16th January 2019, Wednesday

E-budhabar

सिर्जनात्मक आन्दोलनको गति र दिशा



लेखनको उद्देश्य
लेखनकर्म सामाजिक उत्तरदायित्वबोधसँग गाँसिन्छ । लेखक सधैं समाज र समयसँग वैचारिक संवादमा हुन्छ । उसले सम्बोधन गर्नुपर्ने कुरा पाठकको संवेदना नै हो । आफूले आर्जन गरेको ज्ञान र अनुभव जम्मामा समाजबाट सापटी लिइएको पुँजी हो, जो समाजलाई फिर्ता गर्नुपर्ने हुन्छ– नयाँ दृष्टि र शिल्पले सिँगारेर । वैयक्तिक अनुभूतिलाई आममानिससँग÷पाठकसँग साट्न सक्ने खुबीले नै उसको व्यक्तित्वको आयाम उज्यालिन्छ । विचारको निर्मिति पनि हो लेखनकर्म । अझ समाज बदल्ने कुरा, सांस्कृतिक रूपान्तरणको प्रश्नमा लेखकले पाठकसामु आफूलाई कुन कोणबाट कसरी उभ्याउँछ– विश्वदृष्टिकोण यहीँबाट स्पष्ट हुन्छ । मान्छेले पछ्याइरहेको रूढ चिन्तनमाथि आत्मसमीक्षार्थ उत्प्रेरित गर्न सक्ने लेखकीय सामथ्र्य प्रगतिशील लेखनको न्यूनतम सर्त हो । नेपाली सन्दर्भमा हेरौं ः हिजो कुलीनतन्त्री राणाहरूको जगजगीमा शुक्रराज, कृष्णलाल वा चित्तघर हृदयहरूले प्रतीकात्मक रूपमा वैचारिक भाष्यको खोजी गरे । राजाको श्रीपेचलाई रक्षाकवच बनाएर सामन्तवाद सर्वत्र जीवित राख्ने राजनीतिक षड्यन्त्रविरुद्ध पञ्चायतकालभरि स्रष्टाहरू आन्दोलित रहे । उनीहरूले सिर्जनाकर्मलाई संगठनसँग जोडे । यसको मियो थियो– प्रगतिशील लेखक संघ ।
ऐतिहासिकी
श्यामप्रसाद शर्माले जीवनभरि लेखे– जनसाधारणको बोली–लवज, सामान्य भाषा, तार्किकता र स्पष्ट वैचारिक अडानले उनको होचो कद अग्लो बन्यो । युद्धप्रसाद मिश्रले छन्दवाणीमा जीवनको पक्षमा क्रान्तिको गीत गाए । परिवर्तन र समतामूलक समाज उनको स्वप्न थियो । यसका लागि जीवनभरि उनले जोखिम मोले र आज उनी पाठक हृदयमा जीवित छन् । गोकुल जोशीले घरघर दैलोदैलो चहारेर सामान्यजनको परिवर्तनकामी इच्छाको धड्कन छामे । उनीहरूको पीडामा चेतनाको स्वर थपे र उनी सम्झनायोग्य कवि बिम्ब बने । केवलपुरे किसानले सबैले बुझ्ने चोटिलो भाषामा निरंकुश राजनीतिक षड्यन्त्रविरुद्ध गीत र कविताका माध्यमबाट जनसाधारणलाई जागृत तुल्याउने स्तुत्य प्रयास गरे । उनी सिर्जनाका नायक बने । जनक हुमागाईं साना बालहृदय–मस्तिष्कमा प्रगतिशील सांस्कृतिक चेतनाको बीज हुर्काउन चाहन्थे, अगुवा सर्जकहरूको गुणग्राही व्याख्याता बनेर उनी जीवित छन्– प्रगतिशील पाठक मञ्चमा । सत्तासँगको आस्थाको लडाइँमा कृष्णसेन इच्छुकहरूले बन्दुकको मोहरासँग वैचारिक आस्था साटफेर गर्न चाहेनन् । बरु, जीवनको बदला मुक्तिचेतनाको बीज साट्न चाहे र बलिदानको बाटो रोजे । यसरी समृद्ध बनेको छ, प्रगतिशील साहित्यिक आन्दोलनको इतिहास ।
३. वर्तमान परिदृश्य
मुलुकको अनुहार बदलिएको पक्कै हो । देशसँग उज्यालोको आकांक्षा छ गाउँ बस्तीलाई बाँडन । जनादेशले यसै भन्छ– परिवर्तनको एजेन्डामा यो सत्ताले जति इतिहासमै सायदै अरूले सम्बोधन गर्न सक्ला । सत्तामा, सडकमा पनि परिवर्तनकामी स्वरहरूको पहुँच छ । विडम्बना राजतन्त्र रछ्यानमा ढल्यो तर गणतन्त्रको मन्दिर ठडिँदै छ । घाउ त यथावत् छ अन्तर्यमा । देखिन्छ– सत्तामा भीमकाय पार्टीको रजगज, यता छ कार्यकर्ताहरूको गुटगत हाहाहुहु । तिनले हुर्काइरहेका छन् सामन्ती संस्कारको मठमन्दिर । देखिएकै हो– राजतन्त्र रहेन तर टीका–पर्वहरूमा राजा र रैतीको संस्कार जीवितै रहेछ । गलाभरिको मालाको चाङले मालिक र दासको भेद छुट्टिने चाकरी प्रथा यथावत् छ । जो छन् सत्ताको धुरीमा तिनको सेलिबे्रटी बन्ने होडले नयाँनयाँ कीर्तिमान थपिँदै छ । नयाँनयाँ धार्मिक अवतार यहीँ प्रकट हुन थालेका छन् बेलाबेलामा । मुलुकले धान्न नसक्ने आयातीत उपदेशहरूको प्रक्षेपण गरिँदै छ– यही भूमिमा । यस्तै बेला हो– रूपान्तरणको एजेन्डा बलशाली बन्नुपर्ने । अवचेतनमा जेजति सामन्तवादी संस्कारको जड छ तिनमाथि प्रहारको निसाना बनाउन सिर्जनात्मक आन्दोलनको आवश्यकता छ– यस्तो बेला प्रतिबद्ध लेखकको मञ्च वा साझा संगठनको आवश्यकता झन् टड्कारो बन्न पुगेको छ ।
सांगठनिक चुनौती
लेख्दा के लेख्ने ? कसका लागि लेख्ने ? किन लेख्ने ? यी प्रश्नहरूमा प्रतिबद्ध लेखनको उत्तर निहित छ । संगठन किन चाहियो ? कसका लागि चाहियो ? यी प्रश्नमा विश्व दृष्टिकोणको उत्तर निहित छ । संगठनलाई कस्तो बनाउने, कसरी चलाउने भन्ने प्रश्न विचारधारासँग सम्बन्धित छन् । एकथरी लेखक छन्, जो प्रश्नै मात्र उठाउँछन्, शंकै मात्र तेस्र्याउँछन् र तिनैमाथि समाजले प्रश्न उठाएको, शंका गरेको कुराबाट बेखबर छन् । ती लेखक– जो सिर्जनामा घोर माक्र्सवादी देखिन्छन्, व्यवहारमा घोर आदर्शवादी पनि छन् । एकथरीको लेखनमा वैयक्तिक कुण्ठाको भकारी हुन्छ, गालीशास्त्रको भण्डार हुन्छ । अर्कोथरीको लेखनमा भजनकीर्तनको समवेत स्वर गुन्जन्छ । तिनमा सत्ता रागको तृष्णाको स्वादे जिब्रोको तर्कशास्त्र हुन्छ । एकथरी छन् आवरणमा माक्र्सवादी सिर्जनामा अराजकतावादी । तिनलाई सांगठनिक ह्विप, अनुशासनको बन्धनकारी नियम स्वीकार्य छैन । ती संगठनको विधान र प्रस्तावनाभन्दामाथि रहेर पदीय मर्यादा बिर्सन्छन् र उछितो काट्न व्यस्त छन् संगठनकै विरुद्ध । यतिबेला रूपमा प्रगतिशील÷प्रगतिवादी सारमा अराजकतावाद प्रगतिशील लेखनको सांगठनिक जीवनको चुनौती बन्न पुगेको छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

आगलागीमा कर्मचारीकै लापरबाही

ShareTweet काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण त्रिशूली जलविद्युत् आयोजनाको विद्युत् गृहमा एक वर्षमै तीनपटक आगलागी हुन पुगेको छ । तर, पटकपटक आगलागी भएर भौतिक क्षति- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नायक कि खलनायक ?

ShareTweet ‘इतिहास एक संवाद हो,’ आर्थर मारविकले भनेका थिए । तर, अब इतिहास संवादमा मात्र सीमित छैन । संवाद, विवाद, अन्तर–आवाजहरूका घेरा नाघिसकेको छ इतिहासले । केही दिनपूर्व- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कृषिवनको उपयोगिता

ShareTweet जनसंख्या वृद्धिसँगै परिवार टुक्रिने क्रम बढ्दो छ । परिवार टुक्रिएसँगै जग्गा–जमिनहरू खण्डीकृत हुने क्रम पनि उत्तिकै तन्किँदो छ । एकातिर जमिनको खण्डीकरणसँगै- ...
पूरा पढ्नुहोस्

छोटकरीमा