहेका समस्त सामाजिक आन्दोलनलाई ’पार्टीकरण’ गर्ने कुराबाट बच्नुपर्दछ । बरु, हाम्रा प्रयत्न तिनका व्यवहारलाई एउटै राजनीतिक परियोजनामा जोड्ने हुनुपर्दछ ।
१२. यसका अतिरिक्त, राजनीतिक वामपन्थ नयाँ यथार्थमा समायोजन हुन निकै अप्ठ्यारो घडीमा छ । धेरैजसो अवसरमा यो कठोर अवधाराणात्मक संरचनामा जेलियो । त्यसले उसलाई नयाँनयाँ सामाजिक शक्तिको सम्भावनालाई स्विकार्नबाट रोकेर ट्रेड युनियनजस्ता परम्परागत ढंगले परिचालन आएका शक्तिमा एक छत्र रूपमा केन्द्रित ग¥यो । तर आज भने ती शक्ति विभिन्न कारणले कमजोर परेका छन् ।
१३. अन्त्यमा सामाजिक वामपन्थसँग मिलेर काम गर्नमा राजनीतिक वामपन्थमाथि रहेको ठूलो समस्या भनेको त्यो दृष्टिकोण हो, जसले सामाजिक आन्दोलनलाई सन्देशवाहक क्षेत्र मात्रै ठान्दछ । आन्दोलनको नेतृत्व, नेतृत्वदायी अंगमा जिम्मेवारीको निर्धारण, संघर्षको रूपरेखाजस्ता सबै कुरा पार्टी नेतृत्वले निर्धारण गर्दछ र संघर्षको कार्य दिशा भने सामाजिक आन्दोलनमा थोपर्ने र त्यसो हुनाले आफूलाई प्रत्यक्ष असर गर्ने मामिलामा उनीहरूलाई निर्णय गर्ने अवसर हुँदैन ।
१४. निष्कर्षमा सामाजिक वामपन्थसंग घनिष्ठ सम्बन्ध बनाउन राजनीतिक वामपन्थले आफैंभित्र विचारधारात्मक रूपले पुनर्नवीकरण गर्नुपर्दछ, आफ्नो राजनीतिक संस्कृति र कार्यशैलीलाई परिवर्तन गर्नुपर्दछ र आफ्नो शास्त्रागारमा सामाजिक वामपन्थले उपयोगमा ल्याएका संघर्ष र प्रतिरोधका उन्नत तौरतरिका समाविष्ट गराउनुपर्दछ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पछ्याउँदै आधुनिक कला

ShareTweet नेपालमा आधुनिक चित्रकलाको जग बसाल्न एकाध कला–शिल्पीको मात्रै सक्रियता छ । अग्रज कलाशिल्पी मदन चित्रकार पनि तीमध्ये एक हुन् । विश्वमा आधुनिक चित्रकलाको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

तिखारिएको सिर्जना

ShareTweet हरेक मानिसमा देश–प्रेमको भावना सल्बलाउनुपर्छ । देशलाई प्रेम गर्नुको अर्थ हो– आफ्नो भूगोल, आफन्तजन र परिवेशलाई माया गर्नु । हुन पनि हामीकहाँ देश–प्रेमको- ...
पूरा पढ्नुहोस्

छोटकरीमा