18th September 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

भक्का स्वादिष्ट कि पिज्जा ?



तराई÷मधेसका आदिवासी समुदायको ‘मेनु’मा वर्षौंदेखि समाहित जाडो मौसमको खाजा भक्का अचेल काठमाडौंका चोक र सडक छेउछाउमा समेत पाक्न थालेका छन् । मधेसकै थारू समुदायको लोकप्रिय खान्की घुँगी पनि अचेल होटल वा रेस्टुरेन्टको मेनुमा अटाउन थालेका छन् । कुनै समय आदिवासी जनजाति समुदायबीच लोकप्रिय र अरू जातीय समुदायले स्वीकृत नगरेका खानपिनहरू बिस्तारै काठमाडौंका बासिन्दाहरूका निम्ति सुपाच्य बन्दै गइरहेको छ ।
बिहानीपख अनामनगर चोकमा भक्काको स्वादमा रमाउने वर्गका वा समुदायका मानिस काठमाडौंमा छन् र त्यही थलोभन्दा केही दूरीमा अवस्थित दरबारमार्गमा अन्तर्राष्ट्रिय फुड चेन केएफसीको स्वादमा लुटपुटिने वर्ग पनि काठमाडौंमै छन् । सस्तो खानपिन रुचाउनेहरूका निम्ति भक्का वा त्यस्तै अरू खाना प्राथमिकतामा पर्दछन् भने महँगो वा विदेशी स्वादको पछि लाग्नेहरूले केएफसीको चिकेन वा पिज्जाहटलाई आफ्नो गन्तव्य बनाउँदै आएका छन् । आ–आफ्नो स्वाद र आर्थिक हैसियतअनुरूप सबैले कुन खानालाई रुचाउने भन्ने कुरा आफूमा निर्भर रहने विषय हो ।
रैथाने होस् वा आमन्त्रित । अब काठमाडौंका हरेक आर्थिक हैसियत राख्ने स्वादका पारखीहरूको केन्द्र बन्दै छ । झापाको कुनै सानो बजारमा आदिवासी समुदायका मानिसले पकाउँदै आएको भक्का होस् वा नवलपरासीका थारू समुदायमा लोकप्रिय घुँगी, अब यस्ता चिजहरूको स्वाद लिन ती ठाउँहरूमा पाइला टेक्नैपर्ने बाध्यताको अन्त्य भएको छ । काठमाडौंमा नै पाइन्छन्, अब आदिवासी–जनजाति समुदायका लोकप्रिय खानेकुराहरू । केएफसीको चिकेन वा पिज्जाहटको पिज्जा खान कुनै विदेशी सहरमा पुगिरहनु पनि पर्दैन । न त विश्वका विभिन्न देशका मौलिक स्वाद चाख्न ती देशहरूमा टेक्नैपर्ने बाध्यता नै छ अचेल । विश्वका प्रमुख देशहरूका प्रमुख खानाहरू अब काठमाडौंमै उपलब्ध हुन थालेका छन्– कतै रेस्टुरेन्टु खोलेर त कतै त्यस्ता देशहरूले आयोजना गर्ने फुड फेस्टिबलको अवसर पारेर ।
खानाको कुरा त छँदै छ । काठमाडौंमा उपभोक्ता वर्गको बढ्दो चहलपहलसँगै उत्तरीदेखि दक्षिणी धु्रवका देशहरूमा फल्ने फलफूल पनि सहज रुपमा उपलब्ध हुन थालेका छन् । कुनै समय नेपालमा नरिवलको हरियो जटा पाइँदैनथ्यो । समुद्र तटमा फल्ने नरिवलको जटा पाउनु मुस्किलै हुन्थ्यो, केही दशकअघिसम्म पनि । २०२४–२५ सालतिर राजा महेन्द्रले नरिवलको जटाको पानी भारतबाट मगाएर खाने गरेको कुरा जानिफकारहरू बताउँछन् अझै । तत्कालीन समयमा यातायातको सहजताको अभाव, सीमित फलफूल पसल र कतिपय फलफूल खाने नेपालीको स्वभावमा वृद्धि नभएको हुँदा नरिवलको जटा नेपाली बजारमा पाइनु सम्भव थिएन र राजा–महाराजाहरूले त्यस्ता फलफूल खान इच्छा दर्साउँदा भारतीय बजारबाट मगाएर खाने कुरालाई अतिशयोक्ति मान्न सकिँदैन । तर, अचेल भने काठमाडौंका हरेकजसो फलफूल पसलमा नरिवलको जटा मात्र होइन, इटालीको किवी, जर्मनीको स्याउ, ब्राजिलको कफी वा कुनै युरोपियन मुलुकमा उत्पादित चिजजस्ता दूग्धजन्य पदार्थहरू सजिलै पाइन्छन् ।
उपभोक्ता वर्गको वृद्धिसँगै विदेशी खाना, फलफूल वा अन्य उपभोग्य वस्तुहरूले काठमाडौंको बजारमा सहज रूपमा प्रवेश र स्वीकृति मात्र पाएका छैनन्, त्यसले रैथाने स्वाद र संस्कृतिलाई बिस्तारै पाखा लगाउँदै गइरहेको छ । करोडौं लगानी खुलेका अन्तर्राष्ट्रिय फुड चेनहरूले आफ्नो प्रभुत्व विस्तार गर्न यति आक्रामक ढंगले प्रचारप्रसार गर्ने गरेका छन्, त्यस्ता अन्तर्राष्ट्रिय फुड चेनहरूको आक्रमक विज्ञापन शैली, विशेष छुटसामु मौलिक र रैथाने नेपाली खानाहरू ओझेलमा पर्दै गएका छन् । हुन त केही दशकपूर्व हिमाली भेग मुस्ताङबाट यात्रा थालनी गरेको थकाली खानाले विदेशमा समेत प्रसिद्धि पाएको छ र नेवारी खाजाको मौलिकतामा पनि जोकोही लोभिन्छन् नै र नेवारी खाजा अब काठमाडौं उपत्यकामा मात्र सीमित छैन, देशका अरू सहर–बजारमा पनि विस्तारित हुँदै गइरहेको छ । तर, नेपालको मौलिक खानालाई अझ लोकप्रिय बनाउन कुनै पनि निकायले तत्परता नदेखाउँदा झनै ओझेलमा पर्दै जाने निश्चितप्रायः छ र पछिल्लो पुस्ताले नेपाली मौलिक खानालाई बिर्सिंदै जाने र विदेशी खानपिनमा स्वाद बसाल्ने पक्कापक्कीजस्तै छ ।
काठमाडौंमा भक्काको प्रवेश, आमन्त्रित स्वादहरूले बिस्तारै कब्जा जमाउँदै गइरहेको परिप्रेक्ष्यमा एक सांकेतिक उपस्थिति हो । पूर्वी भेगबाट भित्रिएको भक्का, मध्यपश्चिम भेगबाट भित्रिएको रावडी, मध्य भेगबाट भित्रिएको घुँगीले नेपालको मौलिक स्वादको प्रतिनिधित्व निश्चितै गर्छ । तर, अन्तर्राष्ट्रिय ब्रान्डका खानासामु यस्ता चिजहरूले लोकप्रियता पाउन र बजारमा सहज रुपले जम्न भने मुस्किल नै पर्ने देखिन्छ ।
विश्वको कुनै पनि सहरलाई चिनाउने केही प्रमुख आधारमध्ये त्यहाँको रैथाने खाना पनि एक हो । कुनै सहरको विम्ब आउँदा त्यो सहरको खाना पनि सँगै जोडिएर आउँछन् । तर, काठमाडौंको विम्ब आउँदा त्यस्तो कुनै मौलिक खाना परिदृश्यमा देखिँदैनन् वा अरू सहर बजारको विम्बमा पनि कुनै मौलिक खानपिन देखिँदैनन् । हुन पनि कुनै पनि व्यक्तिले स्वादलाई कसरी पहिचान गर्छ भन्ने कुरामा संस्कृतिको पनि हात रहेको हुन्छ । खानपिनजस्ता विषयहरू संस्कृतिसँग अभिन्न रुपमा जोडिएर नै आउँछन् ।
हुन त, हरेक ठाउँमा रैथाने र आमन्त्रित खानाको द्वन्द्व सदैव चलिरहेको हुन्छ र काठमाडौंलगायत देशका अरू सहर यो यथार्थबाट टाढा छैन । तर, महँगा आमन्त्रित र बहुराष्ट्रिय फुड चेनको स्वामित्व र नियन्त्रणमा रहेको खाना ठीक कि स्थानीय खाना ठीक भन्ने विषय छनोट गर्ने कार्य उपभोक्ताकै हातमा छ । भक्का ठीक कि पिज्जाहटको पिज्जा ठीक होला ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

तिमी कहाँ सुरक्षित छौ ?

ShareTweet कुनै महिलाका निम्ति सुरक्षित ठाउँ कुन होला ? घर, विद्यालय वा सार्वजनिक स्थल ? केही दिनपूर्व वीरगन्जकी एउटी किशोरीको अनुहारमा दुई किशोरले एसिड छ्यापे । एकान्त- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

प्रेममा तरंगित सिर्जना

ShareTweet युवा–सर्जक हरिराम पौडेलको गीति–सिर्जना प्रेमका कोमल अनुभूतिहरूका खानी हुन्, सायद । किनभने, प्रेमका अनगिन्ति आवाजहरू उनका गीति–लेखनमा सहजै र सर्वस्वीकृत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा