16th January 2019, Wednesday

E-budhabar

पश्चगामी सोच



केही दिनयता नेपाली कांग्रेसको महासमितिको बैठक जारी छ । कांग्रेसभित्र ‘मिनी महाधिवेशन’को रूपमा हेरिने महासमिति बैठकबाट कांग्रेसले गति पक्रिने अपेक्षा पार्टी–पंक्तिभित्र गर्न थालिएको छ । प्रदेश र संघीय संसद्को निर्वाचनपछि अपेक्षाकृत रूपमा सुस्ताउँदै गरेको कांग्रेसलाई महासमिति बैठकले ऊर्जा दिलाउने विश्वास पनि राजधानीमा भेला भएका प्रतिनिधिहरूले लिएका छन् । राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएको कांग्रेस सुस्त र अन्योलग्रस्त देखिएको पृष्ठभूमिमा महासमिति बैठकले नयाँ ऊर्जा र जोश भिœयाउला वा आन्तरिक कलहले झनै थिल्थिलो बन्दै जाला ? यो प्रश्नको जवाफ भविष्यलाई नै छाडिदिनु उपयुक्त होला ।
नेपाली कांग्रेस तंग्रेला त ? अहिले यस्तो प्रश्न नेपाली राजनीतिक वृत्तमा व्यापक रूपमा उठ्न थालेको छ । सोझो हिसाबमा भन्नुपर्दा कुनै पनि राजनीतिक शक्ति तंग्रिने वा नतंग्रिने भन्ने प्रश्न उसले लिएको नीति र रणनीतिमा निर्भर हुन्छ । जनअनुकूल र अपेक्षामा आधारित राजनीति गर्ने शक्तिहरू जनताबीच स्थापित भइरहेकै छन्÷हुन्छन् । जनअपेक्षालाई लत्याएर हिँड्ने राजनीतिक शक्तिले राजनीतिमा स्थापित हुने सोच राख्नु वस्तुसंगत देखिँदैन । तर, कांग्रेस भने बदलिँदो राजनीतिक परिस्थितिमा आफूलाई अग्रगति र दिशा समात्ने कार्यमा भने चुक्दै गइरहेको थियो । र, कांग्रेसले पछिल्ला निर्वाचनमा पराजयको भारी बोक्नुको पछाडि तिनै कारणहरू दह्रो ढंगले उभिएकोमा दुईमत देखिँदैन ।
त्यसो त प्रदेश र संघीय संसद्को निर्वाचनमा जनताबाट तिरस्कृत कांग्रेसले अझै पनि पराजयको पीडा भुल्न सकिरहेको छैन । निर्वाचन भएको एक वर्ष बितिसक्दा पनि पराजयको घाउ कोट्याउन नै कांग्रेसजनहरू व्यस्त देखिन्छन् । पीडाबाट माथि उठ्न नसकिरहेको परिप्रेक्ष्यमा कांग्रेसको महासमितिको बैठकले नेता–कार्यकर्ताहरूलाई केही ऊर्जा दिलाउने अपेक्षा राख्न सकिन्छ । तर, अबका दिनमा कांग्रेसले आफूलाई कसरी बदल्छ ? कस्ता नीति र रणनीति अपनाएर अगाडि बढ्छ ? यिनै आधारमा नै कांग्रेस राष्ट्रिय राजनीतिमा जम्ने वा नजम्ने कुराको निक्र्योल हुन्छ ।
नेपाली कांग्रेसको चालू महासमिति बैठकमा धर्मनिरपेक्षताको प्रश्न पनि उठ्न पुगेको छ । कांग्रेसका केही नेताले धर्मनिरपेक्षताको विरोध जनाउँदै संविधानबाट त्यसलाई हटाउनुपर्नेजस्ता तर्क अघि सारेका छन् । कांग्रेसभित्र एउटा पंक्ति पहिलादेखि नै धर्मनिरपेक्षताको विपक्षमा थियो र त्यसको नेतृत्व महामन्त्री शशांक कोइराला स्वयंले गर्दै आएका छन् । कांग्रेसभित्रको एउटा पंक्ति हिन्दू धर्मको पक्षमा उभिँदै आएका छन् । मुलुकलाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग उक्त पंक्तिले पहिलादेखि नै उठाउँदै आएको हो र महासमिति बैठकमा त्यो विषयलाई बहसका निम्ति छिराएका छन् । तर, कांग्रेसभित्रकै संस्थापन पक्ष भने धर्मनिरपेक्षताको साटो धार्मिक स्वतन्त्रताको पक्षमा उभिएका छन् ।
हिन्दू राष्ट्र कायम गर्ने वा धार्मिक स्वतन्त्रताको पक्षमा उभिनेजस्ता विषयहरू कांग्रेसभित्र उठ्नुले अब नेपाली कांग्रेस धार्मिक आवरणमा धर्मको मुद्दालाई अघि सारेर राजनीतिक लाभ लिन चाहन्छन् भन्ने कुराको दह्रो पुष्टि गर्दछ । धार्मिक मुद्दालाई ब्युँताउनुको आशय अब कांग्रेससँग राजनीतिक मुद्दाहरू शून्य छन् भन्ने प्रमाण पनि हो । हिन्दू राष्ट्र वा धार्मिक स्वतन्त्रताको आडमा अबको राजनीतिलाई केन्द्रित गर्ने मनशायस्वरूप कांग्रेसभित्र यो विषयले प्रवेश पाएको स्पष्टै देखिन्छ । बहुसंख्यक जनता हिन्दू धर्मप्रति आस्था राख्ने भएको हुँदा अबका दिनमा धार्मिक कार्ड प्रयोग गरेर नेपाली राजनीतिमा जम्ने कांग्रेसको बाटो कति फलदायी होला ? त्यो त भविष्यले नै बताउँछ । तर, महासमिति बैठकमा धर्मको विषयलाई बहसका रूपमा भिœयाउनु भनेको कांग्रेसीजन पश्चगामी सोच र चिन्तनबाट अझै मुक्त हुन सकिरहेका छैनन् भन्ने दह्रो उदाहरण पनि हो ।
कुनै पनि राजनीतिक शक्ति÷समूह हिन्दू राष्ट्र वा धार्मिक स्वतन्त्रताको पक्षमा उभिन्छन् भने विगतका उपलब्धिहरूलाई उपेक्षा गर्नुसरह हो । २०७२ को संविधानले धर्मनिरपेक्षतालाई अपनाउनुको पछाडि लामो र संघर्षशील इतिहास जोडिएको तथ्यलाई कसैले पनि बंग्याउन सक्दैनन् । मुलुकले धर्मनिरपेक्षता अपनाउनुमा २०६२÷६२ को जनआन्दोलन, राजतन्त्रको बिदाइ, गणतन्त्रको स्थापना, संविधानसभाको निर्वाचनजस्ता ऐतिहासिक तस्बिरहरू जोडिएका छन् । तिनै विभिन्न तस्बिरको कोलाजमा नै धर्मनिरपेक्षता अटाएको हो । तर, संविधानमा उल्लेख धर्मनिरपेक्षताबाट फेरि हिन्दू धर्म वा धार्मिक स्वतन्त्रताजस्ता विषयहरूमा फर्किनु भनेको पश्चगामी सोचको उत्कृष्ट उदाहरण हो । यो विषयलाई बहसका रूपमा ल्याउनु मुलुकले प्राप्त गरेको राजनीतिक उपलब्धिहरूमाथि घन प्रहार गर्नुजस्तै हो । कांग्रेसका नेता–कार्यकर्ताहरूले आफूलाई पश्चगामी सोच र चिन्तनबाट टाढै राख्न सके भने राष्ट्रिय राजनीतिमा जम्ने अनेक आधारहरू प्राप्त हुन्छन् । होइन भने भीरमा जाने गाईलाई राम–राम भन्नुको विकल्प देखिँदैन ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

आगलागीमा कर्मचारीकै लापरबाही

ShareTweet काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण त्रिशूली जलविद्युत् आयोजनाको विद्युत् गृहमा एक वर्षमै तीनपटक आगलागी हुन पुगेको छ । तर, पटकपटक आगलागी भएर भौतिक क्षति- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नायक कि खलनायक ?

ShareTweet ‘इतिहास एक संवाद हो,’ आर्थर मारविकले भनेका थिए । तर, अब इतिहास संवादमा मात्र सीमित छैन । संवाद, विवाद, अन्तर–आवाजहरूका घेरा नाघिसकेको छ इतिहासले । केही दिनपूर्व- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कृषिवनको उपयोगिता

ShareTweet जनसंख्या वृद्धिसँगै परिवार टुक्रिने क्रम बढ्दो छ । परिवार टुक्रिएसँगै जग्गा–जमिनहरू खण्डीकृत हुने क्रम पनि उत्तिकै तन्किँदो छ । एकातिर जमिनको खण्डीकरणसँगै- ...
पूरा पढ्नुहोस्

छोटकरीमा