18th September 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

ओठे जवाफ दिएर पार्टी गतिशील हुन्छ ?



ओठे जवाफ दिएर पार्टी गतिशील हुन्छ ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का करिब ७ लाख पार्टी सदस्यहरू तथा लाखौं समर्थक र शुभचिन्तकहरूमा सरकारको गतिहीनता र पार्टीमा संगठनात्मक शून्यताका कारण कुण्ठा, निराशा र हतोत्साह देखा पर्न थालेको छ । गत निर्वाचनपछि आज एक वर्षसम्म पार्टी सदस्यहरूले कुनै गतिविधि गर्न नपाउनु पार्टी एकीकरण पछि सात महिनासम्म संगठित हुन नपाउनु, आफ्नै पार्टी अध्यक्षको नेतृत्वमा रहेको सरकारका कामकारबाहीमा भाग लिन नपाउनु, पार्टी एकीकरणजस्ता यति ठूल्ठूला परिवर्तनमा आफ्ना विचार राख्न नपाउनु र तमाम घटनाहरूमा पार्टीका दृष्टिकोणहरू आधिकारिक रूपले प्राप्त गर्न नसक्नु तथा पार्टी सदस्यता दिने, नवीकरण गर्नेजस्ता अत्यावश्यक संगठनात्मक कामहरू ठप्प हुनुका कारणहरू सिंगो पार्टीपंक्तिले बुझ्न चाहेको छ । तर, पार्टीको मुख्य नेतृत्व कार्यकर्ताहरूलाई ओठे जवाफ दिएर चुप लगाउने कोसिस गर्दै छ ।
कम्युनिस्ट पार्टी सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वका आधारमा चल्ने राजनीतिक पार्टी हो । जहाँ यो मान्यता भंग हुन्छ र पार्टीमा कुनै खास नेताको व्यक्तिगत नेतृत्वमा पार्टी सञ्चालन हुने प्रक्रिया आरम्भ हुन्छ त्यहाँ असफलता मात्र हात परेको इतिहास साक्षी छ । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा यही सामुहिक नेतृत्व प्रणाली स्थापित हुन सकेको छैन । आलोचना र आत्मालोचना कम्युनिस्ट पार्टीको जीवन हुन्छ त्यही जीवन यो पार्टीमा विकसित हुनै सकेको छैन । कम्युनिस्ट पार्टीको जीवनशक्ति आफ्नो संगठनमा हुन्छ त्यही संगठन आज यो पार्टीमा निर्माण नै हुन सकेको छैन । भएका संगठनहरू भंग गरिएको छ । कुनै गतिविधि नगर्न निर्देशन गरिएको छ । निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी दर्ता भएको छ । साँच्चै भन्ने हो भने त्यो केन्द्रीय कमिटी अहिलेसम्म परिचालित नै छैन । पार्टीमा केन्द्रीय कमिटी दुई महाधिवेशनका बीच सर्वोच्च संस्था हुन्छ । आयोगमा दर्ता भएको यो केन्द्रीय कमिटीले आफूलाई दर्ता गर्नेबाहेक अरू कुनै निर्णय गर्न पाएको छैन । स्थायी कमिटी र केन्द्रीय सचिवालय केन्द्रीय कमिटीले निर्णय गरेको होइन, अनुमोदन गरेको हो । पार्टीको केन्द्रीय कमिटी कार्यकारी संस्था हो । यसले निर्णय गर्छ र आफैं कार्यान्वयन गर्छ । तर, पार्टीको सर्वोच्च संस्थाको रूपमा रहेको केन्द्रीय कमिटीका सदस्यहरूमध्ये तीनजनाबाहेक ४ सय ३८ जना केन्द्रीय कमिटीका सदस्यहरूले सात महिनासम्म कामको कुनै कार्यक्षेत्र प्राप्त गरेका छैनन् । सदस्यहरूले कार्यक्षेत्र प्राप्त नगरेको अवस्थामा रहेको पार्टी कमिटीले वास्तविक कमिटीको हैसियत नै प्राप्त गर्न सक्दैन ।

कम्युनिस्ट पार्टीमा व्यक्तिगत रूपमा कार्यक्षेत्र तोक्नुनपर्ने संस्थाहरू पनि हुन्छन् । तिनलाई महाधिवेशन, अधिवेशन, परिषद्, सम्मेलन र भेला आदि भनिन्छ । यिनलाई विभिन्न नाममा सभा भन्ने पनि चलन छ । यीसंस्थाहरूले कमिटीहरूलाई सल्लाह, सुझाव र मार्गदर्शन दिन्छन् । कमिटीहरूले निर्णय गर्छन् र आफैं कार्यान्वयन गर्छन्, उपर्युक्त संस्थाहरूले निर्णय गरे पनि कार्यान्वयनका लागि अरूलार्ई जिम्मा दिन्छन् यही नै पार्टी, संस्था÷सभा र कमिटीबीचको भिन्नता हुन्छ । अहिले नेकपामा केन्द्रीय कमिटीभन्दा तल कुनै कमिटी अस्तित्वमा छैनन् । देशैभरि नेता र कार्यकर्ता तथा साधारण र संगठीत सदस्यहरू रहेका छन् । तर उनीहरू सात महिनादेखि संगठित छैनन् र कुनै किसिमको पार्टी काम पनि गर्न पाएका छैनन् । के यस्तो पनि कम्युनिस्ट पार्टी हुन सक्छ ? तर, अहिले नेकपाले देशको सबभन्दा ठूलो शक्तिशाली कम्युनिस्ट पार्टीको मान पाएको छ तर यसले ७ लाखभन्दा धेरै सदस्यहरूलाई संगठित नगरेर अलपत्र पारेको छ । वास्तविकता के हो भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकृत र संगठित भएकै छैन ।
पार्टी र सरकारमा भएका उपरोक्त क्रियाकलाप र गतिविधिले के प्रस्ट पार्छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सर्वत्र व्यक्तिवादी कार्यशैली लागू गरिएको छ । व्यक्तिवादी कार्यशैली सच्चा कम्युनिस्ट पार्टीले स्वीकार गर्न सक्दैन । पार्टी सदस्यहरूमा सैद्धान्तिक र राजनीतिक गतिशीलता अहिले शून्यप्राय छ । यसप्रति नेतृत्वको कुनै जिम्मेवारीबोध देखिन्न । पार्टी अध्यक्षहरू कार्यकर्तालाई जाग्न, उठ्न र दौडन आह्वान गर्नुहुन्छ तर न कोही जाग्छ, न कोही उठ्छ र न त कोही दौडिन्छ । यसका निम्ति अरू व्यक्तितिर दोष फालिन्छ तर आफूभित्र रहेकै व्यक्तिवादी कार्यशैलीतर्फ ध्यान दिने आवश्यकता ठानिन्न । आज पार्टीले सरकार चलाएको छ कि सरकारले पार्टी चलाएको छ, बुद्धिजीवीहरूले प्रश्न गर्न थालेका छन् । दुःखका साथ भन्नुपर्छ पार्टीले सरकार त चलाएकै छैन, सरकारले पार्टी चलाउने कुरै आउँदैन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वथा नयाँ पार्टी होइन । नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधिका रूपमा २००६ वैशाख १० गते निर्माण भएको नेपाल कम्युनिस्ट पार्टीको निरन्तरताका रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुनर्गठन भएको हो । कम्युनिस्ट पार्टी निर्माण र सञ्चालनका आफ्नै सैद्धान्तिक मार्गदर्शन, मूल्य र मान्यताहरू छन् । नेपालमा मात्र कम्युनिस्ट पार्टीको उदय भएको होइन । संसारका धेरै देशमा कम्युनिस्ट पार्टी क्रियाशील छन् । कम्युनिस्ट पार्टीका सिद्धान्त, मूल्य–मान्यता र आदर्श परित्याग गर्ने हो भने त्यो पार्टी अरू कुनै भए पनि कम्युनिस्ट पार्टी हुन सक्दैन । कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद हो । यसको संगठनात्मक मार्गदर्शक सिद्धान्त जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्त हो । लेनिनवादी संगठनात्मक सिद्धान्तअनुसार कुनै पनि पार्टी सदस्य असंगठित रहन सक्दैन । पार्टी कमिटीमा संगठित नभएको व्यक्तिलाई माक्र्सवादी साहित्यमा पण्डित नै भए पनि कम्युनिस्ट मानिँदैन । सर्वहारा श्रमजीवी वर्गको मुक्ति र समृद्धि संगठित शक्तिका आधारमा मात्र प्राप्त गर्न सकिन्छ । वर्ग संघर्ष समाजमा वर्गको उत्पत्ति भएदेखि आजसम्म चलेकै छ । तर, माक्र्सवाद र लेनिनवादको उदयपछि मात्र सर्वहारा श्रमजीवी वर्गको मुक्ति र समृद्धिका प्रयत्नहरूमा सफलता प्राप्त हुँदै आएको छ । वर्गहरूको उदय आदिम मातृप्रधान समाजको अन्त्य पछि भएको हो । समयको हिसाबले भन्ने हो भने १० हजार वर्षभन्दा पहिले नै मातृप्रधान समाजको अन्त्य भएको हो । तर सर्वहारा श्रमजीवी वर्गको मुक्ति र समृद्धिको संघर्षको सुरुवात १ सय ८१ वर्ष मात्र भएको छ । पहिलेका वर्ग संघर्षहरूले धेरै असफलता प्राप्त गरेका भए पनि शासकवर्गलाई राज्यव्यवस्थामा महŒवपूर्ण सुधारसम्म गर्न बाध्य गरेका थिए । तर, १ सय ८१ वर्षपहिले सुरु भएको आधुनिक सर्वहारा श्रमजीवी वर्गको संघर्षले समाजलाई अत्यन्त उन्नत अवस्थामा लैजान युगीन महŒवका सफलताहरू प्राप्त गरेका छन् । आज मानवजाति यिनै सर्वहारा श्रमजीवी वर्गका संघर्षका कारण समाजवादसम्म पुगेको छ । चीन, भियतनाम, क्युबा, उत्तर कोरिया, लाओसमा समाजवाद विकसित भइरहेको छ । संसारका धेरै देशमा कम्युनिस्ट पार्टीहरू पुनर्गठित भइरहेका छन् । आजसम्मका यिनै संघर्षहरूले पुँजीवादी साम्राज्यवादलाई समाजवादले अगाडि सारेका कतिपय जनपक्षीय सुधारहरू गर्न बाध्य पारेका छन् । अहिले पनि समाजवादी मुलुकमा रहेर समृद्ध समाजवाद निर्माणमा जुटिरहेका जनता र समाजवाद प्राप्तिका निम्ति संघर्ष गरिरहेका जनताको संख्या करिब २ अर्ब नाघिसकेको छ । सोभियत संघको विघटन र त्यहाँ समाजवादको असफलतापछि नयाँ किसिमले समाजवाद निर्माण र त्यसका निम्ति संघर्ष सुरु भएको छ । सोभियतसंघ र समाजवादको असफलतापछि देखापरेको निराशा समाप्त हुँदै छ र फेरि उज्ज्वल भविष्यको आशा पलाउन सुरु गरेको छ । त्यसको अत्यन्त महŒवपूर्ण उदाहरण नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्राप्त गरेको आजको सफलता हो । नेपाली जनताले प्राप्त गरेको उपर्युक्त सफलताले शान्तिपूर्ण र वैधानिक बाटोबाट मुक्ति र समृद्धिका निम्ति लडिरहेका संसारभरिका जनतालाई उनीहरूले सञ्चालन गरेको संघर्ष र विजयका निम्ति उत्साह र प्रेरणा प्रदान गरिरहेको छ ।

राजनीतिक पार्टीहरूको निर्माण सिद्धान्त, विचार, नीति र संगठनका आधारमा हुन्छ । सिद्धान्त, विचार र नीतिहरूले मार्गदर्शनको काम गर्छन् । संगठनहरूले तिनलाई बोकेर हिँड्न सुरु गर्छन् । तब मात्र राजनीतिक पार्टीको अस्तित्व कायम हुन्छ । सिद्धान्त, विचार र नीतिहरू जतिसुकै राम्रा भए पनि संगठन भएन भने ती किताबमा उल्लेख भएका विषयभन्दा बढी हँुदैनन् अथवा तिनमा प्राण भरिएको हँुदैन । सिद्धान्त, विचार र नीति भएनन् भने संगठनहरू केही समयका लागि शारीरिक शक्ति देखाउने झुण्डभन्दा अरू हुन सक्दैनन् । त्यही भएर सिद्धान्त, विचार र नीतिसहितका संगठनहरू मात्र पार्टी हुन सक्छन् ।

कुनै पनि राजनीतिक पार्टीका निम्ति केन्द्रीय कमिटी टाउको हो भने त्यसका मातहत कमिटीहरू हातखुट्टाझैं अवयवका रूपमा रहेका हुन्छन् । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग केही सिद्धान्त, विचार र नीतिसहितको टाउको त छ तर हात र खुट्टासहितको अवयव छैन । ६ महिनासम्म यो पार्टीको टाउको त केही हदसम्म चलमलाएको देखिन्छ तर हात र खुट्टासहितका अवयवहरू बनेकै छैनन् । बनेका कमिटीका बैठकहरू पनि हुन सकेका छैनन् । केन्द्रीय कमिटीका सदस्यहरूको अहिलेसम्म कार्यविभाजन भएको छैन । कार्यविभाजन नभएपछि केन्द्रीय कमिटी सदस्य हुनु र नहुनुमा केही फरक परेको छैन । त्यही भएर काठमाडौं र देशका कतिपय सहरमा आयोजित चियापान समारोहहरूमा पार्टीका नेताहरू देखापर्छन् तर पार्टी देखापर्दैन । तल्लो तहका कमिटीहरू नभए पछि सो तहका पार्टी कमिटीको नाममा गतिविधि शून्य छ । पार्टीका सदस्य र सबै कार्यकर्ताहरू दिग्भ्रमित छन् । समर्थक, शुभचिन्तकहरू अन्योल र दुविधाग्रस्त भएका छन् ।

पूर्वनेकपा (एमाले) का करिब ४ लाख पार्टी संगठित सदस्य र पूर्वनेकपा (माओवादी केन्द्र) का करिब ३ लाख पार्टी सदस्य अहिले पनि देश र विदेशमा छरिएर रहेका छन् । आधिकारिक रूपमा अहिले पनि उनीहरूले पार्टी एकीकरणको जानकारी पाएका छैनन् । जानकारी पाएको भए उनीहरूका कमिटीहरू एकीकृत भइसकेका हुने थिए । सात महिनासम्म ७ लाख पार्टी सदस्यहरूको खोजबिन छैन, भेटघाट छैन, नीति निर्देशन छैन, छलफल छैन र अधिकार र कर्तव्यको पालना के भइरहेको छ केन्द्रीय कमिटीलाई थाहा छैन । निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता भएपछि ७ लाख पार्टी सदस्यहरूले केन्द्रीय कार्यालयतर्फ मुख फर्काएर बसेका छन् तर उनीहरूले सिंगो पार्टीको अनुहार देख्न पाएका छैनन् । केही महिनापहिले मात्र नेकपाका दुई ठूला पार्टीलाई मतदान गरेका झन्डै ५० लाख जनता पार्टी खोज्न आँखा घुमाउँछन् तर पार्टी कहीँ पाउँदैनन् । यति ठूलो शक्तिशाली पार्टीको यो अवस्था ! कसैले पत्याउन सक्दैन । तर पार्टीको बेहाल अवस्था वस्तुगत सत्य भएको छ । एकीकृत पार्टीका नेताहरूको गैरजिम्मेवार व्यवहारकै कारण यसो भएको हो भन्दा कसैकसैलाई पत्याउन गाह्रो लाग्छ होला तर सत्य यस्तै छ ।
पार्टी एकीकरण पछिको सातमहिने अन्तरालको यो अवस्थाले के स्पष्ट पार्छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा रहेका व्यक्तिहरूमा पार्टीको संगठनात्मक संरचनाको महŒव स्थापित हुन सकेको छैन । यो यथार्थले के देखाउँछ भने या त उहाँहरूले संगठनात्मक संरचनाको महŒव बुझ्नै सक्नुभएको छैन, या बुझेर पनि वेवास्ता गरिरहनुभएको छ । योभन्दा अर्को निष्कर्ष निस्कन सक्दैन । संगठनात्मक संरचनाहरू खडा गरिएनन् भन्ने मात्र कुरा होइन, कुरा अझ महŒवपूर्ण के हो भने आधा शताब्दीभन्दा लामो संघर्षबाट नेपाली जनताको मनमस्तिष्कमा परेको कम्युनिस्ट आन्दोलनप्रतिको सकारात्मक छापमा जे–जति नोक्सान यो गति शून्यताले पारेको छ, त्यसको क्षति भयावह अर्को बलिदान र त्यागले पनि पूरा गर्न नसक्ने अवस्था सिर्जना भयो भने त्यसको जवाफदेही कसले लिने ? यो करोडौं नेपाली जनता र लाखौं पार्टी सदस्यहरूले अगाडि सार्ने पार्टीको जीवनमरणसँग सम्बन्धित प्रश्न हो ।
खास दर्शन, सिद्धान्त, राजनीतिक मूल्य, मान्यता, आदर्श र उद्देश्यले दिशाबोध गरेको सामूहिक भावनामा आबद्ध, केन्द्रीकृत नेतृत्व, विकेन्द्रित अधिकारले युक्त शृखंलाबद्ध कमिटी प्रणालीमा आबद्ध तलदेखि माथिसम्म ऊर्जा र उत्साहले भरिएका संगठनात्मक शक्तिको नाम हो राजनीतिक पार्टी । विचार, सिद्धान्त, राजनीतिक दिशा र योजना तय गरिसकेपछि कार्यान्वयनमा जान पार्टीको संगठनात्मक संरचना मुख्य शक्तिका रूपमा देखापर्छ । संगठनात्मक संरचना कुनै पनि राजनीतिक पार्टीको अत्यन्त महŒवपूर्ण पक्ष हुन्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का निम्ति पनि यो त्यत्तिकै सही निष्कर्ष हो । सात महिनादेखि पुराना पार्टी कमिटीहरू र जनवर्गीय संगठनहरू भंग छन् । नेकपाका प्रदेश र स्थानीय तहमा गतिविधिहरू पनि शून्य छन् । जबसम्म तलदेखि माथिसम्मका संगठनात्मक संरचना खडा गरिनेछैनन्, तबसम्म यो अवस्था यथावत् रहनेछ ।
(स्थायी कमिटीमा प्रस्तुत प्रतिवेदनको एक अंश)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

तिमी कहाँ सुरक्षित छौ ?

ShareTweet कुनै महिलाका निम्ति सुरक्षित ठाउँ कुन होला ? घर, विद्यालय वा सार्वजनिक स्थल ? केही दिनपूर्व वीरगन्जकी एउटी किशोरीको अनुहारमा दुई किशोरले एसिड छ्यापे । एकान्त- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

प्रेममा तरंगित सिर्जना

ShareTweet युवा–सर्जक हरिराम पौडेलको गीति–सिर्जना प्रेमका कोमल अनुभूतिहरूका खानी हुन्, सायद । किनभने, प्रेमका अनगिन्ति आवाजहरू उनका गीति–लेखनमा सहजै र सर्वस्वीकृत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा