21st May 2019, Tuesday

E-budhabar

उपत्यकामा हुन्डीको कारोबारमा तीव्रता



काठमाडौं । उपत्यकामा हुन्डीको कारोबारमा तीव्रता आएको छ । केही पहिले अचाक्ली रूपमा यसको कारोबार हुन थाले पनि बीचमा सुस्तता आएको थियो । पछिल्लोपटक प्रहरी कारबाही प्रभावकारी हुन नसक्दा फेरि हुन्डी कारोबारले तीव्रता लिएको बताइएको छ ।
करिब डेढ वर्ष अघि अर्थात् २०७४ भदौमा राजस्व अनुसन्धान विभागले पहिलोपटक हुन्डी कारोबारीविरुद्ध ठूलो कारबाही गर्दै चार अर्ब १२ करोड रुपैयाँ बिगो कायम गरी अदालतमा मुद्दा चलाएको थियो । महानगरीय अपराध महाशाखामा एसएसपी धिरजप्रताव सिंह आएपछि त्यस्ता अवैध हुन्डी करोबारीसँग सेटिङ मिलेकाले उनीहरूले निर्वाध रूपमा सो काम गरिरहेको बताइएको छ । त्योबेला ४ अर्ब १२ करोड रुपैयाँ बिगोबराबर जरिवानाको माग दाबीसहित सुन्धाराको जेबो ट्राभल्समा दलबहादुर पुन, लवकुमार नेपाल, धर्म गुरुङ र मिलन गुरुङविरुद्ध मुद्दा चलाइएको छ । उनीहरूलाई अदालतले जरिवाना र दुई वर्ष जेल सजाय तोकिसकेको छ ।
त्यसपछि हुन्डी कारोबारीविरुद्ध अहिलेसम्म कुनै ठूलो कारबाही हुन नसकेको बताइएको छ । महाशाखाले उपत्यकाका हरेक कुनाकुनामा घुमुवा राख्ने र सबै सूचना संकलन गर्ने तर कारबाहीमा उत्रिन भने खुट्टा कमाउने गरेको बताइएको छ । प्राप्त सूचनाका आधारमा मोलतोल गर्ने र हुन्डी सञ्चालकहरूबाट प्रहरीको उच्च तहको अधिकारीहरुसम्म रकम पु¥याउने गरेको बताइन्छ ।
कानुनले अवैध मानेको हुन्डीको कारोबार गर्ने व्यापारीविरुद्ध प्रहरीले अप्रेसन चलाए पनि ठूला कारोबारीसम्म भने प्रहरी पुग्न अझै सकेको छैन । कारोबारको नेक्सस पत्ता लगाउन नसकेर प्रहरीले कारबाही नचलाएको नभई उक्त धन्दामा प्रहरीकै संरक्षण रहेकाले प्रहरी रमिते बनेको बताइन्छ । यसले गर्दा कारोबार मौलाउने क्रम बढेको छ । अस्ट्रेलियामा हुन्डीका नाममा फेसबुक, भाइबर र इमोमार्फत प्रचार गरी त्यहाँका नेपालीहरुको रकम अवैध रूपमा हुन्डीमार्फत आइरहेको बताइन्छ । त्यस्ता कारोबार गर्ने गिरोहहरू नेपालमा ट्राभल एजेन्सी तथा कन्सल्टेन्सीको आवरणमा क्रियाशील भएका छन् । विदेशमा रहेका त्यस्ता गिरोहले शैक्षिक परामर्शदाता केन्द्रमार्फत अभियान नै चलाएको बताइन्छ । यसरी प्रचार गर्ने गिरोहमा एजुकेसन कन्सल्टेन्सीहरू संलग्न रहेको तथ्य भेटिएको छ । नेपालमा लोकराज निउरे, रामप्रसाद सापकोटा, सीता सापकोटा र भूपराज न्यौपानेलगायतबाट अस्टे«लियाका हुन्डी कारोबारीसँग सम्पर्क गरी हुन्डीको पैसा झोलाबाट वितरण हुने गरेको बताइन्छ । यो गिरोहले अपराध महाशाखाका प्रहरीसँग सेटिङ मिलाएर कारोबार गरेको हुँदा आफूहरूलाई कसैले पनि केही गर्न नसक्ने बताउने गरेको एक ट्राभल्सका सञ्चालकले बताए ।
खुलमखुला यसरी हुन्डीको कारोबार हुने क्रममा गत वर्ष दुई कारोबारीबीच विवाद हुँदा घटना अपराध महाशाखासम्म पुगेको थियो । तर, त्यो समयदेखि महाशाखाले खुद्रे कारोबारीलाई समातेर प्रचार गरे पनि ठूला कारोबारीसम्म भने पुग्न सकेको छैन । अवैध हुन्डीलाई नियन्त्रणका लागि राष्ट्र बैंकले मातहतका निकायमा पत्राचार गरेको पनि थियो तर त्यसको कार्यन्वयन हुन सकेको छैन ।
राज्यले प्रतिबन्ध लगाए पनि प्रहरी, प्रशासन र केही कारोबारीको मिलेमतोमा नेपालमा खुलेआम हुन्डी चलिरहेको छ । अस्ट्रेलियाबाट मात्र हरेक दिन १० करोडभन्दा बढी रुपैयाँ हुन्डीमार्फत नेपाल आउने गरेको स्रोत बताउँछ । अस्ट्रेलियामा एउटा समूहले पैसा उठाउने गर्दछ भने अर्को समूहले त्यसलाई हङकङ पठाउने र तेस्रो समूहले नेपालमा पैसा दिने गरेको पाइएको छ । खातावाल फरक–फरक देखिने गरेर गिरोहले कारोबार गर्दै आएको छ ।
नेपालमा कमाएको ‘कालो धन’लाई सुरक्षित पार्ने एउटा माध्यम पछिल्लो समय हुन्डी बनेको छ । हुन्डीमार्फत पैसा पठाउने र छोरीछोरीका नाममा घर र व्यवसाय किनेर आफ्नो भविष्य सुरक्षित पार्ने काममा पनि हुन्डीले साथ दिन थालेको छ ।
नेपालबाट हुन्डीमार्फत पठाएको पैसा बैंकमार्फत नेपाल फर्काएर छोराछोरीले कमाएको भन्दै वैध बनाउने अर्को धन्दा पनि चलेको छ । अवैध रूपमा नेपालबाट भारत, अस्ट्रेलिया, दक्षिण कोरिया र खाडी मुलुकमा बढी मात्रामा हुन्डीमार्फत कारोबार हुने गरेको प्रहरीको भनाइ छ ।
रेमिन्ट्यान्सले चलेको मुलुकमा करिब ६० प्रतिशत मात्र रकम राज्यको कानुनी निकायबाट स्वदेश भित्रिने गर्छ । बाँकी ४० प्रतिशत हुन्डीबाट भित्रिने गरेको छ । यसलाई अनियन्त्रित रूपमा छाडिदिने हो भने ठूलो अंकमा राजस्व छलि त छँदै छ, त्यसैगरी स्रोत नखुलेको सम्पत्ति बढ्ने र समस्या पर्ने बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा