23rd March 2019, Saturday

E-budhabar

खेर नजाओस् कार्यकाल



एकाध महिनाको अन्तरालमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र ललितकला प्रज्ञा–प्रतिष्ठानले नेतृत्व पाएका छन् । भाषा, साहित्य, कला, संस्कृति र संगीत क्षेत्रसँग घनीभूत सरोकार राख्ने यी तीन प्रज्ञा–प्रतिष्ठानले कस्तो नेतृत्व पाउला, आमजनताको भावनालाई प्रतिनिधित्व गर्ने व्यक्तिहरू आउलान् वा नआउलान् र कतै प्रतिगामी सोच र चिन्तनले ग्रस्त अनुहार पो झुल्किएलान् कि भन्ने त्रास र संशयबीच तीनवटै प्रज्ञा–प्रतिष्ठानले पूर्णता पाएका छन् । अझ तीनवटै प्रज्ञा–प्रतिष्ठानलाई गाभेर एउटै बनाउने आफ्नो पूर्ववर्ती निर्णयबाट पछि हट्दै सरकारले २०६२÷६३ को जनआन्दोलनको भावना र मर्मलाई आत्मसात् गरेर अघि बढेको हुँदा स्रष्टा–सर्जकहरूको असन्तोष मेटिएको छ र एउटा अर्को ठूलो संशयसमेत हट्न पुगेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको लामो इतिहास रहेको हुँदा त्यसको जग बलियो छ । त्यसले आफ्नो कर्मकाण्डलाई निरन्तरता दिँदै आएकोमा कुनै सन्देह देखिँदैन । भाषा, साहित्यको विकासमा आफ्नो क्षमताले भ्याएसम्म विगतदेखि नै कर्मकाण्डीय नै सही, धेरथोर योगदान निश्चित रूपमा गर्दै आएको छ । आफ्नै सीमा र परिधिमा रहेर प्रज्ञा–प्रतिष्ठानले काम गर्नुपर्ने बाध्यता सदैव रहँदै आएको हुँदा स्रष्टाहरूले त्यो निकायबाट भयंकर अपेक्षा राख्ने गरेका छैनन् ।
तर, अरू दुई प्रज्ञा–प्रतिष्ठान नेपाल संगीत तथा नाट्य र ललितकलाको जगभ ने अझै दरिलो बनिसकेको छैन । भर्खरै तेस्रो नेतृत्व पाएका छन्, यी दुवै प्रज्ञा–प्रतिष्ठानले । २०६२÷६३ को जनआन्दोलनको उपजस्वरूप यी दुई प्रज्ञा–प्रतिष्ठानको जग खनिन पुगेको स्विकार्न सकिन्छ । जनआन्दोलनलाई सफलताको चुलीमा पु¥याउन भाषा, साहित्य क्षेत्रमा क्रियाशील स्रष्टाहरूको जुन भूमिका रह्यो, संगीत, नाट्य र ललितकला क्षेत्रमा आबद्ध सर्जकहरूले पनि उत्तिकै सक्रियता देखाएका थिए । जनआन्दोलनको सफलतासँगै राज्यले पनि संगीत, नाट्य र ललितकला क्षेत्रको समुच्च विकासका निम्ति बेग्लाबेग्लै प्रज्ञा–प्रतिष्ठान निर्माणको आवश्यकताबोध गर्न पुग्यो । त्यसकै परिणामस्वरूप यी दुई प्रज्ञा–प्रतिष्ठानले विघटनको संघारमा पाइला टेक्न लाग्दालाग्दै पनि निरन्तरता पाउन सफल भएका छन् ।
यी दुवै प्रज्ञा–प्रतिष्ठानको अघिल्ला दुई अवधि त्यति सन्तोषजनक रहेन । खासगरी नेतृत्व तहमा बसेकाहरूबीच तीव्र अन्तरविरोध चर्किएका कारण जुन गति र दिशा समात्नुपथ्र्यो, त्यसबाट सर्वथा चुक्न पुग्यो । राज्यले सम्मान गरेर नेतृत्व तहमा विशिष्ट–वरिष्ठ साधकलाई जिम्मेवारी दिए पनि नेतृत्व कुशलताको कमीका कारण एकअर्काबीच गाँड कोराकोर गर्नमा नै समय खर्चिन पुगे । चाहे पहिलोपटक संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान गठन हुँदा कुलपति अम्बर गुरुङ र सदस्य सचिव आभासबीच चर्किएको द्वन्द्व होस् वा दोस्रोपटक ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय र सदस्य–सचिव नवराज भट्टबीच चलेको अनवरत जुहारी होस्, यस्ता प्रकरणहरू यी दुवै बौद्धिक एवं प्राज्ञिक थलोका निम्ति अशोभनीय विषय त थियो नै, भर्खर गठित प्रज्ञा–प्रतिष्ठानलाई गतिशील, सुचारु र कामकाजी तुल्याउने बाटामा बिछ्याइएका काँढा र व्यवधानहरू साबित हुन पुग्यो । र, यसअघिका यी दुवै प्रज्ञा–प्रतिष्ठानका नेतृत्व तहबाट जे–जस्ता कार्य हुनुपथ्र्यो, त्यो अपेक्षा पूरा हुन सकेन । अझ नेतृत्व तहमा रहेकाहरूमा प्रगतिशील सोच, चिन्तन र कार्यशैली र योजनाको अभाव रहेको हुँदा पनि दुवै प्रज्ञा–प्रतिष्ठानले गति पक्रिन सकेन । पछिल्लो समय सरकारले ती दुवै प्रज्ञा–प्रतिष्ठानलाई विघटन गरेर एउटै शक्तिशाली प्रज्ञा–प्रतिष्ठान बनाउने टुंगो हुनुमा सम्भवतः यी दुवै प्रज्ञा–प्रतिष्ठानको नेतृत्व तहमा देखिएको अन्तरविरोध र गतिहीनता नै प्रमुख कारण रहेको मान्न सकिन्छ ।
अहिले संगीत–नाट्य र ललितकला प्रज्ञा–प्रतिष्ठानको नेतृत्व प्रगतिशील सोच र विचार राख्ने सर्जक, साधकहरूको हातमा आएको छ । संगीत–नाट्यका कुलपति रायन आफैंमा एउटा इतिहास हुन् र उनले प्रगतिशील सांस्कृतिक क्षेत्रको यात्राका दौरानमा उकाली–ओराली गर्दा थुप्रै जुत्ता फटाएका सर्जकहरूको साथ पाएका छन् । ललितकलाको कुलपति केके कर्माचार्य पनि ६ दशकदेखि आफ्नो सिर्जन कर्ममा निरन्तर सक्रिय छन् । यसअघि उपकुलपतिको जिम्मेवारी सम्हालिसकेका हुँदा यो क्षेत्रका गुदीगुदी उनले बुझेका छन् । र, उनले पनि राम्रै टिम पाएका छन् ।
तर, यी दुवै प्रज्ञा–प्रतिष्ठानको नेतृत्वमा प्रगतिशील विचार र आस्था राख्नेहरू पुगे पनि संस्थालाई गतिशील र विवादमुक्त तुल्याउन प्रगतिशील विचार बोकेको आधार मात्रै पर्याप्त हुँदैन । नेतृत्व क्षमता र कुशलता बेग्लै पक्ष हो र त्यसलाई आफूले अँगालेको विचार सँगसँगै दौडाउन सक्नुपर्छ । अन्ततः प्रगतिशील सांस्कृति वृत्तमा कुनै समय एउटा गीत निकै गुन्जिने गथ्र्यो, ‘यो जिन्दगी हाम्रो खेर नजाओस् ।’ गीतको आशय जनताको पक्षमा मानिसको जीवन समर्पित हुनुपर्छ भन्ने थियो । अहिले संगीत–नाट्य र ललितकला प्रज्ञा–प्रतिष्ठानको नेतृत्व पाएका उम्दा सर्जक–साधकहरूलाई यही गीतको पंक्तिको सहयोग लिँदै भन्न सकिन्छ, ‘हामीले पाएको जिम्मेवारी खेर नजाओस् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा