16th February 2019, Saturday

E-budhabar

नायक कि खलनायक ?



‘इतिहास एक संवाद हो,’ आर्थर मारविकले भनेका थिए । तर, अब इतिहास संवादमा मात्र सीमित छैन । संवाद, विवाद, अन्तर–आवाजहरूका घेरा नाघिसकेको छ इतिहासले । केही दिनपूर्व नेपाल एकीकरणको ‘सूत्रधार’ पृथ्वीनारायण शाहको जन्म–दिन थियो । पृथ्वीनारायणलाई सबैले आ–आफ्नै हिसाबले सम्झिए । कसैले उनलाई नेपाल राष्ट्रको एकीकरणको मुख्य योजनाकारका रूपमा सम्झिए भने कसैले उनलाई आफ्नो शासन कालमा पराजित शक्तिमाथि दमन गर्ने नाइकेको रूपमा चित्रित गर्दै घृणित नजरले हेरे । आखिर पृथ्वीनारायणलाई हेर्ने नजरहरू भिन्नाभिन्नै रहँदै आएको छ वर्षौंदेखि । कसैले उनलाई नायकका तहमा विराजमान गराउँछन्, कसैले खलनायकको पगरी गुथाउन उचित ठान्छन् । हेनरी फोर्डले भनेझैं ‘इतिहास बकबास हो’ भने पृथ्वीनारायण शाह पनि अन्ततः एक बकबास नै हो ।
पृथ्वीनारायण शाहलाई हेर्ने दुई भिन्नाभिन्नै दृष्टिकोण वर्षौंदेखि मौजुद रहँदै आएका छन् । एकथरीले उनलाई साना–साना राज्यहरूमा बाँडिएको देशलाई एकताको सूत्रमा उन्ने साधकका रूपमा लिन्छन् भने अर्काथरीले उनलाई आततायी शासकको रूपमा अंकित गर्छन् । नेपाल एकीकरणको नाममा उनले जाल, झेल र कपटको नीति अपनाउँदै अल्पसंख्यक र साना राज्यहरूमाथि बलपूर्वक हमला गरेकोमा निन्दा गर्दछन् ।
यसपटक पनि कतिपयले पृथ्वीनारायणलाई असाध्यै धूपधमार गरे । नेपालमा राजतन्त्रको निरन्तरता चाहनेहरूले त उनलाई मंसिरमा गोठपूजाको बेला धूपधमार गरेजस्तै पूजा–अर्चना गर्नु अनौठो पक्ष भएन नै । गणतन्त्रका पक्षपातिहरूले समेत पृथ्वीनारायणलाई राम्ररी नै स्मरण गरे । पूर्ववर्ती दिनहरूमा जस्तै उनको सालिकमा फूलमाला अर्पण गरे, जयजयकार मनाए र एकीकरणको सूत्रधारको रूपमा उनको स्मरण गरे । तर, केही मानिसले भने उनको निन्दा गर्नमा प्रशस्तै समय खर्चिए । केही मानिसहरूले त कीर्तिपुरमा गएर उनको तस्बिरमा थुक्ने हर्कतसम्म गर्न भ्याए । हुन पनि पृथ्वीनारायण र कीर्तिपुर अहिलेसम्म अमिल्दो नाम बन्न पुगेको छ । दुई–दुई पटकसम्म कीर्तिपुरमाथि हमला गर्दा पराजय भोगेका पृथ्वीनारायणले तेस्रोपटक भने कीर्तिपुरका बासिन्दाहरूसँग सम्झौता गर्ने बहाना कीर्तिपुरमाथि हमला गरे र कीर्तिपुरलाई आफ्नो कब्जामा लिएरै छाडे । कीर्तिपुरमाथिको सफल विजयपश्चात् उन्माद र आवेशमा आएका पृथ्वीनारायणका सेनाहरूले कीर्तिपुरबासीका नाक र कान काटे । विजयपश्चात्को उन्माद कस्तो हुन्छ भन्ने झल्काउन कीर्तिपुरको कथा नै काफी छ ।
इतिहासमा कुनै पात्रको उदय हुनु र त्यस्ता पात्रले कुनै नायकी–खलनायकी भूमिका खेल्नुमा तत्कालीन राजनीति, समाज, संस्कृति र बाह्य अन्तरविरोधहरूको प्रमुख हात रहेको हुन्छ । पृथ्वीनारायणलाई पनि त्यही सेरोफेरोमा हेर्नु मनासिब ठहरिन्छ । हुन त फ्रान्सेली इतिहासकार सिल्भा लेभीले शाह वंशको इतिवृत्तान्त केलाउने सन्दर्भमा यिनीहरूको अविश्वसनीय चरित्रबारे प्रस्टै लेखेका छन्, ‘उनी चतुर राजनीतिज्ञ, वीर योद्धा, योजनाहरू बनाउन कुशल र मतलब हेरेर अति क्रूर अथवा दानी हुन सक्ने द्वैध चरित्रका व्यक्ति थिए । उनले कीर्तिपुरउपर विजय हासिल गरेको तरिकाले उनको चरित्र पूर्ण रूपमा दर्साउँछ ।’
यदि फ्रान्सेली इतिहासविद्ले भनेझैं हो भने पृथ्वीनारायण शाहमा त्यस्तो चरित्र थियो भने त्यो चरित्र हरेक राजनीतिक घटनाक्रममा ब्युँतिदै आएका छन् । छल, कपट र जालझेलको राजनीति पृथ्वीनारायणभन्दा अघि पनि थियो र त्यसका अंशहरू वर्तमान राजनीतिक परिदृश्यहरूमा पनि उत्तिकै प्रखर रूपले अंकित छन् । सायद यो मेटिने विषय पनि होइन । किनभने, राजनीतिले सार्थक दिशा नसमातेसम्म त्यसले छल, कपटकै मार्ग पछ्याइरहन्छ ।
ऐतिहासिक पात्रहरूका भूमिकालाई लिएर वर्तमानमा संवाद हुनु राम्रो पक्ष हो । त्यस्ता पात्रहरूको भूमिकालाई स्वीकार्य–अस्वीकार्य रूपमा लिएर बहस, संवाद र अन्तक्र्रिया हुनु पनि सुखद कुरा हो । अझ पृथ्वीनारायण शाह त अढाइ सय वर्षदेखि नै बहसको केन्द्रमा रहँदै आएका छन् । नेपाल एकीकरणको सन्दर्भमा उनले लिएका सही वा गलत कार्यहरूलाई अहिलेसम्म पनि बहसको तराजुमा जोख्ने काम भइरहेको छ ।
तत्कालीन समयमा उनले सार्वजनिक गरेका अभिव्यक्तिहरूलाई कतिपयले उनको दूरदृष्टिको परिचयका रूपमा लिन्छन् । उनको दिव्योपदेशलाई धेरैले प्रशंसाका नजरले हेर्दछन् । तत्कालीन समयको राजनीतिक, सामाजिक, आर्थिक वा सांस्कृतिक तस्बिर नियाल्न उनको दिव्यापदेशले धेरै नै भूमिका खेलेको मान्न सकिन्छ । तर, उनले एकीकरण गर्दा जुन छल, कपट र ज्यादती गरे, त्यसमा धेरैजसो घटनाक्रमहरू क्षम्य छैनन् । उनका ती अक्षम्य घटनाक्रमहरू नै उनलाई थुक्ने आधार बन्दै आएको छ आजपर्यन्त ।
आज हामीकहाँ पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाल राज्य छ, तर उनले अपनाएको शासन व्यवस्थाबाट भने नेपाली जनता मुक्त छन् । तर, आज पनि उनी नायक हुन् कि खलनायक हुन् ? यो भने अझैसम्म छिनोफानो हुन सकेको छैन । नायक मान्नेहरूले उनलाई धुरीमै चढाइरहेका छन् र खलनायक मान्नेहरूले उनलाई थुक्ने कार्य गरिरहेका छन् । साँच्चै उनी नायक हुन् कि खलनायक ? इतिहास फैसला गर्न असमर्थ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

ढुंगा खानी ‘बन्द गराउन’ प्रदेश सरकारलाई ध्यानाकर्षण

ShareTweet हेटौंडा । भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले भीमफेदी गाउँपालिकामा रहेको सिमेन्ट ढुंगा खानी बन्द गराउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएकी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

प्रशंसाको भागीदार बन्ने अवसर

ShareTweet स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरूले स्थानीय सरकारको बागडोर सम्हाल्न थालेको करिब दुई वर्ष पुग्न लाग्दै छ । करिब–करिब आधा समय व्यतीत गरिसक्नै लाग्दा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

बहुआयामिक सिर्जना

ShareTweet कुनै समय साहित्य वृत्तमा मुक्तक विधाले राम्रै स्थान पाएको थियो । मुक्तक विधाको ‘चार्म’ यति धेरै थियो कि काठमाडौंमा नभए पनि पोखरा, धरानजस्ता सहरका साहित्यप्रेमीहरू- ...
पूरा पढ्नुहोस्

छोटकरीमा