25th May 2019, Saturday

E-budhabar

कसले मार्ला आयल निगममा बाजी ?



कसले मार्ला आयल निगममा बाजी ?

काठमाडौं । पेट्रोलियम पदार्थ सम्वन्धी करोवार गर्ने मुलुकको एक मात्र संस्था नेपाल आयल निगमले नेतृत्व पाउने भएको छ । निगमको प्रशासकीय जिम्मेवारीको मुख्य पद कार्यकारी निर्देशककका लागि उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले खुला प्रतिष्पर्धा मार्फत आवेदन मागेसंगै निगमले नेतृत्व पाउने भएको छ । अहिले निगमभित्र कै वरिष्ठतम कर्मचारी इन्जीनीयर शुसिल भट्टराईले कायम मुकायमको हैसियतमा जिम्मेवारी वहन गरिरहेका छन् ।
यो आवेदनसंगै करिव ११ महिना लामो निगम नेत्रृत्वको अभाव परिपुर्ती हुने अपेक्षा गरिएको छ । मन्त्रालयले कार्यकारी निर्देश्क छनोटका लागि सहसचिव नजराज ढकालको संयोजकत्वमा समिति गठन गरेर आवेदन खुला गरेको थियो । सो आवेदनमा तोकिएको म्यादभित्र १७ जना आकाँक्षीले निवेदन दर्ता गराएका छन् । र, पछिल्लो पटक पदका दाबेदारहरुले राजनीतिक लबिङ तीव्र पारेका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट गठित मूल्यांकन समितिले केही दिनमै कार्यकारी निर्देशकका लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने बताइएको छ

छनोट समितिको सदस्यमा ब्रजेश झा रहेका छन् । मन्त्रालय स्रोतका अनुसार एक दुई दिनमै समितिको बैठक बस्ने र प्राप्त निवेदन उपर छानविन गर्ने बताइएको छ ।
झण्डै ११ महिनादेखि निगममा कार्यकारी प्रमुखको पद रिक्त छ । खुला प्रतिस्पर्धा भनिए पनि राजनीतिक लाइन मिलाउँदा सिफारिसमा परिने आशामा आँकाक्षीहरु दौडधुपमा रहेको बताइन्छ । गोपालबहादुर खड्का जग्गा खरिद घोटाला प्रकरणमा मुछिएपछि निगममा निमित्त कार्यकारीको जिम्मेवारी निगमका निर्देशक सुशील भट्टराईले सम्हालेका छन् । विवादास्पद छविका खड्कालाई नौ महिनासम्म मन्त्रालयमा तानेर जिम्मेवारविहीन बनाएर राखिएपछि खड्काले गत जेठमा राजीनामा दिएका थिए । त्यसपछि नयाँ कार्यकारीका लागि आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामा नियुक्त गर्न भन्दै असोजमा आवेदन माग गरेको थियो ।

को को हुन् आवेदक ?
निगमको प्रमुख बन्न सार्वजनिक संस्थानका पूर्व महाप्रबन्धकदेखि बहालवाला कर्मचारी र विभिन्न विषयका विज्ञसम्मले आकांक्षा देखाएका छन् । त्यतीमात्र होइन निगमको कार्यकारी निर्देशक पद हत्याउन विभिन्न विवादित छविका व्यक्तिले पनि कसरत थालेका छन् । आकाँक्षी मध्ये केही दाबेदारहरु नयाँ र केही राम्रा छविका समेत रहेको देखिन्छ । निगमको नेतृत्व गर्न नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशकुमार काफ्लेले आवेदन दिएका छन् । विद्युत प्राधिकरणमा काफ्लेको नेतृत्व रहेका बेला लोडसेडिङ घटाउन सकेका थिएनन् । त्यस्तै कुलमान घिसीङले जस्ता प्राधिकरणमा नयाँ तरंग ल्याई भ्रष्टाचार कम गर्ने काममा पनि काफ्ले असफल भएका थिए । आफु प्राधिकरणबाट बाहिरिए र घिसीङ राम्रो परिणाम दिएको चर्चा चलेपछि काफ्लेले लोडसेडिङ नदोहोरिए कुबै सार्वजनिक पद धारण नगर्ने घोषणा गरेका थिए । अहिले लोडसेडिङ दोहो¥याउनु परेको छैन, तर तिनै काफ्ले अहिले फेरि सार्वजनिक संस्थानको नेतृत्व गर्ने इच्छा देखाउँदै दौडधुपमा हिँडेका छन् । विवादित छविका काफ्ले लाई केही माओवादी नेताहरुकै साथ रहेको बताइएको छ । तर उनी विद्युतमा नै असफल भइसकेकाले उनको संभावना नरहेको स्रोतहरु बताउँछन् ।
त्यसैगरी सो पदका लागि खाद्य संस्थानका पूर्वमहाप्रवन्धक शिवहरि श्रेष्ठले पनि आवेदन दिएका छन् । उनी खाद्य संस्थानमा प्रमुख हुँदा विभिन्न किसिमका विवादमा तानिएका थिए । संस्थान अनियमितता तर्फ जानुमा श्रेष्ठको समेत मुख्य हात रहेको बताइन्छ । त्यस्तै उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र पौडेल पनि निगममा नेतृत्वका आकांक्षी हुन् । उनले उदयपुर सिमेन्टमा सुधारको काम गरेको दावी गरेपनि उनी मिलाएर खान माहिर हाकिमका रुपमा चिनिन्छन् । तर उनको उद्देश्य भने साँप पनि मरोस् र लौरो पनि नभाँचियोस् भन्ने रहेको बताइन्छ । त्यस्तै निगमको कार्यकारी निर्देशकका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद धिताले दौडमा सामेल भएका छन् । उनी केन्द्रमा रहँदा विदेशी दातृ निकायले दिएको अनुदान रकम सदुपयोग सदुपयोग गर्ने र काम देखाउने हाकिमका रुपमा परिचित छन् । त्यसैगरी आयल निगममा नेतृत्व गर्न निगमकै कर्मचारी प्रलयङ्कर आचार्यले पनि आवेदन हालेका छन् । तर उनीभन्दा उच्च तहका केही निर्देशकहरुले भने इच्छा देखाएका छैनन् । निगमभित्रबाटै प्रवन्ध निर्देशकको दाबी गर्ने उनी एक्ला उम्मेदवार मानिएका छन् । त्यसैगरी निगमको नेतृत्वका लागि निवेदन दिनेहरु अनिलकुमार झा, लोकबहादुर खड्का, शिवजी राय यादव, अच्युतराज पहाडी, तारानाथ पौडेल, तारक थापा, अनन्तराज घिमिरे, सरोज कोइराला, गोविन्दप्रसाद खरेल र गोवर्द्धन खड्का क्षेत्रीसमेत छन् । अनिलकुमार झा डोलिडारका पूर्वमहानिर्देशक हुन् । उनले जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध सञ्चालकका रुपमा काम गरे पनि डुबेका संस्थालाई झनै तहशनहस पारेका थिए । त्यहाँ सुधारको काम गरेर देखाउनुपर्नेमा जनक शिक्षालाई आर्थिक हिसावले थप नोक्सानी पु¥याएको आरोप झामाथि छ ।
यसैगरी कार्यकारी निर्देश्क पदका लागि नेपाल वायुसेवा निगमका पुर्व कर्मचारी गोबर्द्धन खड्का र अच्युतराज पहाडीले आवेदन दिएका छन् । खड्का निगमका पुर्व विभागीय प्रमुख हुन् भने पहाडी पाइलट हुन् । वायु सेवा निगमको इञ्जिनियरिङ डिपार्टमा काम गर्दा विमानका पार्टपूर्जा बेचेको आरोपमा पहाडीलाई शाहीकालमा प्रहरीले गिरफ्तार गरेको थियो । अहिले पहाडी निगमको बोर्ड सदस्य तथा निजी एयरलाइन्स बिबी एयरको कन्सल्टेन्टका रुपमा कार्यरत समेत छन् । यद्यपि पहाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भने सफाई पाइसकेका छन् ।
आवेदक मध्येका गोविन्द खरेल उद्योग विभागका पूर्वइञ्जिनियर हुन् । उनी विज्ञान प्रविधि मन्त्रालय हुँदै हाल भौतिक पूर्वाधार मन्त्रालयमा सिनियर डिभिजनल इन्जिनियरका कार्यरत छन् । अर्का आवेदक सरोज कोइराला नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका विषयमा विद्यावारिधि गर्ने व्यक्ति हुन् । पहिले पनि निगममा प्रतिस्पर्धा गरेर दोस्रो नम्बरमा परेका लोकबहादुर खड्का यसअघि स्वरोजगार कोषमा कार्यरत थिए ।
त्यसैगरी सो पदमा एनआइडीसी डेभलपमेन्ट बैंक डुवाउन महत्वपुर्ण भुमिका खेलेका शिवजी राय यादव पनि कार्यकारी निर्देशकको दौडमा छन् । उनी महाप्रवन्धक रहेका बेला बैंकको वित्तिय व्यवस्थापन एकदमै नाजुक भएर गएको थियो । पछि सो बैंक राष्ट्रिय वाणिज्य बैंकसंग मर्ज हुन पुगेको थियो । उनलाई केन्द्रीय अनुसन्धान व्युरो, नेपाल प्रहरीले बैंकिङ कसुरमा मुद्दा चलाएको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविनको दायरामा ल्याएको थियो ।
बस्नेत भ्रष्ट्राचारमा परेर हाइसन्चो
निगमको कार्यकारी निर्देशक बन्नका लागि विवादास्पद सिक्टा सिँचाइ आयोजनाका पूर्व प्रमुख इन्जिनियर रमेश बस्नेतले पनि आवेदन दिएका थिए । उनलाई भ्रष्ट्र ठेकेददारको पंंतिले जसरी पनि र्काकारी निर्देशक बनाउने भन्दै चलखेल थालेका थिए । तर उनी सिक्टा सिचाँइको नहरमा भएको ठूलो अनियमितता र लापरवाही प्रकरणमा मुछिएर अख्तियारले मुद्दा दायर गरेपछि निलम्वनमा छन् । बाग्मती सिँचाई आयोजनामा समेत लामो हात गरेका रिङबाट बाहिररिएपछि धेरै प्रतिश्पर्धीले हाइसन्चो मानेका छन् । किनकी बस्नेत राजनीतिक पावरका हिसावले पनि शक्तिशमली उमेद्वार मानिन्थे । आयल निगमको प्रमुखका दावेदार बस्नेतलाई भ्रष्टाचार मुद्दा लागेपछि प्रतिश्पर्धीहरुले भने खुसी मनाएका छन् । बस्नेतले सिक्टा आयोजनाका प्रमुखका रुपमा काम गर्दा अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ अर्ब १३ करोडको विगो भराउन माग गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
के के छ प्रावधान ?
निगमको प्रवन्ध निर्देशक बन्न अर्थशास्त्र वा वाणिज्यशास्त्र, व्यवस्थापन वा इन्जिनियरिङ विषयमा कम्तिमा पनि स्नातकोत्तर गरेकाले मात्रै पाउँछन् । व्यवस्थापनमा स्नातक गरेर चार्टर्ड एकाउन्टेन्ट गरेको वा सरकारी सेवाको अधिकृतस्तरमा रहेर कम्तिमा पनि ५ वर्षको कार्यानुभव भएकाले पनि यो प्रतिस्पर्धामा भाग लिन सक्ने व्यवस्था छ । त्यस्तै निगमको कार्यकारी निर्देशक बन्न ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेको हुनु पर्ने प्रावधान छ । प्रतिस्पर्धामा भाग लिनेले ५ हजार शब्द नबढ्ने गरी निगमका लागि आफ्नो व्यावसायिक योजना र कम्तिमा दुईवटा ‘केश स्टडी’ पनि दरखास्तसँगै सामेल गर्नुपर्ने गरी दरखास्त मागिएको थियो । अब यिनै योग्यता र व्यवसायिक योजनालाई हेरेर मूल्यांकन गरी नियुक्तिका लागि ३ जनाको नाममा सिफारिस गर्ने तयारी भइरहेको बताइन्छ ।
चुनौतिपुर्ण छ जिम्मेवारी
आयल निगममा लामो समयदेखि कार्यकारी निर्देशक छैनन् । निमित्तले मात्र दैनिक प्रशासन सञ्चालन गर्दा धेरै काममा अफ्ठ्यारो परेको बताइन्छ । जग्गा खरिद काण्डमा मुछिएपछि कार्यकारी निर्देशक गोपालबहादुर खड्का मन्त्रालय तानिएका थिए । सरकारले सुरुमा बर्खास्त गरेपनि उनी अदालतको आदेश लिएर पुनः जिम्मेवारीमा पुगेका थिए । तर पनि निगममा मन्त्रालयमा तानेपछि खड्काले निगममा काम गर्न पाएनन् । गत जेठमा उनले राजीनामा दिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्तिको बाटो खुलेको थियो ।
निगममा विगतमा दिगम्बर झा कार्यकारी निर्देशक भएदेखि नाफामा आएको थियो । हाल सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका छन् ।
निगममा कर्मचारीहरुले बोनस खान पाउने माग गरेर काम ठप्प पार्नेदेखि मुल्यवृद्धिको नाममा घेराउ खानेसम्मको चुनौति कार्यकारी निर्देशकले सम्हाल्नुपर्ने हुन्छ । त्यस्तै इन्धन आपूर्ति सहज बनाउन नसकेको आलोचना हुने र राजिनामा माग्ने सम्मको काम हुन्छ भने भ्रष्टाचार र वेथिति मौलाएको निगम भित्र कतिबेला आर्थिक अनियमितताको चंगुलमा फसिने भन्ने पनि डर हुन्छ । निगमकै कर्मचारीहरुको संलग्नतामा कालोबजारी र निगमभित्र भ्रष्टातार तथा वेथिति मौलाएको पाइन्छ ।
दुइ महिनासम्म मन्त्रालय निदायो
मन्त्रालयले आवेदन मागेको २ महिना पूरा भइसकेको छ । तर छनोट प्रक्रिया अगाडि बढेको छैन । छनोट प्रक्रिया अगाडि नबढेकाले कार्यकारी निर्देशक छनोटका लागि अर्को विज्ञापन हुने चर्चा पनि उद्योग मन्त्रालयमा हुने गरेको छ । तर मन्त्रालय स्रोतका अनुसार छनोट समितिका सदस्य ब्रजेश झा देशबाहिर रहेकाले समितिको बैठक बस्न सकेको छैन । अब केही दिनमा बैठक बसेर कामले गति लिने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद

ShareTweet काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा