23rd March 2019, Saturday

E-budhabar

पछ्याउँदै आधुनिक कला



पछ्याउँदै आधुनिक कला

नेपालमा आधुनिक चित्रकलाको जग बसाल्न एकाध कला–शिल्पीको मात्रै सक्रियता छ । अग्रज कलाशिल्पी मदन चित्रकार पनि तीमध्ये एक हुन् । विश्वमा आधुनिक चित्रकलाको लहर चलिरहेको बेला त्यसलाई पछ्याउन उपयुक्त ठान्ने पात्रहरूमध्ये अग्रपंक्तिमा नै पर्दछन्, उनी । अहिलेसम्म पनि कला–सिर्जनालाई उनले आधुनिक रङ र ढंग दिइरहेका छन् । उनी गर्व पस्किन्छन्, ‘आधुनिक चित्रकलाको जग बसाल्ने पिँढीको म पनि एक पात्र हुँ ।’
सन् १९६० को दशकमा मुम्बईमा चित्रकलाको अध्ययन गर्न जाने केही युवाको लहरमा चित्रकार पनि आबद्ध थिए । कला–सिर्जना उनले विरासतमै पाए पनि कला क्षेत्रमा जम्ने उद्देश्य भने थिएन, उनको । चिकित्सक वा अभियन्ता बन्ने लक्ष्य सँगालेर विज्ञानको अध्ययन थाले पनि त्यो विषय उनका निम्ति फलदायी भएन । र, आफ्ना पिताजी तेजबहादुर चित्रकारकै पदचिह्न पछ्याउन चाहे र चित्रकलामा पारंगत हुने अभिलाषा बोकेर सन् ६० को दशकमा उनले मुम्बईतिरको यात्रा चाले । त्यो समय जेजे स्कुल अफ आर्टस्मा उनीसँगै अध्ययन गर्न जानेहरूमा थिए– शशी शाह, वत्सगोपाल वैद्य, रामानन्द जोशी र लक्ष्मण श्रेष्ठ । लक्ष्मणबाहेक सबै मुम्बईमा अध्ययन सिध्याएर नेपालमै फर्किन चाहे । भन्छन्, ‘हामी नेपाल फर्किएर चित्रकलामा समर्पित नभएको भए आधुनिक कलाको विकास हुन सम्भव थिएन । नेपाल फर्किएर आधुनिक कलाको विकासमा हामीले योगदान नपु¥याएको भए आज पनि हामी पौभा चित्रमा नै अल्झिरहन्थ्यौं ।’
तेजबहादुर चित्रकार, जसको चिनारी विदेशबाट आधुनिक कला शिक्षामा स्नातक गरेर फर्किने पहिलो सर्जकका रूपमा रहँदै आएको छ । चन्द्रमानसिंह मास्के उनका सहपाठी थिए । आधुनिक कलाको अध्ययन गरेर फर्किएपछि उनका पिताले कलालाई धर्मको संसारबाट मानव कलामा ढाल्ने काम गरे । अर्थात्, पौभा कलाको जगजगी छाडेर आधुनिक कलातिर पाइला चाल्ने काम गरे । भन्छन्, ‘मेरो पिताले नेपाली कलामा नयाँ आयाम ल्याउनुभएको हुँदा मलाई पनि नयाँ आयाम भिœयाउन रहर लाग्यो र मुम्बईमा मैले तिनै कुरा सिकें ।’ यद्यपि, पिताले उनलाई कला क्षेत्रमा लगाउने विचार भने गरेका थिएनन् । उनको पिताको ‘छोराले अरू नै क्षेत्र रोजोस्’ भन्ने चाहना थियो । बाल्यकालदेखि पिताको कलाको प्रभाव मन–मस्तिष्कमा गढेर बसेको हुँदा त्यसबाट पृथक् रहन कसरी सक्थे र उनी ?
कला अध्ययन गर्न मुम्बई पुग्दा उनमा भाषिक समस्याले अँठ्यायो । काठमाडौंको रैथाने उनी नेवारी भाषामा दखल त राख्थे नै, तर अरू भाषाहरूको पहुँच भने शून्य । मुम्बई पुगेपछि उनमा अंग्रेजी त जान्नैपर्ने रहेछ भन्ने तŒवज्ञान पलायो । भाषिक संकुचनबाट आफूलाई माथि उठाउनुपर्छ भन्ने लाग्यो र अंग्रेजी भाषामा पहुँच बढाउँदै गए । मुम्बईमा पढ्दा छात्रवृत्तिस्वरूप पाउँथे, २ सय भारतीय रुपैयाँ । तर, तत्कालीन राष्ट्रपति सर्वपल्ली राधाकृष्णनले छात्रवृत्ति रकम थोरै भएको महसुस गरी थप ५० रुपैयाँ बढाइदिए पनि त्यति रकम पनि अपुग हुन्थ्यो । भन्छन्, ‘अध्ययन सकिएपछि मुम्बईकै एउटा संस्थामा ९ सयको मासिक जागिर पाएँ र ६ महिना काम गरेर केही पैसा जम्मा भएपछि काठमाडौं फर्किएँ ।’
काठमाडौं फर्किएको डेढ वर्षसम्म बेरोजगार रहे पनि त्यसपछि भने उनले प्रचार विभागमा काम पाए । त्यहीं काम गर्थे, अर्का कला–सर्जक उत्तम नेपाली पनि । ‘उदय’ पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठ पनि त्यहीँ नै कार्यरत थिए । ज्यालादारीमा काम गरेका हुँदा उनले एक वर्षसम्म तलब नै पाएनन् । तर, पछि भने एकमुष्ट रकम पाए । त्यसपछि उनी लागे, जनक शिक्षा सामग्री केन्द्रतिर । २०२६ सालमा जनक शिक्षामा पाइला टेकेपछि बाल पुस्तकहरूमा चित्र बनाउन थाले । त्यसपछि कार्टुनाइज शैलीका चित्र बनाउने कार्यमा उनले हात हाले । भन्छन्, ‘नेपालमा कार्टुनाइज शैलीमा चित्र बनाउने काम मैले नै सुरु गरेको हुँ ।’ समाजमा चिनिएका अनेक पात्रहरूलाई उनले त्यस्तो चित्रशैलीमा ढाले । जनक शिक्षासँगको यात्रा २०३५ सालमा टुंगिएपछि पर्यटन विभाग उनको नयाँ मुकाम बन्यो । नयाँ अड्डामा गएपछि नेपालको पर्यटन क्षेत्रका प्रचार सामग्रीहरूको उत्पादनमा उनले तरक्की नै ल्याए र त्यस क्षेत्रमा जग राख्ने कामसमेत उनले नै गरे । तर, २०५३ सालमा पर्यटन बोर्ड गठन हुँदा कार्यकारी–प्रमुखका लागि उनको प्रबल सम्भावना रहे पनि र उनको कार्यदक्षतालाई हेरेर सो पद उनलाई नै दिनुपर्ने देखिए पनि राजनीतिक पहुँच र खिचातानीमा कमजोर रहेका उनी पछि परे । तेस्रो नम्बरमा रहेको पात्रलाई कार्यकारी–प्रमुख बनाएपछि उनले जागिरे जीवनबाट हात हल्लाए र सिर्जना कर्ममा नै आफूलाई उभ्याए ।
कला सिर्जना, कलासम्बन्धी रचना र प्राध्यापनसमेतमा संलग्न चित्रकारले करिब साढे चार दशकअगावै पहिलोपटक कला प्रदर्शनी गरेका थिए । २०३२ सालमा कला प्रदर्शनी गर्दा उनले राखेका थिए– २१ थान चित्र । ‘स्तुपाज’ शीर्षकको चित्र सबैभन्दा महँगो थियो, ४ सय । र, २ सयको ‘गोरखा प्यालेस’ शीर्षकको चित्रचाहिँ कम मूल्यको थियो । उनी सम्झिन्छन्, ‘मैले पहिलो प्रदर्शनीमा राखेका चित्रहरू सबै बिक्री भए । ती चित्रहरूले नपुगेर घरमा थन्काएर राखेका चित्रहरू पनि बेच्नुप¥यो । मैले चित्र बेचेको देखेपछि अरू कलाकारहरू पनि चकित परे ।’
पछिल्लोपटक सन् २००८ मा चित्रकला प्रदर्शनी गर्दा एउटा चित्रको मूल्य उनले ८० हजार राखेका थिए । तर, उनी आफ्ना सबै सिर्जना बिक्रीका लागि छुट्ट्याउँदैनन् । भन्छन्, ‘भोलिको पुस्तालाई पनि हामीले आफ्नो कला देखाउनुपर्छ । मेरा पिताले सिर्जना गर्नुभएका चित्रहरू आजसम्म पनि छन् भने मैले किन बेच्नुप¥यो ?’
सत्तरी हिउँद–वर्षा खपिसकेका चित्रकारको अबको योजना के छ त ? उनी निर्धक्क भन्छन्, ‘म अब भने नेपाली संस्कृतिमा आधारित शृंखलाबद्ध चित्रहरू बनाउनेतिर लाग्नेछु । आफ्नो कलामार्फत नेपालीपन दिने प्रयत्न गर्नेछु ।’ नेपाली कलालाई पछिल्लो समय विसंगतिले गाँज्दै लगेकोमा चिन्तित उनको आगामी योजना सार्थक हुनेमा विश्वस्त हुन सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा