25th May 2019, Saturday

E-budhabar

प्रधानमन्त्रीको सम्बोधनमा भ्रमपूर्ण प्रचार



प्रधानमन्त्रीको सम्बोधनमा भ्रमपूर्ण प्रचार

तस्बिर उत्साहजनक ः पानी धमिल्याउन सलबलावट
काठमाडौं । सरकारले समृद्ध नेपालका पक्षमा गरिरहेको राम्रा कामसम्बन्धी रिपोर्टलाई मूलधारका सञ्चार माध्यमले ‘ब्ल्याक आउट’ गरिरहेकै बीचमा प्रधानमन्त्री केपी ओलीले संसद्मार्फत देशको उत्साहजनक तस्बिर सार्वजनिक गरेका छन् । समृद्ध नेपालका लागि सरकारले गर्दै आएको प्रयासले आर्थिक र सामाजिक क्षेत्रका साथै सुशासनको सूचांकमा धेरै उत्साजनक प्रगति देखिए पनि आफूलाई मूलधार दाबी गर्ने मिडियाहरूले तथ्य–तथ्यांक तोडमोड गरेर प्रस्तुत गरेको घटनाक्रमले निकै डरलाग्दो षड्यन्त्रको संकेत गरेको विश्लेषण गर्न थालिएको छ ।
नेपालको इतिहासमा पहिलोपटक संसारलाई आश्चर्यचकित पार्नेगरी लोकतान्त्रिक प्रक्रियाबाट दुई तिहाइको शक्तिशाली कम्युनिस्ट सरकार बनेको छ । त्यो सरकारले निरन्तर समृद्धि र सुशासनका पक्षमा काम गर्न थालेपछि अत्तालिएका अदृश्य शक्तिहरूले नै अहिले तथ्यहरूलाई तोडमोड गरेर सरकारविरुद्ध आमजनतामा निराशा पैदा गर्नेगरी ‘मिसन’कै रूपमा भ्रमपूर्ण प्रचार गर्न थालेको आभास भएको छ । कम्युनिस्ट पार्टीका शीर्षनेताहरूमध्ये कहिले अमूक–अमूक नेताहरूको बदनाम गर्ने, राष्ट्रपति, संसद्जस्ता संस्थाहरूलाई विवादित तुल्याउने, सरकारको राम्रो कामको पुरै ‘ब्ल्याक आउट’ गरेर नकारात्मक पक्षलाई खोजी–खोजी प्रचार गराउनकै लागि केही महिनाअघि सञ्चारमाध्यमका जिम्मेवार व्यक्तिहरू भेला पारेर एउटा आईएनजीओले प्रशिक्षण नै दिएको समाचार सार्वजनिक भएको थियो । त्यसयता नै मूलधारका मिडियाहरू सरकारविरुद्ध नकारात्मक प्रचारमा खनिएपछि राष्ट्रको चौथो अंग मानिने मिडियाको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको छ ।
खासगरी प्रधानमन्त्री केपी ओलीले राज्यसंयन्त्रको तथ्यगत सूचनाका आधारमा सम्बोधन गर्दा पनि त्यसलाई विवादित बनाउने र मूलधारका मिडियाले सरकारलाई उत्तेजित बनाएर आमुन्ने–सामुन्ने खुला बहसमा उतार्ने प्रयास गरेपछि परिस्थिति त्यसतर्फ डोरिएको छ । यसबारे नेकपाका शीर्ष तहका नेताहरू मात्र होइन, स्थायी समितिका नेताहरू, मन्त्रीहरू, ब्युरोक्रेसी सम्हाल्ने अंगका प्रमुखहरू सबै धेरै गम्भीर बनेको बुझिएको छ ।
गत २२ गते संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा गत आर्थिक वर्षको पाँच महिना र यस आर्थिक वर्षको पाँच महिनाको तुलना गर्दै मुलुक कता जाँदै छ भन्ने तथ्यांकसहित आमजनतामा आशाको सञ्चार गराउने प्रयास गरेका थिए । त्यति मात्र होइन, समृद्धिको यति उत्साहजनक अभियानमा विपक्षी दल, नागरिक समाज, मिडिया, आमजनतालाई एकाकारका साथ अघि बढ्न अपिल पनि गरेका थिए । समृद्धिको यात्रामा मुलुक अघि बढेपछि गत वर्षको तुलनामा दोब्बर अर्थात् आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्न लागेको प्रक्षेपण प्रधानमन्त्रीले सगर्व सम्बोधन गरेका थिए । जसले देशको आर्थिक उन्नति चाहने आमनेपालीलाई निकै ठूलो आशाको सञ्चार गरेको थियो । तर, त्यस्तो तथ्यगत प्रस्तुतिलाई अघिल्लो आर्थिक वर्षको पुरै अवधिसम्म तुलना गरेर बाहिर भने भ्रमपूर्ण प्रचार गरिएको छ ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा यस आर्थिक वर्षको राजस्व संकलनमा ३२ प्रतिशत वृद्धि भएको, चालू आर्थिक वर्षको पाँच महिनामा पुँजीगत खर्चको वृद्धिदर २५.३३ प्रतिशत रहेको, सरकारी खर्च ३४ प्रतिशतबाट १४ प्रतिशतमा झरेको प्रधानमन्त्रीले तथ्यांक प्रस्तुत गरेका थिए । यी सबै तथ्यांक प्रधानमन्त्रीले अर्थ मन्त्रालय, राष्ट्रबैंक, विभिन्न मन्त्रालयहरूको रिपोर्ट, विभागहरूको संयन्त्रमार्फत नै प्राप्त गर्ने हो । तर, बाहिर भने अघिल्लो पुरै आर्थिक वर्षसँग तुलना गरेर प्रधानमन्त्रीले राज्यका तर्फबाट प्रस्तुत गरेको तथ्यांक नै झूटो भएको, जनतालाई भ्रमित तुल्याएको, मुलुक उज्यालोतर्फ होइन, अँध्यारो यात्रामा जान लागेको भ्रमपूर्ण प्रचार गरियो । यस्तो भ्रमपूर्ण प्रचारको खण्डनका लागि अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति नै सार्वजनिक गर्नुपर्नेसम्मको परिस्थिति सिर्जना भयो । प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा मूल्यवृद्धि घटेको भन्दै ४.२ प्रतिशतबाट यस वर्ष ३.७ प्रतिशतमा कायम रहेको जनाएका थिए । त्यस्तै, गत आर्थिक वर्षको पाँच महिनामा १०८ अर्ब ८४ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गर्नुपरेकोमा यस वर्षको यसै अवधिमा शून्यको अवस्थामा झरेको, कुल वैदेशिक सहायता, गत वर्षको तुलनामा १६२.७२ प्रतिशले वृद्धि भएको मात्र होइन, अनुदान र ऋण सहायता गरी ११२ अर्ब १३ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको बताएका थिए । यसलाई पनि तोडमोड गरेर झूटो साबित गर्ने प्रयास गरियो ।
त्यस्तै, उद्योग÷व्यवसायसँग सम्बन्धित कम्पनी दर्ता २५ प्रतिशतले वृद्धि भएको विषयलाई लगानी कति हुन लागेको हो भन्ने कुरा प्रधानमन्त्रीले भन्न नसकेको भन्दै त्यसलाई पनि झूटो साबित गर्ने प्रयास गरियो । जबकि, त्यस्ता दर्ता भएका नयाँ कम्पनीहरूले लगानी कति गरे र देशलाई कति फाइदा भयो भन्ने तथ्य अर्को आर्थिक वर्षमा उनीहरूले कति राजस्व बुझाए भन्ने आधारमा मात्र तथ्यांक बाहिर आउने हो । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप १७.९ प्रतिशतले वृद्धि भएको मात्र होइन, बैंकको क्षेत्रगत लगानी २४.६ प्रतिशतले वृद्धि भएको, उत्पादनशील क्षेत्रमा बैंकको लगानी १३.४ बाट ३२.३ प्रतिशत पुगेको, वैदेशिक लगानीका परियोजना संख्यामा २५ प्रतिशतले वृद्धि भएको तथ्यांकलाई पनि तोडमोडकै रूपमा प्रस्तुत गरियो । त्यस्तै, प्रधानमन्त्री ओलीले भारत, अमेरिका, बेलायत, चीनसहित विश्वका कम्तीमा एक दर्जन मुलुकमा निर्यात बढेको तस्बिर पस्किएर व्यापार घाटा क्रमशः न्यूनीकरण हुने र देश केही वर्षभित्र आत्मनिर्भर बन्न सक्ने आशाको सञ्चार सम्बोधनमा गरेका थिए । तर, लोकतान्त्रिक अभिमतबाट निर्वाचित भएको शक्तिशाली सरकारलाई पञ्चायती मिसनमासमेत यति धेरै बदनाम गर्नेगरी प्रचार गरिएको थिएन, जबकि मूलधारका मिडियाबाटै त्यति धेरै मजाक उडाउने गरी भ्रमपूर्ण प्रचारको प्रयास भएको चर्चा चलेको छ ।
प्रधानमन्त्रीले सम्बोधनमा पछिल्लो अवधिमा केही अनौठा व्यवहारको अनुभूति गरेको भनाइ व्यक्त गरे । ‘सरकार के गर्दैछ, पत्तो भएन’– प्रश्न उठाइयो । के गर्दैछ भन्ने जवाफ दिन्छु । अनि प्रतिप्रश्न आउँछ– प्रधानमन्त्री किन बोलेको ? बोल्न नहुने रहेछ क्यारे भन्ने ठानेर चुप रहन्छु, प्रश्न उठाउँछ– खै जवाफ दिएको ? केही गर्न खोजिन्छ– सोधिन्छ, त्यो किन गरेको ? केही नगर्दा त प्रश्न उठ्ने नै भयो– खै काम गरेको ?’ यस्तो शैलीबाट मुलुकको समृद्धि सम्भव नभएको भन्दै उनले सकारात्मक रूपमा प्रस्तुत हुन सबैलाई आह्वान गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद

ShareTweet काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा