23rd March 2019, Saturday

E-budhabar

तनावको प्रतिच्छाया



तनावको प्रतिच्छाया

जीवित वा दिवंगत । केही दशकयता बलिउडमा ‘बायोपिक’ बनाउने लहर नै चलेको छ । स्वाधीनताको आन्दोलनमा लडेका योद्धादेखि कुनै क्षेत्रका नितान्त चर्चित अनुहारलाई समेत बायोपिकमा उभ्याउने कार्य बलिउडका सिद्धहस्त सिनेकर्मीहरूले गरिरहेका छन् । महान् योद्धा वा चर्चित हस्तीहरूको जीवनगाथालाई पर्दामा देख्न पाउने लालसा प्रायः सबैमा हुन्छ र त्यही कारण पनि अधिकांश बायोपिकले व्यावसायिक सफलता पनि हात पार्ने गरेका छन् । कुनै पनि योद्धा वा चिनिएका अनुहारका जीवनका महŒवपूर्ण पक्षलाई पर्दामा उतार्न पाउनु सिनेकर्मीहरूका लागि पनि गौरवको विषय हो ।
एक समय बलिउडमा भारतीय स्वतन्त्रता संग्रामका नायक भगतसिंहको बायोपिक निर्माण गर्ने होडबाजी नै चलेको थियो । अंग्रेज शासकविरुद्ध लड्दा मात्र २३ वर्षको उमेरमा फाँसीमा झुन्ड्याइएका भगतसिंह ‘भारतीय क्रान्तिको नमुना’ नै थिए । दशकपूर्व उनको जीवन–गाथामा लगालग पाँचवटा बायोपिक बनाइयो । र, भगतसिंहको जीवन–संघर्षले भरिएका सबैजसो बायोपिकले स्नेह र सम्मानसमेत पाए । दिवंगत योद्धा वा महान् व्यक्तित्व मात्र होइन, कुशल निर्देशकको आँखाले जँच्यो भने समाजमा केही योगदान पु¥याएका मानिसको पनि बायोपिक बनाउन सकिन्छ भन्ने उदाहरण दशरथ माझी बन्न पुगे । भारत बिहारको एउटा गाउँमा आफ्नै प्रयत्नमा पहाड फोरेर सडक निर्माण गरेका माझीलाई केही वर्षअघि अब्बल ढंगले पर्दामा उतारिएको थियो । केही महिनापूर्व बलिउडका चर्चित कलाकार सञ्जय दत्तको पनि बायोपिक बन्यो र त्यो सिनेमाले राम्रै अर्थोपार्जन ग¥यो ।
बलिउडमा बायोपिक निर्माण गर्ने लहर चलिरहेकै बेला गम्भीर निर्देशकका रूपमा चिनिने नन्दिता दासले नयाँ सिनेमा बनाएकी छिन्– ‘मन्टो’ । उर्दूका विख्यात साहित्य–सर्जक सआदत हसन मन्टोको बायोपिक बन्नु आफैंमा गौरवको विषय हो । भारत–पाकिस्तानबीच विभाजन हुनुपूर्व भारतीय भूमिमै रहेर साहित्य र सिनेमा जगत्मा सक्रिय मन्टोले विभाजनपछि भने पाकिस्तानमा बस्न रुचाए । तर, पाकिस्तानमा रहे पनि उनले आफ्नो लेखनमा कहिल्यै पनि भारतविरोधी शब्द भने ओकलेनन् । बरु, विभाजनले आममानिसमा पु¥याएको पीडा, दंश र छटपटीलाई उनले कथा–लेखनमार्फत सतहमा ल्याए । ‘टोवा टेकसिंह’ जस्ता शक्तिशाली कथा लेखे उनले । जुन कथामा मानसिक अस्पतालमा उपचाररत भारतीय र पाकिस्तानीहरूले विभाजनको दंशलाई कसरी झेले भन्ने कुरा अत्यन्तै मार्मिक, कटाक्षपूर्ण ढंगले लेखिएको छ । नेताहरूले आफ्नो स्वार्थमा देशलाई टुक्र्याए पनि आमजनताले भोग्ने पीडाको तह भने धेरै नै कष्टदायी र पीडैपीडाको थाकले भरिएको हुन्छ । मन्टोले कथा–साहित्यबाट यिनै पक्षहरूलाई औंल्याए ।
दुःखको कुरा । निर्देशक नन्दिता दासले ‘मन्टो’को सफल लेखन–निर्देशन गरे पनि पाकिस्तानी जनता भने मन्टोलाई पर्दामा देख्न पाउने अवसरबाट वञ्चित हुने निश्चितप्रायः छ । किनभने, ‘मन्टो’लाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानको चलचित्र सेन्सर बोर्डले ‘मन्टो’लाई पाकिस्तानका सिनेमा घरहरूमा चल्न नदिने टुंगो गरेसँगै निर्देशक दास आहत हुन पुगेकी कुरा मिडियामा आएको छ । निर्देशक दासले ट्वीटरमार्फत दुःख प्रकट गरेकी छन्, ‘पाकिस्तानको हलमा मन्टो नलाग्ने खबरले एकदमै दुःखी बनाएको छ । मलाई लाग्छ, सआदत हसन मन्टो भारत र पाकिस्तान दुवै देशका लागि उत्तिकै महŒवपूर्ण छन् ।’ तर, विभाजनपछि पाकिस्तानमै बाँकी जीवन बिताए पनि मन्टोलाई पाकिस्तान सरकारले हेर्ने दृष्टिकोण भने सकारात्मक छैन । मन्टो विभाजनको विपक्षमा थिए र बेग्लै मुस्लिम राज्यको माग राखेर त्यसमा सफल भएका पाकिस्तानीहरूले उनलाई मन पराउने सवाल पनि रहेन ।
भारत–पाकिस्तानबीच विभाजनको रेखा कोरिएको दशकौंं बितिसक्यो । तर, विभाजनको तुष भने अझै मेटिएको छैन । कम हुँदै जानुपर्नेमा यी दुई देशले एकअर्कालाई गर्ने शत्रुतापूर्ण व्यवहारमा झनै बढोत्तरी आएको छ । कस्मिरको मुद्दाले वर्षौंयता दुवै देशलाई शत्रुताको परिधिमा उभ्याउँदै आएको छ । राजनीतिक स्वार्थले कोरेको विभाजन–रेखाको असर समाजका अरू तहमा समेत पर्दोरहेछ, भाषा, साहित्य, संस्कृति, कलालगायत क्षेत्रमा पनि पर्दोरहेछ भन्ने उदाहरण भारत–पाकिस्तानबीचको विभाजनलाई हेरे काफी हुन्छ । राष्ट्रभक्तिको विषयमा निर्मित भारतीय सिनेमामा त ती दुई देशबीचको कटुताको पर्दाफास टड्कारै रूपमा देखिन्छन् । पाकिस्तानमा निर्मित सिनेमामा पनि त्यस्तै दृश्य भेटिन्छन्, जहाँ भारतलाई होच्याउने प्रयत्नमा नै केन्द्रित रहेको हुन्छ । अझ कस्मिरको विषयमा उभिएको सिनेमा, साहित्य वा कलाका अरू माध्यममा त दुवै देशका सर्जकहरू नग्न तरिकाले पेस हुन्छन्, कलाको सामान्य सिद्धान्तलाई समेत नपछ्याई दुई देशबीचको कटुतापूर्ण सम्बन्धलाई उजागर गर्न चाहन्छन् ।
यद्यपि, भारत र पाकिस्तानमा केही त्यस्ता सर्जकहरू पनि छन्, उनीहरू कस्मिरको मुद्दा होस् वा दुई देशबीच तनाव उत्पन्न गराउने अरु कुनै मुद्दा होस्, सन्तुलित रूपले आफूलाई उभ्याउन चाहन्छन् । निर्देशक नन्दिता दास पनि त्यही कोटीका कला–सर्जक हुन्, जसले भारत–पाकिस्तानबीचको सम्बन्धलाई हेर्ने बलिउडका अरू सिनेकर्मीभन्दा बेग्लै दृष्टिकोण राख्छन् । तर, तिनै निर्देशकले निर्देशन गरेको प्रख्यात शब्दशिल्पी मन्टोको बायोपिकलाई पाकिस्तानमा प्रतिबन्ध लगाइनु भनेको दुवै देशबीचको तिक्त राजनीतिक खिचातानी र द्वन्द्वको प्रतिच्छाया परेको सहजै अनुमान लगाउन सकिन्छ । आखिर कटुतापूर्ण राजनीतिक सम्बन्धले कला, साहित्य, संस्कृतिजस्ता सिर्जनाका माध्यमलाई नराम्ररी गिजोल्दो रहेछ भन्ने कुरा पाकिस्तानमा ‘मन्टो’ले प्रदर्शन हुन वञ्चित भएको घटनाबाटै पुष्टि हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा