24th June 2019, Monday

तिखारिएको सिर्जना



तिखारिएको सिर्जना

हरेक मानिसमा देश–प्रेमको भावना सल्बलाउनुपर्छ । देशलाई प्रेम गर्नुको अर्थ हो– आफ्नो भूगोल, आफन्तजन र परिवेशलाई माया गर्नु । हुन पनि हामीकहाँ देश–प्रेमको भावनाले भरिपूर्ण सिर्जना बारम्बार हुँदै आएका छन् । अग्रजदेखि नितान्त नयाँ सर्जकहरूले देशको माटोलाई शीरमा राखी आफ्नो सिर्जनाको संसारमा सजाउँदै आएका छन् । त्यही लहरमा स्रष्टा हरि खनाल ‘हरे’को नाम लिनु सान्दर्भिक देखिन्छ ।

गीजल नाम दिइएको उनको नवीन कृति ‘अन्तर्नाद’ मा राष्ट्र–प्रेम र सन्दर्भहरूले भरिभराउ सिर्जनाहरू रहेका छन् । राष्ट्रियताले ओतप्रोत उनका शब्दहरू वीरता, बलिदान र सौर्यले भरिपूर्ण नेपालीको प्रशंसामा खर्च भएका छन् । उनी लेख्छन्, ‘वीरहरूको रगतको यै हो निशानी÷यसैसँग राष्ट्र जन्म्यो भयो बिहानी÷काँगडा र टिष्टासँग वीरताको तान÷हाम्रो झन्डा गाउँछ गीत जय स्वाभिमान ।’
कुनै पनि राष्ट्रको निर्माण जातिहरूको अहं भूमिका छिपेको हुन्छ । नेपालको निर्माणमा पनि विभिन्न जाति, समुदायको विशिष्ट योगदान रह्यो । राष्ट्रको निर्माण मात्र होइन, राष्ट्रलाई बचाउनसमेत विभिन्न समयमा विभिन्न समुदायका वीरहरूले योगदान अर्पण गरे । आज देशको अस्तित्व कायम रहिरहनुमा पुर्खाहरूको वीरतापूर्ण योगदानले नै उल्लेख्य भूमिका खेलेको पक्षलाई कुनै पनि कोणबाट नकार्न मिल्दैन । यही पक्षलाई दृष्टिगत गर्दै उनी नेपालको सौन्दर्यलाई यसरी व्यक्त गर्न चाहन्छन्, ‘जहाँ पहाड हाँस्छन्, चाँदीको बर्को ओढी÷नौरंगी डाँफे गाउँछन्, हिमाल–तराई जोडी÷त्यहाँ छ मेची, काली, गाउँबेंसी, पधेँरो÷सयौं थरिका फूल, नेपाल देश मेरो ।’
निःसन्देह, बहुसंख्यक नेपाली जाति, समुदाय, क्षेत्र र दलभन्दा माथि उठ्न सकेका छैनन् । अझ, प्रायजसो राजनीतिककर्मीहरू त जातीयता, क्षेत्रीयवादको संकीर्ण घेरामा नै बाँधिएका छन् । तर, स्रष्टा खनाल भने जाति, क्षेत्र, दलभन्दा माथि उठ्न सबैलाई आह्वान गर्न चाहन्छन् । उनको आह्वानले सार्थक दिशा समात्ला वा नसमात्ला ? तर, उनी आफ्नो भावनालाई भने यसरी पोख्छन्, ‘सत्य, सत्य यौटा कुरा बुझौं साथी हो÷जाति, क्षेत्र, दलभन्दा देशै माथि हो÷बुझौं साथी हो, देशै माथि हो ।’
कुनै पनि देश आफ्नै मौलिक संस्कृतिको जगमा झिल्मिलाएको हुन्छ । संस्कृतिको विनाश हुँदै जाँदा सबै पहिचान मेटिँदै जानु स्वाभाविकै हो । हामीले वर्षौंदेखि पहिल्याउँदै आएका सांस्कृतिक पहिचानलाई जोगाएर लैजान सक्यौं भने नै हाम्रो अस्तित्व कायम रहन्छ भन्नेमा उनको जोड छ । लेख्छन्, ‘चित्र हेर्ने बेला भयो, गुनियाँ र चोली÷दौरा सुरुवाल एकादेशको कथा बन्छ भोलि÷ठूला मान्छे बन्ने भा’छौं, परिचय फाली÷झरे सारा फूलहरू, रित्तो भयो डाली ।’ उनी सारंगीको धुन सुनिन छाडेकोमा पनि उत्तिकै व्यथित देखिन्छन् । नेपालको मौलिक संस्कृति र परम्परालाई बचाइराख्ने अवयवहरू बिस्तारै मर्दै गएकोप्रति उनको चिन्ता आफ्नो सिर्जना पोखिएको पाइन्छ ।
देश–प्रेममा मात्र उनका सिर्जनाहरू समर्पित छैनन्, अन्तर्राष्ट्रिय तनाव र द्वन्द्वहरू पनि उनको सिर्जनाको क्षितिजमा टाँगिएका छन् । खासगरी, महाशक्ति राष्ट्रहरूले आतंकवादको नाममा सार्वभौमिक राष्ट्रहरूमाथि धावा बोल्ने कार्यप्रति उनमा व्यापक क्षोभ छ । शक्तिशाली राष्ट्रहरूले कमजोर राष्ट्रहरूलाई जे गर्दा पनि हुन्छ भन्ने भावना मौजुद छ । तर, उनी त्यसको विरोधमा छन्, ‘यो संसार बनाएको तिमीले त हैन÷विनाश गर्ने हक पनि बुझ तिम्रो छैन÷तिम्रो गोली मार्छ मान्छे, लान्छ अकाल÷शक्तिसँग क्रोध हैन, शान्ति बसाल ।’
उनको सिर्जनाको संसार देश–प्रेम र संस्कृति, परम्पराप्रतिको अपार मोहमा मात्र सीमित छैन, यथार्थ प्रेमको परिधिमा पनि उभिएका छन् । शारीरिक आकर्षणले पैदा गराउने प्रेम नभई प्रतिबद्ध प्रेममा समर्पित छन्, उनका सिर्जनाहरू । लेख्छन्, ‘बादल हेरेर के रुनु ? हेरेर जून हाँसौंला÷इन्द्रेनी फूल टिपेर प्रेमको माला गाँसौंला ।’
उनले कृतिको पहिलो खण्डमा गीतहरू पस्किएका छन् भने दोस्रो खण्डमा भने गजललाई राखेका छन् । कतिपय स्रष्टाहरूको गजललाई हेर्ने दृष्टिकोण नकारात्मक भए पनि उनले भने गजल लेखनमार्फत पनि आफ्नो लेखकीय चिनारी पस्किन चाहेका छन् । र, उनले गजल लेखनमा शृंगारिक छन्दलाई नै प्राथमिकता राख्न रुचि देखाएका छन् । लेख्छन्, ‘सम्झेर तिम्रो बोली, पिएँ अलिकति÷भेटें सहारा कोही, जिएँ अलिकति ।’
अतः उनको गीत र गजल लेखन दुवै तिखारिएको प्रतीत हुन्छ । उनले आफ्नो सिर्जन–कर्मलाई निरन्तरता दिँदै गए नेपाली काव्य जगत्मा दह्रो उपस्थिति देखाउने निश्चितप्रायः छ ।
कृति ः अन्तर्नाद
विधा ः गीत÷गजल
कवि ः हरि खनाल ‘हरे’
प्रकाशक ः भुँडीपुराण प्रकाशन
पृष्ठ ः १४०
मूल्य ः २००।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा प्याकेज छलफल अनिश्चित

ShareTweet काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले एकीकरणको बाँकी काम धकेलिँदै जाँदा नेकपाभित्र गुनासो र असन्तुष्टि चुलिँदै गएको छ । पार्टीभित्रको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

मसिना अक्षर, खँदिलो लेखन

ShareTweet अक्षर र लेखन मनोविज्ञानबारे मलाई खासै जानकारी छैन । राम्रा अक्षर हुनेहरूलाई परीक्षामा राम्रो अंक प्राप्त हुने कुराचाहिँ सर्वसिद्ध छ । अक्षर सिकाइका क्रममा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वीरेन्द्रको प्रशस्ती

ShareTweet राजदरबारमा शाही पाश्र्ववर्तीका रूपमा १७ वर्ष बिताएका सुन्दरप्रताप रानाले रहस्यमयी दरबार हत्याकाण्ड भएको १८ वर्षपछि दरबारको दुःखान्त नामक पुस्तक बाहिर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा